तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
तपाईंको बच्चालाई प्रशिक्षण दिन के बाइबलले मदत गर्न सक्छ?
सुनगाभा एकदमै आकर्षक फूल हो तर यो हुर्काउन गाह्रो छ। राम्ररी हुर्काउनको लागि तापक्रम, प्रकाश र गमलाको साइज मिल्नुपर्छ। सुनगाभालाई माटो र मलले तुरुन्तै असर गर्छ अनि रोग र कीराले सजिलै बिगार्न सक्छ। तसर्थ, सुनगाभा हुर्काउने पहिलो प्रयास असफल हुनु सामान्य कुरा हो।
केटाकेटी हुर्काउनु भनेको अझ कठिन र जटिल कुरा हो अनि होसियार भई ध्यान पनि दिनुपर्छ। त्यसकारण बच्चा हुर्काउने सन्दर्भमा आमाबाबु अलमल्ल पर्नु सामान्य कुरा हो। सुनगाभा हुर्काउने व्यक्तिलाई विशेषज्ञको सल्लाह चाहिएझैं धेरै आमाबाबुले मदतको आवश्यकता महसुस गर्छन्। स्पष्टतः प्रत्येक आमाबाबु सर्वोत्तम डोऱ्याइ पाउन चाहन्छन्। त्यस्तो डोऱ्याइ कहाँ पाउन सकिन्छ?
बाइबल बालबच्चा हुर्काउनेसम्बन्धी निर्देशन-पुस्तक त होइन तर यस विषयमा निकै व्यावहारिक सल्लाहहरू समावेश गर्न सृष्टिकर्ताले यसका लेखकहरूलाई उत्प्रेरित गर्नुभयो। मनमोहक गुणहरू विकास गर्न बाइबल जोड दिन्छ, जुन गुणहरू धेरैजसो मानिसहरूलाई बेवास्ता गरिएजस्तो लाग्छ। (एफिसी ४:२२-२४) यस सन्दर्भमा, सन्तुलित शिक्षाको एउटा महत्त्वपूर्ण पक्ष धर्मशास्त्रीय सल्लाह हो। समयकाल वा सांस्कृतिक पृष्ठभूमिको बावजुद त्यस्तो सल्लाह लागू गर्ने हजारौं मानिसहरूले लाभ उठाइसकेका छन्। यसर्थ, धर्मशास्त्रीय सल्लाह पालन गर्दा तपाईंका छोराछोरीलाई प्रशिक्षण दिने सन्दर्भमा सफल हुने मदत पाउन सक्नुहुन्छ।
आमाबाबुको उदाहरण—सर्वोत्तम शिक्षा
“त के तिमी अर्कोलाई सिकाउनेले, आफूलाई पनि सिकाउँदैनौ? न चोर भनेर मानिसलाई तिमी प्रचार गर्नेले, के आफै चोर्छौ? व्यभिचार नगर भन्ने तिमीले के आफै व्यभिचार गर्छौ?”—रोमी २:२१, २२.
