सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दोस्रो राजाको पुस्तकका विशेषताहरू

दोस्रो राजाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

दोस्रो राजाको पुस्तकका विशेषताहरू

इस्राएल र यहूदाको इतिहासबारे पहिलो राजाको पुस्तकले जहाँसम्म बताएको छ, त्यसदेखि पछिका घटनाहरूबारे दोस्रो राजाको बाइबल पुस्तकले चर्चा गरेको छ। यस पुस्तकमा इस्राएलको उत्तरी राज्यका १२ जना र यहूदाको दक्षिणी राज्यका १७ जना गरी जम्मा २९ जना राजाको विवरण पाइन्छ। दोस्रो राजाले एलिया, एलीशा र यशैया अगमवक्‍ताहरूका क्रियाकलापहरूबारे पनि बताउँछ। यस पुस्तकमा उल्लेख गरिएका घटनाहरू कालक्रमअनुसार मिलाएर नलेखिएको भए तापनि यसमा भएको विवरणले सामरिया र यरूशलेमको विनाशसम्मको समयावधि ढाक्छ। दोस्रो राजाले ई.पू. ९२० देखि अगमवक्‍ता यर्मियाले यो पुस्तक लेखिसिध्याएको समय ई.पू. ५८० सम्म गरी कुल ३४० वर्षको समयावधि ढाक्छ।

दोस्रो राजाले हाम्रो लागि कस्तो महत्त्व राख्छ? यहोवा र उहाँले मानिसहरूसित गर्नुहुने व्यवहारबारे यसले हामीलाई के सिकाउँछ? यस पुस्तकमा उल्लेख गरिएका राजा, अगमवक्‍ता र अरू मानिसहरूको क्रियाकलापबाट हामी कस्तो पाठ सिक्न सक्छौं? दोस्रो राजाबाट हामी के सिक्न सक्छौं, आउनुहोस्‌ हेरौं।

एलियापछि एलीशाले अगमवक्‍ताको काम गर्छन्‌

(२ राजा १:१–८:२९)

इस्राएलका राजा अहज्याह आफ्नै घरमा लडेको कारण बिरामी छन्‌। तिनले अगमवक्‍ता एलियाबाट आफ्नो मृत्यु हुने खबर पाउँछन्‌। अहज्याह मर्छन्‌ र तिनको भाइ योराम सिंहासनमा बस्छन्‌। यतिबेला, यहोशापातले यहूदामा शासन गरिरहेका छन्‌। एलियालाई भुमरीद्वारा उठाइलगिन्छ र तिनको सहायक एलीशाले अगमवक्‍ताको रूपमा तिनको ठाउँ लिन्छन्‌। त्यसपछि सुरु भएको लगभग ६० वर्षको आफ्नो सेवकाईको दौडान एलीशाले थुप्रै चमत्कारहरू गर्छन्‌।—“एलीशाका चमत्कारहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

एक जना मोआबी राजाले इस्राएल विरुद्ध विद्रोह गर्दा योराम, यहोशापात र एदोमको राजा मोआबी राजासित लडाइँ गर्न जान्छन्‌। यहोशापातको विश्‍वासीपनको कारण तिनीहरूले विजय हासिल गर्छन्‌। पछि, अरामका राजाले इस्राएलमाथि अचानक हमला गर्ने योजना बनाउँछन्‌। तर एलीशाको कारण यस योजनाले हावा खान्छ। अरामी राजा रिसले आगो हुन्छन्‌ र एलीशालाई पक्रन “घोडा र रथहरू भएको एउटा ठूलो फौज” पठाउँछन्‌। (२ राजा ६:१४) एलीशाले दुईवटा चमत्कार गर्छन्‌ र अरामीहरूलाई शान्तिपूर्वक फर्काउँछन्‌। पछि, अरामी राजा बेन-हददले सामरियालाई घेरा हाल्छन्‌। यसको कारण ठूलो अनिकाल हुन्छ तर यो अनिकाल अन्त हुनेछ भनी एलीशाले अगमवाणी गर्छन्‌।

