सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌!

परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌!

परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌!

“तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌।”–यर्मिया १:१९.

१. यर्मियाले कस्तो आदेश पाए र यो कार्य कतिञ्जेलसम्म चल्यो?

 यहोवाले जवान यर्मियालाई जाति जातिहरूका निम्ति अगमवक्‍ता हुन अह्राउनुभयो। (यर्मिया १:५) त्यतिखेर यहूदाका असल राजा योशियाहको शासन चलिरहेको थियो। यर्मियाले बेबिलोनले यरूशलेमलाई परास्त गर्नअघि गोलमालको समयदेखि परमेश्‍वरका जनहरू निर्वासनमा लगिएको समयसम्म अगमवक्‍ताको रूपमा सेवा गरे।—यर्मिया १:१-४.

२. यहोवाले यर्मियालाई कसरी सबल पार्नुभयो र यी अगमवक्‍ता विरुद्ध लड्‌नुको अर्थ के हुनेथियो?

यर्मियाले घोषणा गर्नुपर्ने ईश्‍वरीय न्यायको सन्देशहरूले गर्दा पक्कै विरोध खडा हुनेथियो। त्यसकारण, यहोवाले तिनलाई हुनलागेका कुराका लागि तयार पार्नुभयो। (यर्मिया १:८-१०) उदाहरणका लागि, यहोवाले निम्न शब्दहरूद्वारा तिनको आँट बढाउनुभयो: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्‍नुहुन्छ।” (यर्मिया १:१९) यर्मिया विरुद्ध लड्‌नु यहोवा विरुद्ध लडेसरह हुनेथियो। आज यर्मियाले गरेजस्तै काम गर्ने यहोवाका अगमवक्‍तारूपी सेवकहरूको एउटा समूह छ। तिनले जस्तै तिनीहरू पनि साहसी भई परमेश्‍वरको भविष्यसूचक वचन घोषणा गर्छन्‌। अनि यो सन्देश सम्पूर्ण मानिस र जातिहरूका लागि तिनीहरूको प्रतिक्रियाअनुसार असल वा खराब हुनसक्छ। यर्मियाको समयमा जस्तै अहिले परमेश्‍वरका सेवकहरू र तिनीहरूको ईश्‍वर-प्रदक्‍त क्रियाकलापहरूको विरोध गरेर उहाँ विरुद्ध लड्‌नेहरू पनि छन्‌।

यहोवाका दासहरूमाथि आक्रमण

३. यहोवाका सेवकहरूमाथि किन आक्रमण भएको छ?

यस २० औं शताब्दीको प्रारम्भदेखि नै यहोवाका जनहरूमाथि आक्रमण भइरहेको छ। थुप्रै मुलुकहरूमा दुष्ट मानिसहरूले परमेश्‍वरको राज्यको सुसमाचारको उद्‌घोषणा गर्नमा बाधा पुऱ्‍याउन, हो, अझ ठप्पै रोक्न खोजेका छन्‌। “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर” हिंड्‌ने हाम्रो प्रमुख शत्रु दियाबलले तिनीहरूलाई उस्काएको छ। (१ पत्रुस ५:८) सन्‌ १९१४ मा “अन्यजातिको समय” सिद्धिएपछि परमेश्‍वरले आफ्नो पुत्रलाई पृथ्वीको नयाँ राजा नियुक्‍त गर्नुभयो र ‘शत्रुहरूका बीचमा राज्य गर्न’ अह्राउनुभयो। (लूका २१:२४; भजन ११०:२) आफ्नो राज्यशक्‍ति प्रयोग गर्नुहुँदै ख्रीष्टले शैतानलाई स्वर्गबाट यस पृथ्वीमा फाल्नुभयो। आफ्नो समय अल्प छ भनी थाह पाउँदै दियाबल अभिषिक्‍त मसीहीहरू र तिनीहरूका सहयोगीहरूमाथि आफ्नो रिस खन्याउँछ। (प्रकाश १२:९, १७) यी परमेश्‍वर विरुद्ध लड्‌नेहरूले गरेको निरन्तर आक्रमणको परिणाम के भएको छ?

