सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वकै सबैभन्दा लामो सुरुङ मार्ग

विश्‍वकै सबैभन्दा लामो सुरुङ मार्ग

विश्‍वकै सबैभन्दा लामो सुरुङ मार्ग

नर्वेका ब्यूँझनुहोस्‌! लेखकद्वारा

यदि तपाईं मनमोहक पहाड तथा गल्छीहरू हेर्न चाहनुहुन्छ भने, पश्‍चिमी नर्वे पाल्नुहोस्‌! तपाईं मक्ख पर्नुहुनेछ! त्यति मात्र होइन, साँघुरा तथा घुमाउरा बाटोहरूलगायत त्यहाँका थुप्रै सुरुङहरूले मानिसको प्रतिभाको प्रमाण पनि दिन्छ। हालै एउटा नयाँ सुरुङको निर्माण कार्य सम्पन्‍न भयो, जुन सुरुङ इन्जिनियरजगत्‌कै लागि अतुलनीय उपलब्धि हो। यो विश्‍वकै सबैभन्दा लामो लर्डल टनल अर्थात्‌ चट्टानलाई छेडेर बनाइएको २४.५ किलोमिटर लामो राजमार्ग हो! सुरुङको प्रवेशद्वारबाट छिरेको केही मिनेटमै १,००० मिटरभन्दा अग्ला-अग्ला पहाडहरू टाउकोमाथि हुनेछन्‌ भन्‍ने कुरा कल्पना गर्नुहोस्‌ त!

यत्ति लामो सुरुङ किन आवश्‍यक पऱ्‍यो? किनभने नर्वेका दुई मुख्य ठूलठूला शहरहरू, ओस्लो (पूर्वमा पर्ने राजधानी) र बर्गनलाई (पश्‍चिम समुद्री तटमा) जोड्‌ने यो महत्त्वपूर्ण सुरुङ हो। हिउँ र बतासले गर्दा हिउँदमा यी शहरहरूबीच भएका अन्य पहाडी सडकहरू भएर यात्रा गर्न अत्यन्तै गाह्रो हुन्छ। त्यसैले, खराब मौसमको बेला पनि भरपर्दो नयाँ बाटोको नितान्त आवश्‍यक पऱ्‍यो। सन्‌ १९९२ मा नर्वेको संसद्‌ले स-साना नगरहरू भएको अरल्याण्ड र लेर्डलबीच सुरुङसहितको एउटा नयाँ राजमार्ग बनाउने निर्णय गऱ्‍यो। पाँच वर्ष लगाएर निर्माण कार्य सिध्याएपछि, नोभेम्बर २००० मा सुरुङ आधिकारिक रूपमा खोलियो। इन्जिनियरिङजगत्‌कै यस्तो कठिन कार्य कसरी पूरा गर्न सकियो? सुरुङ कत्तिको सुरक्षित हुन्छ? यस सुरुङबाट यात्रा गर्दा कस्तो अनुभव हुन्छ? आउनुहोस्‌, हेरौं।

निर्माण गर्दाका समस्याहरू

सुरुङले लेर्डल र अरल्याण्डलाई जोड्‌छ तर कामदारहरूले भने एकै चोटि तीन ठाउँमा काम थाले। कामदारहरूको दलले सुरुङको दुवैपट्टिबाट काम थाले भने, तेस्रो समूहचाहिं हावा आवतजावत गर्ने दुई किलोमिटर लामो सुरुङ बनाउनपट्टि लागे, जुन सुरुङले लेर्डलको प्रवेशद्वारदेखि ६.५ किलोमिटर दूरीमा भएको मुख्य सुरुङलाई भेट्‌नुपर्थ्यो। पहाडको भित्र ठ्याक्क भेट्‌न तीनै समूहले कसरी मिलेर प्वाल पार्ने काम गर्न सक्यो होला? प्रत्येक समूहको काम थाल्ने सही ठाउँ तोक्न भूउपग्रह मार्ग निर्देशन प्रणाली प्रयोग गरियो भने, प्वाल पार्ने दिशा देखाउन चाहिं लेजर किरण प्रयोग गरिएको थियो। यी लेजर किरणहरूले पहाड फोर्न प्रयोग गरिने विस्फोटक पदार्थ राख्न खनिएका प्वालहरू ठीक छन्‌ कि छैनन्‌ सो पक्का गर्नको लागि प्वाल पार्ने मेशिनको गतिलाई नियन्त्रण गर्थ्यो।

