“देशको चारैतिर जा”
“देशको चारैतिर जा”
“देशको चारैतिर जा।”—उत्पत्ति १३:१७.
१. परमेश्वरले अब्राहामलाई कस्तो रोचक निर्देशन दिनुभयो?
के तपाईंलाई सप्ताहन्तको बेलामा गाडी चढेर सहरभन्दा टाढ-टाढाको इलाकामा घुम्न जान रमाइलो लाग्छ? अरू कतिपय भने व्यायाम पनि हुने अनि हतार नगरी वरपरको दृश्यको आनन्द उठाउन सकिने कुरालाई विचार गर्दै साइकलमा यात्रा गर्न रुचाउँछन्। अरू थुप्रै भने कुनै इलाकाबारे राम्ररी परिचित हुन पैदल यात्रा गर्न मन पराउँछन्। त्यस्ता यात्राहरू अक्सर सीमित समयको लागि हुन्छन्। तर परमेश्वरले अब्राहामलाई यसो भन्नुहुँदा तिनलाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस् त: “उठ्, देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु”!—उत्पत्ति १३:१७.
२. मिश्र छोडेपछि अब्राहाम कहाँ गए?
२ ती शब्दहरू कुन सन्दर्भमा भनिएको थियो, विचार गर्नुहोस्। आफ्नी पत्नी र अरू मानिसहरूका साथ अब्राहाम केही समय मिश्रमा बसेका थिए। उत्पत्ति अध्याय १३ अनुसार तिनीहरू आफ्नो बगाल साथमा लिई मिश्र छोडेर “नेगेब” गए। त्यसपछि अब्राहाम “नेगेबबाट यात्रा गरेर बेतेल” आइपुगे। तिनी र तिनका भतिजा लूतका गोठालाहरूबीच समस्या उत्पन्न हुँदा तिनीहरूले अलग-अलग चरन खोज्नुपर्ने कुरा स्पष्ट भयो अनि अब्राहामले उदार भई लूतलाई नै पहिलो छनौट गर्ने मौका दिए। लूतले “परमप्रभुको बगैंचाजस्तै” हराभरा “यर्दनको बेंसी” रोजे अनि पछि सदोममा बसोबास गर्न थाले। परमेश्वरले अब्राहामलाई यसो भन्नुभयो: “अब तेरो आँखा उठाएर तँ भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर्।” बेतेलको अग्लो ठाउँबाट हेर्दा सम्भवतः अब्राहामले त्यस भूमिका अरू ठाउँहरू पनि देख्न सके। यद्यपि, कुरा त्यति मात्र थिएन। परमेश्वरले तिनलाई ‘देशको चारैतिर जान’ अनि त्यहाँको प्राकृतिक अवस्था र ठाउँबारे परिचित हुन भन्नुभयो।
३. अब्राहामले गरेको यात्राबारे कल्पना गर्नु किन चुनौतीपूर्ण हुन सक्छ?
३ हेब्रोन पुग्नुअघि त्यस इलाकामा अब्राहामले कत्तिको यताउता हेरे होलान्, त्यो त हामीलाई थाह छैन तैपनि त्यो प्रतिज्ञा गरिएको देशबारे हामीमध्ये धेरै जनालाई भन्दा तिनलाई बढी थाह थियो। यस विवरणमा वर्णन गरिएका केही ठाउँहरूबारे सोच्नुहोस्—नेगेब, बेतेल, यर्दनको बेंसी, सदोम र हेब्रोन। ती ठाउँहरू कहाँ-कहाँ थिए होलान् भनेर कल्पना गर्न के तपाईंलाई गाह्रो लाग्छ? हामीमध्ये धेरैको लागि यो एउटा चुनौती हो किनभने यहोवाका जनहरूमध्ये थोरैले मात्र बाइबलमा पढेका ठाउँहरूको कुनाकाप्चासम्म यात्रा गर्ने मौका पाएका होलान्। तैपनि, बाइबलमा वर्णन गरिएका स्थानहरूबारे हामीले गहिरो चासो राख्नुपर्ने कारण छ। किन?
४, ५. (क) बाइबलका ठाउँहरूसम्बन्धी ज्ञान र समझसित हितोपदेश १८:१५ कसरी सम्बन्धित छ? (ख) सपन्याह अध्याय २ ले कुन कुरा देखाउँछ?
