सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘झन्‌ बढी उत्कट ध्यान दिनुहोस्‌’

‘झन्‌ बढी उत्कट ध्यान दिनुहोस्‌’

‘झन्‌ बढी उत्कट ध्यान दिनुहोस्‌’

“हामीले सुनेका कुराहरूलाई हामी झन्‌ बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।”—हिब्रू २:१.

१. ध्यान विकर्षण हुँदा कसरी परिणाम घातक साबित हुन सक्छ उदाहरण दिनुहोस्‌।

 संयुक्‍त राज्य अमेरिकामा मात्र सवारी दुर्घटनाको कारण वर्षेनी ३७,००० मानिसहरूको मृत्यु हुने गर्छ। विशेषज्ञहरूअनुसार सवारीचालकहरूले ध्यान दिएर गाडी चलाएको भए यति धेरै दुर्घटनाहरू हुँदैनथ्यो। कुनै संकेत र विज्ञापनपाटी वा आफ्नै मोबाइल फोनको कारण केही सवारीचालकहरूको ध्यान विकर्षण हुन्छ। अनि अरू कोही मानिसहरूचाहिं गाडी हाँक्दै खाने गर्छन्‌। यस्ता सबै परिस्थितिमा ध्यान विकर्षण हुँदा परिणाम घातक साबित हुन सक्छ।

२, ३. पावलले हिब्रू मसीहीहरूलाई के सल्लाह दिए र तिनको सल्लाह किन उपयुक्‍त थियो?

सवारीसाधनहरू बनाइनुभन्दा झन्डै २,००० वर्षअघि प्रेरित पावलले हिब्रू मसीहीहरूको निम्ति विपत्तिजनक साबित भइरहेको केही अलमल्याउने कुराबारे बताए। पुनरुत्थान हुनुभएका येशू ख्रीष्ट परमेश्‍वरको दाहिने बाहुलीतर्फ बसालिनुभएकोले अरू स्वर्गदूतलाई भन्दा उहाँलाई उच्च ओहदा दिइयो भन्‍ने कुरामा पावलले जोड दिए। त्यसपछि प्रेरित पावलले यसो भने: “यसकारण हामीले सुनेका कुराहरूलाई हामी झन्‌ बढी उत्कट ध्यान दिनुपर्दछ, नत्रता हामी तिनीहरूबाट तर्केर जानेछौं।”—हिब्रू २:१.

येशूको सन्दर्भमा हिब्रू मसीहीहरूले किन “झन्‌ बढी उत्कट ध्यान” दिनुपर्दथ्यो? किनभने येशू पृथ्वीबाट जानुभएको झन्डै ३० वर्ष भइसकेको थियो। आफ्ना मालिकको अनुपस्थितिमा केही हिब्रू मसीहीहरू सच्चाइबाट तर्केर जान थालेका थिए। आफ्नो पुरानो उपासना शैली अर्थात्‌ यहूदी धर्मतर्फ तिनीहरूको मन फिर्न थाल्यो।

तिनीहरूले झन्‌ बढी ध्यान दिनुपर्थ्यो

४. केही हिब्रू मसीहीहरू किन यहूदी धर्ममै फर्कन लालायित भएका हुन सक्छन्‌?

किन कोही मसीही यहूदी धर्ममै फर्कन लालायित भएका थिए? व्यवस्था अन्तर्गतको उपासना प्रक्रियामा केही स्पष्ट देखिने कुराहरू समावेश थिए। मानिसहरूले पूजाहारीहरूलाई देख्न सक्थे र बलि चढाइँदा आउने बास्ना सुँघ्न सक्थे। तथापि, केही खास पक्षहरूमा मसीहीधर्म धेरै फरक थियो। मसीहीहरूको प्रधान पूजाहारी येशू ख्रीष्ट हुनुहुन्थ्यो तर उहाँ पृथ्वीमा देखा नपरेको तीन दशक भइसकेको थियो। (हिब्रू ४:१४) तिनीहरूको मन्दिर त थियो तर यसको पवित्र स्थान स्वयम्‌ स्वर्गमै थियो। (हिब्रू ९:२४) मसीहीहरूले व्यवस्थाअनुसार चलेको बेलामा जस्तो शारीरिक खतना गर्नु पर्दैनथ्यो तर “आत्मामा हृदयको खतना” गर्नुपर्थ्यो। (रोमी २:२९) अतः हिब्रू मसीहीहरूलाई मसीहीधर्म अस्पष्ट लागेको हुन सक्छ।

५. पावलले व्यवस्था अन्तर्गतको उपासना प्रक्रियाभन्दा येशूले स्थापना गर्नुभएको उपासना प्रक्रिया उत्कृष्ट छ भनेर कसरी देखाए?

