सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं

प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं

प्रलोभनको प्रतिरोध गर्न र निराशाको सामना गर्न बल पाएका छौं

“पवित्र शक्‍ति आएपछि तिमीहरूले बल पाउनेछौ।”—प्रेषि. १:८.

१, २. येशूले आफ्ना चेलाहरूलाई कस्तो मदत दिने प्रतिज्ञा गर्नुभयो र तिनीहरूलाई त्यो किन जरुरी थियो?

 आफूले आज्ञा गरेका सबै कुरा गर्न चेलाहरू आफ्नै बलमा मात्र सक्षम छैनन्‌ भनेर येशूलाई थाह थियो। प्रचारकार्यको व्यापकता, तिनीहरूका शत्रुहरूको सामर्थ्य र मानव शरीरको दुर्बलतालाई विचार गर्दा तिनीहरूलाई असामान्य शक्‍ति चाहिने कुरा प्रस्ट थियो। त्यसैले स्वर्ग जानुअघि येशूले चेलाहरूलाई यस्तो आश्‍वासन दिनुभयो: “पवित्र शक्‍ति आएपछि तिमीहरूले बल पाउनेछौ अनि यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।”—प्रेषि. १:८.

इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा पवित्र शक्‍तिले येशूका अनुयायीहरूलाई यरूशलेमभरि प्रचार गर्न बल प्रदान गर्दा उक्‍त प्रतिज्ञा पूरा हुन थाल्यो। कुनै पनि किसिमको विरोधले प्रचारकार्यलाई रोक्न सकेन। (प्रेषि. ४:२०) येशूका वफादार अनुयायीहरू, जसमध्ये हामी पनि हौं, हामीलाई परमेश्‍वरले दिनुहुने त्यही बल “यस युगको आखिरी समयसम्म” नितान्त जरुरी छ।—मत्ती २८:२०.

३. यहोवाबाट प्राप्त बलले हामीलाई के गर्न मदत गर्न सक्छ?

‘पवित्र शक्‍ति आएपछि तिनीहरूले बल पाउनेछन्‌’ भनी येशूले चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो। यसबाट स्पष्ट हुन्छ, पवित्र शक्‍तिले हामीलाई असर गर्छ। यसले गर्दा हामी बल पाउँछौं। त्यसैले परमेश्‍वरको शक्‍ति अर्थात्‌ उहाँको सक्रिय शक्‍ति उहाँको उद्देश्‍य पूरा गर्न कुनै मानिस वा कुनै चीजमाथि पर्छ र उनीहरूमा काम गर्छ। यहोवाले पवित्र शक्‍तिद्वारा आफ्ना प्रत्येक सेवकलाई दिने बलले गर्दा हामी आफ्नो ख्रीष्टियन समर्पणअनुसार जिउन सक्षम हुन्छौं र आवश्‍यक परेको खण्डमा, हामीमाथि आइपर्ने नकारात्मक प्रभावको प्रतिरोध गर्ने बल पाउँछौं। मीका ३:८; कलस्सी १:२९ पढ्‌नुहोस्‌।

४. यस लेखमा हामी के विचार गर्नेछौं र किन?

पवित्र शक्‍तिले दिने बल कसरी प्रकट हुन्छ? यसको प्रभावमा पर्दा हाम्रो व्यवहार वा प्रतिक्रिया कस्तो हुन सक्छ? विश्‍वासी भई परमेश्‍वरको सेवा गर्ने प्रयास गर्दा हामी थुप्रै अवरोधको सामना गर्छौं। ती अवरोध सैतान, त्यसको संसार वा हाम्रै कमजोर शरीरले गर्दा आउन सक्छ। ख्रीष्टियनको रूपमा अघि बढिरहन, प्रचारकार्यमा नियमित भई लागिरहन र यहोवासित राम्रो सम्बन्ध कायम राखिरहन हामीले ती अवरोध पार गर्नु महत्त्वपूर्ण छ। त्यसैले आउनुहोस्‌, प्रलोभनको प्रतिरोध गर्न अनि थकान तथा निराशाको सामना गर्न पवित्र शक्‍तिले हामीलाई कसरी मदत गर्छ, सो विचार गरौं।

प्रलोभनको प्रतिरोध गर्न

५. प्रार्थनाले हामीलाई कसरी बल दिन सक्छ?

