सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ?

दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ?

दिंदा कस्तो आनन्द प्राप्त हुन्छ, के तपाईंलाई थाह छ?

उनले मसीही सेवामा सक्रियतासाथ झन्डै ५० वर्ष बिताइसकेकी थिइन्‌। बूढेसकालले गर्दा शारीरिक तवरमा अशक्‍त भए तापनि भर्खरै निर्माण गरिएको राज्यभवन हेर्न जान उनी कटिबद्ध थिइन्‌। एक जना मदतकारी मसीही भाइको आड लिंदै उनी भवनभित्र पसिन्‌ र बिस्तारै तर सरासर उनी आफ्नो लक्ष्य अर्थात्‌ अनुदान बाकस भएतिर लागिन्‌। त्यहाँ उनले यसै उद्देश्‍यको लागि बचाएर राखेको ठिक्कको अनुदान खसालिन्‌। भवनको निर्माणमा उनले शारीरिक रूपमा योगदान पुऱ्‍याउन नसके तापनि उनी मदत गर्न चाहन्थिन्‌।

यी मसीही स्त्रीले तपाईंलाई अर्की एउटी विश्‍वासी स्त्रीको पनि सम्झना दिलाउन सक्छ। ती “गरीब विधवा” जसले मन्दिरको ढुकुटीमा दुई पैसा चढाएकी येशूले देख्नुभयो। उनको परिस्थितिबारे हामीलाई बताइएको छैन तर त्यतिबेलाको समयमा श्रीमान्‌ नभएकी महिलाले गम्भीर आर्थिक भार वहन गर्नुपर्थ्यो। स्पष्टतः येशूले उनीप्रति समानुभूति देखाउनुभयो किनभने उहाँले ती विधवाको अवस्था राम्ररी बुझ्नुभएको थियो। आफ्ना चेलाहरू सामु उनलाई उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले त्यो सानो भेटी चढाएर “आफ्नो सारा जीविकानै अर्पण गरी” भनी उहाँले भन्‍नुभयो।—मर्कूस १२:४१-४४.

खाँचोमा परेकी ती गरिब विधवा किन त्यस्तो ठूलो त्याग गर्न तयार भइन्‌? स्पष्टतः उनी यहोवा परमेश्‍वरप्रति पूर्णतया समर्पित थिइन्‌ र उहाँको उपासनाको केन्द्र यरूशलेमको मन्दिर थियो। आफूले गर्न सक्ने कुरा सीमित भए तापनि उनी पवित्र सेवालाई बढाउन चाहन्थिन्‌। अनि आफूसँग जेजति थियो त्यो चढाउन पाएकोमा उनले साह्रै आनन्द महसुस गरेको हुनुपर्छ।

यहोवाको कामलाई समर्थन गर्न दिने

भौतिक चीजबीज र आर्थिक अनुदान दिनु शुद्ध उपासनाको सधैं नै एउटा महत्त्वपूर्ण भाग भएको छ र यसले सधैं नै धेरै आनन्द दिएको छ। (१ इतिहास २९:९) पुरातन इस्राएलमा मन्दिरको सौन्दर्य बढाउन मात्र होइन तर यहोवाको उपासनाको सबै पक्षलाई दिनहुँ सुचारु रूपमा सञ्चालन गर्न पनि अनुदानको प्रयोग गरिन्थ्यो। व्यवस्थाअनुसार इस्राएलीहरूले मन्दिरमा सेवा गर्ने लेवीहरूलाई मदत गर्न आफ्नो उब्जनीबाट दशांश चढाउनुपर्थ्यो। तर लेवीहरूले पनि आफूले प्राप्त गरेकोबाट यहोवालाई दशांश चढाउनुपर्थ्यो।—गन्ती १८:२१-२९.

