मानिसजाति कतिन्जेल बाँच्न सक्छ?
मानिसजाति कतिन्जेल बाँच्न सक्छ?
मार्च ३, १५१३ मा स्पेनी अन्वेषक क्वान पोन्से डे लेओनले एउटा स्मरणीय खोजको लागि समुद्री यात्रा थाले। बिमीनी टापु पुग्ने आशमा उनले पोर्टो रिकोबाट यात्रा सुरु गरे। कथाअनुसार उनी एउटा अचम्मको पानीको मुहान अर्थात् यौवनको फोहोराको खोजीमा थिए। तर उनी हालको संयुक्त राज्य अमेरिकास्थित फ्लोरिडा प्रान्तमा उत्रन पुगे। यथार्थमा, उनले अस्तित्वमै नभएको त्यो फोहोरा कहिल्यै फेला पारेनन्।
आज, मानिस सामान्यतया ७० अथवा ८० वर्षभन्दा बढी बाँच्दैन। बाइबलले अत्यन्तै लामो आयु भएका मानिसहरूबारे उल्लेख गरेको भए तापनि २००२ गिनिज बुक अफ वर्ल्ड रेकर्ड-अनुसार आजसम्म सबैभन्दा लामो समय बाँच्ने व्यक्तिको आयु १२२ वर्ष १६४ दिन थियो। (उत्पत्ति ५:३-३२) यद्यपि, चिकित्सा उपचारको आचारसंहिताका विशेषज्ञ जोन हारिसले यसो भने: “नयाँ अनुसन्धानअनुसार एउटा यस्तो विश्वको झल्को पाउन सम्भव भएको छ जहाँ निश्चित रूपमा बुढ्यौली अनि मृत्युसमेत हुनेछैन।” एक्काइसौं शताब्दीका धेरै अनुसन्धाताहरू “वास्तविकतामा परिणत हुनै लागेको अमरत्व,” “सन् २०९९ भित्रमा मानिसको आयुको कुनै सीमा हुनेछैन,” “सधैंभरि वृद्धि भइरहने कोषको क्षमता” यस्तै-यस्तै कुरा गर्ने गर्छन्।
आफ्नो पुस्तक द ड्रिम अफ इटरनल लाइफ-मा मार्क बेनिके यसो भन्छन्: “बाँचुन्जेल शरीरका प्रायः सबै कोषहरू धेरै पटक नवीकरण भइरहन्छन्। . . . साँच्चै भन्नुपर्दा सात वर्षपछि हाम्रो शरीर पूरै नयाँ हुन्छ।” यद्यपि, यो प्रक्रिया सधैं चलिरहँदैन किनकि पूर्वनिश्चित विभाजनपछि कोष वृद्धि हुने प्रक्रिया रोकिन्छ। यद्यपि, बेनिकेको भनाइअनुसार यसो नहुँदो हो त, “सम्भवतः मानव शरीरले धेरै लामो समयसम्म—अझ अनन्तकालसम्मै आफूलाई नयाँ बनाइराख्न सक्थ्यो।”
मानव मस्तिष्कको अद्भुत क्षमतालाई पनि विचार गर्नुहोस्, छोटो मानव जीवनमा हामीले प्रयोग गर्न सक्नेभन्दा कैयौं गुणा बढी मस्तिष्कको क्षमता हुन्छ। इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार “कुनै व्यक्तिले आफ्नो जीवनमा मस्तिष्कको जति नै प्रयोग गरे तापनि यसको क्षमता त्योभन्दा कता हो कता बढी हुन्छ।” (१९७६ संस्करण,
खण्ड १२, पृष्ठ ९९८) डेभिड ए. साउसाद्वारा लिखित हाउ द ब्रेन लर्न्स् (अङ्ग्रेजी) भन्ने पुस्तक यसो भन्छ: “जानकारीहरू भण्डार गर्ने मस्तिष्कको क्षमता असीमित नै छ भन्दा पनि केही फरक पर्दैन।”—पृष्ठ ७८, दोस्रो संस्करण, सर्वाधिकार सुरक्षित २००१अनुसन्धाताहरूले हाम्रो शारीरिक संरचनामा हामी बूढाबूढी भई मर्नुको कारण किन फेला पार्न नसकेका? अनि मानव मस्तिष्कको यत्तिको विराट् क्षमता हुनुको कारण के हो? सदा-सर्वदा अनवरत ज्ञान लिइरहने उद्देश्यले पो हाम्रो रचना गरिएको थियो कि? हामीले अनन्त जीवनबारे सोच्न सक्नुको कारण के हो?
बाइबलले यसो भन्छ: “[परमेश्वरले] मानिसका हृदयमा अनन्तता पनि राखिदिनुभएको छ। तापनि तिनीहरूले परमेश्वरले आदिदेखि अन्त्यसम्म के गर्नुभएको छ त्यसको गहिराइलाई बुझ्न सक्दैनन्।” (उपदेशक ३:११, NRV) यी शब्दहरूले परमेश्वरले हाम्रो हृदयमा सधैंभरि बाँच्ने विचार राखिदिनुभयो भन्ने कुरालाई देखाउँछ। त्यसैकारण परमेश्वर अनि उहाँका कार्यहरूबारे हामीले सिक्ने कुनै न कुनै कुरा सधैं हुन्छ। यदि हामी असीमित अरबौं वर्ष अर्थात् अनन्तकालसम्म बाँच्यौं भने हामी परमेश्वरका सृजनात्मक कामहरूको चमत्कारबारे सधैं अझ बढी कुराहरू सिक्न सक्नेछौं।
अनन्त मानव जीवन सम्भव छ भनेर येशू ख्रीष्टका शब्दहरूले पनि देखाउँछ। उहाँले भन्नुभयो: “अनन्त जीवन यही [ हो], कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून्।” (छड्के अक्षर हाम्रो, यूहन्ना १७:३) तपाईं नि? के तपाईं पनि सधैंभरि बाँच्न चाहनुहुन्छ?
[पृष्ठ ३-मा भएका चित्रहरू]
क्वान पोन्से डे लेओनले यौवनको फोहोरा खोजे
[स्रोत]
Ponce de León: Harper’s Encyclopædia of United States History