सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?

के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?

के तपाईंको अन्तस्करणलाई राम्ररी सिकाइएको छ?

तपाईंले कहिल्यै यसो भन्‍नुभएको छ, “मेरो मनले भन्छ, यो ठीक होइन,” “यो काम त म गर्नै सक्दिनँ। म भित्रको आवाजले भन्छ, यो गलत हो।” यो तपाईंको अन्तस्करणको “आवाज” हो। अन्तस्करण सही र गलत छुट्याउने तपाईं भित्रको चेतना हो, जसले तपाईंलाई कहिले समर्थन गर्छ त कहिले दोष लगाउँछ। हो, हामी सबैले जन्मजातै अन्तस्करण पाएका छौं।

परमेश्‍वरबाट अलग्गिंदा समेत मानिसमा सही र गलत छुट्याउने क्षमता हुन्छ। परमेश्‍वरकै स्वरूपमा बनाइएकोले मानिसमा यस्तो क्षमता छ। त्यसैले त सबै मानिसले बुद्धि र धार्मिकता जस्ता परमेश्‍वरका गुणहरू केही हदसम्म देखाइरहेका हुन्छन्‌। (उत्पत्ति १:२६, २७) परमेश्‍वरको प्रेरणा पाएर प्रेरित पावलले अन्तस्करणबारे यस्तो लेखे: “व्यवस्था नहुने अन्यजातिहरू स्वभावैले व्यवस्थाका कुरा पालन गर्दछन्‌ भने, तिनीहरूका व्यवस्था नभए तापनि तिनीहरू आफ्ना निम्ति आफै व्यवस्था छन्‌, यसैमा तिनीहरू व्यवस्थाको काम आफ्ना हृदयमा लेखिएको देखाउँछन्‌, औ तिनीहरूका आफ्नै अन्तस्करणले गवाही दिन्छ, र विचारहरूले आपसमा दोषारोपण अथवा समर्थन गर्ने गर्छन्‌।” a—छड्‌के अक्षर हाम्रो, रोमी २:१४, १५.

प्रथम मानव आदमबाट पाएको यस नैतिक स्वभावले हरेक जाति र मुलुकका मानिसहरूको लागि एउटा “व्यवस्था” अथवा आचारसंहिताको काम गर्छ। आफैलाई केलाउने अनि म सही छु कि गलत भनी छुट्याउने अन्तस्करणको क्षमता हुन्छ। (रोमी ९:१) परमेश्‍वरको व्यवस्था भङ्‌ग गर्ने बित्तिकै आदम र हव्वाले यो क्षमता देखाइहाले। कसरी? परमेश्‍वरको नजरबाट लुकेर। (उत्पत्ति ३:७, ८) अन्तस्करणले कसरी काम गर्छ भन्‍ने अर्को उदाहरण, जनगणना लिएर पाप गरेको थाह पाएपछि राजा दाऊदले देखाएको प्रतिक्रिया पनि हो। बाइबलले भन्छ, “दाऊदको विवेकले तिनलाई सतायो।”—२ शमूएल २४:१-१०.

आफूले गरेको काम केलाउँदा अनि नैतिक रूपमा त्यो काम ठीक छ कि छैन भनेर पक्का गर्दा पश्‍चात्ताप गर्न हामी उत्प्रेरित हुन्छौं, जुन परमेश्‍वरले रुचाउनुहुने एउटा महत्त्वपूर्ण कदम हो। दाऊदले यस्तो लेखे: “जब म चूप लागें, तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्‌कलाशब्दले गर्दा मक्किए। मैले आफ्नो पाप तपाईंमा प्रकट गरें, र मेरो अधर्म मैले लुकाएको छैनँ। मैले भनें, ‘म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु। र तपाईंले मेरो पापको अधर्म क्षमा गर्नुभयो।’ ” (भजन ३२:३, ५) त्यसैले, असल अन्तस्करणले पापीलाई परमेश्‍वरको क्षमा चाहिन्छ भनेर बुझ्न र उहाँका स्तरहरूअनुसार हिंड्‌न मदत गर्छ।—भजन ५१:१-४, ९, १३-१५.