व्यवस्थाको करारबाट मसीहीहरू मुक्‍त भए तापनि साँचो उपासनाको समर्थनमा परमेश्‍वरका सेवकहरूले भौतिक रूपमा अनुदान दिने सिद्धान्तमा कुनै परिवर्तन भएन। (गलाती ५:१) यसबाहेक खाँचोमा परेका भाइहरूलाई मदत गर्न पाउँदा प्रथम शताब्दीका मसीहीहरू आनन्दित हुन्थे। (प्रेरित २:४५, ४६) परमेश्‍वरले जसरी तिनीहरूलाई उदारतासाथ असल कुराहरू जुटाइदिनुभएको छ त्यसरी तिनीहरूले पनि अरूप्रति उदारता देखाउनुपर्छ भनी प्रेरित पावलले मसीहीहरूलाई सम्झाए। तिनले यस्तो लेखे: “यस वर्त्तमान संसारका धनीहरूलाई कडा आज्ञा देऊ, कि तिनीहरू घमण्डी नहोऊन्‌, र अनिश्‍चित सम्पत्तिमा होइन, तर हामीलाई सबै चीज प्रशस्तसँग उपभोग गर्न दिनुहुने, परमेश्‍वरमाथिनै आशा राखून्‌, कि तिनीहरूले असल गरून्‌, तिनीहरू असल काममा उदारचित्त भएर धनवान होऊन्‌, बाँडचुड गर्नामा तत्पर होऊन्‌, पछि आउने समयको ख्याल गरेर तिनीहरू आफैको निम्ति असल जग बनाएर तिनीहरूले त्यो जीवन, जो साँच्चै जीवन हो, सो पक्री राखून्‌।” (१ तिमोथी ६:१७-१९; २ कोरिन्थी ९:११) साँच्चै, आफ्नो व्यक्‍तिगत अनुभवबाट पावलले येशूका यी शब्दहरूको पुष्टि गर्न सके: “लिनुभन्दा दिनु अझ असल हो।”—प्रेरित २०:३५.

आज मसीहीहरूले दिने

आज पनि यहोवाका सेवकहरूले एकअर्कालाई मदत गर्न र परमेश्‍वरको कामलाई टेवा पुऱ्‍याउन आफ्नो भौतिक सम्पत्ति चलाइरहेका छन्‌। भौतिक रूपमा अलिकति मात्र भएकाहरूले समेत आफूले सकेजति अनुदान दिन्छन्‌। अनुदानबाट प्राप्त यी सबै रकम सही ढङ्‌गमा प्रयोग गर्न “विश्‍वासी र बुद्धिमान दास[ले]” यहोवाप्रति आफूलाई जिम्मेवार महसुस गर्छ। (मत्ती २४:४५) यी रकमहरू शाखा कार्यालय सञ्चालन गर्न, बाइबल तथा बाइबल साहित्यहरू अनुवाद र उत्पादन गर्न, ठूला मसीही जमघटहरूको प्रबन्ध गर्न, परिभ्रमण निरीक्षक तथा मिसनरीहरूलाई प्रशिक्षण दिन तथा ठाउँ-ठाउँमा पठाउन, उद्धारकार्यको प्रबन्ध गर्नुका साथसाथै अन्य थुप्रै महत्त्वपूर्ण कामको लागि प्रयोग गरिन्छ। अहिले हामी त्यस्तै एउटा काममा ध्यान देऔं, त्यो हो, उपासना थलो बनाउन मदत दिने।

यहोवाका साक्षीहरू हप्ताको केही पटक आध्यात्मिक शिक्षा र स्वास्थ्यकर संगतिबाट लाभ उठाउन राज्यभवनमा भेला हुन्छन्‌। तथापि, थुप्रै मुलुकहरूमा आर्थिक अवस्थाको कारण स्थानीय साक्षीहरू सुरुमा केही आर्थिक मदतविना राज्यभवनहरू निर्माण गर्न सक्दैनन्‌। तसर्थ, सन्‌ १९९९ मा गरिब मुलुकहरूमा राज्यभवन निर्माण गर्न सम्पन्‍न मुलुकहरूबाट प्राप्त पैसा प्रयोग गर्न यहोवाका साक्षीहरूले एउटा कार्यक्रम सुरु गरे। साथै हजारौं स्वयम्‌सेवकहरूले अक्सर यी गरिब मुलुकहरूका दुर्गम इलाकाहरूमा गएर आफ्नो समय र सीपको अनुदान दिएका छन्‌। निर्माणको दौडान स्थानीय साक्षीहरूले निर्माण र स्याहारसम्भार सम्बन्धी सीप सिक्छन्‌ र राज्यभवन कोषको सहयोगले आवश्‍यक मेसिन र सामग्रीहरू किन्‍न सक्छन्‌। यी नयाँ भवनहरू चलाइरहेका साक्षीहरू समय र पैसाको अनुदान दिने आफ्ना सँगी विश्‍वासीप्रति असाध्यै आभारी छन्‌। स्थानीय साक्षीहरूले महिनैपिच्छे नयाँ राज्यभवनको मर्मतसम्भार गर्न र निर्माण खर्च चुक्‍ता गर्न पनि अनुदान दिन्छन्‌ र यसो गर्दा तिनीहरूले थप राज्यभवनहरू निर्माण गर्न मदत पुऱ्‍याइरहेका हुन्छन्‌।