४ परमेश्वरको वचन यस्तो टिप्पणी गर्छ: “बुझ्ने मनमा ज्ञान आउँछ, औ ज्ञान पाउन बुद्धिमानको कानले ध्यानसित सुन्छ।” (हितोपदेश १८:१५) हामीले ज्ञान हासिल गर्न सक्ने विषयहरू थुप्रै छन् तर यहोवा परमेश्वर र उहाँले गर्नुभएको व्यवहारसम्बन्धी सही ज्ञान लिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसको लागि बाइबल पढेर हामीले प्राप्त गर्ने ज्ञान पक्कै पनि अपरिहार्य छ। (२ तिमोथी ३:१६) तर याद गर्नुहोस्, यसमा समझ मुछिएको छ। त्यसको मतलब हो, कुनै विषयवस्तुको गहिराइसम्म बुझ्नु, यसका विभिन्न भागहरूबीचको सम्बन्ध वा समष्टिगत रूपमा यसलाई बुझ्नु वा भेउ पाउनु हो। बाइबलमा उल्लिखित ठाउँहरूसम्बन्धी तथ्यको सन्दर्भमा पनि कुरा यस्तै हो। उदाहरणका लागि, हामीमध्ये धेरैजसोलाई मिश्र कहाँ पर्छ भनेर थाह छ तर अब्राहाम मिश्रबाट निस्केर “नेगेब” अनि त्यसपछि बेतेल र हेब्रोन गए भन्ने टिप्पणीलाई हामीले कुन हदसम्म बुझेका छौं? के तपाईंले यी ठाउँहरूबीचको सम्बन्ध बुझ्नुभएको छ?
५ अथवा तपाईंले आफ्नो बाइबल पढाइको तालिकाअनुसार सपन्याह अध्याय २ पढ्नुभएको होला। त्यहाँ तपाईंले विभिन्न सहर, मानिसहरू र ठाउँका नाउँहरू पढ्नुभयो होला। गाजा, अश्कलोन, अश्दोद, एक्रोन, सदोम, निनवे, कनान, मोआब, अम्मोन र अश्शूरजस्ता सबै नाउँहरू यो एउटै अध्यायमा उल्लेख गरिएका छन्। यी ठाउँहरूबारे तपाईंले आफ्नो मनमा कत्तिको चित्र कोर्न सक्नुभयो जहाँ ईश्वरीय भविष्यवाणीको पूर्तिमा मुछिएका मानिसहरू साँच्चै बसोबास गरेका थिए?
६. कोही-कोही बाइबल पाठकहरूले किन मानचित्रको महत्त्व बुझ्न थालेका छन्? (पेटी हेर्नुहोस्।)
६ परमेश्वरको वचनका थुप्रै विद्यार्थीहरूले बाइबल ठाउँहरूका मानचित्र हेरेर निकै लाभ उठाएका छन्। तिनीहरूले केवल मानचित्रप्रतिको मोहले यसो गरेका होइनन् तर मानचित्र प्रयोग गर्दा परमेश्वरको वचनको ज्ञान अझ बढाउन सकिन्छ भनेर तिनीहरूलाई थाह छ। मानचित्रहरूले तिनीहरूलाई आफ्नो समझ बढाउन अनि आफूलाई पहिल्यै थाह भएका तथ्यहरू अन्य जानकारीसित कसरी सम्बन्धित छ भनी बुझ्न पनि तिनीहरूलाई मदत गर्छ। केही उदाहरणहरू केलाउँदै जाँदा सायद यहोवाप्रति तपाईंको मूल्याङ्कन अझ बढ्नेछ अनि उहाँको वचनमा लिपिबद्ध विवरणहरूबारे अझ गहिरो अन्तरदृष्टि प्राप्त गर्नुहुनेछ।—पृष्ठ १४ को पेटी हेर्नुहोस्।
दूरीबारे थाह पाउँदा पनि तपाईंको समझ बढ्छ
७, ८. (क) गाजामा शिमशोनले कस्तो अचम्मको काम गरे? (ख) शिमशोनको साहसिक कार्यलाई कुन जानकारीले अझ अर्थपूर्ण बनाउन सक्छ? (ग) शिमशोनसित सम्बन्धित यस घटनासम्बन्धी ज्ञान र समझले हामीलाई कसरी मदत गर्न सक्छ?