हिब्रू मसीहीहरूले ख्रीष्टले स्थापना गर्नुभएको उपासना प्रक्रियाको एउटा अत्यन्तै उल्लेखनीय पक्षलाई बुझ्नुपर्ने थियो। यो देखिने कुरामा भन्दा पनि विश्‍वासमा आधारित थियो र अगमवक्‍ता मोशालाई सुम्पिएको व्यवस्थाभन्दा उत्कृष्ट थियो। पावलले यस्तो लेखे: “बोका र बाछाको रगत, र बिटुलिएको माथि छर्किने कोरलीको खरानीले शरीरको शुद्धेइँमा पवित्र तुल्याउँछ भनेता, जीवित परमेश्‍वरको सेवा गर्नालाई ख्रीष्टको रगतले तिमीहरूका विवेकलाई शक्‍तिहीन कामहरूबाट कति बढता गरी शुद्ध पार्ला? जसले अनन्त आत्माद्वारा आफैलाई परमेश्‍वरकहाँ निष्खोट अर्पण गर्नुभयो।” (हिब्रू ९:१३, १४) हो, व्यवस्था अन्तर्गत चढाइने बलिहरूको आधारमा पाइने क्षमाभन्दा येशू ख्रीष्टको छुडौतीको बलिदानमाथि विश्‍वासको आधारमा पाइने क्षमा थुप्रै तरिकामा सर्वोत्कृष्ट थियो।—हिब्रू ७:२६-२८.

६, ७. (क) कस्तो परिस्थितिले गर्दा हिब्रू मसीहीहरूले ढिलासुस्ती नगरी “सुनेका कुराहरूलाई . . . झन्‌ बढी उत्कट ध्यान” दिनुपर्थ्यो? (ख) पावलले हिब्रू मसीहीहरूलाई पत्र लेख्दा यरूशलेमको विनाश हुन कति समय बाँकी थियो? (पादटिप्पणी हेर्नुहोस्‌।)

हिब्रू मसीहीहरूले येशूबारे सुनेको कुरामा झन्‌ बढी उत्कट ध्यान दिनुपर्ने अर्को कारण पनि थियो। उहाँले यरूशलेमको विनाश हुनेछ भनी भविष्यवाणी गर्नुभएको थियो। येशूले यसो भन्‍नुभयो: “तँमाथि ती दिन आउनेछन्‌, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्‌ र सबैतिरबाट तँलाई थुनिराख्नेछन्‌, र तँलाई र तँभित्र भएका बाल-बच्चाहरूलाई जमीनमा पछार्नेछन्‌, औ ढुङ्‌गामाथि ढुङ्‌गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि कृपादृष्टि भएको समयलाई बुझ्नसकिनस्‌।”—लूका १९:४३, ४४.

यो कहिले हुने थियो? येशूले दिन र घण्टाबारे केही बताउनुभएन। बरु, उहाँले यस्तो निर्देशन दिनुभयो: “जब यरूशलेमलाई फौजले घेरेको देखौला, तब त्यसको विनाश नजीकै आइपुगेछ भनेर जान। तब यहूदियामा हुनेहरू डाँडाहरूतिर भागून्‌। औ शहरभित्र हुनेहरू निस्किजाऊन्‌, र गाउँमा हुनेहरू त्यहाँभित्र नपसून्‌।” (लूका २१:२०, २१) येशूले यी शब्दहरू भन्‍नुभएको झन्डै ३० वर्षको दौडान यरूशलेमका केही मसीहीहरूले अविलम्बी हुनुपर्छ भन्‍ने कुरालाई बिर्से र अलमलिए। भन्‍ने हो भने, तिनीहरू गाडी चलाउँदा अलमलिएको मानिसजस्तै भए। आफ्नो सोचाइमा छाँटकाँट नगरेको खण्डमा तिनीहरूमाथि विपत्ति आइपर्ने पक्का थियो। तिनीहरूले यसबारे विचार गरे कि गरेनन्‌ यकिनसित भन्‍न नसके तापनि यरूशलेमको विनाश भने पक्का थियो! a आध्यात्मिक तवरमा सुस्ताएका यरूशलेमका मसीहीहरू पावलको सल्लाह सुनेर सजग भए होलान्‌।

