सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रो पेटमा भएको स्नायु प्रणाली (निलो रङ्‌गले देखाएको)

पेटमा भएको स्नायु प्रणाली—तपाईंको “दोस्रो मस्तिष्क”

पेटमा भएको स्नायु प्रणाली—तपाईंको “दोस्रो मस्तिष्क”

तपाईंको शरीरमा कति वटा मस्तिष्क छ? यदि “एउटा” भन्नुहुन्छ भने तपाईंले ठीक जवाफ दिनुभयो। तर तपाईंको शरीरमा एकभन्दा बढी स्नायु प्रणालीहरू हुन्छन्‌। जस्तै: तपाईंको पेटमा भएको स्नायु प्रणाली। न्युरोनहरूको यस सञ्जाल एकदमै व्यापक हुन्छ त्यसैले केही वैज्ञानिकहरूले यसलाई “दोस्रो मस्तिष्क” भन्ने नाम दिएका छन्‌। यसको प्रायजसो भाग टाउकोमा नभई पेटमा हुन्छ।

खानालाई शक्तिमा परिणत गर्न हाम्रो शरीरले निकै तालमेल मिलाएर काम गर्नुपर्छ। त्यसैले हाम्रो मस्तिष्कले पाचन सम्बन्धी विभिन्न काम पेटमा भएको स्नायु प्रणालीलाई सुम्पेको छ।

मस्तिष्कको तुलनामा यो प्रणाली सरल छ तर यसले गर्ने काम भने पटक्कै सरल छैन। यो स्नायु प्रणाली मानिसहरूको शरीरमा लगभग २० देखि ६० करोड न्युरोन मिलेर बनेको हुन्छ र यो हाम्रो पाचन प्रणालीमा हुन्छ। यदि यो स्नायु प्रणालीले गर्ने काम मस्तिष्कले गर्ने हो भने यसको लागि चाहिने नसाहरू एकदमै मोटो हुनुपर्छ भनेर वैज्ञानिकहरू बताउँछन्‌। एउटा किताबअनुसार *, “पाचन प्रणालीमा हुने काम पेटमा भएको स्नायु प्रणालीले नै नियन्त्रण गर्दा सुरक्षित र सजिलो हुन्छ।”

“एउटा रासायनिक कार्यशाला”

खाना पचाउन विभिन्न प्रकारका रासायनिक मिश्रणहरू सही समयमा उत्पादन हुनुपर्छ अनि सही ठाउँमा पुग्नुपर्छ। प्राध्यापक ग्यारी मोअले पाचन प्रणाली “एउटा रासायनिक कार्यशाला” हो भनेर बताए। साँच्चै, पाचन प्रणालीमा भएका यी रसायनहरूले गर्ने काम कति अद्‌भुत छ! उदाहरणको लागि, हाम्रो आन्द्रामा खास किसिमका कोषहरू हुन्छन्‌ जसले खानामा हुने विभिन्न रासायनिक तत्त्वहरू पत्ता लगाउने काम गर्छ। कस्तो किसिमको रासायनिक तत्त्व हो भनेर पत्ता लागेपछि हाम्रो पेटमा भएको स्नायु प्रणालीले उपयुक्त इन्जाइम अर्थात्‌ पाचन रस निकाल्ने निर्देशन दिन्छ। उक्त पाचन रसले खानालाई शरीरले सोस्न सक्ने गरी मसिनो टुक्रा बनाउँछ। यस प्रणालीले खानाको एसिडिटी र अन्य रासायनिक विशेषता जाँच्न अनि त्यसैअनुसार पाचन रस उत्पादन गर्न मुख्य भूमिका खेल्छ।

पाचन नलीबाट खाना पास हुने तरिका साँच्चै अद्‌भुत छ। यसलाई पेटमा भएको स्नायु प्रणालीले नियन्त्रण गर्छ। यस दोस्रो मस्तिष्कले तपाईंले खानुभएको खानालाई पाचन प्रणालीको एक ठाउँदेखि अर्को ठाउँसम्म पुऱ्याउन पाचन नलीको मांसपेशीलाई खुम्चाउने गर्छ। पेटमा भएको स्नायु प्रणालीले ती मांसपेशीलाई कति चोटि र कत्तिको खुम्चाउने भनेर आवश्यकताअनुसार निर्धारण गर्छ।

