सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जूवाको पासोबाट जोगिनुहोस्‌

जूवाको पासोबाट जोगिनुहोस्‌

जूवाको पासोबाट जोगिनुहोस्‌

“जूवाले मेरो स्वास्थ्यमा कुनै असर गरेन र जूवामा कति पैसा खर्च गर्ने भनी म पहिल्यै छुट्याउँथें। तर जब म चिट्ठा किन्थें, सधैं आफूलाई भाग्यशाली लागेको संख्या छान्थें।”—लिन्डा

थुप्रै जवाडेहरू भाग्यशाली संख्या वा भाग्यशाली मन्त्रहरूमा विश्‍वास गर्छन्‌। तिनीहरूले आफू पटक्कै अन्धविश्‍वासी छैन भनेर भने तापनि यस्ता कुराहरूमा भने विश्‍वास गर्न सक्छन्‌।

कोही-कोही जुवाडेहरूले त आफूलाई खेल जित्नको लागि मदत गर्नुहोस्‌ भनी परमेश्‍वरलाई प्रार्थनासमेत गर्छन्‌। तथापि, परमेश्‍वरको उपासना गरेको दाबी गर्ने तर “भाग्यदेवको निम्ति टेबल तयार गर्नेहरू[को]” उहाँले निन्दा गर्नुहुन्छ भनी बाइबलले बताउँछ। (यशैया ६५:११) हो, भाग्यमा विश्‍वास गर्ने अन्धविश्‍वासी प्रचलनहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। जूवाले सहजै आँखा चिम्लेर भाग्य देवीमाथि भरोसा राख्न उत्प्रेरित गर्छ।

जूवाले पैसाप्रतिको प्रेमलाई कुनै धक नमानिकन प्रश्रय दिन्छ। आध्यात्मिक कुराप्रति कुनै चासो नराख्ने आजको संसारमा पैसा नै परमेश्‍वर भएको छ र जूवा यसलाई उपासना गर्ने लोकप्रिय तरिका भएको छ। मानिसहरूको जीवनमा गिर्जाघरको ठाउँ भड्‌किलो क्यासिनोहरूले लिन थालेका छन्‌ र लोभ गर्नु ठीक छ भन्‍ने भनाइ नयाँ धर्मसिद्धान्त भएको छ। अनुसन्धाताहरूको भनाइअनुसार क्यासिनो जाने अधिकांश व्यक्‍तिहरूले आफू त्यहाँ मनोरञ्जन वा रमाइलो गर्न नभई “ठूलो धनराशी” जित्नको लागि गएको कुरा बताए। तथापि, बाइबल यस्तो चेताउनी दिन्छ: “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो, जसको पछि लाग्ने कुनै कुनै विश्‍वासबाट कुमार्गमा तर्केका हुन्छन्‌, र धेरै दुःखले तिनीहरूका हृदय छेंडेका हुन्छन्‌।”—१ तिमोथी ६:१०.

बाइबलले १ कोरिन्थी ६:९, १० मा स्पष्टसँग यसो भन्छ: “न ठागियौ। . . . मूर्तिपूजकहरू, . . . लोभीहरू, . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।” लोभ भित्र-भित्रै खोक्रो पार्ने सामाजिक बिमारी मात्र नभई यो मृत्युजन्य आध्यात्मिक बिमारी हो तर यसको उपचार पनि छ।

तिनीहरूले परिवर्तन गर्ने बल पाए

सुरुको लेखमा उल्लेख गरिएका काजुशिगे यसरी सम्झन्छन्‌: “मैले थुप्रै पटक जूवा खेल्न छोड्‌ने कोसिस गरें। घोडदौडमा साथीहरूसँग बाजी लगाउँदा मैले आफ्नो परिवारलाई बरबाद गरिरहेको छु भन्‍ने कुरा मैले महसुस गरें। म सधैं आफूले जितिसकेको पैसा पनि फेरि हार्थें। हाम्रो अर्को जन्मने छोराको लागि चाहिन्छ भनेर मेरी पत्नीले साँचेर राखेकी पैसा पनि मैले जूवामा उडाएँ अनि पछि गएर आफू काम गर्ने कम्पनीको पैसाबाट पनि जूवा खेल्न थालें। फलस्वरूप, ममा आत्मसम्मान पटक्कै रहेन। मेरी पत्नीले घरीघरी रूँदै मलाई जूवा नखेल्न बिन्ती गरे तापनि मैले यो बानी त्याग्न सकेको थिइनँ।”

