सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

क्रेजी हर्स—पहाडलाई स्मारकमा परिवर्तन गर्ने

क्रेजी हर्स—पहाडलाई स्मारकमा परिवर्तन गर्ने

क्रेजी हर्स—पहाडलाई स्मारकमा परिवर्तन गर्ने

जवान, दक्ष तथा आफैले मूर्तिकला सिकेका, एक जना पोलिश मूलका अमेरिकी मूर्तिकारलाई कुन कुराले एउटा पहाडलाई प्रख्यात अमेरिकी आदिवासी विजेताको प्रतीमामा परिवर्तन गर्न प्रेरित गऱ्‍यो होला? यो हतारमा गरिएको निर्णय थिएन किनभने ती मूर्तिकार, कोर्जाक झोल्कोभस्कीलाई उक्‍त निर्णय गर्न सात वर्ष लाग्यो।

सन्‌ १९३९ मा, कोर्जाकले दक्षिण डाकोटास्थित पाइन रिज आदिवासी आरक्षण निवासी, आदिवासी लाकोटाहरूका मुखिया हेनरी स्टान्डिङ बिअरबाट एउटा पत्र पाए। मुखियाले तिनलाई दक्षिणी डाकोटाको ब्ल्याक हिलमा एक जना प्रख्यात आदिवासी मुखियाको स्मारक निर्माण गर्न आग्रह गरे। लाकोटा आदिवासी जनताहरू ब्ल्याक हिललाई आदिवासीहरूको पवित्र भूमि मान्छन्‌ र मूर्तिकार गट्‌सन बोर्गल्मले तिनीहरूले पवित्र ठानेको, ब्ल्याक हिलमाझको रशमोर पर्वतको बीचमै चार जना अमेरिकी राष्ट्रपतिहरूको भव्य मूर्ति बनाउँदा तिनीहरू खुसी थिएनन्‌। मुखिया स्टान्डिङ बिअरले कोर्जाकलाई यस्तो लेखे: “मेरा सँगी मुखियाहरू र म, गोराहरूले हामी आदिवासीहरूका पनि महापुरुषहरू छन्‌ भनी थाह पाऊन्‌ भन्‍ने चाहन्छौं।”

क्रेजी हर्स नै किन ?

तिनीहरूले क्रेजी हर्सलाई नै किन रोजे? a राब डिवल यसो भन्छन्‌: “क्रेजी हर्सको स्मारक बनाउन रोज्नेहरू आदिवासीहरू थिए। वास्तवमा, क्रेजी हर्सलाई आदिवासीहरूले आदर्शको रूपमा हेर्थे। तिनी ज्यादै नै बहादुर योद्धा र कुशल सैन्य रणनीतिज्ञ हुनुका साथै शत्रुलाई लोभ्याएर तिनीहरूलाई फन्दामा पार्ने तरिका अपनाउने पहिलो आदिवासी थिए। तिनले . . . कहिल्यै सम्झौतामा हस्ताक्षर गरेनन्‌ र आरक्षणमा पनि बसेनन्‌।”

कोर्जाकले उक्‍त डिजाइनको मेलो कसरी पाए? अधिकांश लाकोटाहरू तिनीहरूको लागि छुट्टाइएको आरक्षणमा बस्न गइसके तापनि क्रेजी हर्स भने त्यहाँ बस्न नमानेको कारण एक जना गोरा व्यापारीले तिनको खिसी गर्दा तिनले दिएको जवाफबारे कोर्जाकले सुनेका थिए। ती व्यापारीले सोधे: “अहिले तिम्रो जग्गा-जमिन कहाँ छ?” क्रेजी हर्सले “क्षितिजतिर हेर्दै आफ्नो घोडाको टाउकोमाथि देखाए र गर्वसाथ भने, ‘मेरो मृत शरीर जहाँ गाडिनेछ, मेरो जग्गा-जमिन त्यहीं छ।’ ”

स्मारक कहाँ खडा गर्ने

सर्वप्रथम त, नजिकको रशमोर पर्वतलाई पनि उछिन्‍ने, संसारकै सबैभन्दा ठूलो स्मारक खडा गर्न पहाड छान्‍नुपर्थ्यो। सन्‌ १९४७ मा, कोर्जाक र मुखिया स्टान्डिङ बिअरले आफ्नो योजना सम्पन्‍न गर्न एउटा पहाड छाने। यो स्मारक समुद्री सतहदेखि २,०५० मिटरको उचाइमा अवस्थित, २०० मिटर अग्लो पहाडमा बनाइनेथियो। बेला-बेला यस पहाडमाथि अनौठो आकारको बादल देखिने हुनाले कोर्जाकले यस पहाडको नाउँ मेघ गर्जने पहाड राखे। तिनीहरूले यो पहाडलाई एक जना आदिवासीको विशाल स्मारकमा परिवर्तन गर्ने अनुमति कसरी पाउने थिए?

