नुन—बहुमूल्य वस्तु
नुन—बहुमूल्य वस्तु
“तिमीहरू पृथ्वीका नून हौ,” भनी येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो। (मत्ती ५:१३) अरबीहरू “हामीबीच नुन छ,” भन्छन् अनि फारसीहरू कुनै व्यक्तिबारे भन्नुपऱ्यो भने “नमक हराम” (अवफादार वा कृतघ्न) भन्ने गर्छन्। नुनले चीजबीजहरूलाई बिग्रनदेखि बचाउने हुनाले पुरातन तथा आधुनिक भाषाहरूमा “नुन” शब्दको सम्बन्ध सम्मान र इमानदारीतासित जोडिएको छ।
नुन स्थिरता र स्थायित्वको चिनो पनि बनेको छ। तसर्थ, बाइबलमा स्थायी करारलाई “नूनको करार” पनि भनिएको छ अनि यस्तो करार बाँध्नेबेला मानिसहरू सँगै भोज खान्थे र त्यस भोजको विशेषता भनेको नुन हुन्थ्यो। (गन्ती १८:१९, नयाँ संशोधित संस्करण।) मोशालाई दिइएको व्यवस्थाअन्तर्गत वेदीमा चढाइने बलिदानहरूमा नुन राख्नुपर्थ्यो र यसले शुद्ध र निष्खोटतालाई जनाउँछ भन्ने कुरामा कुनै शंका छैन।
चाखलाग्दा ऐतिहासिक तथ्यहरू
इतिहासभरि नै नुन (सोडियम क्लोराइड) एउटा बहुमूल्य वस्तु साबित भएको छ र यसको लागि युद्धहरूसमेत लडिएका छन्। फ्रान्सेली क्रान्तिको एउटा मुख्य कारण लुईस सोह्रौंले नुनमाथि लगाएको अत्यधिक कर थियो। नुनलाई विनिमयको बहुमूल्य माध्यमको रूपमा प्रयोग गरिन्थ्यो। मोर जातिका व्यापारीहरू नुनसँग सुन साटफेर गर्थे, त्यो पनि एक ग्राम सुनको बदलामा एक ग्राम नुन र केही मध्य अफ्रिकी जातिहरूले ढिस्को नुनलाई पैसाको रूपमा प्रयोग गर्थे। युनानीहरूले नुन दिएर दासहरू किन्थे र त्यसैले “ऊ त नुनको मोल बराबर पनि छैन” भन्ने भनाइको उत्पत्ति भयो।
मध्य युगको दौडान नुनसित सम्बन्धित केही खास प्रकारका अन्धविश्वासहरू उत्पन्न भए। नुन पोखिनु विनाशको संकेत मानिन्थ्यो। उदाहरणका लागि, लियोनार्डो दा भिन्चीको “प्रभुको साँझको भोज” चित्रमा यहूदा इस्करयोतीको अगाडी नुनदानी लडिरहेको चित्रण गरिएको छ। a अर्कोतिर, १८ औं शताब्दीसम्म भोजको टेबुलमा नुन राखिएको ठाउँबाट कतातिर बसेको छ त्यसअनुसारै कुनै व्यक्तिको सामाजिक ओहदा प्रस्ट हुन्थ्यो। नुनदानी राखिएको भागभन्दा वरपट्टि अर्थात् टेबुलको शिरमा बस्ने व्यक्तिले उच्च सम्मान पाउँथ्यो।
प्राचीन कालदेखिनै मानिसहरूले प्राकृतिक ब्राइन्स, समुद्री पानी र नुनका ढिस्कोहरूबाट नुन निकाल्न सिकेका छन्। औषधतत्त्वशास्त्रका पुरातन चिनियाँ अभिलेखहरूमा ४० भन्दा बढी नुन निकाल्ने तरिका उल्लेख गरिएको छ र त्यसमा वर्णन गरिएका दुई तरिकाहरू अहिले नुन उत्पादन गर्न प्रयोग गरिने प्रक्रियासित हुबहु मिल्छ। उदाहरणको लागि, मेक्सिकोको बाहा क्यालिफोर्नीया सुरमा पर्ने बाहिया सेबेस्टीयन भिज्काइनो तटमा अवस्थित विश्वको सबैभन्दा ठूलो सौर्य नुन उत्पादन कारखानामा समुद्री पानीबाट नुन निकाल्न सौर्यशक्तिको प्रयोग गरिन्छ।
चाखलाग्दो कुरा, इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार विश्वका सम्पूर्ण महासागरहरू पूर्णतया सुकेको खण्डमा “त्यसबाट १.९ करोड घन किलोमिटर नुन प्राप्त हुनेछ र यो युरोप महादेशको समुद्री सतहदेखि माथि रहेको भागभन्दा लगभग १४.५ गुणा ठूलो हुनेछ।” अनि मृत सागरचाहिं महासागरभन्दा नौ गुणा नुनिलो छ!