येशूले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌ तर त्यस दुष्टबाट छुटाउनुहोस्‌।” (मत्ती ६:१३) यस्तो बिन्ती गर्ने वफादार सेवकहरूलाई यहोवाले कहिल्यै त्याग्नुहुनेछैन। एक चोटि येशूले भन्‍नुभयो, ‘स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई पवित्र शक्‍ति दिनुहुनेछ।’ (लूका ११:१३) यहोवाको स्तरअनुसार गर्न उहाँले हामीलाई यो बल दिने प्रतिज्ञा गर्नु कत्ति आश्‍वासनदायी! यसको मतलब यहोवाले हामीलाई प्रलोभनमै पर्न दिनुहुनेछैन भनेको चाहिं होइन। (१ कोरि. १०:१३) तर प्रलोभनको सामना गर्नुपर्दा हामीले अझ जोडतोडका साथ प्रार्थना गर्नुपर्छ।—मत्ती २६:४२.

६. सैतानका प्रलोभनहरूको प्रतिरोध गर्दा येशूको जवाफ केमा आधारित थियो?

दियाबलले परीक्षा गर्न खोज्दा जवाफमा येशूले शास्त्रपदहरू उद्धरण गर्नुभयो। येशूले दिएको यी जवाफबाट उहाँको दिमागमा परमेश्‍वरको वचन स्पष्ट थियो भनी देखिन्छ: “यस्तो लेखिएको छ . . . फेरि यस्तो लेखिएको छ . . . ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीले यहोवा तिम्रा परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’ ” यहोवा र उहाँको वचनप्रतिको प्रेमले गर्दा दियाबलले ल्याएका प्रलोभनहरूको प्रतिरोध गर्न येशू उत्प्रेरित हुनुभयो। (मत्ती ४:१-१०) येशूले पटक-पटक प्रलोभनको प्रतिरोध गरेपछि सैतानले उहाँलाई छोड्यो।

७. प्रलोभनको प्रतिरोध गर्न बाइबलले हामीलाई कसरी मदत गर्छ?

दियाबलका प्रलोभनहरूको प्रतिरोध गर्न येशू त धर्मशास्त्रमा भर पर्नुभयो भने हामी झन्‌ कत्ति धेरै भर पर्नुपर्ला! दियाबल र त्यसका दूतहरूको प्रतिरोध गर्न सर्वप्रथम परमेश्‍वरका स्तरहरू बुझ्न तथा ती पूर्णतया लागू गर्न हामी कटिबद्ध हुनै पर्छ। धर्मशास्त्रको अध्ययन गरेर परमेश्‍वरको बुद्धि र उहाँको सही स्तरबारे बुझ्न थालेपछि थुप्रै मानिस बाइबलको स्तरअनुसार जीवन बिताउन उत्प्रेरित भएका छन्‌। हो, “परमेश्‍वरको वचन” प्रबल छ, जसले “मनको विचार र आशय जाँच्न सक्छ।” (हिब्रू ४:१२) धर्मशास्त्र जति धेरै पढ्यो र त्यसमा जति धेरै चिन्तन गऱ्‍यो, यहोवा परमेश्‍वर ‘आफ्नो वचनमा सत्य हुनुहुन्छ’ भनी त्यति नै राम्ररी बुझ्न सकिन्छ। (दानि. ९:१३) त्यसैले आफ्ना खास कमजोरीसित सम्बन्धित शास्त्रपदहरूमा मनन गर्नु बेस हो।

८. हामी कस्ता माध्यमद्वारा पवित्र शक्‍ति पाउन सक्छौं?

