सीधै सामग्रीमा जाने

म कहाँ आशा पाउन सक्छु?

म कहाँ आशा पाउन सक्छु?

बाइबलको जवाफ

 परमेश्‍वर हामीलाई “उज्ज्वल भविष्य र आशा” a दिन चाहनुहुन्छ भनेर बाइबल बताउँछ। (यर्मिया २९:११) परमेश्‍वरले हामीलाई बाइबल दिनुको एउटा कारण “धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीले आशा पाऔँ” भन्‍ने हो। (रोमी १५:४) बाइबलमा पाइने निर्देशनले हामीलाई दैनिक जीवनमा चाहिने डोऱ्‍याइ दिन्छ र यसमा भएका प्रतिज्ञाले भविष्यको लागि सुन्दर आशा पनि दिन्छ।

यस पृष्ठमा

 बाइबलले हामीलाई आशावादी हुन कसरी मदत गर्छ?

 हाम्रो जीवन राम्रो बनाउन चाहिने व्यावहारिक सल्लाहहरू दिएर बाइबलले हामीलाई आशावादी हुन मदत गर्छ। केही उदाहरण विचार गरौँ।

  •   बाइबलमा भएका व्यावहारिक निर्देशनहरू खोज्नुहोस्‌। भजन ११९:१०५ यसो भन्छ: “तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।” चहकिलो बत्तीले दुई वटा काम गर्न सक्छ। यसले हाम्रो अगाडि भएको कुराहरू र टाढा भएका कुराहरू पनि स्पष्टसँग देख्न मदत गर्छ। त्यसरी नै बाइबलमा पाइने व्यावहारिक सल्लाहहरूले हामीलाई दैनिक जीवनमा आउने समस्याहरू सजिलै पार गर्न र आशावादी हुन मदत गर्छ। यसको शिक्षाले हामीलाई फेरि बलियो हुन र आफ्नो “मनलाई आनन्दित” बनाउन पनि मदत गर्छ। (भजन १९:७, ८) साथै यसले मानिसजाति र पृथ्वीको लागि परमेश्‍वरको उद्देश्‍यबारे पनि बताउँछ। यस्तो आशाले हामीलाई चिरस्थायी आनन्द र सन्तुष्टि दिन्छ।

  •   अरूको मदत स्विकार्नुहोस्‌। आशाविहीन परिस्थितिहरू आइपर्दा हामी आफूलाई परिवार र साथीहरूदेखि अलग बनाइरहेका हुन सक्छौँ। तर बाइबलले बताएअनुसार त्यसो गर्नु बुद्धिमानी होइन किनकि त्यसले हामीलाई गलत निर्णय वा काम गर्नतर्फ पुऱ्‍याउन सक्छ। (हितोपदेश १८:१) हाम्रो परिवार वा साथीहरूले हामीलाई व्यावहारिक भइरहन मदत गर्न सक्छन्‌। साथै तिनीहरूले गाह्रो अवस्थाको सामना गर्न मदतकारी सल्लाह पनि दिन सक्छन्‌। (हितोपदेश ११:१४) तिनीहरूले हाम्रो समस्या हटाउन नसके तापनि हामीलाई त्यो समस्या नहटेसम्म सहने बल र सान्त्वना दिन सक्छन्‌।—हितोपदेश १२:२५.

  •   परमेश्‍वरलाई प्रार्थना गर्नुहोस्‌। बाइबल भन्छ: “आफ्नो भारी यहोवामा बिसाऊ र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ। धर्मी मानिस कहिल्यै डग्नेछैन किनभने उहाँले उसलाई थाम्नुहुनेछ।” b (भजन ५५:२२) यहोवालाई “आशा दिनुहुने परमेश्‍वर” भनिएको छ। (रोमी १५:१३) हामी प्रार्थनामा “आफ्नो सारा चिन्ता” उहाँमाथि बिसाउन सक्छौँ र उहाँले त्यो सुन्‍नु हुनेछ भनी ढुक्क हुन सक्छौँ। (१ पत्रुस ५:७, फुटनोट) बाइबल अझ यसो भन्छ: “उहाँले तिमीहरूलाई स्थिर बनाउनुहुनेछ, तिमीहरूलाई बलियो पार्नुहुनेछ र तिमीहरूलाई दह्रोगरि खडा गर्नुहुनेछ।”—१ पत्रुस ५:१०.

  •   परीक्षाहरूलाई आफ्नो आशा बलियो बनाउने मौकाको रूपमा लिनुहोस्‌। बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “[परमेश्‍वरको] कुरा ध्यान दिएर सुन्‍ने सुरक्षित रहनेछ अनि विपत्तिको डरले उसलाई पिरोल्नेछैन।” (हितोपदेश १:३३) अस्ट्रेलियामा बस्ने मार्गारेट नाम गरेकी एक महिलाले समुद्री आँधीको कारण आफ्नो सबै सम्पत्ति गुमाइन्‌। तर तिनी निराशामा डुबिनन्‌ बरु धनसम्पत्ति अस्थायी हुन्छ भन्‍ने महत्त्वपूर्ण पाठ सिकिन्‌। त्यसपछि तिनी परिवार र साथीभाइ, परमेश्‍वरसितको सम्बन्ध अनि बाइबलले दिने आशाजस्ता महत्त्वपूर्ण कुराहरूमा ध्यान दिन कटिबद्ध भइन्‌।—भजन ३७:३४; याकुब ४:८.

 बाइबलले सबै मानिसजातिको लागि कस्तो आशा दिन्छ?

 बाइबलमा मानिसजाति र पृथ्वीको लागि उज्ज्वल भविष्यको प्रतिज्ञा गरिएको छ र त्यो प्रतिज्ञा चाँडै पूरा हुनेछ। अहिले मानिसहरूले भोग्नुपरेको समस्याहरूले हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ भनी देखाउँछ। (२ तिमोथि ३:१-५) अब चाँडै परमेश्‍वरले स्थापना गर्नुभएको राज्यले पृथ्वीमा अधिकार गर्नेछ अनि अन्याय र दुःखकष्ट नामेट पार्नेछ। (दानिएल २:४४; प्रकाश ११:१५) येसुले आफ्नो नमुना प्रार्थनामा स्वर्गीय सरकारबारे उल्लेख गर्दै यसो भन्‍नुभयो: “तपाईँको राज्य आओस्‌। तपाईँको इच्छा . . . पृथ्वीमा पनि पूरा होस्‌।”—मत्ति ६:९, १०.

 मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍यबारे बाइबलमा स्पष्ट बताइएको छ। परमेश्‍वरको राज्यले के-कस्ता समस्याहरूलाई नामेट पार्नेछ?

  •   भोकमरी हुनेछैन। “पृथ्वीले आफ्नो उब्जनी दिनेछ।”—भजन ६७:६.

  •   रोगबिमार हुनेछैन। “त्यस देशको कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’”—यसैया ३३:२४.

  •   मृत्यु हुनेछैन। परमेश्‍वरले “[मानिसहरूका] आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:३, ४.

a हामीले कुनै कुराको चाह गर्दा र त्यो कुरा पाउनेछौँ भनी विश्‍वास गर्दा हामीमा आशा जाग्छ। आशा राख्नु भनेको कुनै कुरा पूरा हुने समय पर्खनु पनि हो।

b बाइबलमा बताइएअनुसार परमेश्‍वरको नाम यहोवा हो।—भजन ८३:१८.