असीम अनुग्रहको सुसमाचारबारे साक्षी दिनुहोस्
‘परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिनुहोस्।’—प्रेषि. २०:२४.
गीत: १०१, ८४
१, २. परमेश्वरले देखाउनुभएको असीम अनुग्रहप्रति आभारी भएको कुरा पावलले कसरी देखाए?
प्रेषित पावलले ढुक्क हुँदै यसो भन्न सके: “[परमेश्वरले] मलाई देखाउनुभएको असीम अनुग्रह बेकार साबित भएन।” (१ कोरिन्थी १५:९, १० पढ्नुहोस्) विगतमा ख्रीष्टियनहरूलाई खेदो गर्दै हिंडेको कारण आफ्नै पौरखले परमेश्वरको महान् कृपा पाउन सकिंदैन अनि आफू त्यसको लागि लायक पनि छैन भन्ने कुरा पावललाई राम्ररी थाह थियो।
२ आफ्नो जीवनको अन्ततिर पावलले सहकर्मी तिमोथीलाई यस्तो लेखे: “मलाई शक्ति दिनुहुने हाम्रा प्रभु, ख्रीष्ट येशूप्रति म आभारी छु, किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो।” (१ तिमो. १:१२-१४) त्यो सेवाको काम के थियो? त्यसबारे एफिसस मण्डलीका एल्डरहरूलाई पावलले यसो भने: “म आफ्नो जीवनलाई प्रिय ठान्दिनँ, बरु मेरो इच्छा यही छ, कि म आफ्नो दौड र प्रभु येशूबाट पाएको त्यो सेवा पूरा गर्न सकूँ, जुन सेवा मैले परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिन पाएको थिएँ।”—प्रेषि. २०:२४.
३. पावललाई कस्तो आज्ञा दिइयो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्)
३ यहोवाको असीम अनुग्रह झल्काउने कस्तो “सुसमाचार” पावलले सुनाए? एफिससका ख्रीष्टियनहरूलाई तिनले यसो भने: “तिमीहरूले पक्कै सुनेको हुनुपर्छ, कि तिमीहरूको फाइदाको निम्ति मलाई परमेश्वरको असीम अनुग्रहको भण्डारेको जिम्मेवारी दिइएको थियो।” (एफि. ३:१, २) पावललाई गैर-यहूदीहरूकहाँ गएर सुसमाचार सुनाउने आज्ञा दिइयो; तिनले तिनीहरू पनि मसीही राज्यका शासक बन्न सक्छन् भनेर प्रचार गर्नुपर्थ्यो। (एफिसी ३:५-८ पढ्नुहोस्) सेवाको काममा जोसिलो भएर पावलले अहिलेका ख्रीष्टियनहरूका लागि उत्कृष्ट उदाहरण बसाले अनि परमेश्वरले तिनलाई असीम अनुग्रह देखाएको “बेकार” साबित भएन भनेर पनि प्रमाणित गरे।
परमेश्वरको असीम अनुग्रहले गर्दा उत्प्रेरित
४, ५. ‘राज्यको सुसमाचार’ र “परमेश्वरको असीम अनुग्रहको सुसमाचार” एउटै हो भनेर हामी किन भन्न सक्छौं?
४ अन्तको दिनमा “सबै जातिलाई साक्षी दिनका लागि राज्यको . . . सुसमाचार सारा पृथ्वीभरि प्रचार” गर्नू भनेर यहोवाका सेवकहरूलाई आज्ञा दिइएको छ। (मत्ती २४:१४) हामीले सुनाउने सन्देश पनि “परमेश्वरको असीम अनुग्रहको सुसमाचार” नै हो। किनभने हामीले परमेश्वरको राज्यमा पाउने सबै आशिष् यहोवाले आफ्नो छोरा येशू ख्रीष्टमार्फत देखाउनुभएको अनुग्रहले गर्दा नै सम्भव भएको हो। (एफि. १:३) के त्यसो भए हामी पनि पावलजस्तै सेवाको काममा जोसिलो छौं अनि दिलोज्यानले यो काममा लागेर परमेश्वरको असीम अनुग्रहप्रति आभारी भएको देखाउँछौं?—रोमी १:१४-१६ पढ्नुहोस्।
५ पापी भए तापनि हामीले कसरी विभिन्न तरिकामा यहोवाको असीम अनुग्रहबाट लाभ उठाइरहेका छौं, त्यस विषयमा अघिल्लो लेखमा कुरा गरेका थियौं। यस्तो लाभ उठाएको कारण हामीमाथि एउटा दायित्व थपिएको छ; हो, हामीले सम्पूर्ण मानिसजातिलाई यहोवाले कसरी प्रेम देखाउनुभएको छ र त्यसबाट तिनीहरूले व्यक्तिगत तवरमा कसरी लाभ उठाउन सक्छन्, त्यसबारे बताउनुपर्छ। त्यसोभए आउनुहोस्, अब हामी अरू मानिसलाई परमेश्वरको असीम अनुग्रहप्रति कसरी आभारी हुन सिकाउन सक्छौं, त्यस विषयमा केही बुँदाहरू विचार गरौं।
फिरौतीको बलिदानको सुसमाचार
६, ७. अरूलाई फिरौतीको बलिदानबारे बताउँदा हामीले कसरी “परमेश्वरको असीम अनुग्रहको सुसमाचार” सुनाइरहेका हुन्छौं?