७ न्यायकर्त्ता १६:२ मा न्यायकर्ता शिमशोन गाजा आएको विवरण तपाईं पढ्न सक्नुहुन्छ। हालैका समाचारहरूमा गाजा भन्ने नाउँ धेरै देखापर्छ। त्यसैले शिमशोन कहाँ थिए भनेर तपाईंलाई सामान्य ज्ञान होला, तिनी भूमध्यसागरको तट नजिकैको पलिश्ती इलाकामा थिए। [11] अब न्यायकर्त्ता १६:३ मा ध्यान दिनुहोस्: “शिमशोन आधीरातसम्म ओछ्यानमानै पल्टिरहे। अनि आधीरातमा उठेर शहरको मूल-ढोकाका दैला र दुवै चौखट, बार र सबै थोक तिनले उखेले, र ती आफ्नो काँधमा हालेर हेब्रोनको पूर्वको डाँड़ाको टाकुरामा बोकेर लगे।”
८ निस्सन्देह, गाजाजस्तो बलियो सहरको मूल-ढोका र छेउका ढोकाहरू ठूला र गह्रौं थिए। ती ढोकाहरू बोक्ने कोसिस गरेको कल्पना गर्नुहोस् त! शिमशोनले त बोके तर तिनले त्यो कहाँ लगे अनि तिनले कस्तो यात्रा गर्नुपऱ्यो? गाजा, समुद्री सतहको तटमा अवस्थित छ। [15] तथापि, हेब्रोन भने पूर्वपट्टि समुद्री सतहदेखि ९०० मिटरको उचाइमा पर्छ र ठाडो उकालो उक्लनुपर्छ! “हेब्रोनको पूर्वको डाँडा” ठ्याक्कै कहाँ पर्छ भनेर हामी तोकेर भन्न त सक्दैनौं तर गाजाबाट हेब्रोन सहरसम्मको दूरी लगभग ६० किलोमिटर जति छ र त्यो पनि ठाडै उकालो! त्यो दूरी कति थियो भनेर थाह पाउँदा शिमशोनले गरेको काम चानचुने थिएन भनेर प्रस्ट हुन्छ, होइन र? अनि शिमशोनले त्यस्तो काम गर्न सक्नुको कारण पनि विचार गर्नुहोस्—“परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो।” (न्यायकर्त्ता १४:६, १९; १५:१४) मसीहीहरूको हैसियतमा अहिले परमेश्वरको आत्माले हामीलाई त्यस्तो असामान्य शारीरिक बल दिने आशा हामी गर्दैनौं। यद्यपि, त्यही बलियो शक्तिले गहिरा आध्यात्मिक कुराहरूबारे हाम्रो समझ बढाउन र हाम्रो भित्री मनुष्यत्वलाई बलवान् तुल्याउन सक्छ। (१ कोरिन्थी २:१०-१६; १३:८; एफिसी ३:१६; कलस्सी १:९, १०) यसरी शिमशोनको विवरण राम्ररी बुझेपछि परमेश्वरको आत्माले हामीलाई मदत गर्न सक्छ भन्ने कुरामा हामी विश्वस्त हुन सक्छौं।
९, १०. (क) मिद्यानीहरूमाथि गिदोनको विजयमा के समावेश थियो? (ख) उल्लिखित विभिन्न ठाउँको भूगोलबारे थाह पाउँदा यो विवरण कसरी अझ अर्थपूर्ण हुन्छ?
९ मिद्यानीहरूमाथि गिदोनको विजयसम्बन्धी विवरणले पनि दूरी थाह पाउँदा कत्तिको फरक पर्छ भनेर देखाउँछ। प्रायजसो बाइबल पाठकहरूलाई थाह भएकै कुरा हो कि न्यायकर्त्ता गिदोन र तिनको ३०० जनाको सैन्यदलले १,३५,००० आक्रमणकारीहरूको संयुक्त दललाई परास्त गरेका थिए—ती आक्रमणकारीहरू मोरेको डाँडा नजिकै यिज्रेलको बेंसीमा छाउनी हालेका मिद्यानीहरू, अमालेकीहरू र अरू जातिहरू थिए। [18] गिदोनका मानिसहरूले तुरही फुके, गाग्रो फुटाए अनि हातमा राँको लिएर यसरी कराए: “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार!” यसपछि शत्रुहरू अत्तालिए अनि डराए र एकअर्कालाई आक्रमण गर्न थाले। (न्यायकर्त्ता ६:३३; ७:१-२२) के त्यो सम्पूर्ण घटना रातको एकै पहरमा भएको थियो? न्यायकर्त्ता अध्याय ७ र ८ पढ्दै जानुहोस्। गिदोनले आक्रमण गर्न छोडेनन् भनेर तपाईंले थाह पाउनुहुनेछ। उल्लिखित थुप्रै ठाउँहरूमध्ये कुनै-कुनै अहिले ठम्याउन नसकिने हुँदा बाइबल मानचित्रमा नहुन पनि सक्छन्। तैपनि गिदोनको कार्य बुझ्न सकिने जति ठाउँहरू भने ठम्याउन सकिन्छ।