आज “झन्‌ बढी उत्कट ध्यान” दिनुपर्ने

८. हामीले किन परमेश्‍वरको वचनको सत्यप्रति “झन्‌ बढी उत्कट ध्यान” दिनुपर्छ?

प्रथम शताब्दीका मसीहीहरूले जस्तै हामीले पनि परमेश्‍वरको वचनको सत्यप्रति “झन्‌ बढी उत्कट ध्यान” दिनुपर्छ। किन? किनभने हाम्रो सम्मुख पनि विनाश नजिकै छ जुन विनाश एउटा राष्ट्रको मात्र नभई सम्पूर्ण दुष्ट रीतिरिवाजको हो। (प्रकाश ११:१८; १६:१४, १६) हो, यहोवाले न्याय सुनाउनुहुने दिन र घडीबारे हामीलाई थाह छैन। (मत्ती २४:३६) यद्यपि, हामी बाँचिरहेको समय नै “आखिरी दिन” हो भनी प्रमाणित गर्ने बाइबल भविष्यवाणीहरू हाम्रै आँखाअघि पूरा भइरहेका छन्‌। (२ तिमोथी ३:१-५) तसर्थ, हामीलाई अलमल्याउन सक्ने कुनै पनि कुराप्रति हामी सजग हुनुपर्छ। हामीले परमेश्‍वरको वचनमा ध्यान दिनुपर्छ र अविलम्बी भावलाई कायम राख्नुपर्छ। त्यसो गर्दा मात्र हामी “आउनलागेका कुराहरूबाट उम्कन” सक्छौं।—लूका २१:३६.

९, १०. (क) आध्यात्मिक कुराहरूप्रति उत्कटतासाथ ध्यान दिइरहेका छौं भन्‍ने कुरा हामी कसरी देखाउन सक्छौं? (ख) परमेश्‍वरको वचन कसरी ‘हाम्रो बाटोको निम्ति उज्यालो’ र ‘हाम्रो खुट्टाको निम्ति बत्ती’ हो?

यो निर्णायक समयमा हामीले आध्यात्मिक कुराहरूमा “झन्‌ बढी उत्कट ध्यान” दिइरहेका छौं भन्‍ने कुराको प्रमाण कसरी देखाउन सक्छौं? एउटा तरिका मसीही सभा, सम्मेलन तथा अधिवेशनहरूमा नियमित तवरमा उपस्थित हुनु हो। बाइबलका लेखक यहोवासित घनिष्ठ हुन हामी बाइबलको लगनशील विद्यार्थी हुनु पनि जरुरी छ। (याकूब ४:८) व्यक्‍तिगत अध्ययन र सभाहरूद्वारा परमेश्‍वरको ज्ञान लियौं भने हामी भजनरचयिता जस्तो हुनेछौं जसले यसो भने: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.

१० बाइबलले भविष्यको लागि परमेश्‍वरको उद्देश्‍य बताउँदा यसले ‘हाम्रो बाटोको निम्ति उज्यालोको’ काम गर्छ। यो ‘हाम्रो खुट्टाको निम्ति बत्ती’ पनि हो। अर्को शब्दमा भन्‍ने हो भने, जीवनमा कुनै कष्टकर समस्याहरू आइपर्दा हामीले कस्तो कदम चाल्नुपर्ने हो भनेर बुझ्न मदत गर्न सक्छ। त्यसैकारण सँगी विश्‍वासीहरूसँगै निर्देशन पाउन एक ठाउँमा भेला हुँदा अनि व्यक्‍तिगत तवरमा परमेश्‍वरको वचन अध्ययन गर्दा “झन्‌ बढी उत्कट ध्यान” दिनु अत्यावश्‍यक छ। हामीले प्राप्त गर्ने जानकारीले हामीलाई यहोवाको हृदयलाई प्रसन्‍न तुल्याउने बुद्धिमानी र लाभकारी निर्णयहरू गर्न मदत गर्छ। (हितोपदेश २७:११; यशैया ४८:१७) परमेश्‍वरको आध्यात्मिक प्रबन्धहरूबाट पूरापूर लाभ उठाउन हामीले सभा तथा आफ्नो व्यक्‍तिगत अध्ययनको दौडान कसरी ध्यान दिन सक्ने समय बढाउन सक्छौं?