६ अहिलेको संसारमा जो-कोहीलाई पनि पापले जकडेको छ। तर धेरैजसो मानिसलाई आफू पापी छु भन्ने नै लाग्दैन। त्यसैले होला, तिनीहरू पापबाट मुक्ति चाहिन्छ भनेर महसुस गर्दैनन्। अनि अर्को कुरा, अहिलेकै तरिकामा मनमानी जीवन बिताउँदा साँचो आनन्द पाइँदैन भनेर धेरै जनाले बुझ्न थालेका छन्। यहोवाका साक्षीहरूसित कुरा नगरेसम्म धेरैजसोलाई पाप भनेको के हो, यसले गर्दा कस्तो असर परेको छ अनि यसको दासत्वबाट मुक्ति पाउन के गर्नुपर्छ, त्यो नै थाह हुँदैन। तर यहोवाले हामीलाई पाप र मृत्युबाट छुटकारा दिन आफ्नो छोरालाई यस पृथ्वीमा पठाउनुभयो भन्ने कुरा थाह पाएपछि असल मन भएका मानिसहरू भने आभारी हुन्छन्। यहोवाले यो सब प्रबन्ध आफ्नो अपार प्रेम अनि असीम अनुग्रहको कारणले गर्दा नै गर्नुभएको हो।—१ यूह. ४:९, १०.
७ यहोवाको प्यारो छोराबारे पावलले यस्तो लेखे: “तिनै प्रिय जनले [येशूले] आफ्नो रगतद्वारा तिरेको फिरौतीमार्फत हामीले छुटकारा पाएका छौं। हो, उहाँद्वारै हामीले आफ्ना पापहरूको क्षमा पाएका छौं, जुन हामीमाथि परमेश्वरले प्रशस्तगरि देखाउनुभएको असीम अनुग्रहबमोजिमै थियो।” (एफि. १:७) फिरौतीको बलिदान यहोवाले हामी मानिसजातिलाई प्रेम गर्नुहुन्छ भन्ने कुराको ठूलो प्रमाण हो अनि उहाँले देखाउनुभएको असीम अनुग्रहको बेजोड सबुत हो। येशूले बगाउनुभएको रगतमा विश्वास गऱ्यौं भने हाम्रो पाप क्षमा हुनेछ अनि हाम्रो अन्तस्करण सफा हुनेछ भनेर थाह पाउनु कत्ति सान्त्वनाको कुरा हो! (हिब्रू ९:१४) के त्यसोभए, यो अरूलाई सुनाउनुपर्ने सुसमाचार होइन र?
परमेश्वरको मित्र बन्न सकिन्छ भन्ने सुसमाचार
८. पापी मानिसहरूले परमेश्वरसित मिलाप गर्नू किन जरुरी छ?
८ सृष्टिकर्तासँग मित्रता गाँस्न सकिन्छ भनेर अरू मानिसलाई बताउनु हाम्रो दायित्व हो। किनभने येशूको बलिदानमा विश्वास नगरुन्जेल परमेश्वर मानिसहरूलाई शत्रु बराबर ठान्नुहुन्छ। प्रेषित यूहन्नाले लेखे: “जसले छोरामाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ; जसले छोराको आज्ञा पालन गर्दैन, उसले जीवन देख्न पाउनेछैन तर ऊमाथि परमेश्वरको क्रोध आइपर्नेछ।” (यूह. ३:३६) खुसीको कुरा, ख्रीष्टको बलिदानले गर्दा परमेश्वरसित मिलाप गर्न सम्भव भएको छ। पावलले भने: “एक समय तिमीहरू परमेश्वरको शत्रु अनि उहाँबाट टाढा थियौ, किनकि तिमीहरूले आफ्नो दिमाग दुष्ट कामहरूमा लगाएका थियौ, तर . . . परमेश्वरले ख्रीष्ट, जसले आफूलाई मृत्युको निम्ति सुम्पनुभयो, उहाँको शरीरद्वारा तिमीहरूलाई आफूसित फेरि मिलाप गराउनुभयो।”—कल. १:२१, २२.