राज्यभवनहरू स्थानीय तरिका र सामग्रीहरू प्रयोग गरेर नै निर्माण गरिन्छ। यी भवनहरू भव्य नभए तापनि आकर्षक, व्यावहारिक र सुविधायुक्‍त हुन्छन्‌। सन्‌ १९९९ मा निर्माण कार्यक्रम सुरु गरिंदा सीमित स्रोत भएका लगभग ४० वटा देशलाई समावेश गरियो। अहिले त यो निर्माण कार्यक्रम ११६ मुलुकमा फैलिएको छ र यसमा संसारभरि रहेका यहोवाका साक्षीहरूको आधाभन्दा धेरै राज्यभवनहरू समावेश छन्‌। विगत पाँच वर्षमा यस कार्यक्रमअन्तर्गत ९,००० भन्दा धेरै राज्यभवनहरू निर्माण भएका छन्‌, सरदर हिसाब गर्ने हो भने प्रत्येक दिन ५ वटा भन्दा बढी भवनको निर्माण भइरहेको छ! तैपनि यी ११६ वटा मुलुकमा १४,५०० वटा नयाँ राज्यभवनको खाँचो छ। यहोवाको आशिष्‌ र संसारभरि रहेका साक्षीहरूको स्वेच्छा र उदारताले गर्दा यी आवश्‍यकताहरू पूरा गर्न पर्याप्त रकम हुनेछ भन्‍ने आशा गरिन्छ।—भजन १२७:१.

राज्यभवनले वृद्धि गराउँछ

यस्तो बृहत्‌ प्रयासले स्थानीय साक्षी तथा राज्य प्रचारकार्यमा कस्तो असर पारेको छ? थुप्रै इलाकाहरूमा नयाँ राज्यभवन निर्माण भएपछि सभाको उपस्थितिमा उल्लेखनीय वृद्धि भएको छ। एउटा एकदमै राम्रो उदाहरण बुरूण्डीको यस रिपोर्टमा पाइन्छ: “राज्यभवन बनाउन सिद्धिने बित्तिकै यो टनाटन भरिहाल्छ। उदाहरणका लागि, सभाहरूमा झन्डै १०० उपस्थिति हुने एउटा मण्डलीको लागि एउटा राज्यभवन निर्माण गरियो। तिनीहरूको नयाँ राज्यभवनमा १५० जना सजिलै अटाउन सक्छन्‌। यो राज्यभवन बनाइ सकुन्जेलसम्म सभाको उपस्थिति २५० पुगेको थियो।”

यस्तो वृद्धि कसरी हुन्छ? एउटा कुरा त, आफ्नो भेला हुने ठाउँ नभएकोले रुखमुनि वा खेतबारीमा भेला हुनुपरेका राज्य प्रकाशकहरूको समूहलाई कहिलेकाहीं शङ्‌कालु दृष्टिकोणले हेरिन्छ। एउटा देशमा त्यस्तै सानो धार्मिक समूहले जातीय हिंसा गर्ने गरेको छ र कानुनअनुसार सबै धार्मिक जमघटहरू उपासना थलोभित्रै सञ्चालन गरिनुपर्छ।

आफ्नै राज्यभवन हुँदा यहोवाका साक्षीहरूले तिनीहरू कुनै एक जना पादरीको चेला होइनन्‌ भनी आफ्नो समुदायका मानिसहरूलाई देखाउन सक्छन्‌। यहोवाका साक्षीहरूको जिम्बावे शाखा कार्यालय यस्तो लेख्छ: “विगतमा यस इलाकाका भाइहरू निजी घरहरूमा भेला हुन्थे र स्थानीय व्यक्‍तिहरूले जुन घरमा तिनीहरू भेला भए त्यही घरको मालिकसित मण्डलीको सम्बन्ध जोड्‌थे। तिनीहरूले भाइहरूलाई फलानो-फलानोको चर्चको सदस्य भन्‍ने गर्थे। तर अहिले ‘यहोवाका साक्षीहरूको राज्यभवन’ भनेर स्पष्टसँग अङ्‌कित चिह्नहरू देख्न थालेपछि मानिसहरूको दृष्टिकोणमा परिवर्तन हुन थालेको छ।”

