असल आचरणको असल नतिजा
असल आचरणको असल नतिजा
दक्षिण जापानको समुद्रीतट नजिकैको एउटा सानो टापुमा बस्ने एउटी आमा र तिनका तीन जना छोराछोरीले यहोवाका साक्षीरूसँग बाइबल अध्ययन गर्न थाले। यसरी अध्ययन गर्न थालेपछि त्यो एकलास र परम्परावादी टापुका छिमेकीहरू ती आमासँग बोलचाल गर्नै छाडे। तिनी भन्छिन्: “उनीहरू मसँग त बोलेनन् बोलेनन् तर मेरो श्रीमान् र मेरा छोराछोरीसित शत्रुले जस्तो व्यवहार गरेको देख्दा मलाई साऱ्है चित्त दुख्यो।” तर पनि तिनी आफ्ना छोराछोरीलाई भन्ने गर्थिन्: “यहोवाको लागि भए पनि हामीले छिमेकीहरूलाई अभिवादन गर्न छोड्नु हुँदैन।”—मत्ती ५:४७, ४८.
अरूले हामीलाई वास्ता नगरे पनि हामीले चाहिं राम्रो व्यवहार गर्नुपर्छ भनेर ती आमाले आफ्ना छोराछोरीलाई घरमा सिकाइन्। तिनीहरू सधैंजसो तातो पानीले नुहाउने ठाउँ (हट स्प्रिङ) जाने गर्थे। त्यहाँ कारमा जाँदै गर्दा ती केटाकेटीहरू अभिवादन गर्न अभ्यास गर्थे। तातोपानीले नुहाउने ठाउँमा पुगेपछि तिनीहरूले हँसिलो हुँदै सधैं “कोनिचिवा!”—“नमस्ते!” भन्ने गर्थे। छिमेकीहरूले रूखो व्यवहार गरे पनि त्यस परिवारले भेट्ने जति सबैलाई अभिवादन गरिरहे। मानिसहरूले तिनीहरूले गरेको अभिवादनको जवाफ नफर्काए तापनि ती बच्चाहरूको असल आचरणलाई भने याद गरे।
हुँदा-हुँदा छिमेकीहरूले पनि “कोनिचिवा!”—“नमस्ते!” भनेर त्यस परिवारलाई अभिवादन गर्न सुरु गरे। दुई वर्षभित्रमा त सहरका सबैजसोले त्यस परिवारले गरेको अभिवादन फर्काउन थाले। त्यति मात्र कहाँ हो र, सहरका मानिसहरूले पनि एक-अर्कालाई अभिवादन गर्न र आपसमा मित्रैलो व्यवहार गर्न थाले। समाजलाई नै परिवर्तन गर्न मदत गरेकोमा त्यस सहरका उप-मेयर ती बच्चाहरूलाई सम्मान गर्न चाहन्थे। तर ती आमाले भनिन्: ‘मसीहीहरूले जे गर्नुपर्ने हो मेरा छोराछोरीले त्यति मात्र गरेका हुन्।’ पछि, टापुव्यापी एउटा वक्तृत्व-कला प्रतियोगितामा ती आमाका एक जना छोराले पनि भाग लिएका थिए। उनले त्यहाँ यसो भने, ‘छिमेकीहरूले रूखो व्यवहार गरे तापनि हामीले उनीहरूलाई अभिवादन गर्न छोड्नु हुँदैन भनेर आमाले हामीलाई सिकाउनुभयो।’ त्यस प्रतियोगितामा उनी पहिलो भए। उनको भाषण त्यहाँको पत्रिकामा पनि छापियो। मसीही सिद्धान्तअनुसार जीवन बिताउँदा पाएको राम्रो नतिजाले गर्दा अहिले त्यो परिवार औधी खुसी छ। मिलनसार मानिसहरूलाई सुसमाचार प्रचार गर्न असाध्यै सजिलो हुन्छ!