कुनै छनौट गर्नुपर्दा वा नैतिक रूपमा कुन सही हो र कुन गलत हो भनी छुट्याउनुपर्दा अन्तस्करणले हामीलाई सजग गराउनुका साथै सही बाटो पनि देखाउँछ। अन्तस्करणको यही पक्षले गर्दा युसूफले व्यवस्था दिइनुअघि नै व्यभिचार गर्नु परमेश्‍वर विरुद्ध पाप हो भनेर बुझ्न सके। व्यभिचार गर्नु पाप हो भनेर पछि मात्र इस्राएलीहरूलाई दिइएको दस आज्ञामा औंल्याइयो। (उत्पत्ति ३९:१-९; प्रस्थान २०:१४) असल र खराब छुट्याउन मात्र होइन तर आफूलाई सही बाटो देखाउने गरी अन्तस्करणलाई सिकाइएको छ भने मात्र यो उपयोगी साबित हुन्छ। के तपाईंसित यस्तै अन्तस्करण छ?

सही निर्णय गर्न सक्ने गरी अन्तस्करणलाई सिकाउने

हामीले अन्तस्करण वरदानस्वरूप पाएको भए पनि यो सद्दे छैन। हो, सुरुमा मानवजाति सिद्ध थिए तर “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३) हामी पापी र असिद्ध भएकोले हाम्रो अन्तस्करण बिग्रिएको छ। त्यसैले परमेश्‍वरले जुन उद्देश्‍यले मानिसलाई अन्तस्करण दिनुभएको थियो, त्यसैअनुसार यसले काम नगर्न पनि सक्छ। (रोमी ७:१८-२३) अरू थुप्रै पक्षहरूले पनि हाम्रो अन्तस्करणलाई असर गर्न सक्छ। लालनपालन वा स्थानीय प्रचलन, जनविश्‍वास र परिवेशले पनि यसलाई असर गर्न सक्छ। यस संसारको खस्कँदो नैतिकता र पतित स्तरले असल अन्तस्करणको स्तर कदापि निर्धारण गर्न सक्दैन।

यसकारण परमेश्‍वरको वचन बाइबलमा भएका कहिल्यै परिवर्तन नहुने धार्मिक स्तरहरू मसीहीहरूलाई थाह हुनुपर्छ। ती स्तरहरूले नै परिस्थितिको सही लेखाजोखा गरेर आफैलाई सच्च्याउन हाम्रो अन्तस्करणलाई घचघच्याउँछ। (२ तिमोथी ३:१६) अन्तस्करणलाई परमेश्‍वरका स्तरहरूअनुरूप सिकाइएको छ भने मात्र यसले ‘खराब र असल छुट्याएर’ नैतिक रूपमा हानिकारक कुराहरूबाट जोगिन हामीलाई मदत गर्न सक्छ। (हिब्रू ५:१४) यसरी सिकाइएको छैन भने खराब बाटोमा बरालिंदा यसले हामीलाई सजग गराउँदैन। बाइबल यसो भन्छ, “कुनै बाटो मानिसलाई सोझोजस्तै लाग्छ, तापनि अन्तमा त्यसले मृत्युमा पुऱ्‍याउँछ।—हितोपदेश १६:२५; १७:२०.

जीवनका कुनै-कुनै क्षेत्रमा परमेश्‍वरको वचनले तोकेरै निर्देशन दिएको छ र हामी यसअनुसारै चल्नुपर्छ। तर स्पष्ट तोकेरै निर्देशन नदिइएका क्षेत्रहरू पनि छन्‌। जस्तै, जागिर वा पेसा, स्वास्थ्य, मनोरञ्जन, पहिरन तथा कोरीबाटी र अरू थुप्रै क्षेत्रहरू। यस्तो परिस्थितिमा सही निर्णय गर्न सधैं सजिलो हुँदैन। त्यसैले त हाम्रो मनोवृत्ति दाऊदको जस्तै हुनुपर्छ। उनले यसरी पुकारे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्‌। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्‌, र मलाई सिकाउनुहोस्‌। किनकि तपाईंनै मलाई उद्धार गर्ने परमेश्‍वर हुनुहुन्छ।” (भजन २५:४, ५) परमेश्‍वरका दृष्टिकोण र स्तरहरूलाई हामी जति राम्ररी बुझ्छौं, त्यति नै परिस्थितिको सही लेखाजोखा गरेर सफा अन्तस्करण राख्दै निर्णयहरू गर्न सक्छौं।