४. प्रथम विश्‍वयुद्धताक यहोवाका जनहरू कस्तो जाँचमा परे तर १९१९ र १९२२ मा के भयो?

प्रथम विश्‍वयुद्धको दौडान यहोवाका अभिषिक्‍त सेवकहरूको विश्‍वासको थुप्रै जाँचहरू भए। तिनीहरू हाँसोको पात्र भए, निन्दित भए, हूलदंगाको सिकार भए र पिटिए। येशूले अगमवाणी गर्नुभएझैं तिनीहरू ‘सबै जातिमध्ये घृणित’ भए। (मत्ती २४:९) युद्ध चर्किएको बेला परमेश्‍वरको राज्यका शत्रुहरूले येशू ख्रीष्ट विरुद्ध चालेजस्तै चाल चाले। तिनीहरूले यहोवाका जनहरू अराजक हुन्‌ भन्‍ने लाञ्छना लगाए र दृश्‍य संगठनको मुटुमै प्रहार गरे। मे १९१८ मा वाच टावर सोसाइटीका अध्यक्ष जे. एफ. रदरफोर्ड र तिनका सात जना घनिष्ठ सहयोगीहरूलाई पक्राउ गर्ने पुर्जी काटियो। यी आठ जनालाई कठोर जेलसजाय दिइयो र स.रा.अ., एटलान्टा, जर्जियाको सरकारी सुधारगृहमा पठाइयो। नौ महिनापछि तिनीहरू जेलबाट छुटेका थिए। क्षेत्रीय पुनरावेदन अदालतले मे १९१९ मा प्रतिवादीहरूको निष्पक्ष पुर्पक्ष गरिएको छैन भनेर अदालतको फैसला बदर गऱ्‍यो। अदालतले फेरि मुद्दा हाल्यो तर केही समयपछि सरकारले मुद्दा फिर्ता लियो र भाइ रदरफोर्ड तथा तिनका सहयोगीहरूलाई पूर्णतया दोषमुक्‍त गरियो। तिनीहरूले फेरि आफ्ना क्रियाकलाप सुरु गरे अनि १९१९ र १९२२ मा सिडार प्वाइन्ट, ओहायोमा भएको अधिवेशनले राज्य-प्रचारकार्यलाई नयाँ जोस प्रदान गऱ्‍यो।

५. नाजी जर्मनीमा यहोवाका साक्षीहरूमाथि कस्तो व्यवहार गरियो?

सन्‌ १९३० को दशकमा तानाशाह सुरु भयो अनि जर्मनी, इटाली र जापान मिलेर संयुक्‍त शक्‍ति गठन गरे। त्यस दशकको सुरु सुरुतिर विशेष गरी नाजी जर्मनीमा परमेश्‍वरका जनहरूलाई अत्यन्तै क्रूरतासाथ सताइयो। प्रतिबन्ध लगाइयो। घरघरमा छापा मारियो र घरधनीहरूलाई गिरफ्तार गरियो। आफ्नो विश्‍वासलाई त्याग्न इन्कार गर्ने हजारौंलाई यातना शिविरहरूमा हालियो। यहोवाका साक्षीहरूलाई तानाशाही संसारबाट नामेट गर्ने अभिप्रायले परमेश्‍वर र उहाँका जनहरू विरुद्ध यो भीषण युद्ध लडियो। a आफ्नो अधिकारको लागि लड्‌न साक्षीहरू जर्मनीको अदालतमा जाँदा तिनीहरू सफल नहोऊन्‌ भन्‍ने हेतुले जर्मन न्याय मन्त्रालयले लामो तर्क तयार पारे। त्यसमा यसो भनिएको थियो: “अदालतहरूले कानुनी औपचारिकता मात्र पूरा गर्नुहुँदैन तर औपचारिक कठिनाइहरूको बावजूद आफ्नो गहन दायित्व पूरा गर्ने तरिकाहरू पत्ता लगाउनुपर्छ।” यसको अर्थ, इन्साफ पाउन सम्भव थिएन। यहोवाका साक्षीहरू वैमनस्यता वा वैरभाव राख्छन्‌ अनि तिनीहरू ‘राष्ट्रिय समाजवादी संरचनामा बाधा पुऱ्‍याउँछन्‌’ भनेर आफूले लगाएको आरोप नाजीहरूले फिर्ता लिएनन्‌।

६. दोस्रो विश्‍वयुद्धको दौडान र त्यसपछि हाम्रो कार्यमाथि रोक लगाउन कस्ता प्रयासहरू गरिए?

