सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ”

“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ”

“ती कुराहरू विश्वासी पुरुषहरूलाई सुम्पिदेऊ, ताकि तिनीहरू पनि अरूलाई सिकाउन योग्य हुन सकून्‌।”—२ तिमो. २:२.

गीत: १२३, ५३

१, २. धेरैजसो मानिस आफ्नो कामलाई कस्तो ठान्छन्‌?

मानिसहरू आफ्नो परिचय दिंदा अक्सर आफ्नो कामबारे बताउँछन्‌। धेरैजसोको विचारमा कुनै व्यक्ति महत्त्वपूर्ण हो कि होइन भन्ने कुरा उसको कामले निर्धारण गर्छ। कुनै-कुनै समाजमा चिनापर्ची गर्दा सुरुमै यस्तो प्रश्न सोधिन्छ, “तपाईं के काम गर्नुहुन्छ?”

बाइबलमा कहिलेकाहीं केही व्यक्तिलाई उसको कामद्वारा चिनाइएको छ। जस्तै: “कर उठाउने मत्ती,” “चर्मकार सिमोन” र “प्रिय डाक्टर लूका।” (मत्ती १०:३; प्रेषि. १०:६; कल. ४:१४) कोही-कोही भने आफ्नो असाइनमेन्ट वा सुअवसरद्वारा चिनिन्छन्‌। जस्तै: राजा दाऊद, भविष्यवक्ता एलिया र प्रेषित पावल। यी पुरुषहरू परमेश्वरले दिनुभएको असाइनमेन्टको कदर गर्थे। हामीले पनि उहाँको सेवामा सुअवसरहरू पाएका छौं भने त्यसको कदर गर्नुपर्छ।

३. पाका ख्रीष्टियनहरूले आफूभन्दा कम उमेरका भाइहरूलाई तालिम दिनु किन महत्त्वपूर्ण छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)

हामीमध्ये धेरैलाई यहोवाको सेवामा पाएको काम मन पर्छ र त्यो काम सधैं गरिरहन सकूँ जस्तो लाग्छ। तर दुःखको कुरा, आदमको समयदेखि पुस्ताहरू बितेर जाँदै छन्‌ र त्यसको ठाउँमा नयाँ पुस्ताहरू आउँदै छन्‌। (उप. १:४) यस्तो परिवर्तनले गर्दा हालैका दिनहरूमा साँचो ख्रीष्टियनहरूले नयाँ चुनौतीहरू सामना गर्नुपरेको छ। यहोवाका सेवकहरूको काम दिनप्रतिदिन बढ्‌दै गइरहेको छ र काम गर्ने तरिका पनि नयाँ-नयाँ हुँदै छ। नयाँ परियोजनाहरूमा अक्सर अत्याधुनिक प्रविधिहरू प्रयोग गरिने भएकोले नयाँ तरिकामा काम गर्नुपर्ने चुनौती थपिएको छ। यस्ता परिवर्तनहरूअनुसार छाँटकाँट गर्न केही पाका ख्रीष्टियनलाई गाह्रो हुन सक्छ। (लूका ५:३९) तर नयाँ प्रविधि चलाउन गाह्रो छैन भने पनि ढल्कँदो उमेरले गर्दा पहिलाजस्तो फूर्ति र तागत नहुन सक्छ। (हितो. २०:२९) त्यसैले पाका ख्रीष्टियनहरूले आफूभन्दा कम उमेरका भाइहरूलाई थप जिम्मेवारी वहन गर्न तालिम दिनु मायालु अनि व्यावहारिक हो।भजन ७१:१८ पढ्‌नुहोस्।

४. कसै-कसैलाई आफ्नो जिम्मेवारी अरूलाई सुम्पन किन गाह्रो लाग्न सक्छ? (“ कोही-कोही किन आफ्नो जिम्मेवारी अरूलाई सुम्पँदैनन्‌?” भन्ने पेटी हेर्नुहोस्)