प्रत्येक विस्फोटनको लागि ५.२ मिटर गहिरो १०० वटा प्वाल खनियो। लगभग ५०० क्युबिक मिटरसम्मको चट्टान फुटाउन यी प्वालहरूमा त्यस्तै ५०० किलोग्राम विस्फोटक पदार्थ राखिन्थ्यो। त्यसपछि ढुङ्‌गाका टुक्राटाक्रीहरूलाई ट्रकद्वारा बाहिर फ्याँकिन्थ्यो। प्वाल पार्ने काम फेरि सुरु गर्नुअघि सुरुङको पर्खाल र छतलाई आड दिनुपर्थ्यो। इस्पातको लामा-लामा बल्टुहरू प्रयोग गरियो र शटक्रेट भनिने प्रवलित क्रंक्रिट छ्यापेर सतहलाई मजबुत पारियो। सबै दलले हप्ताको लगभग ६० देखि ७० मिटरको दरमा कामलाई अघि बढाउँथे। सेप्टेम्बर १९९९ मा मुख्य सुरुङ मार्गमा कार्यरत दुवै दल लगभग ५० सेन्टिमिटरको तल माथिमा भेट भयो। त्यो निकै ठूलो उपलब्धि थियो! चौध महिनापछि सुरुङ तोकिएको दिनमै खोलियो। यतिबेलासम्म खर्च १२ करोड अमेरिकी डलर पुगिसकेको थियो।

हावा आवतजावतको लागि कस्तो प्रबन्ध मिलाइयो?

इन्जिनियरहरूको लागि सुरुङभित्र हावाको गुणस्तर कायम राख्ने प्रबन्ध मिलाउनु नै सबैभन्दा चुनौतीपूर्ण कार्य हो। लेर्डल टनल पार गर्न लगभग २० मिनेट लाग्ने भएकोले सास फेर्न स्वच्छ हावा प्रशस्त मात्रामा हुनु अत्यावश्‍यक छ। यसलाई कसरी पूरा गरियो?

लेर्डल टनलको मुखदेखि ६.५ किलोमिटर टाढामा पर्ने दुई किलोमिटर लामो भ्यान्टिलेसन टनल अर्थात्‌ हावा आवतजावत हुने सुरुङ, नजिकैको घाटीसम्म पुगेको छ र यसले चिम्नी वा निकासको काम गर्छ। सुरुङको दुवैपट्टिबाट सुरुङभित्र स्वच्छ हावा तानिन्छ र हावा आवतजावत हुने सुरुङबाट चाहिं प्रदूषित हावा बाहिर फ्याँकिन्छ। हावा एकदमै दूषित भएको बेला हावाको गति बढाउन हावा आवतजावत हुने सुरुङमा जडान गरिएको दुईवटा पंखा प्रयोग गर्न सकिन्छ। यी दुवै पंखा गरेर प्रति घण्टा १७ लाख क्युबिक मिटर हावा फ्याँक्छ। यस प्रणालीले गर्दा सुरुङको लेर्डलपट्टि प्रशस्त मात्रामा स्वच्छ हावा प्राप्त हुन्छ। तथापि, लामो सुरुङ अरल्याण्डपट्टि भने थप कार्य गर्नु बाँकी नै थियो। त्यसैकारण, हावा आवतजावत हुने सुरुङतिर हावाको गति बढाउन सुरुङको छतमा ३२ वटा स-साना पंखाहरू जडान गरियो। तथापि, अरल्याण्डपट्टिबाट बगेर गएको हावा, हावा आवतजावत हुने सुरुङसम्म पुग्दा अत्यन्तै दूषित भइसकेको हुन्छ। यो समस्या कसरी समाधान गर्ने त?