१० गिदोनले संयुक्त सेनाका बाँकी रहेकाहरूलाई बेतशित्तासम्म र त्यसपछि यर्दन नजिकै दक्षिणतिर अबेलमहोलासम्म खेदे। (न्यायकर्त्ता ७:२२-२५) विवरण यसो भन्छ: “गिदोन यर्दनमा आए, औ तिनी र तिनका तीन सय मानिसहरू थकित भएता पनि यर्दन पारि तरेर खेदिनै रहे।” पारि पुगेपछि इस्राएलीहरूले शत्रुहरूलाई दक्षिणतिर यब्बोक नजिकै सुक्कोत र पनूएलसम्म र त्यसपछि उकालो योगबहासम्म खेदे (हालको अम्मान, जोर्डन नजिकै)। त्यो खेदेको र लडाइँ गरेको दूरी ८० किलोमिटर जति थियो। गिदोनले दुई जना मिद्यानी राजालाई समातेर मारे अनि त्यसपछि तिनी आफ्नै गृहनगर ओप्रा फर्के जसको नजिकैबाट लडाइँ सुरु भएको थियो। (न्यायकर्त्ता ८:४-१२, २१-२७) स्पष्टतः गिदोनको साहसिक कार्य केही मिनेटको लागि तुरही फुक्नु, राँको हल्लाउनु र कराउनु मात्र थिएन। अनि बलियो विश्वास प्रदर्शन गरेका मानिसहरूबारे निम्न टिप्पणीलाई उक्त विवरणले कस्तो सशक्त बनाउँछ, त्यो पनि विचार गर्नुहोस्: “गिदोन, [र अरूहरूको] बारेमा भन्न मलाई समयको अभाव हुन्छ . . . [जो] कमजोरीबाट बलिया बनिए, लड़ाइँमा वीर भए।” (हिब्रू ११:३२-३४) मसीहीहरू पनि शारीरिक तवरमा थकित हुन सक्छन् तर के हामीले परमेश्वरको इच्छाअनुसार गरिरहनु अत्यावश्यक कुरा होइन र?—२ कोरिन्थी ४:१, १६; गलाती ६:९.
मानिसहरूको सोचाइ र प्रतिक्रिया कस्तो छ?
११. कादेश पुग्नुअघि र पछि इस्राएलीहरूले कस्तो यात्रा गर्नुपऱ्यो?
११ कसै-कसैले विभिन्न ठाउँहरू पत्ता लगाउन बाइबलका मानचित्रहरू पल्टाउलान् तर के तपाईंको विचारमा मानचित्रले मानिसहरूको सोचाइमा अन्तर्दृष्टि प्रदान गर्न सक्छ? उदाहरणका लागि, सीनै पर्वतबाट प्रतिज्ञा गरिएको देशतर्फ यात्रा गरिरहेका इस्राएलीहरूलाई लिनुहोस्। ठाउँ ठाउँमा रोकिंदै तिनीहरू अन्तमा कादेशसम्म (वा कादेशबर्ने) पुगे। [9] व्यवस्था १:२ ले यो ११ दिन लामो बाटो थियो भनेर बताउँछ र लगभग २७० किलोमिटर लामो दूरी थियो। यही ठाउँबाट मोशाले १२ जना गुप्तचरलाई प्रतिज्ञा गरिएको देशमा पठाए। (गन्ती १०:१२, ३३; ११:३४, ३५; १२:१६; १३:१-३, २५, २६) गुप्तचरहरू सम्भवतः बेर्शेबा हुँदै नेगेब पुगे, त्यसपछि हेब्रोन अनि प्रतिज्ञा गरिएको देशको उत्तरी सीमासम्म पुगे। (गन्ती १३:२१-२४) इस्राएलीहरूले दस जना गुप्तचरको नकारात्मक रिपोर्ट पत्याएको हुँदा तिनीहरू ४० वर्षसम्म उजाडस्थानमा भौंतारिनुपऱ्यो। (गन्ती १४:१-३४) यहोवामा भरोसा राख्ने तिनीहरूको विश्वास र इच्छुकताबारे यसले के देखाउँछ?—व्यवस्था १:१९-३३; भजन ७८:२२, ३२-४३; यहूदा ५.