गहन जिम्मेवारी बोकिरहेका पाका ख्रीष्टियनहरूलाई आफूभन्दा कम उमेरका भाइहरूलाई जिम्मेवारी सुम्पन गाह्रो लाग्न सक्छ। आफूलाई असाध्यै मन परेको जिम्मेवारी गुमाउनुपर्ला कि भन्ने पीर लाग्न सक्छ। आफ्नो जिम्मेवारी अरूलाई सुम्पँदा आफूसित कुनै अख्तियारै नहोला भन्ने डर लाग्न सक्छ। तिनीहरूलाई कम उमेरका भाइहरूले आफूले जस्तो राम्ररी काम गर्न नसक्ला कि भन्ने चिन्ता लाग्न सक्छ। कसैले भने अरूलाई तालिम दिने समय नै छैन भन्ने तर्क गर्न सक्छन्‌। अर्कोतर्फ, थप जिम्मेवारी नपाउँदा कम उमेरका भाइहरूले धीरजी हुन सिक्नुपर्छ।

५. यस लेखमा हामी कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

जिम्मेवारी सुम्पने सन्दर्भमा दुइटा कुरा छलफल गरौं। पहिलो, पाका ख्रीष्टियनहरूले कम उमेरका भाइहरूलाई थप जिम्मेवारी वहन गर्न कसरी तालिम दिन सक्छन्‌ र यसो गर्नु किन महत्त्वपूर्ण छ? (२ तिमो. २:२) दोस्रो, कम उमेरका भाइहरूले आफूभन्दा अनुभवीहरूलाई मदत गर्दा र तिनीहरूबाट तालिम पाउँदा सही मनोवृत्ति राख्नु किन महत्त्वपूर्ण छ? आउनुहोस्, राजा दाऊदले आफ्नो छोरालाई एउटा महत्त्वपूर्ण जिम्मेवारी वहन गर्न कसरी मदत गरे, हेरौं।

दाऊदले सुलेमानलाई साथ दिए

६. राजा दाऊद के गर्न चाहन्थे? तर यहोवाले के भन्नुभयो?

वर्षौंसम्म भगुवा जीवन बिताएपछि दाऊद राजा भए र भव्य महलमा बस्न थाले। तर यहोवाको लागि कुनै “भवन” अर्थात्‌ मन्दिर नभएकोले दाऊद दुःखी थिए। त्यसैले तिनी उहाँको लागि एउटा मन्दिर बनाउन चाहन्थे। तिनले भविष्यवक्ता नातानलाई यसो भने: “मता यहाँ देवदारको घरमा बस्तैछु, तर परमप्रभुको करारको सन्दूकचाहिं पालमा राखिएको छ।” नातानले यस्तो जवाफ दिए: “तपाईंको मनमा जे छ त्यो गर्नुहोस्, किनभने परमेश्वर तपाईंसँग हुनुहुन्छ।” तर यहोवाले भने अर्कै निर्देशन दिनुभयो। उहाँले नातानमार्फत दाऊदलाई यसो भन्नुभयो: “तैंले मेरो लागि घर बनाउनेछैनस्।” हुन त यहोवाले दाऊदलाई सधैं साथ दिने मायालु आश्वासन दिनुभयो। तर मन्दिर बनाउने काम भने तिनको छोरा सुलेमानले गर्नेछन्‌ भनेर बताउनुभयो। यो सुनेपछि दाऊदले कस्तो प्रतिक्रिया देखाए?—१ इति. १७:१-४, ८, ११, १२; २९:१.

७. यहोवाको निर्देशनप्रति दाऊदले कस्तो प्रतिक्रिया देखाए?

