अरूले हामीबारे के भन्छ के वास्ता गर्नुपर्छ?
अरूले हामीबारे के भन्छ के वास्ता गर्नुपर्छ?
प्रायः सबैलाई आफ्नो प्रशंसा सुन्न मन लाग्छ। कसैले हाम्रो तारिफ गर्दा हामीलाई खुसी लाग्छ र केही उपलब्धि गरेजस्तो महसुस हुन्छ। अरूले मन पराइदिंदा अझ राम्रो गर्ने प्रेरणा मिल्छ। कसैले मन नपराइदिंदा चाहिं ठीक उल्टो महसुस हुन्छ। कठोर वचन र आलोचनाले मनै मारिदिन्छ। हामीबारे अरूले के भन्छ, त्यसले हामीलाई गहिरो असर पार्न सक्छ।
अरूले हामीबारे के भन्छ, त्यसलाई बेवास्ता गर्नु ठिक होइन। अरूले आफूलाई कस्तो दृष्टिकोणले हेर्छ भनी थाह पाउँदा वास्तवमा आफैलाई फाइदा हुन्छ। अरूले हामीबारे राख्ने दृष्टिकोण उच्च नैतिक सिद्धान्तहरूमा आधारित छ भने, त्यसले हामीलाई असल गर्न बल दिन्छ। (१ कोरिन्थी १०:३१-३३) तर मानिसहरूको विचारधारालाई सधैं सही मान्न सकिंदैन। धर्मगुरु लगायत अरूले येशू ख्रीष्टलाई “क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्” भनी चिच्याउँदा येशूप्रति तिनीहरूले राखेको टेढो दृष्टिकोणलाई विचार गर्नुहोस्। (लूका २३:१३, २१-२५) गलत जानकारी वा ईर्ष्या र पूर्वाग्रहले भरिएको विचारधारालाई बेवास्ता गर्नैपर्छ। तसर्थ, अरूले हामीबारे भन्ने कुरालाई लेखाजोखा गरेर विवेकी भई प्रतिक्रिया देखाउनुपर्छ।
कसको विचारले महत्त्व पाउनुपर्छ?
सँगी उपासकहरूले हामीलाई मन पराएको हामी चाहन्छौं। ती एउटै विश्वासमा भएका परिवारका सदस्यहरू र हाम्रा मसीही भाइबहिनीहरू हुन्। (रोमी १५:२; कलस्सी ३:१८-२१) सँगी विश्वासीहरूको प्रेम, आदर र एक-आपसको “सान्त्वना[ले]” ठूलो अर्थ राख्छ। (रोमी १:११, १२) हामी ‘नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ’ ठान्छौं। (फिलिप्पी २:२-४) यसबाहेक, हामीले “अगुवा” अर्थात् मण्डलीका प्राचीनहरूको अनुमोदन खोज्नुपर्छ र त्यसको मोल पनि गर्नुपर्छ।—हिब्रू १३:१७.
‘मण्डली बाहिरकाहरूबाट असल नाउँ’ कमाउनु पनि राम्रो हो। (१ तिमोथी ३:७) बेग्लै विश्वास भएका नातेदार, सहकर्मी र छिमेकीहरूबाट आदर कमाउनु कत्ति राम्रो! साथै, राज्य सन्देशप्रति मानिसहरूले सकारात्मक प्रतिक्रिया देखाओस् भनेर के हामी आफूले प्रचार गर्ने मानिसहरूमा असल छाप छोड्ने प्रयास गर्दैनौं र? हामीले समाजमा नैतिकवान्, असल र इमानदार भन्ने नाउँ कमाएका छौं भने यसले परमेश्वरको महिमा गर्छ। (१ पत्रुस २:१२) तर अरूको अनुमोदन पाउन न हामी कहिल्यै बाइबल सिद्धान्तहरूमा सम्झौता गर्छौं न त अरूलाई प्रभाव पार्न झूटो मकुन्डो नै लाउँछौं। सबैलाई खुसी पार्न सकिंदैन भनेर हामीले बुझ्नैपर्छ। येशूले यसो भन्नुभयो: “तिमीहरू यस संसारका हुँदा हौ ता संसारले आफ्नोलाई माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ, मैले तिमीहरूलाई संसारबाट छानें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।” (यूहन्ना १५:१९) विरोधीहरूबाट आदर कमाउन हामीले गर्न सक्ने केही छ कि?