दोस्रो विश्‍वयुद्धको दौडान अस्ट्रेलिया, क्यानाडालगायत बेलायती राष्ट्रमण्डलमा पर्ने अन्य अफ्रिकी तथा एसियाली मुलुकहरू अनि क्यारेबियन तथा प्रशान्त महासागरका टापुहरूमा परमेश्‍वरका जनहरूमाथि प्रतिबन्ध लगाइयो। संयुक्‍त राज्यमा प्रभावशाली शत्रु र गलत जानकारी पाउने मानिसहरूले यहोवाका जनहरू विरुद्ध ‘नियमद्वारा अधर्म रचे।’ (भजन ९४:२०) तर झन्डा सलामीसम्बन्धी विवाद तथा घर-घर प्रचार गर्न नपाइने गरी लागू गरिएका स्थानीय नीतिनियमहरू विरुद्ध अदालतहरूमा मुद्दा लडिए र संयुक्‍त राज्यको अदालतले यस सन्दर्भमा गरेका अनुकूल निर्णयहरूले उपासनासम्बन्धी स्वतन्त्रतालाई संरक्षण गर्न धेरै मदत गऱ्‍यो। यहोवाले गर्दा शत्रुहरूका प्रयासहरू सफल हुनसकेनन्‌। युरोपमा युद्ध अन्त भएपछि प्रतिबन्धहरू हटाइए। यातना शिविरहरूमा कैद गरिएका हजारौं साक्षीहरूलाई छोडियो तर युद्ध भने पूरै अन्त भइसकेको थिएन। दोस्रो विश्‍वयुद्ध अन्त हुने बित्तिकै शीतयुद्ध सुरु भयो। पूर्वीय युरोपेली राष्ट्रहरूले यहोवाका जनहरूलाई झन्‌ धेरै दबाउ दिन थाले। हाम्रो साक्षीकार्यलाई ठप्पै बन्द गर्न, साहित्यहरूको ओसारपसार रोक्न र जन अधिवेशनहरूमा रोक लगाउन आधिकारिक कदम चालियो। थुप्रै झ्यालखानामा थुनिए वा श्रम शिविरहरूमा पठाइए।

प्रचारकार्य जारी रहन्छ!

७. हालैका वर्षहरूमा पोल्याण्ड, रूस र अन्य मुलुकहरूमा यहोवाका साक्षीहरूले के अनुभव गरिरहेका छन्‌?

तापनि, जसै दशकहरू बित्दै गए, राज्यप्रचारकार्य सुरु हुनथाल्यो। पोल्याण्डमा कम्युनिस्ट शासन चलिरहेकै बेला १९८२ मा एक दिने अधिवेशन सम्पन्‍न गर्ने अनुमति दिइयो। त्यहाँ १९८५ मा अन्तरराष्ट्रिय अधिवेशन सम्पन्‍न भयो। त्यसपछि, १९८९ मा ठूलठूला अन्तरराष्ट्रिय अधिवेशनहरू भए जसमा रूस तथा युक्रेनका हजारौं मानिसहरू उपस्थित थिए। त्यही वर्ष हंगेरी र पोल्याण्डमा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। सन्‌ १९८९ को शरद ऋतुमा बर्लिन पर्खाल ढल्यो। त्यसको केही महिनापछि पूर्वी जर्मनीमा हामीले कानुनी मान्यता पायौं र त्यसको लगत्तै बर्लिनमा अन्तरराष्ट्रिय अधिवेशन सम्पन्‍न भयो। अनि २० औं शताब्दीको अन्तिम दशकको सुरुतिर रूसका भाइबहिनीहरूसित व्यक्‍तिगत सम्पर्क राख्ने प्रयासहरू गरिए। भाइहरूले मस्कोका केही अख्तियारवालाहरूसित पनि भेट गरे। फलतः १९९१ मा यहोवाका साक्षीहरूले कानुनी मान्यता पाए। त्यसबेलादेखि रूस र पहिलेको सोभियत संघका गणतन्त्रहरूमा ठूलो प्रगति भइरहेको छ।

८. दोस्रो विश्‍वयुद्धको अन्त भएको ४५ वर्षपछि पनि यहोवाका जनहरूलाई के भयो?