मन्दिर बनाउने कामको श्रेय आफूले नपाउने भयो भन्ने सोचेर दाऊद हात बाँधेर बसेनन्‌। हुन पनि त्यो भवन दाऊदको होइन, सुलेमानको मन्दिर भनेर चिनियो। आफ्नो इच्छा पूरा गर्न नपाउँदा दाऊद निराश भएका हुन सक्छन्‌। तैपनि तिनले मन्दिर बनाउने काममा पूरापूर साथ दिए। तिनले निपुण कारिगरहरू भेला गराए अनि सुन, चाँदी, काँसा, फलाम र देवदारका काठ जम्मा गरे। तिनले सुलेमानलाई यस्तो प्रोत्साहन पनि दिए: “अब हे मेरो छोरा सुलेमान, परमप्रभु तँसँग रहून्‌। तैंलेनै बनाउनुपर्छ भनी उहाँले प्रतिज्ञा गर्नुभएअनुसार तेरो उन्नति होस् र तैंले परमप्रभु तेरा परमेश्वरको घर बना।”—१ इति. २२:११, १४-१६.

८. दाऊदलाई किन सुलेमान योग्य छैनन्‌ जस्तो लागेको हुन सक्छ तैपनि तिनले के गरे?

पहिलो इतिहास २२:५ पढ्‌नुहोस्। त्यस्तो महत्त्वपूर्ण कामको निरीक्षण गर्न सुलेमान योग्य छैनन्‌ जस्तो दाऊदलाई लागेको हुन सक्छ। किनभने यहोवाको त्यो मन्दिर “अत्यन्तै शोभायमान” हुनुपर्थ्यो र सुलेमान “कलिलै” थिए। तर यहोवाले सुलेमानलाई मन्दिर निर्माण गर्न मदत गर्नुहुनेछ भनेर दाऊदलाई थाह थियो। त्यसैले निर्माणकार्यको लागि चाहिने सामानहरू प्रचुर मात्रामा जुटाइदिएर दाऊदले सकेजति मदत गरे।

तालिम दिंदाको आनन्द अनुभव गर्नुहोस्

कम उमेरका पुरुषहरूले ठूलो जिम्मेवारी वहन गरेको देख्दा हामीलाई खुसी लाग्छ (अनुच्छेद ९ हेर्नुहोस्)

९. जिम्मेवारी सुम्पँदा पाका ख्रीष्टियनहरूलाई किन खुसी लाग्छ? उदाहरण दिनुहोस्।

आफूभन्दा कम उमेरका भाइहरूलाई जिम्मेवारी सुम्पँदा पाका ख्रीष्टियनहरू दुःखी हुनुपर्दैन। बरु तिनीहरूलाई जिम्मेवारी सँभाल्न तालिम दिंदा काम अझ सुचारु रूपले अघि बढ्‌छ। जिम्मेवारी सँभाल्न ती नयाँ भाइहरू योग्य भएको देख्दा पाका ख्रीष्टियनहरूलाई निकै खुसी लाग्छ। उदाहरणको लागि, छोरालाई गाडी चलाउन सिकाउने बुबालाई विचार गरौं। सुरु-सुरुमा छोराले आफ्नो बुबाले कसरी गाडी चलाउँछ भनेर हेर्छ। ठूलो हुँदै जाँदा बुबाले उसलाई गाडी कसरी चलाउने भनेर सिकाउन थाल्छ। तर कानुनले तोकेको उमेर पुगेपछि छोराले आफ्नो बुबाले सिकाएअनुसार गाडी चलाउन थाल्छ। सुरु-सुरुमा त बुबा-छोराले पालैपालो चलाउँछ होला तर बुबाको उमेर ढल्कँदै जाँदा प्रायजसो छोराले नै चलाउँछ। यसरी छोराले गाडी चलाउन थाल्दा बुबा खुसी हुन्छ, आफ्नो अधिकार छोराले खोसेको जस्तो महसुस गर्दैन। त्यस्तै गरी, पाका ख्रीष्टियनहरू पनि आफूले तालिम दिएका भाइहरूले परमेश्वरको सङ्‌गठनमा जिम्मेवारी वहन गर्न तयार भएको देख्दा गर्व गर्छन्‌।

१०. आफूले पाएको मानसम्मान र अख्तियारलाई मोशा कस्तो ठान्थे?