खुसीसाथ दिनेहरू

“खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ” भनी प्रेरित पावलले लेखे। (२ कोरिन्थी ९:७) ठूलो मोलका अनुदानहरू निश्‍चय पनि औधी मदतकारी हुन्छन्‌। तर यहोवाका साक्षीहरूको कार्यको लागि अनुदानको ठूलो अंश राज्यभवनहरूमा राखिएको अनुदान बाकसहरूबाट आउँछ। धेरै होस्‌ वा थोरै, ती सबै अनुदान महत्त्वपूर्ण छन्‌ र त्यसको बेवास्ता गरिंदैन। सम्झनुहोस्‌ त, गरिब विधवाले दुई पैसा चढाएको येशूले याद गर्नुभयो। यहोवा र स्वर्गदूतले पनि उनलाई देखे। हामीलाई त्यस विधवाको नाउँसम्म पनि थाह छैन तर उनको निःस्वार्थ कार्यबारे यहोवाले बाइबलमा सदाको लागि लिपिबद्ध गराउनुभयो।

राज्यभवन निर्माणको साथै हाम्रो अनुदानले राज्य गतिविधिको अन्य सबै महत्त्वपूर्ण पक्षहरूमा पनि मदत पुऱ्‍याउँछ। यसरी सहयोग पुऱ्‍याउँदा हामी आनन्दित हुने कारण पाउँछौं र ‘प्रशस्त मात्रामा धेरै धन्यवाद’ पनि पाउँछौं। (२ कोरिन्थी ९:१२) बेनिनका हाम्रा मसीही भाइहरू यस्तो रिपोर्ट गर्छन्‌: “अन्तरराष्ट्रिय भ्रातृत्वबाट पाएको आर्थिक सहयोगको लागि कृतज्ञताका थुप्रै प्रार्थनाहरू हरेक दिन हामी यहोवालाई चढाउँछौं।” यसका साथै आर्थिक रूपमा राज्य गतिविधिलाई समर्थन गर्ने हामी सबैले दिंदा प्राप्त हुने आनन्दको अनुभव गर्छौं!

[पृष्ठ २२, २३-मा भएको पेटी/चित्र]

केही व्यक्‍तिहरूले स्वेच्छासाथ दिने तरिकाहरू

विश्‍वव्यापी कार्यका लागि अनुदान

“सोसाइटीको विश्‍वव्यापी कार्यका लागि अनुदान—मत्ती २४:१४” लेखिएको बाकसमा चन्दा दिन धेरैजसोले केही पैसा वा बजेट छुट्याउँछन्‌।

हरेक महिना मण्डलीहरूले यो धनराशि आ-आफ्नो देशमा रहेका यहोवाका साक्षीहरूको कार्यालयमा पठाउँछन्‌। स्वेच्छापूर्वक चन्दा दिइएको रुपैयाँ-पैसा सीधै यस्ता कार्यालयहरूमा पठाउन पनि सकिन्छ। शाखा कार्यालयका ठेगानाहरू यस पत्रिकाको पृष्ठ २ मा पाउन सकिन्छ। चेक “वाच टावर” को नाउँमा भुक्‍तान गरिनुपर्छ। गरगहना तथा अन्य बहुमूल्य वस्तुहरू पनि चन्दा दिन सकिन्छ। यस्ता चन्दाहरू पठाउँदा स्पष्टसित त्यो पैसा वा वस्तु पूर्णतया दान हो भनेर छोटो पत्र पनि पठाउनुपर्छ।

ससर्त-अनुदान कोषको प्रबन्ध

वाच टावरले पाउने गरी कोशमा पैसा राख्न सकिन्छ। तथापि, अनुरोध गरिएमा उक्‍त रकम फिर्ता दिइनेछ। थप जानकारीको लागि कृपया तपाईंको स्थानीय शाखा कार्यालयमा सम्पर्क राख्नुहोस्‌।

परोपकारी योजना

पूर्ण दान र सर्तनामा चन्दाबाहेक विश्‍वव्यापी राज्यसेवामा टेवा पुऱ्‍याउन दान दिन मिल्ने अन्य केही तरिकाहरू पनि छन्‌। ती हुन्‌:

बिमा: वाच टावरलाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।

बैंक खाता: बैंक खाता, निक्षेप प्रमाण-पत्र वा व्यक्‍तिगत अवकाश खातालाई स्थानीय बैंकका नियमहरूअनुसार वाच टावरलाई सुम्पिन वा शेषपछि हस्तान्तरण गर्न सकिन्छ।

ऋणपत्र तथा बन्ड: ऋणपत्र तथा बन्डहरू वाच टावरलाई पूर्णतया उपहारको रूपमा चन्दा दिन सकिन्छ।

घर, जग्गाजमिन: बिक्री गर्न मिल्ने जग्गाजमिन पूर्णतया दानको रूपमा दिन सकिन्छ वा, आवासीय सम्पत्तिको सन्दर्भमा चन्दादाता बाँचुन्जेल प्रयोग गर्न पाउने प्रबन्ध मिलाएर दिन सकिन्छ। कुनै घर, जग्गाजमिन दिनुअघि तपाईंको देशमा भएको शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

वार्षिक भत्ता पाउने गरी दिइने दान: यो एउटा यस्तो प्रबन्ध हो जसअन्तर्गत कुनै व्यक्‍तिले रकम अथवा जायजेथा वाच टावर कर्पोरेसनको नाउँमा नामसारी गर्छन्‌। त्यसको बदलामा दाता अथवा दाताले नियुक्‍त गरेको व्यक्‍तिले बाँचुन्जेल हरेक वर्ष निश्‍चित वार्षिक भत्ता पाउँछ। वार्षिक भत्ता पाउने गरी दिइने दानको प्रबन्ध स्थापना गरेको वर्षमा दाताले तिर्नुपर्ने आयकरमा केही छूट पाउँछ।

वसियतनामा तथा कोश: जायजेथा वा पैसा कानुनी वसियतनामाद्वारा वाच टावरलाई हस्तान्तरण गर्न सकिन्छ अथवा वाच टावरलाई कोशको हकदार बनाउन सकिन्छ। कुनै-कुनै मुलुकमा धार्मिक संगठनलाई टेवा पुऱ्‍याउने कोशलाई निश्‍चित कर छूट हुन सक्छ तर यो भारतमा लागू हुँदैन।

“परोपकारी योजना” भन्‍ने अभिव्यक्‍तिले यस प्रकारका अनुदानहरूको लागि दाताले केही योजना बनाउनु आवश्‍यक पर्छ भन्‍ने कुरा स्वतः स्पष्ट हुन्छ। परोपकारी योजनाका केही तरिकाहरूद्वारा यहोवाका साक्षीहरूको विश्‍वव्यापी कार्यलाई टेवा पुऱ्‍याउने इच्छा भएका व्यक्‍तिहरूलाई मदत गर्न अङ्‌ग्रेजी र स्पेनिस भाषामा च्यारिटेबल प्लानिङ्‌ग टु बेनिफिट किङ्‌डम सर्भिस वर्ल्डवाइड शीर्षकको एउटा पुस्तिका तयार पारिएको छ। कुनै व्यक्‍तिले आफू जीवित छँदै वा आफ्नो शेषपछि कसरी विभिन्‍न तरिकाहरूद्वारा दान दिन सक्छ भनी जानकारी दिन यो पुस्तिका तयार पारिएको थियो। यो पुस्तिका पढेर अनि आफ्ना कानुनी वा कर सल्लाहकार र परोपकारी योजना कार्यालयसित परामर्श गरिसकेपछि धेरैले विश्‍वभर रहेका यहोवाका साक्षीहरूको काममा मदत गर्न सकेका छन्‌, साथै यसो गर्दा तिनीहरूले धेरै मात्रामा करमा छूट पनि पाएका छन्‌।

थप जानकारीको लागि तपाईंले पत्राचार अथवा टेलिफोनद्वारा तल दिइएको ठेगाना अथवा आफ्नो देशमा रहेको यहोवाका साक्षीहरूको कार्यालयमा सम्पर्क राख्न सक्नुहुन्छ।

Jehovah’s Witnesses,

Post Box 6440,

Yelahanka,

Bangalore 560 064,

Karnataka.

Telephone: (080) 28468072

[पृष्ठ २०, २१-मा भएका चित्रहरू]

यहोवाका साक्षीहरूको पुराना तथा नयाँ भेला हुने ठाउँहरू

जाम्बिया

मध्य अफ्रिकी गणतन्त्र