सिओलको शिक्षा निकायका अध्यक्षले यसो भने: “काम र वचनमा उदाहरण हुनु नै बच्चाको लागि सर्वोत्तम शिक्षा हो।” आमाबाबुले बोली र आचरणमा राम्रो उदाहरण बसालेका छैनन् अनि बच्चालाई चाहिं गर्नुहुने र नहुने कुराबारे स्पष्ट निर्देशन दिन्छन् भने बच्चाले आफ्ना आमाबाबुको भनाइ र गराइ फरक रहेछ भन्ने अनुमान लाउनेछ। आमाबाबुको कुराले केही असर पार्नेछैन। उदाहरणका लागि, आमाबाबुले आफ्ना छोराछोरीलाई इमानदार बन्न सिकाउन चाहन्छन् भने तिनीहरू आफू इमानदार हुनै पर्छ। कोही-कोही आमाबाबु कसैसित फोनमा कुरा गर्न चाहँदैनन् भने सजिलै आफ्नो बच्चालाई यसो भन्न लगाउँछन्, “सरी, ड्याडी (वा ममी) हुनुहुन्न, बाहिर जानुभएको छ।” त्यस्तो निर्देशन पाउने बच्चाले असजिलो महसुस गर्नुका साथै अलमल्लमा पर्नेछ। पछि गएर उसले आफू कठिन अवस्थामा पर्दा कुनै दोषी भावना महसुस नगरी सजिलै झूट बोल्न सक्छ। तसर्थ, आमाबाबु आफ्नो बच्चा इमानदार व्यक्ति बनेको साँच्चै हेर्न चाहन्छन् भने तिनीहरू आफ्नो बोलीमा इमानदार हुनै पर्छ अनि त्यसैअनुसार व्यवहार गर्नै पर्छ।
के तपाईं आफ्नो बच्चालाई राम्रो बोलीवचन गर्न सिकाउन चाहनुहुन्छ? त्यसो हो भने तपाईंले राम्रो उदाहरण बसाल्नुपर्छ। तपाईंको बच्चाले तुरुन्तै तपाईंको नक्कल गरिहाल्छ। चार जना बच्चाको बुबा सुङ-सिक यसो भन्छन्: “मेरी श्रीमती र मैले रूखो बोली नबोल्ने निधो गऱ्यौं। हामीले एकअर्काप्रति आदर देखायौं अनि चित्त नबुझ्दा वा रिस उठ्दा समेत ठूलो स्वरले कराएनौं। मुखले मात्र भन्नु भन्दा राम्रो उदाहरण बसाल्नु निकै प्रभावकारी साबित गलाती ६:७ मा यसो भन्छ: “मानिसले जे रोप्तछ त्यसैको कटनी पनि गर्नेछ।” आफ्ना छोराछोरीले उच्च नैतिक स्तर कायम राखुन् भन्ने चाहन्छन् भने पहिला आमाबाबुले नै त्यही स्तरअनुसार जीवन बिताएर देखाउनुपर्छ।
भयो। हाम्रा छोराछोरीले अरूसित आदरपूर्वक अनि शिष्ट भई कुरा गरेको देख्दा हामीलाई खुसी लाग्छ।” बाइबललेआफ्ना छोराछोरीसित राम्रो कुराकानी गर्नुहोस्
“[ परमेश्वरका आज्ञाहरू] तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशीयारीसाथ सिकाओ। औ घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्केर बस्ता र उठदा तिनको चर्चा गर।”—व्यवस्था ६:७.
ओभरटाइम गर्ने लहड बढिरहेको छ। पति-पत्नी दुवै जागिरे हुँदा यसले छोराछोरीमा गम्भीर असर पार्न सक्छ। आमाबाबुले आफ्ना छोराछोरीसित बिताउने समय कम हुँदैछ। घरमा हुँदा आमाबाबुले घरधन्दा र अरू कामहरू गर्नुपर्ने हुन्छ, त्यसले गर्दा उनीहरू थकित वा लखतरान हुन सक्छन्। त्यस्तो अवस्थामा तपाईं आफ्ना छोराछोरीसित कसरी राम्रो कुराकानी कायम राख्न सक्नुहुन्छ? तपाईं र तपाईंका छोराछोरीले सँगै मिलेर घरधन्दा गर्दा कुरा गर्ने मौका मिल्न सक्छ। एउटा परिवारको शिरले आफ्ना छोराछोरीसित बढी समय बिताउन घरबाट टिभी नै हटाइदिए। तिनले यसो भने: “सुरुमा त बच्चाहरूलाई नरमाइलो लाग्यो तर मैले तिनीहरूसित दिमाग खियाउनुपर्ने खेलहरू खेल्न र रोचक पुस्तकहरूबारे कुरा गर्न थाल्दा तिनीहरूलाई बिस्तारै बानी पऱ्यो।”