१० हामी पाका ख्रीष्टियनहरूले अरूले कुनै सुअवसर पाउँदा डाह गर्नु हुँदैन। केही इस्राएलीले छाउनीमा अगमवाणी गर्न थाल्दा मोशाले कस्तो प्रतिक्रिया देखाए, याद गर्नुहोस्। (गन्ती ११:२४-२९ पढ्‌नुहोस्) मोशाका सहयोगी यहोशूले अगमवाणी गर्नेहरूलाई रोक्न खोजे। तिनीहरूले मोशाको मानसम्मान र अख्तियार खोस्दै छन्‌ भन्ने यहोशूले सोचेको हुनुपर्छ। तर मोशाले यसो भने: “के मेरो खातिर तँ डाह गर्ने भइस्? परमप्रभुले आफ्ना आत्मा मानिसमाथि राखिदिनुभएर सबै अगमवक्तानै भइदिएता कति असल हुनेथियो।” तिनीहरूले यसरी अगमवाणी गर्नुमा यहोवाको हात छ भनेर मोशाले बुझेका थिए। आफूले मात्र आदर पाउन खोज्नुको साटो मोशाले यहोवाका सेवकहरू सबैले त्यस्तो वरदान पाए हुन्थ्यो भनेर आफ्नो इच्छा व्यक्त गरे। आफूले पाउनुपर्ने जस्तो लागेको सुअवसर अरूले पाउँदा के हामी पनि मोशाजस्तै खुसी हुँदैनौं र?

११. जिम्मेवारी सुम्पने सन्दर्भमा एक जना भाइले के भने?

११ वर्षौंदेखि जोसका साथ यहोवाको सेवा गरिरहेका भाइहरू थुप्रै छन्‌, जो अरूलाई थप जिम्मेवारी वहन गर्न तालिम दिंदै छन्‌। उदाहरणको लागि, पिटर भन्ने भाइलाई विचार गरौं। तिनले पूर्ण-समय सेवा गरेको ७४ वर्षभन्दा धेरै भइसक्यो। तिनले त्यसमध्ये ३५ वर्ष युरोपको एउटा शाखा कार्यालयमा सेवा गरे। केही समयअघिसम्म तिनी सेवा विभागको निरीक्षकको रूपमा सेवा गर्दै थिए। तर अहिले भने उक्त जिम्मेवारी आफूभन्दा कम उमेरका भाइ पलले सँभाल्दै छन्‌। भाइ पलले पिटरसँगै केही वर्ष काम गरेका थिए। आफ्नो असाइनमेन्ट परिवर्तन हुँदा कस्तो महसुस भइरहेको छ भनेर सोध्दा भाइ पिटरले यसो भने, “थप जिम्मेवारी वहन गर्न तालिम पाएका भाइहरू देख्दा र उहाँहरूले आफ्नो जिम्मेवारी राम्ररी पूरा गरिरहेको देख्दा मलाई एकदमै खुसी लाग्छ।”

पाका ख्रीष्टियनहरूको कदर गर्नुहोस्

१२. रहबामको उदाहरणबाट कस्तो पाठ सिक्न सक्छौं?