१२. इस्राएलीहरूको विश्वासबारे हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं अनि यो किन हामीले विचार गर्नुपर्ने कुरा हो?
१२ यो घटनालाई भौगोलिक दृष्टिकोणबाट विचार गर्नुहोस्। इस्राएलीहरूले विश्वास गरेर यहोशू र कालेबको कुरा सुनेका भए के तिनीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि यति लामो यात्रा गर्नुपर्ने थियो र? कादेशबाट बेर-लहै-रोई १६ किलोमिटरजति थियो जहाँ इसहाक र रिबेका बसोबास गर्थे। [7] त्यहाँबाट प्रतिज्ञा गरिएको देशको दक्षिणी किनारा भनेर सीमाङ्कन गरिएको ठाउँ बेर्शेबासम्मको दूरी ९५ किलोमिटरभन्दा कम थियो। (उत्पत्ति २४:६२; २५:११; २ शमूएल ३:१०) मिश्रदेखि सीनै पर्वतसम्म अनि त्यसपछि कादेशसम्म २७० किलोमिटरको यात्रा गरिसकेपछि तिनीहरू मानौं प्रतिज्ञा गरिएको देशको सँघारमै पुगे। हाम्रो सन्दर्भमा भन्ने हो भने, हामी प्रतिज्ञा गरिएको पार्थिव प्रमोदवनको सँघारमै छौं। यसबाट हामी कस्तो पाठ सिक्न सक्छौं? इस्राएलीहरूको अवस्थालाई सङ्केत गर्दै प्रेरित पावलले यस्तो सल्लाह दिए: “यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नालाई प्रयत्न गरौं, र त्यही अनाज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस्।”—हिब्रू ३:१६–४:११.
१३, १४. (क) गिबोनीहरूले कस्तो अवस्थामा निर्णायक कदम चाले? (ख) कुन कुराबाट गिबोनीहरूको मनोवृत्ति प्रकट हुन्छ अनि यसबाट हामीले कस्तो पाठ सिक्नुपर्छ?
१३ गिबोनीहरूसित सम्बन्धित बाइबलीय विवरणबाट एउटा बेग्लै दृष्टिकोण अर्थात् परमेश्वरको इच्छा पूरा गर्न उहाँमा भरोसा राख्ने मनोभाव प्रस्ट हुन्छ। यहोशूले इस्राएलीहरूलाई यर्दन पारि अब्राहामको परिवारलाई प्रतिज्ञा गरिएको देशसम्म डोऱ्याएपछि त्यहाँबाट कनानीहरूलाई हटाउनुपर्ने थियो। (व्यवस्था ७:१-३) त्यसरी हटाइनुपर्नेहरूमध्ये गिबोनीहरू पनि थिए। इस्राएलीहरू यरीहो र ऐ सहरमाथि कब्जा गरेर गिलगाल नजिकै डेरा हालेर बसेका थिए। गिबोनीहरू श्रापित कनानीहरूजस्तो मर्न चाहँदैनथे, त्यसैले तिनीहरूले गिलगालमा यहोशूकहाँ प्रतिनिधिहरू पठाए। तिनीहरूले हिब्रूहरूसित मैत्री सन्धि गर्न सकून् भनेर आफू कनानको इलाका बाहिरबाट आएको जस्तो स्वाङ पारे।
१४ ती प्रतिनिधिहरूले यसो भने: “हामी तपाईंका दासहरू धेरै टाढ़ा मुलुकबाट परमप्रभु तपाईंका परमेश्वरको नाउँ सुनेर आएका हौं।” (छड्के अक्षर हाम्रो, यहोशू ९:३-९) तिनीहरूको लुगाफाटा र खानेकुरा हेर्दा तिनीहरू साँच्चै टाढाबाट आएका जस्ता देखिन्थे तर वास्तवमा गिबोन, गिलगालबाट ३० किलोमिटर जति मात्र टाढा थियो। [19] तिनीहरूको कुरामा विश्वस्त भएर यहोशू तथा उनका नायकेहरूले गिबोन र गिबोनसित जोडिएका नजिकका सहरहरूसित मैत्री सन्धि गरे। के गिबोनीहरूले मृत्युबाट उम्कनको लागि मात्र यस्तो चाल चलेका थिए? त्यसो नभई यसले इस्राएलका परमेश्वरको अनुग्रह पाउने तिनीहरूको इच्छा झल्कायो। यहोवाले गिबोनीहरूलाई “समुदायको निम्ति र परमप्रभुको वेदीको निम्ति . . . दाउरे र पनेरे” भएर वेदीको लागि दाउरा बटुल्ने काम गर्न स्वीकार्नुभयो। (यहोशू ९:११-२७) गिबोनीहरूले यहोवाको सेवामा सानातिना कामहरू गर्न इच्छुकता देखाइरहे। सम्भवतः, तिनीहरूमध्ये कोही-कोही बेबिलोनमा फर्केर पुनर्निर्मित मन्दिरमा सेवा गर्ने नेथिनिम अथवा मन्दिरका सेवकहरू थिए। (एज्रा २:१, २, ४३-५४; ८:२०) परमेश्वरसँग शान्ति कायम गर्ने प्रयास गरेर अनि उहाँको सेवामा सानातिना कार्यभारसमेत स्वीकार्न इच्छुक भएर हामी तिनीहरूको मनोवृत्ति अनुकरण गर्न सक्छौं।
आत्मत्यागी हुने
१५. मसीही युनानी धर्मशास्त्रमा दिइएका स्थानहरूको भूगोलमा हामीले किन चासो राख्नुपर्छ?