केही ठाउँहरूमा सतावट बन्द भए तापनि अरू कतिपय ठाउँहरूमा भने झनै चर्किए। दोस्रो विश्‍वयुद्ध अन्त भएको ४५ वर्षपछि पनि थुप्रै मुलुकहरूले यहोवाका साक्षीहरूलाई कानुनी मान्यता दिएनन्‌। यसबाहेक, अफ्रिकाका २३, एसियाका ९, युरोपका ८, ल्याटिन अमेरिकाका ३ र कुनै कुनै टापुका ४ वटा मुलुकहरूमा हामी वा हाम्रा क्रियाकलापहरूमा प्रतिबन्ध लगाइयो।

९. मलावीमा यहोवाका साक्षीहरूले कस्तो अवस्था भोग्नु पऱ्‍यो?

मलावीका यहोवाका साक्षीहरूले १९६७ देखि घोर सतावट भोगे। त्यस मुलुकका हाम्रा सँगी विश्‍वासीहरूले साँचो मसीही तटस्थताको कारण राजनैतिक पार्टीका कार्डहरू किनेनन्‌। (यूहन्‍ना १७:१६) सन्‌ १९७२ मा मलावी कांग्रेस पार्टीको सभा भएपछि फेरि क्रूर सतावट सुरु भयो। भाइबहिनीहरू आफ्नो घरबाट खेदिए अनि तिनीहरूको जागिर खोसियो। ज्यान बचाउन हजारौं भाइबहिनीहरू देश छाडेर भागे। तर के परमेश्‍वर र उहाँका जनहरू विरुद्ध लड्‌नेहरू विजयी भए? अहँ, कदापि भएनन्‌! बरु, परिस्थिति उल्टियो। फलतः १९९९ मा मलावीमा प्रकाशकहरूको शिखर संख्या ४३,७६७ पुग्यो र जिल्ला अधिवेशनमा १,२०,००० भन्दा बढी उपस्थित भए। अनि राजधानीमा नयाँ शाखा कार्यालय निर्माण गरियो।

तिनीहरू निहुँ खोज्छन्‌

१०. दानियललाई जस्तै परमेश्‍वरका जनहरूका वर्तमान्‌ विरोधीहरूले के गरेका छन्‌?

१० धर्मत्यागी, पादरी र अरू व्यक्‍तिहरू परमेश्‍वरको वचनमा आधारित हाम्रो सन्देश सुन्‍न सक्दैनन्‌। मसीहीजगत्‌को दबाउमा परेर विरोधीहरू हामी विरुद्धको आफ्नो लडाइँ उचित छ भनेर मानिसहरूलाई देखाउन देखावटी कानुनी उपाय खोज्छन्‌। तिनीहरू कहिलेकाहीं कस्ता चालहरू चल्छन्‌? दानियललाई आक्रमण गर्न षड्यन्त्रकारीहरूले के गरे? दानियल अध्याय ६:४, ५ मा हामी यस्तो लेखिएको पाउँछौं: “तब मुख्य मंत्रीहरू र बड़ा–हाकिमहरूले दानियलको राज्य–शासनको विरुद्धमा केही निहुँ खोज्नलागे। तर तिनी आफ्नो जिम्मावारीमा बेइमान नभएकोले गर्दा तिनीहरूले तिनको कर्त्तव्यमा वेपरवाही तथा बेइमानी नभेट्टाउँदा यसो भने, ‘तिनको धर्मको सम्बन्धमा बाहेक हामी यस दानियलको विरुद्धमा अरू कुनै आरोप लाउनसक्‍तैनौं।’ ” त्यसै गरी आज विरोधीहरू निहुँ खोज्छन्‌। तिनीहरू “खतरनाक पन्थहरू” भनेर कोलाहल मच्चाउँछन्‌ र यहोवाका साक्षीहरूलाई पनि त्यही संज्ञा दिन खोज्छन्‌। गलत अर्थ लगाएर, अभद्र टिप्पणी गरेर, अनि झूटा कुराहरू फैलाएर हाम्रो उपासना र ईश्‍वरीय सिद्धान्तहरूमाथि आक्रमण गर्छन्‌।

११. यहोवाका साक्षीहरूका केही विरोधीहरूले कस्ता झूटा दाबीहरू गरेका छन्‌?