१२ सुलेमान मरेपछि तिनका छोरा रहबाम राजा भए। आफ्नो जिम्मेवारी सँभाल्न सल्लाह चाहिंदा तिनले सुरुमा बूढा-प्रधानहरूसित कुरा गरे। तर तिनीहरूले दिएको सल्लाह भने लागू गरेनन्‌! बरु तिनले आफूसँगै हुर्केका जवान भारदारहरूको सल्लाह सुने। यसले दुःखद परिणाम निम्त्यायो। (२ इति. १०:६-११, १९) यसबाट कस्तो पाठ सिक्छौं? हामीले पाका अनि अनुभवीहरूसित सल्लाह माग्नुपर्छ र त्यसबारे राम्ररी सोचविचार गर्नुपर्छ। हुन त कम उमेरका भाइहरूले पुरानै तरिका पछ्याउनुपर्छ भन्ने छैन। तर त्यसो भन्दैमा पाका ख्रीष्टियनहरूले दिएको सल्लाह तुरुन्तै इन्कार गरिहाल्नु हुँदैन।

१३. कम उमेरका भाइहरू कसरी पाका ख्रीष्टियनहरूसित मिलेर काम गर्न सक्छन्‌?

१३ कम उमेरका भाइहरूले पाका ख्रीष्टियनहरूको कामलाई निरीक्षण गर्नुपर्ने जिम्मेवारी वहन गरिरहेका हुन सक्छन्‌। आफूले नयाँ जिम्मेवारी पाएको भए तापनि पाका ख्रीष्टियनहरूको बुद्धि र अनुभवबाट सिक्नु राम्रो हो। यसरी तिनीहरूबाट सिकेर निर्णय गर्दा परिणाम राम्रो हुन्छ। माथि उल्लेख गरिएका भाइ पल बेथेलको एउटा विभागको निरीक्षकको रूपमा पिटरको ठाउँमा नियुक्त भए। भाइ पलले यसो भने, “म भाइ पिटरको सल्लाह लिइरहन्थें। अनि आफ्नो विभागका अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिन्थें।”

१४. तिमोथी र प्रेषित पावल मिलेर काम गरेको विवरणबाट के सिक्न सक्छौं?

१४ तिमोथीले आफूभन्दा पाका उमेरका प्रेषित पावलसँगै वर्षौंसम्म सेवाको काम गरे। (फिलिप्पी २:२०-२२ पढ्‌नुहोस्) पावलले कोरिन्थीहरूलाई यस्तो लेखेका थिए: “प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथीलाई म तिमीहरूकहाँ पठाउँदैछु। मैले ठाउँ-ठाउँका हरेक मण्डलीमा जुन तौर-तरिका सिकाउँदैछु, ख्रीष्ट येशूसित सम्बन्धित तिनै तौर-तरिकाहरू तिनले तिमीहरूलाई फेरि सम्झाउनेछन्‌।” (१ कोरि. ४:१७) यो छोटो विवरणबाट पावल र तिमोथी मिलेर काम गर्थे भनेर बुझ्न सक्छौं। पावलले तिमोथीलाई “ख्रीष्ट येशूसित सम्बन्धित . . . तौर-तरिकाहरू” सिकाउन निकै समय दिएका थिए। तिमोथीले पावलबाट राम्ररी सिके र पावल तिनलाई असाध्यै माया गर्थे। तिमोथीले कोरिन्थका दाजुभाइ दिदीबहिनीको आध्यात्मिक आवश्यकताको ख्याल राख्नेछन्‌ भनेर पावल ढुक्क थिए। मण्डलीमा नेतृत्व लिन भाइहरूलाई तालिम दिने सन्दर्भमा एल्डरहरूको लागि कत्ति राम्रो उदाहरण!

हामी प्रत्येकको आ-आफ्नै भूमिका छ

१५. रोमी १२:३-५ ले परिवर्तनहरू स्विकार्न कसरी मदत गर्छ?