यसको लागि अरल्याण्ड सुरुङको मुखबाट ९.५ किलोमिटर दूरीमा १०० मिटर लामो समानान्तर सुरुङमा हावा प्रशोधन केन्द्र निर्माण गर्नुपर्ने थियो। दुवैपट्टि यो सुरुङ मुख्य सुरुङसित जोडिएको छ। मुख्य सुरुङबाट आउने हावालाई यस समानान्तर सुरुङतिर मोडिन्छ, जहाँ ९० प्रतिशतजति धूलो र नाइट्रोजन डाइअक्साइड बाहिर फ्याँकिन्छ।

यो हावा आवतजावत गर्ने प्रणाली तथा प्रशोधन प्रक्रियाले गर्दा लेर्डल टनलमा प्रतिघण्टा ४०० वटाजति सवारीसाधन सजिलै आवतजावत गर्न सक्छन्‌। सुरुङभित्र भएका सेन्सरले वायुको गुणस्तर राम्रो छ, छैन जाँच्नुका साथै हावा आवतजावत गर्ने प्रणालीको असरलाई नियन्त्रण गर्छ। प्रदूषणको मात्रा अचाक्ली बढी भएको खण्डमा सुरुङ नै बन्द गरिन्छ तर अहिलेसम्म यसो गर्नु परेको छैन।

यो कत्तिको सुरक्षित छ?

कोही-कोही मानिसहरू सुरुङभित्र गाडी चलाउन डराउँछन्‌। यो तथ्य तथा थुप्रै युरोपेली सुरुङहरूमा हालै भएका गम्भीर दुर्घटना तथा आगलागीहरूले गर्दा लेर्डल टनलमा सुरक्षा व्यवस्थालाई प्राथमिकता दिइएको छ। सुरुङलाई सुरक्षित बनाउन के गरिएको छ?

लेर्डलमा भएको नियन्त्रण केन्द्रले सुरुङमा भएका विभिन्‍न सुरक्षा प्रणालीहरूको निरन्तर जाँच गरिरहन्छ र सुरक्षा दृष्टिकोणबाटै खतरनाक देखिएमा सुरुङ बन्द गरिनेछ। सुरुङमा केही भइहालेको खण्डमा सुरुङ तुरुन्त बन्द गरेर शीघ्र उद्धार कार्य गर्नका लागि थुप्रै सावधानीहरू अपनाइएका छन्‌। यसको अलावा, प्रत्येक २५० मिटरको दूरीमा आपत्‌कालीन टेलिफोन र प्रत्येक १२५ मिटरको दूरीमा आगो निभाउने उपकरणहरू जडान गरिएका छन्‌। यदि कुनै पनि आगो निभाउने उपकरण त्यसको ठाउँबाट हटाइएको छ भने नियन्त्रण केन्द्रले चाल पाइहाल्छ। ती उपकरणमध्ये कुनै एक हटाइएको छ भने, राता ट्राफिक बत्तीहरूले सवारी चालकहरूलाई सुरुङभित्र नपस्न सजग गराउँछ र सुरुङभित्रका चिह्न र बत्तीहरूले चाहिं सवारी चालकहरूलाई सुरुङदेखि बाहिर खतरामुक्‍त, सुरक्षित दिशातिर जाने संकेत दिन्छ। चालकहरूले आफ्ना गाडीहरू मोड्‌न सक्छन्‌ किनभने साना गाडीहरूको लागि हरेक ५०० मिटरको दूरीमा गाडी मोड्‌ने ठाउँ छन्‌ भने ठूलठूला गाडीहरू मोड्‌ने ठाउँ १५ वटा छन्‌। सुरुङमा रेडियो एन्टेना प्रणाली पनि जडान गरिएको छ, जसद्वारा चालकहरूले आफ्नो मोटरमा भएको रेडियोमार्फत जानकारी दिन सक्छन्‌। गन्‍ने र फोटो प्रणालीले भित्र बाहिर दुवैतिरको ट्राफिकमा निगरानी राख्छ। सडक अधिकारीहरू सुरक्षाको दृष्टिकोणले यो एकदमै राम्रो मान्छन्‌ किनभने सुरुङभित्र कमै मोटरगाडीहरू मात्र आवतजावत भइरहेको हुन्छ।

यो सुरुङ कसरी भिन्‍न छ?