त्यसैले, कुनै प्रश्‍न उठ्‌दा वा कुनै निर्णय गर्नुपर्दा हामीले सर्वप्रथम लागू गर्न मिल्ने बाइबल सिद्धान्तहरू मनन गर्नुपर्छ। तीमध्ये केही सिद्धान्तहरू हुन्‌: शिरत्वको आदर गर्ने (कलस्सी ३:१८, २०); हर कुरामा इमानदार हुने (हिब्रू १३:१८); खराबीलाई घृणा गर्ने (भजन ९७:१०); शान्तिको पछि लाग्ने (रोमी १४:१९); सरकारप्रति आज्ञाकारी हुने (मत्ती २२:२१; रोमी १३:१-७); परमेश्‍वरलाई ऐकान्तिक भक्‍ति चढाउने (मत्ती ४:१०); संसारको भाग नहुने (यूहन्‍ना १७:१४); खराब संगतबाट अगल बस्ने (१ कोरिन्थी १५:३३); पहिरन तथा कोरीबाटीमा भद्र हुने (१ तिमोथी २:९, १०); अरूको लागि ठोकरको कारण नहुने (फिलिप्पी १:१०)। सम्बन्धित बाइबल सिद्धान्तहरू राम्ररी बुझ्दा अन्तस्करणलाई टाठो बनाउन सकिन्छ। अनि यस्तो अन्तस्करणले सही निर्णय गर्न मदत दिन्छ।

अन्तस्करणको आवाजलाई नलत्याउनुहोस्‌

अन्तस्करणले मदत गरेको चाहन्छौं भने हामीले यसको आवाजलाई लत्याउनु हुँदैन। बाइबलद्वारा सिकाइएको अन्तस्करणको आवाज सुनेर तुरुन्तै कदम चाल्यौं भने मात्र हाम्रो लागि यो उपयोगी साबित हुन्छ। अन्तस्करणले दिने आवाजलाई रोग लाग्दा शरीरले देखाउने लक्षणहरूसित तुलना गर्न सकिन्छ। सुरुमा बिरामीलाई जरो आउला वा अलि-अलि जीउ दुख्ला। यी लक्षणहरूलाई बेवास्ता गर्दै डाक्टरकहाँ गएन भने बिरामीलाई के हुन्छ? रोग चर्कैंदै जान सक्छ र बिरामी अस्पतालमै भर्ना हुनुपर्ने पनि हुन सक्छ। त्यसरी नै हाम्रो अन्तस्करण वा हामी भित्रको आवाजले कुनै काम गलत हो भनेर हामीलाई सजग गराउन सक्छ। आफ्नो काम बाइबल स्तरअनुसार ठीक छ कि छैन भनेर केलाउँदा बिरामी पर्दा शरीरले लक्षणहरू देखाएझैं अन्तस्करणले पनि हामीलाई सजग गराउँछ। अन्तस्करणको आवाज सुनेर काम गर्दा दुःखद नतिजाहरूबाट त हामी जोगिन्छौं नै, साथै हाम्रो अन्तस्करण पनि जोगिन्छ।

अन्तस्करणको आवाजलाई लत्यायौं भने के हुन्छ? विस्तारै अन्तस्करण बोधो हुन्छ। अन्तस्करणलाई बारम्बार लत्याउनु शरीरको कुनै भागमा तातो फलामले डाम्नु जस्तै हो। डामिएको शरीरको भाग लाटो हुन्छ। (१ तिमोथी ४:२) पाप गर्दा यस्तो अन्तस्करणले सही वा गलत के हो भनेर छुट्याउन पनि सक्दैन र फेरि पाप नगर्न चेतावनी पनि दिंदैन। यस्तो अन्तस्कणले सही र गलत सम्बन्धी बाइबल स्तरहरूलाई लत्याउँछ, बेवास्ता गर्छ। त्यसैले त यसलाई भ्रष्ट अन्तस्करण भन्‍न सकिन्छ। हो, यो साँच्चैको भ्रष्ट अन्तस्करण हो किनकि यस्तो अन्तस्करण हुने व्यक्‍तिको नैतिक चेतना मरेको अर्थात्‌ “निर्दयी” हुन्छ र ऊ परमेश्‍वरबाट अलग्गिएको हुन्छ। (एफिसी ४:१७-१९; तीतस १:१५) कस्तो दुःखलाग्दो कुरा!

‘असल अन्तस्करण राख’

असल अन्तस्करण राख्न लगनशील प्रयास चाहिन्छ। प्रेरित पावलले यसो भने: “यसमा परमेश्‍वरतर्फ र मानिसतर्फ समेत दोषरहितको विवेक [“अन्तस्करण,” NW] सधैं भइरहोस्‌ भनी म आफै पनि परिश्रम गर्दछु।” (प्रेरित २४:१६) मसीही भएकोले पावलले आफ्नो काम बारम्बार केलाइरहे र परमेश्‍वरतर्फ दोषरहित बन्‍न सकौं भनेर आफूलाई सच्याए। पावललाई थाह थियो, हामीले गरेको काम असल हो कि खराब हो भनेर अन्तिम निर्णय त परमेश्‍वरले नै गर्नुहुन्छ। (रोमी १४:१०-१२; १ कोरिन्थी ४:४) पावलले यसो भने: “जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।”—हिब्रू ४:१३.