११ हामी “हाम्रा परमेश्‍वर र पिताको सामने शुद्ध धर्म” मान्छौं भनेर केही मुलुकहरूका धार्मिक तथा राजनैतिक तत्त्वहरू स्वीकार्न चाहँदैनन्‌। (याकूब १:२७) हाम्रो मसीही क्रियाकलाप २३४ भन्दा धेरै मुलुकहरूमा सञ्चालन भइरहेको भए तापनि विरोधीहरू हाम्रो “धर्म प्रचलित” छैन भन्‍ने दाबी गर्छन्‌। सन्‌ १९९८ मा अन्तरराष्ट्रिय अधिवेशन हुनअघि एथेन्सको एउटा अखबारले ग्रीक अर्थोडक्स पादरीको भनाइ उद्धृत गरे। जसले मानव अधिकारसम्बन्धी युरोपेली अदालतको निर्णयको बावजूद “[यहोवाका साक्षीहरूको] ‘धर्म प्रचलित’ होइन” भनी दाबी गरे। त्यसको केही दिनपछि, त्यही शहरको अर्को अखबारले चर्च प्रवक्‍ताको भनाइ यसरी उद्धरण गऱ्‍यो: “[यहोवाका साक्षीहरू] ‘मसीही मण्डली’ हुनै सक्दैनन्‌ किनकि तिनीहरू येशू ख्रीष्टमाथि विश्‍वास गर्दैनन्‌।” यो अचम्मको कुरा हो किनकि यहोवाका साक्षीहरूले जस्तो अरू कुनै पनि धार्मिक समूहले येशूको अनुकरण गर्न जोड दिंदैनन्‌!

१२. आध्यात्मिक लडन्त लड्‌दा हामीले के गर्नैपर्छ?

१२ सम्भव भएसम्म हामी कानुनी तवरमा सुसमाचारको रक्षा र समर्थन गर्छौं। (फिलिप्पी १:७) यसबाहेक, परमेश्‍वरको धार्मिक स्तरहरूप्रतिको हाम्रो अडानसित न हामी सम्झौता गर्नेछौं न त त्यसलाई फितलो बनाउनेछौं। (तीतस २:१०, १२) यर्मियाजस्तै परमेश्‍वर विरुद्ध लड्‌नेहरूसित नडराईकन हामी ‘आफ्नो कम्मर कसेर यहोवाले हामीलाई गर्नुभएको आज्ञा अरूलाई सुनाउछौं।’ (यर्मिया १:१७, १८) हामीले पछ्याउनुपर्ने सही मार्ग के हो, यहोवाको पवित्र वचनमा प्रस्ट छ। हामी कहिल्यै निर्बल “शारीरिक शक्‍ति[मा]” भर पर्ने छैनौं न त “मिश्र देशको छत्र-छाया” अर्थात्‌ यस संसारको पछि लाग्नेछौं। (२ इतिहास ३२:८; यशैया ३०:३; ३१:१-३) आध्यात्मिक लडाइँको बेला हामीले ‘यहोवामा भरोसा राख्नैपर्छ, उहाँसित निर्देशन माग्नैपर्छ र आफ्नै समझ-शक्‍तिमा भर पर्नैहुँदैन।’ (हितोपदेश ३:५-७) यहोवाले हाम्रो समर्थन र सुरक्षा नगर्नुभए हाम्रो सबै काम “व्यर्थै” जानेछ।—भजन १२७:१.

सताइए तापनि सम्झौता गर्दैनन्‌

१३. येशूमाथि गरिएको शैतानी आक्रमण असफल भयो भनी कसरी भन्‍न सकिन्छ?