पेटमा भएको स्नायु प्रणालीले हाम्रो शरीरलाई सुरक्षित राख्न पनि मदत गर्छ। तपाईंले खानुभएको खानामा हानिकारक जीवाणु हुन सक्छ। त्यसैले त ७० देखि ८० प्रतिशत लिम्फोसाइट कोषहरू तपाईंको पेटमा हुन्छन्‌। ती कोषहरू तपाईंको रोग प्रतिरोधात्मक प्रणालीको महत्त्वपूर्ण भाग हो। यदि तपाईंको पेटमा हानिकारक जीवाणुको मात्रा धेरै भयो भने पेटमा भएको स्नायु प्रणालीले मांसपेशीहरूलाई जोरसँग खुम्चाउँछ। यसले गर्दा पेटमा भएको हानिकारक पदार्थहरू बान्ता वा झाडापखालाद्वारा बाहिर निस्कन्छ। यसरी हाम्रो शरीर सुरक्षित रहन्छ।

राम्रो सञ्चार

पेटमा भएको स्नायु प्रणालीले मस्तिष्कको मदतविना नै काम गरेजस्तो देखिन्छ तर यिनीहरूबीच लगातार सञ्चार भइरहेको हुन्छ। उदाहरणको लागि, तपाईंले कहिले अनि कति खानुपर्छ भनेर पेटमा भएको स्नायु प्रणालीले हर्मोनहरूद्वारा मस्तिष्कलाई जानकारी दिन्छ। यो प्रणालीको स्नायु कोषहरूले मस्तिष्कलाई तपाईं अघाएको सङ्‌केत दिन्छ जसले गर्दा चाहिने भन्दा धेरै खाना खाँदा तपाईंलाई वाकवाक लाग्न सक्छ।

हाम्रो पाचन नली र मस्तिष्कबीच कुनै तरिकामा सञ्चार हुन्छ भनेर तपाईंले यो लेख पढ्‌नु अघि नै सोच्नुभएको थियो कि? उदाहरणको लागि, कुनै-कुनै खानेकुरा खाँदा तपाईंले आफ्नो मुड राम्रो भएको याद गर्नुभएको छ? अनुसन्धानले देखाएअनुसार यस्ता खानेकुरा खाँदा हाम्रो पेटमा भएको स्नायु प्रणालीले मस्तिष्कलाई ‘आनन्दको अनुभूति’-को सङ्‌केत दिन्छ, त्यसपछि हुने रासायनिक परिवर्तनले हामीलाई आनन्दित बनाउँछ। मानिसहरू निराश भएको बेला किन यस्तो खानेकुरा खान खोज्छन्‌ भन्ने कुरा यसबाट स्पष्ट हुन्छ। वैज्ञानिकहरू डिप्रेसनको उपचार गर्न पेटमा भएको स्नायु प्रणालीलाई ‘आनन्दको अनुभूति’ भएको सङ्‌केत दिने कृत्रिम तरिका खोज्दैछन्‌।

कहिलेकाहीं हामी त्रसित वा चिन्तित हुँदा हाम्रो पेटमा असजिलो महसुस हुन्छ। यो कुराले पनि हाम्रो मस्तिष्क र पाचन प्रणालीबीच जानकारी आदानप्रदान हुन्छ भन्ने कुराको प्रमाण दिन्छ। मस्तिष्कले कुनै तनाव वा दबाब महसुस गर्दा पेटमा भएको स्नायु प्रणालीले रक्त प्रवाहलाई पेटबाट अन्तै मोडिदिएकोले यस्तो असजिलो अनुभूति हुन्छ। तनाव हुँदा मस्तिष्कले यो स्नायु प्रणालीलाई पेटको खुम्चने प्रक्रिया परिवर्तन गर्न लगाउँछ। परिणामस्वरूप, हामीलाई वाकवाक लाग्ने पनि हुन सक्छ। मस्तिष्क र पेटबीचको यस्तो सञ्चारले गर्दा कहिलेकाहीं हाम्रो मस्तिष्कले एउटा कुरा भने पनि मनले भने अर्कै कुरा भनिरहेको हुन्छ।

पेटमा भएको स्नायु प्रणालीलाई “दोस्रो मस्तिष्क” भनिए तापनि यसले सोच्न वा तार्किक ढङ्‌गले निर्णय गर्न सक्दैन। त्यसैले यो साँच्चैको मस्तिष्क भने होइन। यसले तपाईंलाई गीत रच्न, हिसाबकिताब मिलाउन वा तपाईंको होमवोर्क गर्न मदत गर्न सक्दैन। तैपनि यस्तो अद्‌भुत प्रणाली देखेर वैज्ञानिकहरू तीनछक पर्छन्‌। यसको कतिपय कुरा त पत्ता लाग्न बाँकी नै छ। त्यसकारण, खाना खानुअघि एकैछिन रोकिनुहोस् र तपाईंको पाचन प्रणालीमा के-कस्ता कार्यहरू हुनेछ, विचार गर्नुहोस्।

^ अनु. 4 The Second Brain