९, १०. (क) ख्रीष्टले आफ्ना अभिषिक्त भाइहरूलाई कस्तो जिम्मा सुम्पनुभएको छ? (ख) “अरू भेडा”-का सदस्यहरूले अभिषिक्त भाइहरूलाई कसरी मदत गर्छन्?
९ ख्रीष्टले पृथ्वीमा भएका आफ्ना अभिषिक्त भाइहरूलाई “मिलापको सेवा” सुम्पनुभएको छ भनेर पावलले बताए। यो कुरालाई व्याख्या गर्दै प्रेषित पावलले प्रथम शताब्दीका अभिषिक्त ख्रीष्टियनहरूलाई यस्तो लेखे: “सबै थोक परमेश्वरबाट आएका हुन्, जसले हामीलाई ख्रीष्टद्वारा आफूसित मिलाप गराउनुभयो र मिलापको सेवा सुम्पनुभयो, अर्थात् परमेश्वरले ख्रीष्टद्वारा संसारलाई आफूसित मिलाप गराउनुभयो, तिनीहरूको अपराधको लेखा लिनुभएन र हामीलाई मिलापको वचन सुम्पनुभयो। त्यसैले हामी ख्रीष्टको सट्टामा काम गर्ने राजदूतहरू हौं, मानौं परमेश्वरले हामीमार्फत बिन्ती गरिरहनुभएको छ। ख्रीष्टको सट्टामा काम गर्नेहरूको हैसियतमा हामी यस्तो आग्रह गर्छौं: ‘परमेश्वरसित मिलाप गर।’”—२ कोरि. ५:१८-२०.
१० आफ्ना अभिषिक्त भाइहरूलाई सेवाको काममा मदत गर्न पाउने कुरालाई “अरू भेडा”-का सदस्यहरू सुअवसर ठान्छन्। (यूह. १०:१६) ख्रीष्टको प्रतिनिधिको हैसियतमा तिनीहरूले मानिसहरूलाई आध्यात्मिक सत्य बाँड्ने बृहत् अभियानमा भाग लिइरहेका छन् र यहोवा परमेश्वरसित व्यक्तिगत सम्बन्ध गाँस्न अरूलाई मदत गरिरहेका छन्। परमेश्वरको असीम अनुग्रहको सुसमाचारको विस्तृत साक्षी दिने हो भने यसो नगरी हुँदैन।
परमेश्वरले प्रार्थना सुन्नुहुन्छ भन्ने सुसमाचार
११, १२. यहोवालाई प्रार्थना गर्न सकिन्छ भन्ने कुरा मानिसहरूको लागि किन सुसमाचार हो?
११ धेरैजसो मानिस आफ्नो मनको शान्तिको लागि प्रार्थना गर्छन् तर परमेश्वरले साँच्चै प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा चाहिं खासै विश्वास गर्दैनन्। त्यसैले तिनीहरूले यहोवा “प्रार्थना सुन्नुहुने” परमेश्वर हुनुहुन्छ भनेर थाह पाउनु जरुरी छ। भजनहार दाऊदले यस्तो लेखे: “हे प्रार्थना सुन्नुहुने, तपाईंकहाँ नै सबै प्राणी आउनेछन्। अधर्महरू मेरो विरुद्धमा प्रबल हुन्छन्, हाम्रा अपराधहरूचाहिं तपाईंले नै शुद्ध पार्नुहुनेछ।”—भज. ६५:२, ३.