विरोधीहरूको आदर कमाउने
“मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ तर आखिरसम्म सहने चाहिंले उद्धार पाउनेछ” भनी येशूले चेताउनी दिनुभयो। (मत्ती १०:२२) यस्तो घृणाले गर्दा कहिलेकाहीं हामीमाथि घातक आरोपहरू आइलाग्न सक्छन्। पूर्वाग्रही सरकारले हामीलाई “देशद्रोही” वा “देशको लागि खतरा” समेत भन्न सक्छन्। हाम्रा कट्टर विरोधीहरूले खतरनाक गुट भन्दै हामीलाई नामेट पार्नुपर्छ भन्ने आवाज उठाऊलान्। (प्रेरित २८:२२) कहिलेकाहीं त यी झूटा आरोपहरूलाई शान्त पार्न सकिन्छ। कसरी? प्रेरित पत्रुसको यो सल्लाह पालन गरेर: “तिमीहरूमा भएको आशाको कारण तिमीहरूसँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डरसँग [“गहिरो आदर,” NW], सधैं तयार भइरहो।” (१ पत्रुस ३:१५) साथै, ‘हाम्रो बोली कसैले निन्दा गर्न नपाउने होस्, ताकि हाम्रा विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधी शर्ममा परोस्।’—तीतस २:८, NRV.
आफ्नो नाउँमा लागेको कलङ्क हटाउने हामी प्रयास त गर्छौं तर निराधार आरोपहरू आइलाग्दा बढ्तै चिन्तित वा हतोत्साहित हुनु पर्दैन। परमेश्वरको सिद्ध पुत्र येशूलाई समेत ईश्वर-निन्दक, देशद्रोही र भूतप्रेत खेलाउने भन्ने आरोप लगाइयो। (मत्ती ९:३; मर्कूस ३:२२; यूहन्ना १९:१२) प्रेरित पावलको पनि बदनाम गरियो। (१ कोरिन्थी ४:१३) त्यस्ता आलोचनाहरूलाई ध्यानै नदिई येशू र पावल आ-आफ्नो काममा लागिरहे। (मत्ती १५:१४) “सारा संसार त्यस दुष्टको अधीनमा परेको” कारण आफ्ना शत्रुहरूले राम्रो भन्छन् भनेर आशा गर्नु बेकार हो भनेर दुवैलाई थाह थियो। (१ यूहन्ना ५:१९) आज हामीलाई पनि यस्तै आरोपहरू आइपर्न सक्छ। हामीलाई घृणा गर्ने विरोधीहरूले हामीबारे अफवाह फैलाउँदा विचलित हुनु पर्दैन।—मत्ती ५:११.
लत्याउन नहुने सल्लाह
हामीलाई हेर्ने दृष्टिकोण मान्छेपिच्छे फरक हुन्छ। तिनीहरूले आफ्नो मनसाय र हामीबारे सुनेका कुराहरूको आधारमा आफ्नो दृष्टिकोण बनाउँछन्। हामीलाई कसैले प्रशंसा र आदर गर्लान् त कसैले निन्दा र घृणा गर्लान्। तर हामी बाइबल सिद्धान्तअनुसार जीवन बिताउँछौं भने हामीसित आनन्दित हुने हर कारण छ।
प्रेरित पावलले यसो लेखे: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।” (२ तिमोथी ३:१६, १७) हर कुरामा परमेश्वरको वचनका निर्देशनहरू कृतज्ञ भई स्वीकार्दा हामीले यहोवा परमेश्वर र उहाँको पुत्र येशू ख्रीष्टको अनुग्रह पाउँछौं। आखिर, हामीले हरहालतमा लत्याउन नहुने सल्लाह त यहोवा र उहाँको पुत्रकै हो। मुख्य कुरा त, उहाँहरूले हामीबारे के सोच्नुहुन्छ भन्ने नै हो। अनि साँच्चै, हाम्रो जीवन उहाँहरूकै अनुमोदनमा निर्भर छ।—यूहन्ना ५:२७; याकूब १:१२.
[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]
“प्रशंसा पाउँदा म शर्माउँछु किनकि भित्रभित्रै म यसको याचना गर्छु।”—भारतीय कवि रविन्द्रनाथ ठाकुर
[पृष्ठ ३१-मा भएका चित्रहरू]
सँगी विश्वासीहरूको विचारलाई बेवास्ता गर्नु हुँदैन
[पृष्ठ ३०-मा भएको चित्रको स्रोत]
Culver Pictures