१५ मसीही युनानी धर्मशास्त्रमा लिपिबद्ध विवरणहरूमा येशू र प्रेरित पावलका यात्रा तथा सेवकाईजस्ता बाइबलीय स्थानहरूको भूगोलबारे उल्लेख गरिएको छ। (मर्कूस १:३८; ७:२४, ३१; १०:१; लूका ८:१; १३:२२; २ कोरिन्थी ११:२५, २६) तल दिइएका विवरणहरूमा ती यात्राहरू कल्पना गर्ने कोसिस गर्नुहोस्।
१६. बिरियाका मसीहीहरूले पावलप्रति कसरी मूल्याङ्कन देखाए?
१६ आफ्नो दोस्रो मिसनरी यात्रामा (मानचित्रमा प्याजी रङको रेखा) पावल फिलिप्पी आइपुगे जुन हालको ग्रीसमा पर्छ। [33] तिनले त्यहाँ साक्षी दिए, कैदमा परे, कैदबाट छुटे र पछि थिस्सलोनिकामा गए। (प्रेरित १६:६–१७:१) यहूदीहरूले हूलदङ्गा मच्चाउँदा थिस्सलोनिकाका भाइहरूले पावललाई लगभग ६५ किलोमिटर पर पर्ने बिरिया जान आग्रह गरे। पावलको सेवकाई बिरियामा सफल साबित भयो तर यहूदीहरू आएर जनसाधारणलाई उक्साए। यसैले “भाइहरूले तुरुन्तै पावललाई समुद्रसम्म जानुहोस् भनेर पठाइदिए” अनि “पावललाई पुऱ्याउन जानेहरूले तिनलाई एथेन्ससम्म ल्याए।” (प्रेरित १७:५-१५) भर्खरै धर्म परिवर्तन गरेका कोही-कोही व्यक्तिहरू एजियन समुद्रसम्म ४० किलोमिटर यात्रा गर्न, समुद्री यात्राको लागि आफैले भाडा तिर्न अनि ५०० किलोमिटर लामो यात्रा गर्न इच्छुक थिए जस्तो देखिन्छ। त्यस्तो यात्रा खतरनाक हुन सक्थ्यो तर भाइहरूले त्यस्तो खतरा मोले अनि परमेश्वरका यस परिभ्रमण प्रतिनिधिसित अझ बढी समय बिताए।
१७. मिलेटस र एफिससबीचको दूरी बुझेपछि हामी कुन कुरालाई अझ बढी मूल्याङ्कन गर्न सक्छौं?
१७ तेस्रो यात्रामा (मानचित्रमा हरियो रङको रेखा) पावल मिलेटसको बन्दरगाहमा आइपुगे। तिनले लगभग ५० किलोमिटर पर पर्ने एफिसस मण्डलीका बूढा-प्रधानहरूलाई बोलाए। आफ्नो सबै काम छोडेर ती प्राचीनहरू पावललाई भेट्न गएको कल्पना गर्नुहोस् त। सम्भवतः तिनीहरू बाटोमा जाँदै गर्दा पावलसितको भेटबारे उत्सुकतापूर्वक कुरा गरिरहेका थिए। पावललाई भेटेर उनले प्रार्थना गरेको सुनेपछि “तिनीहरू सबै अन्ना-धुन्नसँग रोए, र पावललाई अङ्गालो हालेर चुम्बन गरे।” त्यसपछि “तिनीहरूले उनलाई” यरूशलेम जाने “जहाजसम्म पुऱ्याए।” (प्रेरित २०:१४-३८) तिनीहरू एफिसस फर्कंदा सोच्नुपर्ने र कुराकानी गर्ने विषयहरू प्रशस्तै भएको हुनुपर्छ। तिनीहरूलाई जानकारी तथा प्रोत्साहन दिन आएका परिभ्रमण सेवकलाई भेट्न तिनीहरूले यति लामो यात्रा गरेर देखाएको मूल्याङ्कनबाट के तपाईं प्रभावित हुनुहुन्न र? तपाईं यसको कुनै पक्ष आफ्नो जीवन र सोचाइमा लागू गर्न सक्नुहुन्छ कि?