यसको केही समयपछि एलीशा दमीशक जान्छन्‌। बिरामी परेका राजा बेन-हददले आफू निको हुन्छु कि हुन्‍नँ भनेर सोध्न हजाएललाई पठाउँछन्‌। राजा मर्नेछन्‌ र तिनको सट्टामा हजाएलले शासन गर्नेछन्‌ भनी एलीशाले अगमवाणी गर्छन्‌। त्यसको भोलि पल्ट हजाएलले पानीमा चोपेको एउटा “कम्बल” लिई त्यसले राजालाई छोपिदिन्छन्‌। राजा निसासिएर मर्छन्‌ अनि हजाएल आफै राजा बन्छन्‌। (२ राजा ८:१५) यहूदामा यहोशापातको छोरा योराम राजा बन्छन्‌ र तिनीपछि तिनको छोरा अहज्याह राजा बन्छन्‌।—“यहूदा र इस्राएलका राजाहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:९—एलीशाले किन एलियाको आत्माको “दोबर भाग” मागे? इस्राएलको अगमवक्‍ताको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न एलीशालाई एलियाको जस्तै साहस र निडरताको आत्माको खाँचो थियो। यो कुरा महसुस गर्दै एलीशाले एलियाको आत्माको दोबर भाग मागे। एलियाले एलीशालाई आफ्नो उत्तराधिकारी नियुक्‍त गरेका थिए र लगभग छ वर्षसम्म एलीशाले तिनको चाकरको रूपमा सेवा गरे, त्यसैले एलीशाले एलियालाई आफ्नो आध्यात्मिक बुबाको रूपमा हेर्थे; आध्यात्मिक अर्थमा भन्‍ने हो भने, एलीशा एलियाको जेठो छोरा जस्तै थिए। (१ राजा १९:१९-२१; २ राजा २:१२) जेठो छोराले आफ्नो बुबाको जायजेथाको दुई भाग पाएजस्तै एलीशाले पनि एलियाको आध्यात्मिक जायजेथाको दोबर भाग मागे र त्यहीअनुसार पाए।

२:११—‘एलियालाई भुमरीले उठाएर लैजाँदा’ के तिनी साँच्चै “स्वर्ग” गएका थिए? यहाँ “स्वर्ग” भनेर अनुवाद गरिएको मौलिक हिब्रू शब्दलाई “आकाश” वा “आकाश मण्डल” भनेर पनि अनुवाद गर्न सकिन्छ भनेर नबिर्सनुहोस्‌। उदाहरणका लागि, भजन ७८:२६ हेर्नुहोस्‌, जहाँ यही मौलिक शब्द चलाइएको छ। एलियालाई उठाएर ब्रह्‍माण्डको कुनै टाढाको भाग वा परमेश्‍वर तथा उहाँका स्वर्गदूतहरू बसोबास गर्ने आत्मिक स्थानमा नभई आकाशमा लगिएको थियो। (व्यवस्था ४:१९; भजन ११:४; मत्ती ६:९; १८:१०) एलियालाई उठाएर लगिएको “स्वर्ग” वायुमण्डलीय आकाश थियो। (भजन ७८:२६; मत्ती ६:२६) स्पष्टतया पृथ्वीको वायुमण्डल हुँदै अग्निमय रथले एलियालाई पृथ्वीकै अर्को कुनै ठाउँमा लग्यो, जहाँ तिनी अझै केही वर्षसम्म बाँचे। वास्तवमा, वर्षौंपछि एलियाले यहूदाका राजा योरामलाई एउटा पत्र लेखेका थिए।—२ इतिहास २१:१, १२-१५.

५:१५, १६—नामानले दिएको उपहार एलीशाले किन स्वीकारेनन्‌? एलीशाले उक्‍त उपहार लिन इन्कार गरे किनभने नामानलाई निको पार्ने त्यो चमत्कार आफ्नो शक्‍तिद्वारा नभई यहोवाको शक्‍तिद्वारा भएको हो भनेर तिनले बुझेका थिए। आफूले प्राप्त गरेको ईश्‍वर-प्रदत्त अधिकारबाट फाइदा उठाउनु तिनको लागि सोच्न समेत नसकिने कुरा थियो। आज साँचो उपासकहरूले यहोवाको सेवाबाट व्यक्‍तिगत फाइदा उठाउन खोज्दैनन्‌। तिनीहरू येशूको निम्न सल्लाह मनमा राख्छन्‌: “सित्तैंमा पायौ, सित्तैंमा देओ।”—मत्ती १०:८.