येशूले प्रलोभनको प्रतिरोध गर्न सक्नुभयो किनभने उहाँसित धर्मशास्त्रको ज्ञान हुनुका साथै उहाँ ‘पवित्र शक्‍तिले भरिनुभएको’ थियो। (लूका ४:१) त्यस्तै बल र क्षमता पाउन यहोवाले हामीलाई उहाँको शक्‍तिले भर्न जे-जति प्रबन्ध गर्नुभएको छ, ती सबैको पूरापूर सदुपयोग गरेर उहाँसित नजिक हुनुपर्छ। (याकू. ४:७, ८) यी प्रबन्धमध्ये बाइबल अध्ययन, प्रार्थना र सँगी ख्रीष्टियनहरूसितको सङ्‌गति पनि हुन्‌। उत्थानदायी कुरामा ध्यान केन्द्रित गर्न मदत गर्ने ख्रीष्टियन गतिविधिमा व्यस्त हुनु फाइदाजनक छ भनेर पनि थुप्रैले बुझेका छन्‌।

९, १०. (क) ख्रीष्टियनहरूले अक्सर कस्ता प्रलोभनहरूको सामना गर्छन्‌? (ख) थकित भए तापनि मनन र प्रार्थना गर्दा तपाईं कसरी प्रलोभनको प्रतिरोध गर्ने बल पाउन सक्नुहुन्छ?

गल्ती गर्ने कस्तो प्रलोभनको तपाईंले प्रतिरोध गर्नुपर्ने हुन्छ? के तपाईं कहिल्यै आफ्नो विवाहित जोडीबाहेक अरू कसैसित बेमतलबले जिस्किने प्रलोभनमा पर्नुभएको छ? तपाईं अविवाहित हुनुहुन्छ भने के तपाईंलाई कहिल्यै बेग्लै धर्म मान्‍ने व्यक्‍तिसित डेटिङ जाऊँ जस्तो लागेको थियो? टेलिभिजन हेर्दा वा इन्टरनेट चलाउँदा ख्रीष्टियनहरू अचानक अशुद्ध कुरा हेर्ने प्रलोभनमा पर्न सक्छन्‌। के तपाईंलाई यस्तो भएको थियो? थियो भने त्यतिबेला कस्तो प्रतिक्रिया देखाउनुभयो? एउटा गलत कदम चालेपछि कसरी एकपछि अर्को गलत कदम चालिन्छ र पछि गएर गम्भीर गल्ती हुन सक्छ भनेर मनन गर्नु बुद्धिमानी हो। (याकू. १:१४, १५) त्यसैले यस्तो अवफादार कार्यले यहोवा, मण्डली र आफ्नो परिवारलाई पुऱ्‍याउने आघातबारे सोच्नुहोस्‌। अर्कोतर्फ, परमेश्‍वरका सिद्धान्तहरूप्रति वफादार रहँदा अन्तस्करण स्वच्छ हुन्छ। ( भजन ११९:३७; हितोपदेश २२:३ पढ्‌नुहोस्‌) यस्ता परीक्षाहरू सामना गर्दा त्यसको प्रतिरोध गर्ने बलको लागि प्रार्थना गर्न कटिबद्ध हुनुहोस्‌।

१० दियाबलले ल्याएको प्रलोभनबारे याद गर्नुपर्ने अर्को एउटा बुँदा पनि छ। येशू उजाडस्थानमा उपवास बसेको ४० दिन भइसकेपछि सैतान उहाँको परीक्षा गर्न आयो। दियाबलले पक्कै के सोच्यो भने येशूको सत्यनिष्ठाको जाँच गर्ने यो नै “अनुकूल मौका” हो। (लूका ४:१३) हाम्रो सत्यनिष्ठा तोड्‌न पनि सैतानले त्यस्तै अनुकूल मौका हेर्छ। त्यसैले हामीले परमेश्‍वरसितको सम्बन्धलाई बलियो बनाइराख्नु अत्यावश्‍यक छ। सैतानले अक्सर आफ्नो तारो सबैभन्दा कमजोर अवस्थामा भएको देखेपछि आक्रमण गर्छ। त्यसैले हामी थकित वा निरुत्साहित हुँदा यहोवाले दिने सुरक्षा र पवित्र शक्‍तिको लागि बिन्ती गर्न अझ कटिबद्ध हुनुपर्छ।—२ कोरि. १२:८-१०.

थकान र निराशाको सामना गर्न

११, १२. (क) आज थुप्रै किन निराश हुन्छन्‌? (ख) निराशाको सामना गर्न हामीलाई केले बल दिन सक्छ?