मानिसतर्फ समेत दोषरहित रहन परिश्रम गर्छु भनी पावलले बताए। कोरिन्थको मण्डलीलाई “मूर्तिहरूका प्रसाद खाने विषयमा” पावलले दिएको सल्लाह यसको एउटा राम्रो उदाहरण हो। कुनै कुरा परमेश्‍वरको वचनअनुसार ठिकै भए पनि अरूको अन्तस्करणको पनि ख्याल राख्नु महत्त्वपूर्ण छ भनेर उनले जोड दिए। यसो गरेनौं भने हाम्रा आध्यात्मिक ‘भाइहरू नष्ट हुन्छन्‌ जसको लागि ख्रीष्ट मर्नुभयो।’ अरूको अन्तस्करणको ख्याल गरेनौं भने परमेश्‍वरसितको हाम्रो सम्बन्ध पनि नष्ट हुन सक्छ।—१ कोरिन्थी ८:४, ११-१३; १०:२३, २४.

त्यसकारण आफ्नो अन्तस्करणलाई सिकाइरहनुहोस्‌ र असल अन्तस्करण कायम राखिरहनुहोस्‌। निर्णयहरू गर्दा परमेश्‍वरको निर्देशन खोज्नुहोस्‌। (याकूब १:५) परमेश्‍वरको वचन अध्ययन गर्नुहोस्‌ र यसैअनुसार आफ्नो मन र हृदयलाई ढाल्नुहोस्‌। (हितोपदेश २:३-५) गम्भीर कुराहरूको निर्णय गर्नुपर्दा त्यससित सम्बन्धित बाइबल सिद्धान्तलाई आफूले राम्ररी बुझेको छ कि छैन पक्का गर्न कुनै परिपक्व मसीहीसित सरसल्लाह गर्नुहोस्‌। (हितोपदेश १२:१५; रोमी १४:१; गलाती ६:५) आफूले गर्ने निर्णयले आफ्नो र अरूको अन्तस्करणलाई कसरी असर गर्छ अनि मुख्यतः यसले यहोवासितको सम्बन्धलाई कसरी असर गर्छ भनेर सधैं सजग रहनुहोस्‌।—१ तिमोथी १:५, १८, १९.

अन्तस्करण स्वर्गमा बस्नुहुने हाम्रो दयालु परमेश्‍वरको अद्‌भुत वरदान हो। हामीलाई परेश्‍वरले जुन उद्देश्‍यले यो दिनुभयो, सोहीअनुसार यसको उपयोग गऱ्‍यौं भने हामी उहाँसित अझ नजिक हुनेछौं। आफ्नो सबै काममा “असल विवेक [“अन्तस्करण,” NW]” राख्न हामी जति धेरै कोसिस गर्छौं, सृष्टिकर्ताकै स्वरूपमा बनिएका हौं भनेर आफूलाई त्यति नै राम्ररी साबित गरिरहेका हुन्छौं।—१ पत्रुस ३:१६; कलस्सी ३:१०.

[फुटनोट]

a अन्तस्करणको लागि यहाँ चलाइएको ग्रीक शब्दको अर्थ “नैतिक रूपमा कुन सही र कुन गलत भनी छुट्याउन सक्ने क्षमता हो” (हारोल्ड के. मोल्टनद्वारा सम्पादित संशोधित विश्‍लेषणात्मक ग्रीक शब्दकोश); “नैतिक रूपमा कुन असल र कुन खराब हो भनी छुट्याउने।”—जे. एच. थायरद्वारा सम्पादित ग्रीक-इङ्‌लिस शब्दकोश।

[पृष्ठ १३-मा भएका चित्रहरू]

असल र खराब छुट्याउन मात्र होइन तर आफूलाई सही बाटो देखाउने गरी के तपाईंले आफ्नो अन्तस्करणलाई सिकाउनुभएको छ?

[पृष्ठ १४-मा भएको चित्र]

बाइबल सिद्धान्तहरू सिक्नुभयो र लागू गर्नुभयो भने मात्र तपाईंको अन्तस्करण राम्ररी सिकाइएको हुन्छ

[पृष्ठ १५-मा भएका चित्रहरू]

आफ्नो अन्तस्करणको आवाजलाई नलत्याउनुहोस्‌