छोराछोरीले सानैदेखि आमाबाबुसित कुराकानी गर्ने बानी बसाल्नु महत्त्वपूर्ण छ। अन्यथा, छोराछोरीहरू किशोरावस्थामा पुगेर सायद समस्याहरू सामना गर्नुपर्दा तिनीहरूले आफ्ना आमाबाबुलाई कुरा गर्न सकिने साथीजस्तो ठान्नेछैनन्। मन खोलेर कुरा गर्न तपाईं तिनीहरूलाई कसरी मदत दिन सक्नुहुन्छ? हितोपदेश २०:५ यसो भन्छ: “अर्काको मनको विचार गहीरो पानीझैं हो, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।” “तिम्रो विचार कस्तो छ?” भन्ने जस्ता दृष्टिकोण बुझ्ने प्रश्नहरू सोधेर आमाबाबुले आफ्ना छोराछोरीलाई तिनीहरूका सोचाइ तथा भावना व्यक्त गर्न प्रोत्साहन दिन सक्छन्।
तपाईंको बच्चाले गम्भीर गल्ती गर्दा तपाईं के गर्नुहुनेछ? तिनलाई दयालु चासो चाहिने समय यस्तै बेला हो। बच्चाको कुरा सुन्दा आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। त्यस्तो अवस्था सामना गर्ने तरिकाबारे एक जना बुबा यसो भन्छन्: “केटाकेटीले गल्ती गर्दा म चाहिनेभन्दा बढ्ता प्रतिक्रिया देखाउन खोज्दिनँ। म बसेर तिनीहरूको कुरा सुन्छु। परिस्थिति बुझ्ने प्रयास गर्छु। आफ्नो रिस थाम्न गाह्रो पर्दा एकछिन रोकेर आफूलाई शान्त पार्छु।” तपाईंले आफ्ना भावनाहरू नियन्त्रणमा राखेर सुन्नुभयो भने तपाईंले दिनुहुने सुधार स्वीकार्न सजिलो हुनेछ।
प्रेममा आधारित अनुशासन अत्यावश्यक छ
“ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।”—एफिसी ६:४.
राम्रो परिणाम हासिल गर्न मायालु तरिकाले तपाईंले दिने अनुशासन महत्त्वपूर्ण छ। आमाबाबुले कसरी ‘आफ्ना बालकहरूलाई रिस उठाउन’ सक्छन्? गल्ती अनुसार अनुशासन दिइएको छैन वा अत्यन्तै आलोचनात्मक ढङ्गमा दिइएको छ भने बच्चाहरूले प्रतिरोध गर्नेछन्। अनुशासन भनेको सधैं मायालु ढङ्गमा दिनुपर्छ। (हितोपदेश १३:२४) तपाईंले आफ्नो बच्चालाई अनुशासन दिनुको कारण बताउनुभयो भने तपाईंले माया गरेकोले नै अनुशासन दिनुभएको हो भनेर छोराछोरीले बुझ्नेछन्।—हितोपदेश २२:१५; २९:१९.
अर्कोतर्फ, केटाकेटीलाई आफ्नो गलत आचरणको अप्रिय परिणाम भोग्न दिनु बेस हो। उदाहरणका लागि, बच्चाले अर्को व्यक्तिको विरुद्ध गल्ती गर्दा तपाईं उसलाई माफी माग्न लगाउन सक्नुहुन्छ। उसले परिवारको नियम तोड्दा नियम पालन गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर जोड दिन तपाईंले कुनै-कुनै गतिविधिमा प्रतिबन्ध लगाउन सक्नुहुन्छ।
सही समयमा अनुशासन दिनु बेस हो। उपदेशक ८:११ यसो भन्छ: “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ।” त्यसरी नै, गल्ती गरिसकेपछि पनि सजाय नपाई उम्कन धेरै केटाकेटीले दाउ हेरिरहेका हुन्छन्। त्यसैले कुनै खास किसिमको गल्ती गर्दा कस्तो सजाय पाइनेछ भनेर चेतावनी दिइसक्नुभएपछि त्यसै अनुसार अवश्य गर्नुहोस्।
स्वास्थ्यकर मनोरञ्जनको महत्त्व छ
“हाँस्ने एउटा समय . . . छ, नाच्ने एउटा समय।”—उपदेशक ३:१, ४.