त्यो भूमि र भावी प्रत्याशाबारे सिक्नुहोस्
१८. बाइबलका स्थानहरूबारे हामी के गर्न कटिबद्ध हुन सक्छौं?
१८ माथि दिइएका उदाहरणहरूले इस्राएलीहरूलाई परमेश्वरले दिनुभएको भूमिबारे राम्ररी परिचित हुनुपर्ने महत्त्व देखाउँछ र त्यो भूमि थुप्रै बाइबल विवरणहरूको प्रमुख पक्ष हो। (अनि बाइबलमा दिइएका विवरणहरूको वरपरका ठाउँहरूबारे सिकेर हामी आफ्नो दृष्टिलाई अझ विस्तार गर्दै लैजान सक्छौं।) विशेष गरी प्रतिज्ञा गरिएको देशबारे आफ्नो ज्ञान र समझ बढाउँदै लैजाँदा त्यो “दूध र मह” बग्ने देशमा प्रवेश गर्नका लागि इस्राएलीहरूले पूरा गर्नुपर्ने एउटा आधारभूत आवश्यकताबारे हामी सम्झन सक्छौं। त्यो थियो, यहोवाको भय मान्नु र उहाँका आज्ञाहरू पालन गर्नु।—व्यवस्था ६:१, २; २७:३.
१९. कुन दुइटा प्रमोदवन हामीले ध्यान दिन योग्यको छ?
१९ त्यसरी नै, आज हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ र त्यो हो, यहोवाको भय मान्नु र उहाँको तौरतरिकाअनुसार हिंड्नु। त्यसो गर्दा, अहिले विश्वव्यापी मसीही मण्डलीमा व्याप्त आध्यात्मिक प्रमोदवन विस्तार गर्नुका साथै त्यसको सौन्दर्य बढाउन सहयोग पुऱ्याउनेछौं। यस आध्यात्मिक प्रमोदवनका पक्ष तथा आशिष्हरूबारे अझ धेरै कुरा थाह पाउनेछौं। अनि कुरा त्यति मात्र होइन भनेर हामीलाई थाह छ। यहोशूले इस्राएलीहरूलाई यर्दनपारि एउटा उत्पादनशील तथा आनन्ददायी देशसम्म डोऱ्याए। हाम्रो सामु रहेको असल भूमि अर्थात् साँच्चैको प्रमोदवनमा पूर्ण विश्वस्त भई अघि बढ्ने ठोस कारण अहिले हामीसित छ।
के तपाईंलाई याद छ?
• बाइबलीय स्थानहरूबारे हाम्रो ज्ञान र समझ बढाउने इच्छा किन हुनुपर्छ?
• यस लेखमा छलफल गरिएको कुन भौगोलिक विवरण तपाईंलाई खास जानकारीमूलक लाग्यो?
• कुनै-कुनै घटनामा समावेश भएको भूगोलबारे बढी कुरा थाह पाउनुहुँदा तपाईंलाई कुन कुरा अझ स्पष्ट भयो?