सभाहरूमा अझ बढी ध्यान दिने

११. मसीही सभाहरूमा ध्यान दिनु किन कहिलेकाहीं चुनौतीपूर्ण हुन्छ?

११ कहिलेकाहीं मसीही सभाहरूमा ध्यान दिनु चुनौतीपूर्ण हुन सक्छ। सायद बच्चा रोएको आवाज वा कोही सभामा ढिला आइपुगेर सीट खोजिरहेको देख्दा हाम्रो ध्यान सजिलै भंग हुन सक्छ। दिनभरिको कामपछि हामी थकित हुन सक्छौं। मञ्चबाट बोलिरहेका व्यक्‍ति असाध्यै राम्रो वक्‍ता नहुन सक्छन्‌ र चालै नपाई हामी दिवास्वप्न देख्न थाल्छौं वा झुल्नसमेत सक्छौं! प्रस्तुत गरिएको अत्यावश्‍यक जानकारीलाई दृष्टिगत गर्दै मण्डलीका सभाहरूमा ध्यान दिने हाम्रो क्षमता अझ बढाउने प्रयास गर्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौं?

१२. के गर्दा सभाहरूमा ध्यान दिन सजिलो हुन सक्छ?

१२ हामीले राम्ररी तयारी गरेका छौं भने अक्सर ध्यान दिन सजिलो हुन्छ। त्यसैकारण, सभामा छलफल गरिने विषयवस्तुमा पहिल्यै विचार गर्न समय छुट्याए कसो होला? साप्ताहिक बाइबल पढाइको तोकिएको अध्यायको विषयवस्तु हरेक दिन पढ्‌न र मनन गर्न केही मिनेट मात्र लाग्छ। राम्रोसित योजना बनायौं भने हामीले मण्डली पुस्तक अध्ययन र प्रहरीधरहरा अध्ययनको लागि तयार गर्न पनि समय निकाल्न सक्छौं। हामीले जस्तोसुकै तालिका बनाए तापनि एउटा कुरा भने पक्का छ: तयारी गऱ्‍यौं भने मण्डलीका सभाहरूमा छलफल गरिने विषयवस्तुमा ध्यान दिन सजिलो हुन्छ।

१३. सभाहरूमा छलफल गरिएको विषयवस्तुमा ध्यान दिन कुन कुराले मदत गर्न सक्छ?

१३ राम्ररी तयार गर्नुको अलावा कसै-कसैले राज्यभवनको अगाडितिर बस्दा अझ बढी ध्यान दिन सकेको अनुभव गरेका छन्‌। आफ्नो मन डुल्नदेखि रोक्ने अरू तरिकाहरू वक्‍ताको आँखामा हेर्नु, तिनले शास्त्रपद पढ्‌दा आफ्नो बाइबल पनि सँगसँगै हेर्नु र टिपोट लिनु हो। तथापि, ध्यान दिनको लागि अन्य कुनै कुराभन्दा पनि सबैभन्दा महत्त्वपूर्ण कुरा हृदयलाई तयार बनाउनु नै हो। हामीले एक ठाउँमा भेला हुनुको उद्देश्‍य बुझ्नुपर्छ। हामी मुख्यतयाः यहोवाको उपासना गर्न सँगी विश्‍वासीहरूसँगै भेला हुन्छौं। (भजन २६:१२; लूका २:३६, ३७) सभाहरू आध्यात्मिक भोजन प्राप्त गर्ने महत्त्वपूर्ण तरिका हो। (मत्ती २४:४५-४७) यसबाहेक, हामीले एकअर्कालाई ‘प्रेम र सुकर्ममा उत्तेजित गराउने’ सुअवसर पाउँछौं।—हिब्रू १०:२४, २५.