बच्चाको शारीरिक तथा मानसिक विकासको लागि फुर्सतको समय अनि स्वास्थ्यकर तथा सन्तुलित मनोरञ्जन आवश्यक छन्। आमाबाबु र छोराछोरीले सँगै मनोरञ्जनमा भाग लिंदा पारिवारिक बन्धन बलियो हुन्छ अनि छोराछोरीले सुरक्षाको आभास पाउँछन्। परिवारका सदस्यहरूले कस्तो प्रकारको मनोरञ्जनमा एक साथ भाग लिन सक्छन्? तपाईंले यसबारे सोच्ने प्रयास गर्नुभयो भने तपाईंले गर्न सक्ने थुप्रै रमाइला कुराहरू पाउन सक्नुहुन्छ। साइकल चढ्ने जस्ता बाहिर खेलिने खेल र टेनिस, ब्याड्मिन्टन र भलिबलजस्ता खेलहरूमा भाग लिन सक्नुहुन्छ। अनि परिवार मिलेर बाजा बजाउँदा कस्तो रमाइलो हुन्छ, कल्पना गर्नुहोस् त। प्रकृतिको आनन्द उठाउन नजिकै कुनै ठाउँमा घुम्न जाँदा पनि मीठा सम्झनाहरू बटुल्न सकिन्छ।
त्यस्तो अवस्थामा आमाबाबुले आफ्ना छोराछोरीमा मनोरञ्जनप्रति सन्तुलित दृष्टिकोण राखिदिन सक्छन्। तीन जना छोराका बुबा, एक जना मसीही पुरुषले यसो भने: “सम्भव हुँदा म बच्चाहरूसित मनोरञ्जनमा भाग लिन्छु। उदाहरणका लागि, तिनीहरू कम्प्युटर गेम खेल्दा त्यसबारे सोध्छु। तिनीहरू एकदमै उत्साहित भएर त्यस गेमबारे बताउन थाल्दा म त्यही मौका पारेर तिनीहरूलाई अस्वास्थ्यकर मनोरञ्जनको खतराबारे बताउँछु। तिनीहरूले अनुपयुक्त मनोरञ्जनलाई तिरस्कार गरेको मैले देखेको छु।” हो, पारिवारिक मनोरञ्जनबाट आनन्द उठाउने बच्चाहरू हिंसा, अनैतिकता र लागूपदार्थको दुरुपयोग चित्रण गरिएको टेलिभिजन कार्यक्रम, भिडिओ, चलचित्र र इन्टरनेट गेमहरूप्रति त्यति आकर्षित देखिंदैनन्।
तपाईंका छोराछोरीलाई असल साथीहरू बनाउन मदत गर्नुहोस्
“बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।”—हितोपदेश १३:२०.