१२ येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने म त्यो गर्नेछु।” (यूह. १४:१४) येशूले यहाँ “केही माग्यौ” भन्नुहुँदा यहोवाको इच्छासित मेल खाने जुनसुकै कुरा मागे पनि, त्यो पूरा गर्नेछु भन्न खोज्दै हुनुहुन्थ्यो। यूहन्ना हामीलाई यसरी आश्वस्त पार्छन्: “हामी यो कुरामा ढुक्क छौं, कि परमेश्वरको इच्छाबमोजिम हामीले जेसुकै मागे पनि उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ।” (१ यूह. ५:१४) प्रार्थना भनेको मनोशान्तिको लागि गर्ने कुरा मात्र होइन तर यहोवाको “असीम अनुग्रहको सिंहासनसामु” जाने एउटा माध्यम हो भनेर अरूलाई बुझाउनु कत्ति असल कुरा हो! (हिब्रू ४:१६) सही तरिकाले, सही व्यक्तिलाई अनि सही कुराको लागि प्रार्थना गर्न सिकाएर हामी मानिसहरूलाई यहोवा परमेश्वरको नजिक हुन र दुःखको बेला सान्त्वना पाउन मदत गर्न सक्छौं।—भज. ४:१; १४५:१८.
नयाँ संसारमा पाइने असीम अनुग्रह
१३, १४. (क) अभिषिक्त जनहरूले भविष्यमा कस्तो अद्भुत सुअवसर पाउनेछन्? (ख) तिनीहरूले मानिसजातिका लागि के गर्नेछन्?
१३ यहोवाले यस युगको अन्तसम्म मात्र होइन, त्यसपछि पनि असीम अनुग्रह देखाइरहनुहुनेछ। एक लाख चवालीस हजारले स्वर्गको राज्यमा ख्रीष्टसितै शासन गर्न पाउने अद्भुत सुअवसरलाई सङ्केत गर्दै पावलले यस्तो लेखे: “हामीप्रतिको गहिरो प्रेमले गर्दा कृपाका धनी परमेश्वरले हामी आफ्ना अपराधहरूले गर्दा मरिसकेको भए तापनि हामीलाई जीवित पार्नुभयो र ख्रीष्ट येशूसित एकतामा गाँस्नुभयो। उहाँको असीम अनुग्रहले गर्दा तिमीहरूको उद्धार भयो। अनि हामी ख्रीष्ट येशूसित एकतामा भएकोले परमेश्वरले उहाँसँगै हामीलाई पनि ब्युँताउनुभयो र स्वर्गमा उहाँसँगै बसाल्नुभयो, ताकि आउँदै गरेको युगमा आफ्नो असीम अनुग्रहको महानता प्रकट होस्। हामी ख्रीष्ट येशूसित एकतामा भएकोले उहाँले हामीमाथि कृपा गरी त्यस्तो अनुग्रह देखाउनुहुनेछ।”—एफि. २:४-७.
१४ ख्रीष्टसितै सिंहासनमा बस्न छानिएका अभिषिक्त ख्रीष्टियनहरूले भविष्यमा पाउने अद्भुत आशिष्हरूबारे अहिल्यै कल्पना गर्न त गाह्रो छ। (लूका २२:२८-३०; फिलि. ३:२०, २१; १ यूह. ३:२) तर जेहोस्, त्यतिबेला यहोवाले तिनीहरूको खातिर “असीम अनुग्रहको महानता प्रकट” गर्नुहुनेछ भन्ने कुरामा चाहिं कुनै शङ्का छैन। तिनीहरूको समूह मिलेर “नयाँ यरूशलेम” बन्नेछ, जो ख्रीष्टकी दुलही हो। (प्रका. ३:१२; १७:१४; २१:२, ९, १०) अनि येशूले “राष्ट्र-राष्ट्रका मानिसहरूलाई निको” पार्दा तिनीहरूले पनि भाग लिनेछन्; आज्ञाकारी मानिसहरूलाई पाप र मृत्युको बोझबाट मुक्त गर्ने अनि त्रुटिरहित जीवनतर्फ डोऱ्याउने काममा तिनीहरूले पनि नेतृत्व लिनेछन्।—प्रकाश २२:१, २, १७ पढ्नुहोस्।
१५, १६. भविष्यमा यहोवाले “अरू भेडा”-लाई कसरी असीम अनुग्रह देखाउनुहुनेछ?