५:१८, १९, NRV—के नामानले धार्मिक क्रियाकलापमा भाग लिनु परेकोमा क्षमा मागिरहेका थिए? स्पष्टतः अरामी राजा वृद्ध र कमजोर थिए अनि मदतको लागि तिनी नामानमा भर पर्नुपर्थ्यो। रिम्मोनको पूजा गर्न राजा निहुरिंदा नामान पनि निहुरिए। यद्यपि, उपासना गर्न नभई राजाको शरीरलाई आड दिनको लागि मात्र नामान निहुरिएका थिए। यो निजामति कार्य पूरा गरेकोमा नामानले यहोवासित क्षमा मागिरहेका थिए। नामानको कुरामाथि विश्‍वास गर्दै एलीशाले तिनलाई यसो भने: “शान्तिसित जाऊ।”

हाम्रो लागि पाठ:

१:१३, १४. अरूलाई हेरर सिक्दा र नम्रतापूर्वक काम गर्दा ज्यान जोगिन सक्छ।

२:२, ४, . एलियाको सेवक बनेको लगभग छ वर्ष भइसके तापनि एलीशाले तिनलाई छोड्‌न मानेनन्‌। वफादारिता र मित्रताको कस्तो राम्रो उदाहरण!—हितोपदेश १८:२४.

२:२३, २४. मुडुले व्यक्‍तिले एलियाको पोसाक लगाउनु नै एलीशालाई जिस्काउनुको मुख्य कारण हो जस्तो देखिन्छ। ससाना ठिटाहरूले एलीशा यहोवाको प्रतिनिधि हो भनेर चिने र तिनलाई आफ्नो इलाकामा देख्न चाहँदैनथे। उनीहरूले तिनलाई “[“माथि,” NRV] जाऊ” भने, जसको अर्थ बेतेलमा जाऊ वा एलियालाई जस्तै उठाएर माथि लगियोस्‌ भनेका हुन सक्छन्‌। ती ठिटाहरूले आफ्ना आमाबाबुको जस्तै वैरभावपूर्ण मनोवृत्ति देखाए। आमाबाबुहरूले आफ्ना छोराछोरीलाई परमेश्‍वरका प्रतिनिधिहरूको आदर गर्न सिकाउनु कत्ति महत्त्वपूर्ण छ!

३:१४, १८, २४. यहोवाको वचन सधैं सत्य साबित हुन्छ।

३:२२. बिहान सबेरै पानीमाथि परेको घामको किरणले दृष्टिभ्रम सृजना गऱ्‍यो र पानी रगतजस्तै देखियो भर्खरै खनिएका खाडलहरूमा रातो माटो भएको हुनाकारण यस्तो देखिएको हुन सक्छ। आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले प्राकृतिक कुराहरूलाई समेत चलाउन सक्नुहुन्छ।

४:८-११. एलीशा “परमेश्‍वरका पवित्र जन” हुन्‌ भन्‍ने कुरा स्वीकार्दै शुनैमकी एउटी स्त्रीले तिनलाई अतिथि सत्कार गरिन्‌। यहोवाका विश्‍वासी उपासकहरूका लागि के हामीले पनि यसै गर्नु पर्दैन र?

५:३. परमेश्‍वरले चमत्कारहरू गर्न सक्नुहुन्छ भन्‍ने कुरामा सानी इस्राएली ठिटी विश्‍वस्त थिइन्‌। तिनीसित आफ्नो विश्‍वासबारे बताउने साहस पनि थियो। के तपाईं केटाकेटीहरू परमेश्‍वरका प्रतिज्ञाहरूमा आफ्नो विश्‍वास अझ बलियो बनाउन कोसिस गर्नुका साथै आफ्ना शिक्षक तथा सँगी विद्यार्थीहरूलाई सच्चाइबारे बताउन साहस जुटाउनुहुन्छ?

५:९-१९. घमन्डी व्यक्‍तिले समेत नम्र हुन सिक्न सक्छ भनेर नामानको उदाहरणले देखाउँदैन र?—१ पत्रुस ५:५.