पछि काजुशिगेले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थाले। तिनी यसो भन्छन्‌: “मैले जति धेरै बाइबल पढें, एक जना परमेश्‍वर हुनुहुन्छ र उहाँको कुरा सुन्दा मलाई लाभ हुन्छ भन्‍ने कुरामा म त्यति नै धेरै विश्‍वस्त भएँ। मैले परमेश्‍वरले दिनुहुने शक्‍तिद्वारा जूवा खेल्न छोड्‌ने निर्णय गरें। मैले जूवा खेल्न छोडेको मात्र होइन तर ममा यसप्रति घृणासमेत जागेको देख्दा म आफै पनि छक्क परेको छु। मेरो जूवा खेल्ने बानीको कारण मेरो परिवारले भोग्नुपरेको कष्ट सम्झँदा अहिले मेरो मन भतभती पोल्छ। जूवा खेल्ने कुलत त्याग्न मदत दिनुभएकोमा र अर्थपूर्ण जीवन बिताउन मदत गरिरहनुभएकोमा म यहोवा परमेश्‍वरप्रति कत्ति धेरै कृतज्ञ छु!”—हिब्रू ४:१२.

त्यसै गरी सुरुको लेखमा उल्लेख गरिएका जोनले पनि बाइबल अध्ययन गर्न थाले। तिनी यसरी सम्झन्छन्‌: “बाइबल अध्ययनले मलाई आफ्ना परिस्थितिहरू पुनर्विचार गर्न मदत गऱ्‍यो। मेरो जूवा खेल्ने बानीले परिवार र मलाई कत्ति हानि गरिरहेको छ भन्‍ने कुरा मैले पहिलो पटक बुझ्न सकें। जूवाले मानिसहरूमा स्वार्थ, लोभी मनोवृत्तिजस्ता यहोवाले घृणा गर्नुहुने दुर्गुणहरू विकास गर्छ भनी मैले बुझ्न सकें। मैले अध्ययन गर्दै जाँदा यहोवाप्रतिको प्रेमले मलाई जूवा खेल्न छोड्‌ने बल प्रदान गऱ्‍यो। मैले सुखी जीवन प्राप्त गर्ने सपनासहित जूवा खेल्न सुरु गरेको थिएँ। अहिले मैले जूवा खेल्न छोडिसकें र मैले आनन्दपूर्वक यहोवाको सेवा गरिरहेको कारण मेरो सपना पनि वास्तविकतामा परिणत भएको छ।”

जोनकी पत्नी लिन्डाले पनि जूवाबाट अलग हुने निर्णय गरिन्‌। तिनी भन्छिन्‌, “यसो गर्न सजिलो थिएन। तर मेरो पति र मैले यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न थालेपछि मैले जीवनमा बढ्‌ता महत्त्वपूर्ण कुराहरूमा ध्यान केन्द्रित गर्न सिकें। मैले परमेश्‍वरले प्रेम गर्नुहुने कुराहरूलाई प्रेम गर्न मात्र होइन तर सबै प्रकारका लोभलगायत उहाँले घृणा गर्नु हुने कुराहरूलाई घृणा गर्न पनि सिकें। अझ बढी उद्देश्‍यपूर्ण जीवन बिताउनुका साथै अहिले मेरो पर्समा पहिलेको भन्दा धेरै पैसा हुन्छ।”—भजन ९७:१०.