१४. सभाहरूलाई वास्तवमा के-कस्ता कुराहरूले सफल बनाउँछ?

१४ सभामा भाग पाउनेहरूको सिकाउने क्षमताअनुसार सभाको गुणस्तर नाप्ने कसै-कसैको झुकाउ हुन सक्छ। वक्‍ताहरू योग्य छन्‌ भने सभा राम्रो भयो भन्‍न सक्छन्‌। तर शिक्षण कला प्रभावकारी लागेन भने हामीले त्यसको ठीक विपरीत विचारधारा राख्न सक्छौं। हो, सभामा भाषण पाएका व्यक्‍तिहरूले शिक्षण कला प्रयोग गर्न र विशेष गरी श्रोताको हृदयसम्म पुग्न यथासक्दो गर्नुपर्छ। (१ तिमोथी ४:१६) यद्यपि, हामी श्रोताहरू अचाक्ली आलोचनात्मक पनि हुनु हुँदैन। सभामा भाग पाएकाहरूको शिक्षण क्षमता महत्त्वपूर्ण भए तापनि सभा सफल हुनुमा त्यही एउटा कुरा मात्र मुछिएको हुँदैन। हाम्रो मुख्य चासोको विषय वक्‍ताले कत्तिको राम्ररी भाषण दिन्छ भन्‍ने नभई हामीले कत्तिको राम्ररी सुन्छौं भन्‍ने हुनुपर्छ भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न? हामी सभाहरूमा उपस्थित भएर प्रस्तुत गरिएको विषयवस्तुमा ध्यान दिन्छौं भने हामीले परमेश्‍वरको उपासना उहाँको इच्छाअनुरूप गरिरहेका हुनेछौं। यसैले नै सभालाई सफल बनाउँछ। हामी परमेश्‍वरको ज्ञान लिन उत्सुक छौं भने, वक्‍ताको योग्यता जस्तोसुकै भए तापनि सभाहरूबाट लाभ उठाउनेछौं। (हितोपदेश २:१-५) अतः हामी सभाहरूमा “झन्‌ बढी उत्कट ध्यान” दिन कटिबद्ध होऔं।

व्यक्‍तिगत अध्ययनद्वारा पूरापूर लाभ उठाउनुहोस्‌

१५. अध्ययन र मननले हामीलाई कसरी लाभ पुऱ्‍याउन सक्छ?

१५ व्यक्‍तिगत अध्ययन तथा मननको दौडान “झन्‌ बढी उत्कट ध्यान” दिएर हामी धेरै लाभ उठाउँछौं। बाइबल तथा मसीही प्रकाशनहरू पढ्‌दा र मनन गर्दा परमेश्‍वरको वचनका सत्य कुराहरू हाम्रो हृदयमा ठप्प बसाल्ने अनमोल सुअवसरहरू पाउँछौं। अनि यसले हाम्रो सोचाइ र कार्य शैलीमा गहिरो प्रभाव पार्छ। साँच्चै भन्‍ने हो भने, यसले हामीलाई यहोवाको इच्छा गर्नमा नै प्रसन्‍न रहन मदत गर्नेछ। (भजन १:२; ४०:८) त्यसैकारण, हामीले आफ्नो ध्यान दिने क्षमता विकास गर्नुपर्छ जसले गर्दा हामी अध्ययनबाट लाभ उठाउन सक्छौं। हाम्रो ध्यान सजिलै विकर्षण हुन सक्छ! टेलिफोनको घण्टी वा केही खिटिक्क आवाज आउने बित्तिकै हाम्रो ध्यान भंग हुन सक्छ। वा लामो समयसम्म ध्यान दिएर बस्नै नसक्ने हाम्रो समस्या हुन सक्छ। आध्यात्मिक भोजन खाने राम्रो मनसायले नै हामी अध्ययन गर्न बसौंला तर केही समय नबित्दै हाम्रो मन अन्तै डुल्न सक्छ। परमेश्‍वरको वचनको व्यक्‍तिगत अध्ययनको दौडान हामी कसरी “झन्‌ बढी उत्कट ध्यान” दिन सक्छौं?