आफ्ना चार जना छोराछोरीलाई राम्ररी हुर्काउन सफल भएका मसीही बुबाले यसो भने: “तिनीहरूका साथीहरूको छनौट एकदमै महत्त्वपूर्ण छ। एक जना खराब साथीले तपाईंले गरेको सबै प्रयास भताभुङ्ग पार्न सक्छ।” आफ्ना छोराछोरीलाई असल साथीहरू बनाउने मदत गर्न तिनले बुद्धिमानीपूर्वक यस्ता प्रश्नहरू सोध्छन्: तिम्रो सबैभन्दा मिल्ने साथी को हो? तिमीलाई ऊ किन मन पर्छ? तिमी उसको कुन कुरा नक्कल गर्न चाहन्छौ? अर्का आमाबाबुले भने आफ्ना छोराछोरीका घनिष्ठ साथीहरूलाई घरमा बोलाउने प्रबन्ध मिलाउँछन्। त्यसो गर्दा तिनीहरू कस्ता छन् भनी हेरेर आफ्ना छोराछोरीलाई उचित निर्देशन दिन सक्छन्।
छोराछोरीलाई तिनीहरूले आफ्नै उमेरका दौंतरीहरूका साथसाथै आफूभन्दा ठूलो उमेरका व्यक्तिहरूलाई पनि साथी बनाउन सक्छन् भनेर सिकाउनु महत्त्वपूर्ण छ। तीन जना छोराका बुबा बम-सुन यसो भन्छन्: “साथीहरू भनेको एउटै उमेरको हुनुपर्दैन भनेर बुझ्न म छोराहरूलाई मदत गर्छु, जस्तै बाइबलका दाऊद र जोनाथन। वास्तवमा म मेरा छोराहरूसित संगत गर्न विभिन्न उमेरका मसीहीहरूलाई घरमा बोलाउँछु। यसो गर्दा छोराहरूले आफ्नो उमेरका बाहेक थुप्रै मानिसहरूसित संगत गर्न पाउँछन्।” उदाहरणीय वयस्कहरूसित संगत गर्दा छोराछोरीले थुप्रै कुराहरू सिक्ने मौका पाउँछन्।
बाल प्रशिक्षणमा तपाईं सफल हुन सक्नुहुन्छ
संयुक्त राज्य अमेरिकामा गरिएको एउटा सर्वेक्षणअनुसार आफ्ना छोराछोरीमा आत्मसंयम, आत्मअनुशासन र इमानदारिताजस्ता गुणहरू बसाल्न खोज्ने थुप्रै आमाबाबुहरू त्यति सफल हुन सकेका छैनन्। त्यसो गर्नु किन यत्तिको गाह्रो छ? उक्त सर्वेक्षणमा भाग लिएकी एउटी आमाले यसो भनिन्: ‘दुःखको कुरा के हो भने, हाम्रा छोराछोरीलाई सुरक्षित राख्ने एक मात्र तरिका तिनीहरूलाई कोठामा थुनेर बाह्य संसारमा कहिल्यै जान नदिनु हो।’ तिनको विचारमा छोराछोरी हुर्कने वातावरण अहिलेजस्तो खत्तम पहिले कहिल्यै भएको थिएन। यस्तो अवस्थामा के छोराछोरीलाई सफलतापूर्वक हुर्काउन साँच्चै सम्भव छ?
तपाईं सुनगाभा हुर्काउन चाहनुहुन्छ तर यो ओइलाउला कि भनेर चिन्तित हुनुभयो भने तपाईं निरुत्साहित हुन सक्नुहुन्छ। सुनगाभा हुर्काउने सम्बन्धी विशेषज्ञ आएर तपाईंलाई केही राम्रा तरिकाहरू बताइदिए अनि निर्धक्क भई, “तपाईंले यसो गर्नुभयो भने सफल हुनुहुनेछ” भनेमा तपाईं कस्तो ढुक्क हुनुहुनेछ! मानव स्वभावबारे सर्वोच्च अख्तियारवाला यहोवाले छोराछोरी हुर्काउने सर्वोत्तम तरिकाबारे सल्लाह प्रदान गर्नुहुन्छ। उहाँ यसो भन्नुहुन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र बृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।” (हितोपदेश २२:६) बाइबलको सल्लाहअनुसार छोराछोरीलाई प्रशिक्षण दिनुहुँदा आफ्ना छोराछोरीहरू जिम्मेवार वयस्क, अरूको पर्वाह गर्ने र नैतिकताको बोध भएका व्यक्तिहरू बनेको हेर्ने आनन्द उठाउन सक्नुहुन्छ। तब तिनीहरूलाई मानिसहरूले प्रेम गर्नेछन् अनि सबैभन्दा त स्वर्गमा हुनुहुने हाम्रा पिता यहोवाले प्रेम गर्नुहुनेछ।