११ परमेश्‍वरको स्तरबाट चुकेकोले हामी कहिलेकाहीं निराश हुन्छौं। अहिले हामी बाँचिरहेको समय अत्यन्तै तनावपूर्ण भएकोले यो झनै साँचो साबित हुन सक्छ। मानिसजातिले अहिलेसम्म कहिल्यै अनुभव नगरेको कठिन समयबाट हामी गुज्रिरहेका छौं। (२ तिमो. ३:१-५) आरमागेडोन नजिकिंदै जाँदा आर्थिक, भावनात्मक तथा अन्य दबाब चुलिंदैछन्‌। त्यसैले कसै-कसैलाई आफ्नो परिवारको पालनपोषण गर्ने जिम्मेवारी पूरा गर्न झन्‌-झन्‌ गाह्रो हुँदै गएकोमा हामी छक्क मान्‍नु पर्दैन। तिनीहरू थकित, बोझले दबिएका, लखतरान र फतक्कै गलेका समेत महसुस गर्छन्‌। तपाईंको अवस्था पनि यस्तै छ भने तपाईं कसरी त्यस्तो दबाबको सामना गर्न सक्नुहुन्छ?

१२ नबिर्सनुहोस्‌, येशूले आफ्ना चेलाहरूलाई एक मदतगार अर्थात्‌ परमेश्‍वरको पवित्र शक्‍ति दिने आश्‍वासन दिनुभएको थियो। ( यूहन्‍ना १४:१६, १७ पढ्‌नुहोस्‌) ब्रह्‍माण्डमा योभन्दा शक्‍तिशाली तागत अरू कुनै छैन। जुनसुकै परीक्षा सहन चाहिने बल यहोवाले यही शक्‍तिद्वारा हामीलाई “कता हो कता धेरै” दिन सक्नुहुन्छ। (एफि. ३:२०) प्रेषित पावलले भनेअनुसार “हामी सबैतिरबाट थिचिएका” भए तापनि परमेश्‍वरको शक्‍तिमा भर पऱ्‍यौं भने “असाधारण शक्‍ति” पाउँछौं। (२ कोरि. ४:७, ८) यहोवाले तनाव नै हटाउने प्रतिज्ञा गर्नुहुन्‍न तर उहाँको शक्‍तिद्वारा त्यसको सामना गर्ने बल दिने आश्‍वासन भने अवश्‍य दिनुहुन्छ।—फिलि. ४:१३.

१३. (क) कठिन अवस्थाको सामना गर्न एउटी युवतीले कसरी बल पाइन्‌? (ख) यस्तै अरू उदाहरण के तपाईंलाई थाह छ?

१३ एउटी १९ वर्षीया नियमित अग्रगामी बहिनी स्टेफानीको उदाहरण विचार गर्नुहोस्‌। बाह्र वर्षको उमेरमा तिनलाई मस्तिष्कघात भयो र तिनलाई ब्रेन ट्युमर भएको पत्ता लाग्यो। त्यसपछि तिनको दुई पटक शल्यक्रिया गरियो, रेडियो विकिरण उपचार गरियो र तिनलाई फेरि पनि दुई चोटि मस्तिष्कघात भयो जसले गर्दा शरीरको बायाँ भाग राम्रोसँग नचल्ने भयो र दृष्टि पनि धमिलो भयो। ख्रीष्टियन सभा र क्षेत्र सेवाजस्ता आफूले महत्त्वपूर्ण ठानेको गतिविधिको लागि स्टेफानीले शक्‍ति जोहो गर्नुपर्छ। तैपनि यहोवाको शक्‍तिले विभिन्‍न तरिकामा धैर्य गर्न मदत गरेको तिनी महसुस गर्छिन्‌। सँगी ख्रीष्टियनहरूको अनुभवहरू भएका बाइबलआधारित प्रकाशनहरूले निराश हुँदा तिनलाई बल दिएको छ। चिठीहरू पठाएर वा सभाअघि र पछि तिनीसित प्रोत्साहनदायी कुराकानी गरेर भाइबहिनीहरूले तिनलाई आड दिएका छन्‌। जिज्ञासु व्यक्‍तिहरूले पनि बाइबलका शिक्षाहरू सिक्न स्टेफानीको घरैमा गएर आफूहरू तिनीप्रति कृतज्ञ भएको कुरा देखाएका छन्‌। यी सबै कुराका लागि स्टेफानी यहोवाप्रति असाध्यै कृतज्ञ छिन्‌। तिनलाई सबैभन्दा मन पर्ने शास्त्रपद भजन ४१:३ हो, जहाँ लेखिएको कुरा आफैमा पूरा भएको तिनी महसुस गर्छिन्‌।