१३ यहोवाप्रतिको आफ्नो निष्ठामा कुनै सम्झौता नगर्ने सर्वोत्तम नमुना येशू हुनुहुन्छ। उहाँलाई अराजक र नियम भंग गर्ने भनेर झूटो आरोप लगाइयो। येशूमाथि लगाइएको यो आरोपको जाँचबुझ गरेपछि पिलातसले उहाँलाई छोड्‌न चाहे। तर, येशू निर्दोष हुनुभए तापनि धार्मिक नेताहरूको बहकाउमा परेको भीड उहाँलाई क्रूसमा टाँग्नैपर्छ भन्दै कराए। तिनीहरूले उहाँको साटो राजद्रोह अनि हत्याको आरोपमा झ्यालखानामा थुनिएको बरब्बालाई छोड्‌ने माग गरे! पिलातसले फेरि ती अबुझ विरोधीहरूलाई सम्झाउने कोसिस गरे तर अन्ततः तिनले मानिसहरूकै कुरा सुने। (लूका २३:२, ५, १४, १८-२५) येशू शूलीमा मारिनुभए तापनि परमेश्‍वरका निर्दोष पुत्रमाथि गरिएको यो बीभत्स शैतानी आक्रमण पूर्णतया असफल भयो किनकि यहोवाले येशूको पुनरुत्थान गर्नुभएर आफ्नो दाहिने बाहुलीतर्फ राख्नुभयो। अनि सा.यु. ३३ पेन्तिकोसका दिन महिमित येशू मार्फत पवित्र आत्मा खन्याइयो र मसीही मण्डली अर्थात्‌ “नयाँ सृष्टि” स्थापित भयो।—२ कोरिन्थी ५:१७; प्रेरित २:१-४.

१४. यहूदी धार्मिक तत्त्वहरूले येशूका अनुयायीहरू विरुद्ध कदम चाल्दा परिणाम के भयो?

१४ यसको केही समयपछि धार्मिक तत्त्वहरूले प्रेरितहरूलाई धम्काए तर ख्रीष्टका अनुयायीहरूले आफूले देखेका र सुनेका कुराहरू बताउन छाडेनन्‌। येशूका चेलाहरूले यसरी प्रार्थना गरे: “अब हे प्रभु, तिनीहरूका धम्कीमाथि नजर गर्नुहोस्‌, र तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” (प्रेरित ४:२९) यहोवाले तिनीहरूलाई पवित्र आत्मा दिनुका साथै निर्भय भई घोषणा गरिरहने बल दिनुभएर तिनीहरूको बिन्ती सुन्‍नुभयो। फेरि केही समय नबित्दै प्रेरितहरूलाई प्रचारकार्य बन्द गर्ने आज्ञा दिइयो तर पत्रुस र अन्य प्रेरितहरूले यस्तो जवाफ दिए: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।” (प्रेरित ५:२९) धम्की, पक्राउ र पिटाइले तिनीहरूलाई राज्य क्रियाकलाप बिस्तार गर्नदेखि रोक्न सकेन।

१५. गमलिएल को थिए र तिनले येशूका चेलाहरूको विरोध गर्ने धार्मिक व्यक्‍तिहरूलाई कस्तो सुझाउ दिए?

१५ धार्मिक नेताहरूले कस्तो प्रतिक्रिया देखाए? “उनीहरूका मुटुमा गाँठो पऱ्‍यो, र [प्रेरितहरूलाई] मार्नालाई मतो गरे।” तथापि, त्यहाँ गमलिएल नाउँ गरेको एक जना फरिसी व्यवस्थाका पण्डित पनि थिए। सबैले तिनको आदर गर्थे। प्रेरितहरूलाई केही समयको लागि महासभाको सभाघरबाट बाहिर पठाएर तिनले धर्म विरोधीहरूलाई यस्तो सुझाउ दिए: “ए इस्राएली हो, यी मानिसहरूका विषयमा तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्यसमा होशियार हुनुहोस्‌। . . . अब म तपाईंहरूलाई भन्दछु, कि यी मानिसहरूबाट अलग रहनुहोस्‌, र यिनीहरूलाई छोड़िदिनुहोस्‌, किनकि यिनीहरूको यो मत, अथवा यो काम मानिसहरूबाट रहेछ भने त्यो आफै मेटिनेछ। तर यदि परमेश्‍वरबाटै भएको रहेछ भनेता तपाईंहरूले तिनलाई मेटाउन सक्नुहुन्‍न, नत्रता तपाईंहरू परमेश्‍वरका विरुद्धमा चलेको ठहरिनुहोला।”—प्रेरित ५:३३-३९.