१५ हामी रोमाञ्चकारी समयमा बाँचिरहेका छौं। यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागको वृद्धि विभिन्न तरिकामा भइरहेको छ। वृद्धिसँगसँगै परिवर्तनहरू पनि हुन्छन्‌। कुनै-कुनै परिवर्तनले हामीलाई व्यक्तिगत रूपमा असर गर्छ। तर हामी नम्र छौं र आफ्नो नभई यहोवाको राज्यसम्बन्धी गतिविधिमा ध्यान दिन्छौं भने परिवर्तन स्विकार्न गाह्रो हुनेछैन। साथै हाम्रो एकता पनि बलियो हुनेछ। पावलले रोमका ख्रीष्टियनहरूलाई यस्तो सल्लाह दिए: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्‌ता नठान, बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ, त्यसबमोजिम ठान, ताकि तिमीहरूले ठीकसँग सोच्न सक। किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्‌ग छन्‌ तर सबै अङ्‌गको काम एउटै हुँदैन, त्यसरी नै, हामी धेरै भए तापनि ख्रीष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्‌गहरू हौं।”—रोमी १२:३-५.

१६. यहोवाको सङ्‌गठनको शान्ति र एकता कायम राख्न पाका ख्रीष्टियनहरू, कम उमेरका भाइहरू र पत्नीहरूले के गर्न सक्छन्‌?

१६ हाम्रो अवस्था जस्तोसुकै भए पनि यहोवाको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन सक्दो कोसिस गरौं। पाका ख्रीष्टियनहरू हो, आफूले गरिरहेको काम कम उमेरका भाइहरूलाई सिकाउनुहोस्! कम उमेरका भाइहरू हो, जिम्मेवारी स्विकार्नुहोस्, नम्र हुनुहोस् र पाका ख्रीष्टियनहरूको आदर गर्नुहोस्! अनि पत्नीहरू हो, अक्वीलाकी पत्नी प्रिस्किलाको अनुकरण गर्नुहोस्, जसले परिस्थिति परिवर्तन हुँदा पनि अक्वीलालाई वफादार भई साथ दिइन्‌!—प्रेषि. १८:२.

१७. आफ्ना चेलाहरूबारे येशू कुन कुरामा विश्वस्त हुनुहुन्थ्यो र उहाँले तिनीहरूलाई केको लागि तालिम दिनुभयो?

१७ थप जिम्मेवारी वहन गर्न तालिम दिने सन्दर्भमा येशू उत्कृष्ट उदाहरण हुनुहुन्छ। पृथ्वीमा आफ्नो सेवा पूरा भएपछि त्यो काम अरूले नै गर्नेछन्‌ भनेर उहाँलाई थाह थियो। उहाँका चेलाहरू त्रुटिपूर्ण भए तापनि उहाँलाई तिनीहरूमाथि पूरा भरोसा थियो। त्यसैले तिनीहरूले उहाँले भन्दा ठूला कामहरू गर्नेछन्‌ भनेर येशूले तिनीहरूलाई बताउनुभयो। (यूह. १४:१२) उहाँले तिनीहरूलाई राम्ररी तालिम दिनुभयो र तिनीहरूले त्यतिबेला राज्यको सुसमाचार संसारभरि फैलाए।—कल. १:२३.

१८. हामीसामु कस्तो आशा छ र अहिले हामी के गर्न सक्छौं?

१८ येशूले आफ्नो जीवन बलिदान दिएपछि उहाँ पुनर्जीवित हुनुभयो र स्वर्ग जानुभयो। त्यहाँ ‘उहाँले सबै सरकार, अख्तियार, शक्ति र प्रभुत्वभन्दा धेरै’ काम अनि अख्तियार पाउनुभयो। (एफि. १:१९-२१) यदि हामी अन्तसम्म वफादार रहेर आरमागेडोनअघि मरिहाल्यौं भने पनि नयाँ संसारमा पुनर्जीवित हुनेछौं। नयाँ संसारमा हामीले इनामदायी काम प्रशस्तै पाउनेछौं। त्यतिन्जेल हामी सबैले एउटा महत्त्वपूर्ण काममा भाग लिन सक्छौं—राज्यको सुसमाचार प्रचार गर्ने र चेला बनाउने। हामी जवान होऔं वा वृद्ध, ‘प्रभुको काममा सधैं व्यस्त भइरहौं।’—१ कोरि. १५:५८.