परमेश्‍वरसँग सम्बन्ध विकास गरेर तपाईं पनि जूवाको पासोबाट जोगिन आवश्‍यक बल तथा बुद्धि प्राप्त गर्न सक्नुहुन्छ। यसो गर्नाले तपाईंको आर्थिक, भावनात्मक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुनेछ। त्यसपछि तपाईंले हितोपदेश १०:२२ मा लिपिबद्ध शब्दहरूको सत्यता आफैले अनुभव गर्ने सुअवसर पाउनुहुनेछ: “परमप्रभुको आशिषले धन-सम्पत्ति ल्याउँछ, उहाँले तीसित दुःख पठाउनुहुन्‍न।” (g02 7/22)

[पृष्ठ ११-मा भएको ठूलो अक्षरको क्याप्सन]

लोभ भित्र-भित्रै खोक्रो पार्ने सामाजिक बिमारी मात्र नभई यो मृत्युजन्य आध्यात्मिक बिमारी हो

[पृष्ठ ९-मा भएको पेटी/चित्र]

जूवा र अलौकिक कुराहरू

नेशनल ग्याम्बलिङ्‌ इम्प्याक्ट स्टडी कमिशन समक्ष प्रस्तुत गरिएको प्रतिवेदनमा डुक विश्‍वविद्यालयका अनुसन्धाताहरूले जूवाको विज्ञापन गर्ने तरिका र अलौकिक शक्‍तिहरूमाथिको विश्‍वासबीच सम्बन्ध भएको कुरा संकेत गरे। उक्‍त रिपोर्ट यस्तो बताउँछ: “थुप्रै [चिट्ठा] विज्ञापनहरूले भौतिकवादलाई अचाक्ली जोड दिन्छन्‌ . . . तथापि यसले कडा मेहनत गर्न र लगनशील भएर आर्जन गर्न त होइन तर आशा, सपना अनि अन्धविश्‍वासहरूमा आधारित अलौकिक शक्‍ति तथा जादूका बत्तीहरूमाथि विश्‍वास जगाउँछ। अनि तिनीहरूका सबैभन्दा राम्रा ग्राहकहरू भनेकै व्यक्‍तिगत अन्धविश्‍वास, ज्योतिष पात्रो, स्वघोषित भविष्यज्ञाता र नाउँ, मिति तथा सपनाहरूसँग मिल्ने संख्याहरूको सूची दिइएको अनि सबैले श्रद्धा गर्ने ‘सपनाका पुस्तकहरूको’ आधारमा बाजी लगाउने व्यक्‍तिहरू हुन्‌ भनेर हरेक जूवा सञ्चालकहरूलाई थाह छ। सबै संख्याहरू छानिने सम्भाव्यता बराबर हुन्छ, बरु सबैले मनपराएको संख्या छन्दा आफूले जितेको पैसासमेत अरूसँग पनि बाँड्‌नुपर्ने हुनाले आफ्नो भागमा थोरै पैसा आउँछ भनेर जोड दिनुको सट्टा चिट्ठा व्यवसायीहरूले ग्राहकहरूलाई आफूलाई मन परेको संख्या छान्‍न (र सधैं त्यही संख्या प्रयोग गरिरहन) प्रोत्साहन दिन्छन्‌।”

[पृष्ठ १०-मा भएको चित्र]

“यहोवाप्रतिको प्रेमले मलाई जूवा खेल्न छोड्‌ने बल प्रदान गऱ्‍यो।”—जोन

“अझ बढी उद्देश्‍यपूर्ण जीवन बिताउनुका साथै अहिले मेरो पर्समा पहिलेको भन्दा धेरै पैसा हुन्छ।”—लिन्डा

[पृष्ठ १०-मा भएको चित्र]

“मैले जूवा खेल्न छोडेको मात्र होइन तर ममा यसप्रति घृणासमेत जागेको देख्दा म आफै पनि छक्क परेको छु।”—काजुशिगे