एउटा दयालु व्यवहार
जोन र तिनको परिवार भारतको गुजरातको एउटा सानो सहरमा बस्थे। तिनको बुबाले सन् १९५० दशकको अन्ततिर बप्तिस्मा गरे अनि यहोवाको साक्षी भए। जोनको परिवारमा आमाबुबा, दिदी, दुई बहिनी र दुई भाइ थिए। बुबाबाहेक परिवारका सबै जना कट्टर क्याथोलिक थिए। त्यसैले बुबा यहोवाको साक्षी भएकोले तिनीहरू बुबाको विरोध गर्थे।
एक दिन, जोनको बुबाले मण्डलीको एक साथीकहाँ एउटा चिठ्ठी पुऱ्याउन जोनलाई भने। तर त्यस दिन बिहान टिनको एउटा ठूलो ड्रम खोल्न खोज्दा जोनको चोर औंलामा गम्भीर चोट लागेको रहेछ। तिनले घाउमा टालो बेह्रे अनि बुबाको त्यो चिठ्ठी पुऱ्याउन हिंडेर गए।
चिठ्ठी पुऱ्याउन जाँदा बुबाको साथीको पत्नीले चिठ्ठी लिइन्, जो यहोवाको साक्षी थिइन्। चिठ्ठी लिने बेला उनले जोनको औंलामा घाउ देखिन्। उनले जोनको घाउमा औषधी लगाइदिइन् र पट्टी बाँधिदिइन्। त्यसपछि जोनको लागि तातो चिया बनाइदिइन् र तिनीसित मित्रैलो ढङ्गमा बाइबलसम्बन्धी कुराकानी गरिन्।
उनको दयालु व्यवहार देखेर यहोवाका साक्षीहरूप्रतिको जोनको दृष्टिकोण राम्रो हुन थालिसकेको थियो। त्यसैले तिनले बुबाले विश्वास गर्ने कुरा र क्याथोलिक धर्मले सिकाउने कुराबीच दुइटा भिन्नताबारे उनलाई सोधे। पहिलो, के येशू परमेश्वर हुनुहुन्छ? दोस्रो, ख्रीष्टियनहरूले मरियमलाई प्रार्थना गर्नु ठिक हो? उनले जोनको मातृभाषा गुजराती सिकेकी थिइन्। उनले जोनसित तिनकै मातृभाषामा कुरा गरिन्, बाइबलबाट जवाफ दिइन् अनि गुजराती भाषाको “राज्यको यो सुसमाचार” भन्ने पुस्तिका पनि दिइन्।
पछि त्यो पुस्तिका पढ्दै गर्दा जोनले पहिलो पटक बाइबलको सत्य कुरा थाह पाएको महसुस गरे। तिनले आफ्नो चर्चको पादरीलाई पनि त्यही दुइटा प्रश्न सोधे। तर ती पादरी झडङ्ङ रिसाए, जोनलाई बाइबलले हाने अनि यसो भन्दै कराए: “तँ सैतान भएछस्! बाइबलमा येशू परमेश्वर होइन भनेर कहाँ लेखिएको छ? मलाई देखा! मरियमलाई प्रार्थना नगर्नू भनेर कहाँ लेखिएको छ? खै, देखा त!” ती पादरीको व्यवहार देखेर जोन वाल्लै परे अनि ती पादरीलाई यसो भने: “म अबदेखि कहिल्यै क्याथोलिक चर्चमा पाइला टेक्दिनँ।” साँच्चै, त्यसपछि तिनी कहिल्यै चर्च गएनन्।
जोनले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाले, साँचो उपासनाको पक्षमा खडा भए र यहोवाको सेवा गर्न थाले। समयको दौडान तिनको परिवारका अन्य सदस्यहरूले पनि सत्य स्विकारे। यो घटना भएको अहिले ६० वर्षजति भइसक्यो। जोनको दायाँ हातको चोर औंलामा अझै पनि खत छ। तिनी ती साक्षीले देखाएको दयालु व्यवहार अझै सम्झन्छन्। त्यस दयालु व्यवहारले नै जोनलाई शुद्ध उपासनातर्फ डोऱ्याएको थियो।—२ कोरि. ६:४, ६.