५:२०-२७. झूट बोल्दा कत्ति ठूलो मूल्य चुकाउनुपऱ्‍यो! दोहोरो जीवन बिताउँदा आफूमाथि आइपर्न सक्ने दुःख तथा विपत्तिहरूबारे मनन गर्दा यसले हामीलाई यस्तो मार्गदेखि जोगिन मदत गर्नेछ।

इस्राएल र यहूदा कैदमा लगिन्छ

(२ राजा ९:१–२५:३०)

येहूलाई इस्राएलको राजा अभिषिक्‍त गरिन्छ। कुनै ढिलासुस्ती नगरी तिनले आहाबको घरानालाई विनाश गर्ने अभियान सुरु गर्छन्‌। कौशलतापूर्वक येहूले “इस्राएलमा बालको पूजालाई खतम” गर्छन्‌। (२ राजा १०:२८) आफ्नो छोरालाई येहूले मारेको कुरा थाह पाएपछि अहज्याहकी आमा अतल्याह यहूदाको “राजाका सबै घरानालाई नाश गर्नलाई” र सिंहासन हत्याउनलाई खडा हुन्छिन्‌। (२ राजा ११:१) अहज्याहको नाबालक छोरा योआश मात्र बच्छन्‌ र छ वर्षसम्म लुकाएर राखेपछि तिनलाई यहूदाको राजा नियुक्‍त गरिन्छ। पूजाहारी यहोयादाबाट प्रशिक्षण पाएका योआशले यहोवाको दृष्टिमा जे ठीक छ त्यही गरिरहन्छन्‌।

येहूपछि इस्राएलमा शासन गर्ने सबै राजाहरूले यहोवाको नजरमा जे खराब छ त्यही गर्छन्‌। एलीशा बुढेसकालसम्म बाँचेर येहूको नातिको पालामा मर्छन्‌। योआशपछि यहूदाका चौथो राजा आहाजले यहोवाको दृष्टिमा ‘जे कुरो असल छ त्यो गर्दैनन्‌।’ (२ राजा १६:१, २) तथापि, तिनको छोरा हिजकियाह यहोवाको “भक्‍त” राजा साबित हुन्छन्‌। (२ राजा १७:२०; १८:६) ई.पू. ७४० मा, हिजकियाह यहूदाको र होशे इस्राएलको राजा हुँदा, अश्‍शूरी राजा शल-मनेसेरले ‘सामरिया कब्जा गर्छन्‌ र इस्राएलीहरूलाई कैद गरेर अश्‍शूरमा लैजान्छन्‌।’ (२ राजा १७:६) पछि, इस्राएलको इलाकामा विदेशीहरू बसोबास गर्छन्‌ र सामरी धर्मको सुरुवात हुन्छ।

हिजकियाहपछि राजा बनेका यहूदाका सात जना राजामध्ये योशियाहले मात्र त्यस मुलुकलाई झूटो धर्मबाट मुक्‍त पार्न कदम चाल्छन्‌। अन्तमा, ई.पू. ६०७ मा बेबिलोनीहरूले यरूशलेम कब्जा गर्छन्‌ र ‘यहूदा आफ्नो निज देशबाट कैदमा लगिन्छ।’—२ राजा २५:२१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१३:२०, २१—के यस चमत्कारले धार्मिक अवशेषहरूको उपासनालाई समर्थन गर्छ? अहँ, पटक्कै गर्दैन। एलीशाका हड्डीहरूको उपासना गरिएको कुरा बाइबलले कतै पनि बताउँदैन। एलीशा जीवित हुँदा तिनले गरेका सबै चमत्कारहरू जस्तै यो चमत्कार पनि परमेश्‍वरको शक्‍तिद्वारा भएको थियो।

१५:१-६—यहोवाले किन अजर्याहलाई (उज्जियाह, १५:१, पादटिप्पणी) कोर रोगले प्रहार गर्नुभयो? “[उज्जियाह] . . . शक्‍तिशाली भएपछि तिनको अहंकारले गर्दा . . . तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्‍वरको विरुद्धमा तिनले अपराध गरे।” पूजाहारीहरूले ‘उज्जियाहको विरोध गरेर’ तिनलाई ‘पवित्रस्थानबाट हट्‌न’ अनुरोध गर्दा तिनी पूजाहारीहरूसित क्रोधित भए र तिनी कोरी भए।—२ इतिहास २६:१६-२०.

१८:१९-२१, २५—के हिजकियाहले मिश्रसित साँठगाँठ गरेका थिए? थिएनन्‌। रबशाकेले “परमप्रभुको सल्लाह” लिएर आफू आएको दाबी गरे जस्तै तिनको यो आरोप पनि झूटा थियो। विश्‍वासी राजा हिजकियाह पूर्णतः यहोवामा भर परे।

हाम्रो लागि पाठ:

९:७, २६. आहाबको घरानाले भोग्नु परेको कठोर न्यायले यो देखाउँछ कि झूटो उपासना गर्नु र निर्दोष रगत बगाउनु यहोवाको नजरमा घृणित छ।

९:२०. बेतोडले रथ हाँक्ने व्यक्‍तिको रूपमा येहूले कमाएको नाउँले आफ्नो जिम्मेवारी पूरा गर्नमा तिनको जोसको प्रमाण दियो। के तपाईं पनि जोसिलो राज्य उद्‌घोषकको रूपमा चिनिनुहुन्छ?—२ तिमोथी ४:२.