आधुनिक समयमा नुनको प्रयोग
अहिले पनि नुन खानालाई स्वादिलो बनाउन, मासु कुहिन नदिन अनि अरू चीजबीजलगायत साबुन र गिलास उत्पादन गर्न प्रयोग गरिने बहुमूल्य वस्तु भएको छ। तर स्वास्थ्य क्षेत्रमा हुने नुनको प्रयोग चाखलाग्दो विषय हो। उदाहरणका लागि, विश्वका थुप्रै देशहरूमा आयोडिनको कमीले गर्दा गलगाँड आउने (थाइरोइड ग्रन्थी बढ्ने) र अझ मस्तिष्क विकासमा सुस्तता छाउने जस्ता आयोडिनको कमीले आउने रोगहरू हटाउन नुनमा आयोडिन प्रशस्त मात्रामा मिसाइन्छ। त्यस्तै गरी केही देशहरूमा दाँतलाई कीराले खानदेखि रोक्न नुनमा फ्लोराइड मिसाइने गरिन्छ।
रगत र त्यसको चापलाई निरन्तरता दिएर स्वस्थ रहन नुनको आवश्यकता परे तापनि नुन र उच्च रक्तचापबीचको विवादास्पद सम्बन्धबारे चाहिं के भन्न सकिन्छ नि? चिकित्सकहरू उच्च रक्तचाप भएकाहरूलाई सीमित मात्रामा मात्र नुन र सोडियमको प्रयोग नगर्न चिकित्सकहरू सल्लाह दिन्छन्। उच्च रक्तचाप भएका एक तिहाइदेखि लगभग आधाजसो मानिसहरूलाई त नुनले तुरुन्तै असर गरिहाल्छ। यस अवस्थामा नुनको मात्रा कम गरेको खण्डमा रक्तचाप पनि कम भएको पाइन्छ।
नुनले पक्कै पनि खानामा मिठास थप्छ भनेर अय्यूबले यो प्रश्न सोध्दा संकेत गरे: “के खल्लो खानेकुरो नूनविना खानसकिन्छ?” (अय्यूब ६:६) नुनलगायत “हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने” हाम्रा सृष्टिकर्ताप्रति कृतज्ञ हुन सक्छौं।—१ तिमोथी ६:१७. (g02 6/8)
[फुटनोट]
a नुनदानी भनेको नुन छर्कन प्रयोग गरिने भाँडो हो।
[पृष्ठ २७-मा भएको चित्र]
केही विभिन्न प्रकारका नुनहरू (माथिबाट घडी घुम्ने दिशातिर): (1) एलैया समुद्री नुन, हवाई; (2) फ्लियुर डे सेल, फ्रान्स; (3) जैविक कच्चा समुद्री नुन; (4) सेल ग्री (फुस्रो नुन), फ्रान्स; (5) खस्रो समुद्री नुन; (6) बिरे नुन, भारत