कोर्जाक—स्टोरीटेलर इन स्टोन भन्‍ने पुस्तकमा डिवल यसो भन्छन्‌: “ब्ल्याक हिलको खानीबाट खनिज निकाल्न पाउँ भनी जो सुकैले पनि निवेदन दिन सक्थ्यो। अनि उसले वार्षिक रू. ८,००० बराबरको काम गरुन्जेलसम्म त्यो जमिन उसैको हुन्थ्यो। हरेक वर्ष निर्धारित काम गरुन्जेल, त्यो पहाड घोडामाथि सवार आदिवासीको आकृतिजस्तो देखियोस्‌ वा नदेखियोस्‌ सरकारले केही वास्ता गर्दैन भनी कोर्जाकलाई थाह थियो।”

कति पहाड हटाउनुपर्ने थियो?

सीमित पैसा हातमा लिएर कोर्जाकले एकदमै कठिन काम सुरु गरे। अझ, सुरुमा त तिनी आफ्नै खर्चले काम गरिरहेका थिए। सबैभन्दा पहिले जून ३, १९४८ मा गरिएको डाइनामाइट विस्फोटनद्वारा असाध्यै थोरै अर्थात्‌ दस टन चट्टान हटाइयो। त्यस समयदेखि सन्‌ १९९४ सम्ममा, यो पहाडबाट अन्दाजी ८४ लाख टन चट्टान विस्फोट गराएर हटाइसकियो। सुरुमा, विस्फोटन गराइँदा सयौं आदिवासीहरू उपस्थित थिए। लिटल बिगहर्नको प्रख्यात युद्धबाट (जून २५, १८७६) बचेर यस समयसम्म जीवित रहेका नौजनामध्ये पाँच जना पनि उपस्थित थिए। b

कोर्जाक परिश्रमी र दृढ अठोट भएका मानिस थिए। विस्फोटन गराएर घोडाको टाउकोको आकृति कुँद्‌न पहाडको टुप्पोसम्म जानको लागि तिनले आफैले काटेको काठ प्रयोग गरेर ७४१ वटा खुड्‌किला भएको भऱ्‍याङ बनाए। तिनलाई प्वाल खोप्ने साधन चलाउनको लागि उर्जाको आवश्‍यकता पर्थ्यो। पेट्रोलबाट चल्ने थोत्रो कम्प्रेसरबाट यो उर्जा प्राप्त भयो। कोर्जाकले आफूले प्वाल खोप्दै गरेको पहाडसम्म ८ सेन्टिमिटर गोलाइ भएको ६२० मिटर लामो पाइप बिछ्याउनु पर्थ्यो। अचानक कम्प्रेसर बन्द भयो भने, फेरि मोटर स्टार्ट गर्न तिनी सबै ७४१ वटा खुड्‌किलाहरू झर्नुपर्थ्यो। तिनले एक दिनमा नौ पटकसम्म ओहरदोहर गरेको रेकर्ड छ! तिनीसँग कम्प्रेसर कुरेर बस्नको लागि अरू कसैलाई ज्याला दिएर खटाउने पैसा थिएन। तिनी पक्कै पनि बलिया र दृढ अठोट भएका व्यक्‍ति थिए।

सन्‌ १९५१ मा, तिनले ६६० लिटर सेतो रंग प्रयोग गरेर, त्यस पहाडमा तयार गर्ने योजना गरिएको आकृतिको रूपरेखा तयार पारे। यसले गर्दा त्यहाँ भ्रमण गर्न आउनेहरूले यस आकृतिको अन्तिम रूप कस्तो हुनेछ भनी अझ सजिलोसँग अनुमान गर्न सके।

एउटा दुर्घटना र संकट

सन्‌ १९७० र ८० को दशकको सुरुतिर कोर्जाक घोडाको टाउकोको आकृति बनाउनको लागि चट्टान विस्फोटन गर्नतिर लागे। यति बेलासम्म तिनलाई दुई पटक हृदयघात भइसकेको थियो (सन्‌ १९६८ र १९७०)। सन्‌ १९८२ को ग्रीष्म-ऋतुमा, तिनको मुटको जटिल बाइपास शल्यक्रिया सफलतापूर्वक गरियो। तर दुःखको कुरा, त्यही वर्षको अक्टोबरमा ७४ वर्षको उमेरमा कोर्जाकको मृत्यु भयो। अब बृहत्‌ क्रेजी हर्स परियोजना के हुने थियो? यसको मूर्तिकारसँगसँगै यो परियोजना पनि बिलाएर जाने थियो?