९:३६, ३७; १०:१७; १३:१८, १९, २५; १४:२५; १९:२०, ३२-३६; २०:१६, १७; २४:१३. ‘यहोवाको मुखबाट निस्कने वचन सधैं सफल हुन्छ’ भनेर हामी ढुक्क हुन सक्छौं।—यशैया ५५:१०, ११.

१०:१५. आफूसँगै रथमा चढ्‌न येहूले दिएको निमन्त्रणा यहोनादाबले पूरा हृदयले स्वीकारेझैं “ठूलो भीड[ले]” वर्तमान समयका येहू येशू ख्रीष्ट र उहाँका अभिषिक्‍त अनुयायीहरूलाई इच्छुकतासाथ समर्थन गर्छन्‌।—प्रकाश ७:९.

१०:३०, ३१. येहूले पूर्णतया निष्खोट रेकर्ड नबसाले तापनि तिनले जे जति गरे, यहोवाले त्यसको मोल गर्नुभयो। साँच्चै ‘हाम्रो काम बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न।’—हिब्रू ६:१०.

१३:१४-१९. येहूका नाति योआश प्रयत्न गर्नमा थाकेर आफ्नो काँड भुइँमा तीन पटक मात्र हानेकोले गर्दा अरामीहरूलाई हराउनमा तिनी पूरै सफल हुन सकेनन्‌। हामीलाई खटाइएको काम पूरा हृदयले र जोसका साथ गरेको यहोवा चाहनुहुन्छ।

२०:२-६. यहोवा “प्रार्थना सुन्‍नुहुने” परमेश्‍वर हुनुहुन्छ।—भजन ६५:२.

२४:३, ४. मनश्‍शेले रगत बगाएको कारण यहोवाले यहूदालाई “क्षमा गर्नुभएन।” यहोवाले निर्दोषहरूको रगतको मोल गर्नुहुन्छ। निर्दोष रगत बगाउने मानिसहरूलाई नाश गरेर यहोवाले तिनीहरूसित बदला लिनुहुनेछ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं।—भजन ३७:९-११; १४५:२०.

हाम्रो लागि मूल्यवान्‌

दोस्रो राजाको पुस्तकले यहोवालाई आफ्ना प्रतिज्ञाहरू पूरा गर्ने व्यक्‍तिको रूपमा चित्रण गर्छ। पहिला इस्राएल र त्यसपछि यहूदा गरी दुवै देशका बासिन्दाहरूलाई कैदमा लगिएको विवरणले व्यवस्था २८:१५–२९:२८ मा लिपिबद्ध भविष्यसूचक न्याय कसरी साँचो साबित भयो भन्‍ने कुरातर्फ जोडदार ढङ्‌गमा हाम्रो ध्यान खिच्छ। दोस्रो राजाले एलीशालाई यहोवाको नाउँ र साँचो उपासनाको लागि ठूलो जोस भएको अगमवक्‍ताको रूपमा वर्णन गर्छ। हिजकियाह र योशियाहलाई परमेश्‍वरको व्यवस्थाको आदर गर्ने नम्र राजाहरूको रूपमा चित्रण गरिएको छ।

दोस्रो राजाको पुस्तकमा उल्लेख गरिएका राजा, अगमवक्‍ता र अरू व्यक्‍तिहरूको मनोवृत्ति तथा क्रियाकलापबारे मनन गर्दा, हामीले पछ्याउनुपर्ने र जोगिनुपर्ने मार्गबारे मूल्यवान्‌ पाठहरू सिक्दैनौं र? (रोमी १५:४; १ कोरिन्थी १०:११) हो, “परमेश्‍वरको वचन जीवित र प्रबल” छ।—हिब्रू ४:१२.

[पृष्ठ १०-मा भएको पेटी/चित्र]

एलीशाका चमत्कारहरू

१. यर्दन नदीको पानी दुई भाग पारिन्छ।—२ राजा २:१४.

२. यरीहोमा आपूर्ति हुने दूषित पानीलाई शुद्ध तुल्याइन्छ।—२ राजा २:१९-२२.

