समस्या
शान्ति र सुरक्षालाई खलबलाउने तत्त्वहरू
“प्राविधिक तथा वैज्ञानिक क्षेत्रमा अहिलेको संसारले निकै फड्को मारेको छ अनि मानिसहरूको आयस्रोतमा पनि वृद्धि भएको छ। . . . तर यो संसारको [राजनैतिक, आर्थिक र वातवरणीय] अवस्था भने दिन प्रति दिन खस्कँदै गइरहेको छ।”—द ग्लोबल रिस्क्स रिपोर्ट २०१८, वर्ल्ड इकोनोमिक फोरम।
थुप्रै पढे-लेखेका व्यक्तिहरू मानिसजाति र पृथ्वीको भविष्यबारे चिन्तित छन्। आउनुहोस्, हामीले सामना गरिरहेका केही चुनौतीहरू विचार गरौँ।
-
साइबर अपराध: द अस्ट्रेलियन अखबार यसो भन्छ, “बाल यौन दुराचारीहरू र ह्याकरहरूले इन्टरनेटको नाजायज फाइदा उठाइरहेका छन्। साथै थुप्रैले इन्टरनेटमार्फत धम्की दिने र जथाभाबी कुरा पोस्ट गर्ने गर्छन्। त्यसकारण इन्टरनेट चलाउँदा एकदम सजग हुनुपर्छ। अहिले बढ्दै गइरहेको एउटा साइबर अपराध, पहिचान चोरी हो। . . . मानिसहरूले इन्टरनेटलाई आफ्नो हिंस्रक अनि क्रूर स्वभाव देखाउने माध्यमको रूपमा लिएका छन्।”
-
आर्थिक असमानता: अक्सफाम इन्टरनेसनलको हालैको रिपोर्टअनुसार विश्वको साढे तीन अरबभन्दा बढी गरिब मानिसहरूसित जति सम्पत्ति छ त्यति नै सम्पत्ति संसारका आठ जना धनाढ्य व्यक्तिहरुसँग छ। अक्सफाम यसो भन्छ: “विश्वको बिग्रँदो आर्थिक अवस्थाको कारण धनीहरू झन्-झन् धनी हुँदै छन् भने गरिबहरू झन्-झन् गरिब हुँदै छन्। यस्तो बढ्दो असमानताको कारण मानिसहरूमा विद्रोहको आगो सल्किने हो कि भनेर कोही-कोही चिन्तित छन्।”
-
द्वन्द्व अनि सतावट: संयुक्त राष्ट्र सङ्घ शरणार्थी आयोगको २०१८ को रिपोर्ट यसो भन्छ, “अहिले विस्थापित हुने मानिसहरूको सङ्ख्या एकदमै बढिरहेको छ।” विशेषगरि द्वन्द्व अनि सतावटको कारण ६ करोड ८० लाखभन्दा धेरै मानिसहरूले आफ्नो घरबार छोड्नुपरेको छ। त्यो रिपोर्ट अझै यसो भन्छ, “हरेक २ सेकेन्डमा १ जना मानिसले नचाहँदा नचाहँदै आफ्नो घरबार छोड्नु परेको छ।”
-
वातावरणमा परेको खतरा: द ग्लोबल रिस्क्स रिपोर्ट २०१८ यसो भन्छ, “विभिन्न प्रजातिका बोटबिरुवा तथा पशुपक्षीहरू तीव्र गतिमा लोप हुँदै गइरहेको छ। प्रदूषित हावा र समुद्रको कारण मानव स्वास्थ्यमा नराम्रो असर परिरहेको छ।” किराहरूले पराग सेचन प्रक्रियामा ठूलो भूमिका खेल्छन्। तर कुनै-कुनै ठाउँमा किराहरूको सङ्ख्या घट्दै गइरहेको छ। यसले पूरै वातावरण विनाश हुन सक्छ भनेर वैज्ञानिकहरूले चेतावनी दिँदै आएका छन्।
के हामी यो संसारलाई सुरक्षित बनाउन सक्छौँ? कसै-कसैको विचारमा मानिसहरू शिक्षित भए भने यस्तो परिवर्तन गर्न सकिन्छ। त्यसोभए कस्तो शिक्षाले मानिसहरूको सोचाइ र व्यवहारलाई परिवर्तन गर्न सक्छ? यसपछिका लेखहरूमा यी प्रश्नहरूबारे विचार गर्नेछौँ।