१५ एफिसी २:७ मा “आउँदै गरेको युगमा” परमेश्वरले असीम अनुग्रह देखाउनुहुनेछ भनेर लेखिएको पाउँछौं। हो, नयाँ संसारमा यहोवाको “असीम अनुग्रहको महानता प्रकट” हुनेछ भन्ने कुरामा कुनै शङ्का छैन। (लूका १८:२९, ३०) उहाँले त्यतिबेला हामीले देख्नेगरि नै एउटा अद्भुत काम गर्नुहुनेछ; “चिहानमा” हुनेहरू सबैलाई पुनर्जीवित गरेर उहाँले अपार अनुग्रह देखाउनुहुनेछ। (अय्यू. १४:१३-१५; यूह. ५:२८, २९) येशूले बलिदान दिनुअघि नै बितेका वफादार पुरुष तथा स्त्री अनि आखिरी दिनमा वफादार भई बितेका सबै “अरू भेडा” त्यतिबेला पुनर्जीवित हुनेछन् र तिनीहरूले यहोवाको सेवालाई निरन्तरता दिनेछन्।
१६ परमेश्वरलाई चिन्न नपाईकन मर्ने लाखौं मानिसहरू पनि त्यतिबेला पुनर्जीवित हुनेछन्। तिनीहरूले यहोवाको शासन गर्ने अधिकारलाई समर्थन गरेको देखाउने मौका पाउनेछन्। यूहन्नाले लेखे: “के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेको मैले देखें र पुस्तकहरू खोलिएको पनि मैले देखें। तब अर्को एउटा पुस्तक पनि खोलियो; त्यो जीवनको पुस्तक थियो। अनि ती पुस्तकहरूमा लेखिएबमोजिम ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो। त्यसपछि, समुद्रले मरिसकेका ती मानिसहरू दिइहाल्यो, जो त्यससँग थियो। मृत्यु र चिहानले पनि मरिसकेका ती मानिसहरू दिइहाले, जो तिनीहरूसँग थिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।” (प्रका. २०:१२, १३) पक्कै पनि, पुनर्जीवित हुने ती व्यक्तिहरूले बाइबलमा पाइने परमेश्वरको सिद्धान्तअनुसार चल्न सिक्नुपर्नेछ। अनि नयाँ संसारमा परमेश्वरको स्तरअनुसार चल्न मदत गर्ने “पुस्तकहरू” पनि खोलिनेछन्; पुनर्जीवित हुनेहरूले ती पुस्तकमा भएका लाभदायी निर्देशनहरू पनि पछ्याउनुपर्नेछ। त्यतिबेला खोलिने ती पुस्तकहरूमा भएका कुराहरू यहोवाको असीम अनुग्रहको एउटा चिनो हुनेछ।
सुसमाचार फैलाउने काममा लागिरहनुहोस्
१७. प्रचार गर्दा हामीले कुन कुरा मनमा राख्नुपर्छ?
१७ अन्त नजिकै भएकोले हामीले पहिलाभन्दा अझ जोडतोडले प्रचार गर्नुपर्छ। (मर्कू. १३:१०) सुसमाचारमा यहोवाको असीम अनुग्रह झल्किन्छ भन्ने कुरामा कुनै शङ्का छैन। त्यसैले प्रचारमा जाँदा हामीले सधैं यो कुरा मनमा राख्नुपर्छ। यो काममा भाग लिंदा हाम्रो उद्देश्य यहोवाको महिमा गर्ने हुनुपर्छ। तर हामी कसरी त्यसो गर्न सक्छौं? नयाँ संसारमा पाइने सबै आशिष् यहोवाले देखाउनुभएको अद्भुत अनुग्रहले गर्दा मात्र सम्भव हुनेछ भनेर मानिसहरूलाई बुझ्न मदत गरेर।
१८, १९. हामी यहोवाको असीम अनुग्रहको कसरी महिमा गर्न सक्छौं?
१८ परमेश्वरको राज्यमा सम्पूर्ण मानिसजातिले फिरौतीको बलिदानबाट पूरापूर लाभ उठाउनेछन् र त्रुटिरहित अवस्थातिर अघि बढ्नेछन् भनेर हामी प्रचार गर्दा अरूलाई बुझाउन सक्छौं। बाइबल भन्छ: “भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ।” (रोमी ८:२१) यो कुरा यहोवाको अतुलनीय अनुग्रहले गर्दा मात्र सम्भव हुनेछ।
१९ हामी सबैसित प्रकाश २१:४, ५ मा लेखिएको प्रतिज्ञा अरू मानिसलाई सुनाउने सुअवसर छ, जहाँ लेखिएको छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन, न त फेरि कहिल्यै शोक, रुवाइ वा पीडा नै हुनेछ। पहिलेका कुराहरू बितिसकेका छन्।” त्यसपछि सिंहासनमा बस्नुहुने यहोवा यसो भन्नुहुन्छ: “हेर, म सबै थोक नयाँ बनाउँदैछु।” उहाँ यसो पनि भन्नुहुन्छ: “लेख, किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।” जोडतोडका साथ यो कुरा प्रचार गऱ्यौं भने हामीले यहोवाको असीम अनुग्रहको महिमा गरिरहेका हुनेछौं।