कोर्जाकलाई उक्‍त काम आफैले फत्ते गर्छु भन्‍ने कहिल्यै लागेको थिएन। यो परियोजना एक जना मानिसको जीवनकालमा सिद्धिंदैन भन्‍ने थाह भएकोले तिनले यस कामको लागि पहिल्यै सविस्तार योजना बनाइसकेका थिए। तिनकी पत्नी, रूथ र तिनीहरूका दस जना छोराछोरी यो स्मारकको काम सिध्याउन तिनी जत्तिकै दत्तचित्त थिए। रूथ यो परियोजनाको हर कदममा सम्मिलित थिइन्‌ र हिसाबकिताब गर्नदेखि लिएर बल प्रयोग गर्नुपर्ने कामहरूमा समेत आफ्नो पतिलाई मदत गर्थिन्‌।

तिनी सबैभन्दा पहिला घोडाको टाउको बनाउन चाहन्थे। तर तिनको मृत्युभएपछि यो योजनामा परिवर्तन भयो। सन्‌ १९८७ मा, तिनकी विधवाका साथै गैरमूनाफादायी प्रतिष्ठानका निर्देशकहरूले क्रेजी हर्सको अनुहार पहिला बनाउने निर्णय गरे। किन योजना परिवर्तन गर्नुपऱ्‍यो? अनुहार घोडाको टाउकोभन्दा सानो भएकोले, यो बनाउने काम चाँडै सिद्धिन्थ्यो र खर्च पनि कम लाग्थ्यो। साथै, कम समयमा नै जनसाधरणले उक्‍त प्रतीमाको झलक राम्रोसँग देख्न पाउने थिए, जसको कारण यस परियोजनाले व्यापक जनसमर्थन पाउन सक्ने सम्भावना हुन्थ्यो।

अचम्मलाग्दो आयाम

क्रेजी हर्सको टाउको २६.७ मिटर अग्लो र १८ मिटर चौडा छ। “क्रेजी हर्सको टाउको भित्र रशमोर पर्वतमा भएको २० मिटर अग्ला चारैवटा टाउकाहरू सजिलै अटाउँछन्‌,” भनिन्छ! कुनै-कुनै स्रोतअनुसार, देब्रे हात पसारिरहेका क्रेजी हर्स र तिनको घोडा, विश्‍वकै सबैभन्दा ठूलो मूर्तिकला हुनेछ। यो १७२ मिटर अग्लो र १९५ मिटर लामो हुनेछ। हात मात्रै ६९ मिटर लामो हुनेछ भने तोकेर देखाइरहेको औंला ११.४ मिटर लामो र ३ मिटर मोटो हुनेछ।

कोर्जाकले यो परियोजनाको लागि संघीय कोषबाट रकम लिएनन्‌। संघीय सरकारले तिनलाई दुई पटक गरी झण्डै ८० करोड रूपैंया दिन खोजेको थियो, तर तिनले लिन मानेनन्‌। डिवल भन्छ, कोर्जाक “कसैबाट सहयोगको आशा नगरी त्यो काम पूरा गर्न कटिबद्ध रहे। आफ्नो जीवनकालमा तिनी एक्लैले ४० करोड रूपैंयाभन्दा बढी पैसा जम्मा गरेर क्रेजी हर्समा खर्च गरे।” तिनले तलब लिएनन्‌ र तिनको व्यक्‍तिगत खर्चको खाता पनि थिएन।

अहिले गाडीहरूलाई प्रवेश शुल्क लिइन्छ तर व्यक्‍तिको र मोटरसाइकलको प्रवेश शुल्क भने अलि कम छ। अचेल, हरेक वर्ष दस लाखभन्दा बढी व्यक्‍तिहरू क्रेजी हर्स हेर्न आउँछन्‌। अरूले अनुदान स्वरूप दिएका उपकरणहरू र रकमले यो परियोजना सुचारु रूपमा चलाइरहन मदत गरेको छ।

आदिवासी संग्रहालय

क्रेजी हर्स निर्माणस्थलमा, स्थानीय काठपातद्वारा बनेको उत्तर अमेरिकाको शानदार आदिवासी संग्रहालय छ। यसमा उत्तर अमेरिकाका विभिन्‍न जातीय समुदायहरूको झलक दिने ५०० भन्दा बढी आदिवासी हस्तकलाहरू छन्‌। यहाँ आदिवासी अमेरिकीहरूबारे गरिएको शोधकार्यसम्बन्धी ठूलो पुस्तकालय छ, जहाँ विद्यार्थी र विद्वान्‌हरूले अध्ययन-अनुसन्धान गर्न सक्छन्‌।

प्रिसिला एङेन र फ्रेडा गुडसेलजस्ता आदिवासी अमेरिकीहरूले, सोधिएका प्रश्‍नहरूको जवाफ दिन्छन्‌ र प्रदर्शनमा राखिएका कलाकृति तथा हस्तकलाहरूबारे वर्णन गरिदिन्छन्‌। विश्‍वविद्यालयका प्रशिक्षक तथा मिनेकान्जू, लाकोटा समुदायका डोनोभिन स्प्रागसँग भ्रमणको बेला परामर्श लिन सकिन्छ। तिनी सन्‌ १८७६ मा लिटल बिगहर्नको युद्धमा लडेका, मुखिया हम्पका खनाति हुन्‌।

क्रेजी हर्स स्मारकको भविष्य?