३. गल्ती गर्ने अल्लारे ठिटाहरूलाई भालुले आक्रमण गर्छ।—२ राजा २:२३, २४.

४. सेनाको लागि पानीको प्रबन्ध मिलाइन्छ।—२ राजा ३:१६-२६.

५. एउटी विधवाले खाने तेल पाउँछिन्‌।—२ राजा ४:१-७.

६. एउटी बाँझी शुनैमी स्त्रीले गर्भधारण गर्छिन्‌।—२ राजा ४:८-१७.

७. बालकलाई मृत अवस्थाबाट ब्यूँताइन्छ।—२ राजा ४:१८-३७.

८. विषालु जाउलो खानयोग्य बन्छ।—२ राजा ४:३८-४१.

९. बीसवटा रोटीले १०० जनालाई खुवाइन्छ।—२ राजा ४:४२-४४.

१०. नामानको कोर निको पारिन्छ।—२ राजा ५:१-१४.

११. नामानको कोर गेहजीलाई सर्छ।—२ राजा ५:२४-२७.

१२. बिंडबाट फुत्किएको बन्चरो पानीमाथि तैरिन्छ।—२ राजा ६:५-७.

१३. एक जना सेवकले स्वर्गदूतीय फौजका रथहरू देख्छन्‌।—२ राजा ६:१५-१७.

१४. अरामी सेनालाई अन्धो पारिन्छ।—२ राजा ६:१८.

१५. अरामी सेनाको दृष्टि फर्काइन्छ।—२ राजा ६:१९-२३.

१६. मरेको मानिस जीवित हुन्छ।—२ राजा १३:२०, २१.

[पृष्ठ १२-मा भएको चार्ट/चित्रहरू]

यहूदा र इस्राएलका राजाहरू

शाऊल/दाऊद/सुलेमान: ई.पू. १११७/१०७७/१०३७ a

यहूदाको राज्य मिति (ई.पू.) इस्राएलको राज्य

रहबाम ․․․․․․ ९९७ ․․․․․․ यारोबाम

अबियाह (अबियाम)/आसा ․․․․ ९८०/९७८ ․․․․

․․ ९७६/९७५/९५२ ․․ नादाब/बाशा/एला

․․ ९५१/९५१/९५१ ․․ जिम्री/ओम्री/तिब्नी

․․․․․․ ९४० ․․․․․․ आहाब

यहोशापात ․․․․․․ ९३७ ․․․․․․

․․․․ ९२०/९१७ ․․․․ अहज्याह/योराम

योराम ․․․․․․ ९१३ ․․․․․․

अहज्याह ․․․․․․ ९०६ ․․․․․․

(अतल्याह) ․․․․․․ ९०५ ․․․․․․ येहू

योआश ․․․․․․ ८९८ ․․․․․․

․․․․ ८७६/८५९ ․․․․ योआहाज/योआश

अमस्याह ․․․․․․ ८५८ ․․․․․․

․․․․․․ ८४४ ․․․․․․ यारोबाम द्वितीय

अजर्याह (उज्जियाह) ․․․․․․ ८२९ ․․․․․․

․․ ८०३/७९१/७९१ ․․ जकर्याह/शल्लूम/मनहेम

․․․․ ७८०/७७८ ․․․․ पकहीया/पेकह

योताम/आहाज ․․․․ ७७७/७६२ ․․․․

․․․․․․ ७५८ ․․․․․․ होशे

हिजकियाह ․․․․․․ ७४६ ․․․․․․

․․․․․․ ७४० ․․․․․․ सामरिया कब्जा गरिन्छ

मनश्‍शे/आमोन/योशियाह ․․ ७१६/६६१/६५९ ․․

यहोआहाज/यहोयाकीम ․․․․ ६२८/६२८ ․․․․

यहोयाकीन/सिदकियाह ․․․․६१८/६१७ ․․․․

यरूशलेमको विनाश ․․․․․․ ६०७ ․․․․․․

[फुटनोट]

a कुनै-कुनै मितिले शासन सुरु भएको मोटामोटी समयलाई जनाउँछ।

[पृष्ठ ८, ९-मा भएको चित्र]

नामानले आफूलाई नम्र तुल्याए र यहोवाको शक्‍तिद्वारा निको भए

[पृष्ठ ८, ९-मा भएको चित्र]

एलियालाई “भुमरीले उठाएर” लैजाँदा तिनलाई के भयो?