१६. (क) आफ्नो व्यक्‍तिगत अध्ययनको लागि समय निकाल्नु किन महत्त्वपूर्ण छ? (ख) परमेश्‍वरको वचन अध्ययन गर्न तपाईंले कसरी समय निकाल्नुभएको छ?

१६ तालिका बनाउन र अध्ययन गर्न उपयुक्‍त ठाउँ छान्‍नु लाभकारी हुन्छ। हामीमध्ये कतिपयको लागि एकान्त ठाउँ र समय निकाल्नु भनेको त अनमोल कुरा नै भइसक्यो। हामीलाई कहिलेकाहीं तेज गतिमा बगिरहेको नदीले डाँठलाई बगाएर लगेजस्तै दिनचर्याको व्यस्तताले आफूलाई पनि बगाइरहेझैं महसुस हुन सक्छ। साँच्चै हामीले लाक्षणिक रूपमा भन्‍ने हो भने छालसित संघर्ष गरेर एउटा सानो शान्त टापु खोज्नुपरेको छ। हामी केवल अध्ययन गर्ने मौका पर्खेर बसिरहन सक्दैनौं। बरु, हामीले परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिएर अध्ययनको लागि समय निकाल्नुपर्छ। (एफिसी ५:१५, १६, NW) कसै-कसैले बिहान धेरै अलमल नहुने भएकोले बिहानको केही समय छुट्याउँछन्‌। अरू कसैलाई चाहिं साँझको समय बेस लाग्छ। परिस्थिति जस्तोसुकै भए तापनि महत्त्वपूर्ण कुरा के हो भने, परमेश्‍वर र उहाँको पुत्रको सही ज्ञान लिनुपर्ने अत्यावश्‍यक कुरालाई बेवास्ता गर्नु हुँदैन। (यूहन्‍ना १७:३) त्यसकारण व्यक्‍तिगत अध्ययनको लागि तालिका बनाऔं र त्यसैअनुसार गरिरहौं।

१७. मनन भनेको के हो र यसले हामीलाई कसरी लाभ पुऱ्‍याउन सक्छ?

१७ मनन अर्थात्‌ आफूले अध्ययनद्वारा सिकेको कुरामा गौर गर्ने प्रक्रिया अनमोल छ। मनन गर्दा हामीले मुद्रित पृष्ठहरूबाट परमेश्‍वरका विचारहरू थाह पाएर हृदयसम्म पुऱ्‍याउन सक्छौं। मनन गर्नाले हामी बाइबलका सल्लाहहरू कसरी लागू गर्ने भनी सिक्छौं जसले गर्दा ‘वचन पालन गर्ने र आफैलाई धोका दिएर सुन्‍ने मात्र’ हुनेछैनौं। (याकूब १:२२-२५) यसबाहेक, मनन गर्दा हामीलाई परमेश्‍वरसँग घनिष्ठ हुन मदत गर्छ किनभने यसले हामीलाई उहाँका गुणहरूबारे विचार गर्न र अध्ययन गर्ने विषयवस्तुमा उहाँको गुण कसरी प्रकाश हुन्छ भनी सोच्न लगाउँछ।

१८. प्रभावकारी ढंगमा मनन गर्न कस्तो वातावरण हुनु आवश्‍यक छ?

१८ अध्ययन र मननबाट पूरापूर लाभ उठाउन आफ्नो मनलाई अलमल्याउने कुरादेखि अलग राख्नुपर्छ। मनन गर्दा नयाँ जानकारी हासिल गर्न अहिलेको व्यस्त जीवनका अलमल्याउने कुराहरूमा ध्यान दिनु हुदैन। यसको निम्ति समय र एकान्त स्थल आवश्‍यक छ। तर परमेश्‍वरको वचनमा पाइने आध्यात्मिक भोजन र सत्यका पानी पिउन पाउनु कत्ति स्फूर्तिदायी कुरा हो!