संग्रहालयको लागि नयाँ भवन बनाउने योजना छ। कोर्जाकको योजना संग्रहालय स्मारकको फेदी नजिकै र नाभाहो आदिवासीहरूको शैलीमा बनाउने थियो। यो ११० मिटर गोलाइ भएको, थुप्रै तलाहरू भएको भवन हुनेछ। यहाँ उत्तर अमेरिकी आदिवासीहरूको लागि विश्‍वविद्यालय र चिकित्सा प्रशिक्षण केन्द्र पनि बनाउने योजना छ। तथापि, यी महत्त्वाकांक्षी सपनाहरू वास्तविकतामा परिणत हुनुअघि, क्रेजी हर्स स्मारकको निर्माण कार्य नै पूरा हुनुपर्छ। यो पूरा हुन कति समय लाग्नेछ? कोर्जाककी पत्नी, रूथ भन्छिन्‌: “यही मितिमा सिद्धिन्छ भनेर भन्‍न सकिन्‍न। किनभने यो मौसम, हिउँद कत्तिको चिसो हुनेछ, पैसा र अरू कुराहरूमा भर पर्छ। महत्त्वपूर्ण कुरा भनेको, अन्तिम लक्ष्य प्राप्त गर्न हामी अघि बढिरहनु हो।” (g02 11/08)

[फुटनोटहरू]

a भनिन्छ, क्रेजी हर्स जवान छँदा तिनको (लगभग सन्‌ १८४०-७७) घोडा सधैं तिनको नजिक हुन्थ्यो। “सायद बीस वर्ष पुग्नुअघि नै तिनले क्रेजी हर्स [लाकोटा भाषामा, ताशुङका विट्‌को] भन्‍ने नाउँ पाइसकेका थिए। तिनको कुलमा यो नाउँ पाउने तिनी तेस्रो तथा अन्तिम व्यक्‍ति थिए।” तिनको बुबा तथा हजुरबुबाले पनि यही नाउँ पाएका थिए।—इन्साइक्लोपीडिया अफ नर्थ अमेरिकन इन्डियनस्‌।

b यस ऐतिहासिक युद्धमा टेटन सिओक्स (लाकोटा) र साइयानहरूको लगभग २,००० संयुक्‍त सेनाहरूले प्रमुख सेनानी जर्ज आर्मस्ट्रङ कस्टर र तिनको २१५ घोडचढीहरूको फौजलाई परास्त गरे र सेनानी मार्कस रिनो तथा सहसेनानी फ्रेड्रिक बेन्टीनको नेतृत्वमा आएको घोडचढी फौजलाई पनि हराए। त्यस युद्धमा आदिवासी पक्षका नेताहरूमध्ये क्रेजी हर्स पनि एक जना थिए।

[पृष्ठ १५-मा भएको चित्र]

क्रेजी हर्सको नमुना र पहाडको भित्तामा रंगद्वारा बनाइएको, घोडाको टाउको

[स्रोत]

Pages 2 and 15: Korczak, Sculptor © Crazy Horse Memorial Fnd.

[पृष्ठ १५-मा भएको चित्र]

जून ३, १९४८ मा कोर्जाक र मुखिया हेनरी स्टान्डिङ बिअर। तिनीहरूको पछाडि स्मारकको मार्बलद्वारा बनिएको नमुना र विस्फोटन गराउनुअघिको पहाड देखिएको छ

[स्रोत]

Photo: Crazy Horse Memorial archives

[पृष्ठ १६-मा भएको चित्र]

झोल्कोभस्की परिवार। दाँयाबाट चौथो, कोर्जाककी विधवा, रूथ

[स्रोत]

Crazy Horse photo

[पृष्ठ १७-मा भएको चित्र]

आदिवासी संग्रहालयको भित्री भाग

[पृष्ठ १७-मा भएको चित्र]

क्रेजी हर्सको अनुहारतर्फ वार्षिक यात्रा गरिंदै

[स्रोत]

Photo by Robb DeWall, courtesy Crazy Horse Memorial Foundation (nonprofit)

[पृष्ठ १७-मा भएको चित्रको स्रोत]

Photos by Robb DeWall, courtesy Crazy Horse Memorial Foundation (nonprofit)