[प्रश्नहरू]
[पृष्ठ १४-मा भएको पेटी/चित्र]
“सी द गुड ल्याण्ड”
सन् २००३ र २००४ मा सम्पन्न अधिवेशनहरूमा “सी द गुड ल्याण्ड” भन्ने पुस्तिका पाउँदा यहोवाका साक्षीहरू हर्षित भए। लगभग ८० वटा जति भाषामा उपलब्ध यो नयाँ प्रकाशनमा रङ्गीन मानचित्र अनि चार्टहरू छन् जसले खास गरी प्रतिज्ञा गरिएको देशलगायत बाइबलीय संसारका ठाउँहरू विभिन्न समयमा कस्ता थिए भनेर देखाउँछ।
सँगैको लेखमा गाढा अक्षरमा लेखिएका पृष्ठ संख्याहरूले खास मानचित्रलाई सङ्केत गर्छ, जस्तै [15]। तपाईंसित यो नयाँ पुस्तिका छ भने यसका विशेष पक्षहरूसित परिचित हुन केही समय बिताउनुहोस् र यसले तपाईंलाई परमेश्वरको वचनको ज्ञान र समझ बढाउन मदत गर्न सक्छ।
(१) धेरैजसो मानचित्रमा क्याप्सन र पेटी छन् जसमा विशेष सङ्केत वा चिह्नहरूबारे बुझाउने विवरण दिइएको छ [18]। (२) प्रायजसो मानचित्रमा माइल र किलोमिटरको स्केल दिइएको छ जसबाट तपाईंले साइज वा दूरी पत्ता लगाउन सक्नुहुनेछ [26]। (३) उत्तर दिशा देखाउन अक्सर तीर आकारको सङ्केत प्रयोग गरिएको छ र यसले तपाईंलाई दिशाबोध गराउनेछ [19]। (४) उचाइ देखाउनको लागि प्रायजसो मानचित्रमा रङ लगाइएको छ [12]। (५) मानचित्रको छेउछेउमा अक्षर/अंक हुन सक्छ अनि तपाईंले ग्रीड वा नक्सामा धर्काहरूको कल्पना गरेर सहर वा नाउँहरू पत्ता लगाउन सक्नुहुन्छ [23]। (६) ठाउँहरूको नाउँको दुई पृष्ठे अनुक्रमणिकामा [34-5] तपाईं पृष्ठ संख्या गाढा अक्षरमा अनि त्यसपछि E2 जस्तो ग्रीडको ठाउँ देख्न सक्नुहुन्छ। तपाईंले यी विशेषताहरू दुई चार चोटि प्रयोग गरिसक्नुभएपछि बाइबलबारे तपाईंको ज्ञान र समझ बढाउन ती कत्तिको उपयोगी छन् भनेर थाह पाउँदा छक्कै पर्नुहुनेछ।
[पृष्ठ १६, १७-मा भएको चार्ट]
प्राकृतिक इलाकाहरूको चार्ट
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
A. महासमुद्रको किनारा
B. यर्दनको पश्चिमतिरका बेंसीहरू
1. आशेरको बेंसी
2. डोरको समुद्री किनार
3. शारोनका खर्कहरू
4. पलिश्तीको मैदान
5. केन्द्रिय पूर्व-पश्चिम उपत्यका
a. मगिद्दोको बेंसी
b. यिज्रेलको बेंसी
C. यर्दनको पश्चिमतिरका पहाडहरू
1. गालीलको डाँडा
2. कार्मेलको डाँडा
3. सामरियाको डाँडा
4. शेफेला (होचो डाँडा)
5. यहूदाको पहाडी देश
6. यहूदाको उजाड-स्थान
7. नेगेब
8. पारानको वन
D. अराबा (खोल्से उपत्यका)
1. हुला घाटी
2. गालीलको समुद्रको इलाका
3. यर्दन उपत्यका
4. खारा समुद्र (मृत सागर)
5. अराबा (खारा समुद्रको दक्षिण)
E. यर्दनको पूर्वतिरका पहाड/पठारहरू
1. बाशान
2. गिलाद
3. अम्मोन र मोआब
4. एदोमको पहाडी पठार
F. लबानोनका पहाडहरू
[नक्सा]
हर्मोन पहाड
मोरे
अबेलमहोला
सुक्कोत
योगबहा
बेतेल
गिलगाल
गिबोन
यरूशलेम
हेब्रोन
गाजा
बेर्शेबा
सदोम?
कादेश
[पृष्ठ १५-मा भएको नक्सा/चित्र]
कनान
मगिद्दो
गिलाद
दोतान
शकेम
बेतेल (लूज)
ऐ
यरूशलेम (शालेम)
बेतलेहेम (एप्रात)
मम्रे
हेब्रोन (मक्पेला)
गरार
बेर्शेबा
सदोम?
नेगेब
रहोबोत?
[पर्वतहरू]
मोरीयाह
[पानीको अंश]
खारा समुद्र
[नदीहरू]
यर्दन
[चित्र]
अब्राहामले यो भूमि वारपार गरे
[पृष्ठ १८-मा भएको नक्सा]
त्रोआस
सामोथ्रेस
नियापोलिस
फिलिप्पी
अम्फिपोलिस
थिस्सलोनिका
बिरिया
एथेन्स
कोरिन्थ
एफिसस
मिलेटस
रोडस