सुरुङभित्र गाडी चलाउँदा कस्तो अनुभव हुन्छ? सुरुङभित्र गाडी चलाउँदा रमाइलो अनुभव होस्‌, ताकि सवारी चालकहरूले सुरक्षित महसुस गरेर सावधानीपूर्वक गाडी हाँक्न सकून्‌ भन्‍ने इन्जिनियरहरूको मुख्य लक्ष्य थियो। यसको लागि अनुसन्धान संस्थाका ट्राफिक मनोवैज्ञानिक, पेशेवर लाइट डिजाइनर र अन्य थुप्रै मानिसहरूको सहयोग तथा सवारीसाधन सिमुलेटरको मदतद्वारा सुरुङको भित्री भाग बनाइएको थियो।

परिणाम? हुन त, सुरुङ त्यति सीधा छैन। अलि-अलि घुम्तीहरूले गर्दा चालकहरू निद्राले लट्ठ हुन पाउँदैनन्‌। उनीहरूले १,००० मिटरसम्म सीधा अगाडि देख्न सक्छन्‌। साथै, यी घुम्तीहरूले अगाडिको ट्राफिकको दूरी तय गर्न पनि मदत गर्छ। तीनवटा ठूलठूला गुफाजस्तो फराकिला ठाउँहरूले गर्दा यात्रा पट्टाइलाग्दो हुँदैन। यसले एउटै लामो सुरुङको सट्टा चारवटा छोट-छोटो सुरुङबाट यात्रा गरिरहेको भम्र पैदा गर्छ। यी ठाउँहरूमा भएको विशेष प्रकारको बत्ती; जस्तै: भुइँमा पहेंलो वा हरियो बत्ती अनि माथिचाहिं नीलो बत्ती बाल्दा घामको किरण भित्र छिरिरहेको र घाम झुल्केको आभास हुन्छ। यी बत्तीहरूको असर र सुरुङ जति लामो छ त्यति नै प्रशस्त बत्तीहरूको प्रबन्धले प्रायजसो सवारी चालकहरूलाई सजिलो तथा सुरक्षित महसुस गराउँछ।

संसारकै सबैभन्दा लामो सुरुङ मार्गबाट यात्रा गरेर अब यात्रीहरूले नौलो अनुभवको आनन्द उठाउन सक्छन्‌। आधुनिक इन्जिनियरजगत्‌कै यस्तो असाधारण कार्यले नर्वेको उत्तर र पश्‍चिमलाई भरपर्दो तरिकामा जोडेको छ। मानिसले आफ्नो कला र प्रतिभालाई रचनात्मक तरिकामा प्रयोग गरेको खण्डमा के चाहिं गर्न सक्दैन भन्‍ने कुराको यो बलियो प्रमाण हो। (g02 7/8)

[पृष्ठ २७-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सुरुङको बाटो

लेर्डल ← → अरल्याण्ड

[पृष्ठ २७-मा भएको रेखाचित्र/नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

लेर्डल सुरुङ

राजमार्ग

↑ लेर्डल

→ इ१६ देखि ओस्लोसम्म

* यी स्थानहरूमा जडान गरिएका साना पंखाहरू

हावा बग्ने दिशा

पहाडभित्र बनाइएको फराकिलो ठाउँ

पंखा स्टेशन → हावा आवतजावत हुने सुरुङ

*

पहाडभित्र बनाइएको फराकिलो ठाउँ

*

वायु प्रशोधन संयन्त्र

*

पहाडभित्र बनाइएको फराकिलो ठाउँ

*

*

हावा बग्ने दिशा

अरल्याण्ड

↓ इ१६ देखि बर्गन

१ माइल

१ किलोमिटर

[स्रोत]

Statens Vegvesen, Sogn og Fjordane

[पृष्ठ २६-मा भएको नक्सा]

नर्वे

लेर्डल टनल

बर्गन इ१६ ओस्लो

[पृष्ठ २७-मा भएको चित्र]

लेर्डल प्रवेश द्वार

[पृष्ठ २७-मा भएको चित्र]

वायु प्रशोधन संयन्त्रको नक्सा

[पृष्ठ २७-मा भएको चित्र]

इस्पातको बल्टु ठोकेर भित्ता र छतलाई सुरक्षित बनाएको सुरुङको भित्री भाग

[पृष्ठ २८-मा भएको चित्र]

सुरुङमा लगभग १०० वटा आपत्‌कालीन टेलिफोन तथा झन्डै ४०० वटा आगो निभाउने उपकरणहरू छन्‌

[पृष्ठ २८-मा भएको चित्र]

विशेष बत्तीको असर भएको पहाडभित्रै बनाइएका तीनवटा फराकिला ठाउँ

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Aerial view: Foto: Leiv Bergum; air treatment plant: ViaNova A/S; all other photographs on pages 26-8: Statens vegvesen, Sogn og Fjordane