१९. (क) व्यक्‍तिगत अध्ययन गर्दा आफ्नो ध्यान दिन सक्ने समय बढाउन कसै-कसैले के गर्ने गरेका छन्‌? (ख) अध्ययनप्रति हाम्रो कस्तो मनोवृत्ति हुनुपर्छ र यस महत्त्वपूर्ण गतिविधिबाट हामी कस्तो लाभ उठाउन सक्छौं?

१९ हामी लामो समयसम्म ध्यान दिइरहन सक्दैनौं अनि केही समयमै हाम्रो मन डुल्न थाल्छ भने के गर्ने? कसै-कसैले आफ्नो ध्यान दिने क्षमतामा उन्‍नति गर्न अध्ययनको लागि सुरुमा कम समय छुट्याएर पछि त्यसलाई बढाउँदै लगेका छन्‌। हाम्रो लक्ष्य हतारपतार अध्ययन सिध्याउने नभई पर्याप्त समय बिताउने हुनुपर्छ। हामीले छलफल गरिएको विषयमा गहिरो चासो बढाउनुपर्छ। अनि विश्‍वासी र बुद्धिमान दासले प्रबन्ध गरेका प्रकाशनहरूको अथाह भण्डारबाट थप अनुसन्धान गर्न सक्छौं। “परमेश्‍वरका गहीरा गहीरा कुराहरूलाई पनि खोजी गर्नु[मा]” धेरै फाइदाहरू छन्‌। (१ कोरिन्थी २:१०) त्यसो गर्नाले हामीलाई परमेश्‍वरको ज्ञान बढाउनुका साथै हाम्रो ज्ञानेन्द्रिय शक्‍ति विकास गर्न सक्षम बनाउँछ। (हिब्रू ५:१४) हामी परमेश्‍वरको वचनको लगनशील विद्यार्थी भयौं भने “अरूहरूलाई पनि सिकाउनसक्ने” हुनेछौं।—२ तिमोथी २:२.

२०. हामी यहोवा परमेश्‍वरसँग घनिष्ठ सम्बन्ध कसरी विकास गर्न र कायम राख्न सक्छौं?

२० मसीही सभाहरू धाउँदा र व्यक्‍तिगत अध्ययन गर्दा यहोवासँग घनिष्ठ सम्बन्ध विकास गर्न तथा कायम राख्न धेरै मदत गर्नेछ। सम्भवतः परमेश्‍वरबारे यसो भन्‍ने भजनरचयिताले पनि त्यस्तै महसुस गरे: “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन ११९:९७) त्यसकारण हामी जसरी भए पनि सभा, सम्मेलन तथा अधिवेशनहरूमा नियमित तवरमा भाग लेऔं। अनि हामी बाइबल अध्ययन र मननको निम्ति समय निकालौं। परमेश्‍वरको वचनमा “झन्‌ बढी उत्कट ध्यान” दिंदा हामीले प्रचुर मात्रामा इनामहरू पाउनेछौं।

[फुटनोट]

a हिब्रूहरूलाई यो पत्र सा.यु. ६१ तिर लेखिएको हुन सक्छ। यदि त्यसो हो भने यसको पाँच वर्षपछि नै सेस्टियस ग्यालसको सेनाले यरूशलेममा घेरा हालेका थिए। चाँडै ती सेनाहरू फर्के जसले गर्दा सजग मसीहीहरू भाग्न पाए। त्यसको चार वर्षपछि सेनापति टाइटसको नेतृत्वमा आएको सेनाको हातबाट उक्‍त शहरले विनाश भोग्नुपऱ्‍यो।

के तपाईंलाई सम्झना छ?

• केही हिब्रू मसीहीहरू किन साँचो विश्‍वासबाट तर्केर गइरहेका थिए?

• मसीही सभाहरूमा हामी कसरी ध्यान दिएर सुन्‍न सक्छौं?

• व्यक्‍तिगत बाइबल अध्ययन र मननबाट लाभ उठाउन हामीलाई कुन कुराले मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

हिब्रू मसीहीहरू यरूशलेमको आउनै लागेको विनाशबारे सजग हुनुपर्ने थियो

[पृष्ठ १३-मा भएको चित्र]

आमाबाबुले आफ्ना छोराछोरीलाई मसीही सभाहरूबाट लाभ उठाउन मदत गर्न सक्छन्‌