हामी विरुद्ध तयार पारिएका जुनसुकै हतियार बेकामका हुनेछन्‌

१६. यहोवाले आफ्ना जनहरूलाई दिनुभएको आश्‍वासन तपाईं आफ्नै शब्दमा कसरी बताउनुहुन्छ?

१६ गमलिएलको उक्‍त सल्लाह उचित थियो र कसै कसैले यसरी हाम्रो पक्षमा बोल्दा हामी तिनीहरूको मूल्यांकन गर्छौं। निष्पक्ष न्यायाधीशहरूको फैसलाहरूले गर्दा उपासनासम्बन्धी स्वतन्त्रताले समर्थन पाएको छ भनेर पनि हामी मानिलिन्छौं। तथापि, परमेश्‍वरको वचनप्रतिको हाम्रो अडानले मसीहीजगत्‌का पादरीहरू र झूटो धर्मको विश्‍व साम्राज्य महान्‌ बेबिलोनका अन्य नेताहरूलाई पक्कै अप्रसन्‍न तुल्याएको छ। (प्रकाश १८:१-३) तिनीहरू र तिनीहरूको प्रभावमा परेकाहरू हामी विरुद्ध लडे तापनि हामीसित यस्तो आश्‍वासन छ: “तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियार पनि बेकामको हुनेछ, औ मामिलामा तेरो विरुद्धमा उठ्‌ने जोसुकैलाई पनि तैंले हराउनेछस्‌। यो चाहिं परमप्रभुका दासहरूको अधिकार हो, र मद्वारानै तिनीहरूको न्याय स्थापित हुनेछ, परमप्रभु भन्‍नुहुन्छ।”—यशैया ५४:१७.

१७. विरोधीहरू हामी विरुद्ध लडे तापनि हामी किन साहसी छौं?

१७ हाम्रा शत्रुहरू कारणैबिना हामीसित लड्‌छन्‌ तर हामी हतोत्साही हुँदैनौं। (भजन १०९:१-३) हाम्रो बाइबल सन्देशलाई घृणा गर्नेहरूको डरले थरथर हुँदै हामी आफ्नो विश्‍वाससित कुनै पनि हालतमा सम्झौता गर्नेछैनौं। समय बित्दै जाँदा हाम्रो आध्यात्मिक लडाइँ तीव्र हुँदै जाने आशा गरे तापनि हामीलाई परिणाम थाह छ। यर्मियाले जस्तै हामी पनि यी भविष्यसूचक वचनहरू पूरा भएको अनुभव गर्नेछौं: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्‍नुहुन्छ।” (यर्मिया १:१९) हो, हामीलाई थाह छ, परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌!

[फुटनोट]

a पृष्ठ २४-८ मा “नाजी अत्याचारको सामने वफादार र सहासी” लेख हेर्नुहोस्‌।

तपाईं कस्तो जवाफ दिनुहुन्छ?

• किन यहोवाका सेवकहरूमाथि आक्रमण गरिएको छ?

• विरोधीहरू कुन तरिकामा यहोवाका जनहरूसित लडेका छन्‌?

• परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी हुनेछैनन्‌ भनी हामी किन भन्‍नसक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १७-मा भएको चित्र]

यहोवा तिनको साथमा हुनुहुने थियो भनेर यर्मिया ढुक्क थिए

[पृष्ठ १८-मा भएको चित्र]

यातना शिविरबाट बाँचेकाहरू

[पृष्ठ १८-मा भएको चित्र]

यहोवाका साक्षीहरू विरुद्ध हूलदंगा

[पृष्ठ १८-मा भएको चित्र]

जे. एफ. रदरफोर्ड र सहयोगीहरू

[पृष्ठ २१-मा भएको चित्र]

येशूको सम्बन्धमा परमेश्‍वर विरुद्ध लड्‌नेहरू विजयी भएनन्‌