१४. निराश हुँदा हामीले गर्नै नहुने कुरा के हो र किन?

१४ थकित हुँदा वा तनावमा पर्दा यस्ता समस्यालाई सुल्झाउने उपाय परमेश्‍वरको उपासनासित सम्बन्धित गतिविधिमा कटौती गर्नु हो भनेर कहिल्यै सोच्नुहुँदैन। यो त हामीले गर्नै नहुने काम हो। किन? किनकि व्यक्‍तिगत र पारिवारिक बाइबल अध्ययन, क्षेत्र सेवा र सभाजस्ता माध्यमद्वारा हामी आफूलाई बलियो पार्ने पवित्र शक्‍ति पाउँछौं। ख्रीष्टियन गतिविधिले हामीलाई सधैं स्फूर्ति दिन्छ। ( मत्ती ११:२८, २९ पढ्‌नुहोस्‌) भाइबहिनीहरू थकित हुँदै सभामा उपस्थित भएको तर घर जाने बेलामा भने ताजगी पाएको महसुस तिनीहरूले कत्ति चोटि गरेका छन्‌, मानौं तिनीहरूको प्रतीकात्मक ब्याट्री फेरि चार्ज भएको छ!

१५. (क) के यहोवाले ख्रीष्टियनहरूलाई कुनै प्रयत्नै गर्नु नपर्ने जीवन दिने प्रतिज्ञा गर्नुहुन्छ? धर्मशास्त्रबाट व्याख्या गर्नुहोस्‌। (ख) परमेश्‍वर हामीलाई कस्तो प्रतिज्ञा गर्नुहुन्छ र यसले गर्दा कस्तो प्रश्‍न उठ्‌छ?

१५ यसको मतलब ख्रीष्टको चेला हुँदा कुनै जिम्मेवारी वहन गर्नुपर्दैन भन्‍न खोजिएको पक्कै पनि होइन। प्रयत्न नगरी वफादार ख्रीष्टियन हुन सकिंदैन। (मत्ती १६:२४-२६; लूका १३:२४) तैपनि पवित्र शक्‍तिद्वारा यहोवाले थकितहरूलाई बल दिन सक्नुहुन्छ। भविष्यवक्‍ता यशैयाले यस्तो लेखे: “परमप्रभुको बाटो हेर्नेहरूले नवीन सामर्थ्य पाउनेछन्‌। तिनीहरू चीलझैं उँभोउँभो उड्‌नेछन्‌, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्‌। तिनीहरू हिंडेर जान्छन्‌, तर क्लान्त हुनेछैनन्‌।” (यशै. ४०:२९-३१) त्यसैले हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नुपर्छ, ‘ख्रीष्टियन गतिविधिले हामीलाई थकित बनाइरहेको जस्तो लाग्छ भने यसको मुख्य कारण के हो?’

१६. थकित वा निराश बनाउन सक्ने कारण हटाउन हामी के गर्न सक्छौं?

१६ यहोवाको वचन हामीलाई “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो . . . पक्का गर्न” सल्लाह दिन्छ। (फिलि. १:१०) प्रेरणा पाएका प्रेषित पावलले ख्रीष्टियन जीवनलाई लामो दूरीको दौडसँग तुलना गर्दै यस्तो सल्लाह दिए: “हामी पनि हर किसिमका बोझ . . . पन्छ्याएर हाम्रो अगाडि राखिएको दौड धैर्य गरेर दौडौं।” (हिब्रू १२:१) तिनले के भन्‍न खोजिरहेका थिए भने हामीलाई थकाउने अनावश्‍यक काम र अनावश्‍यक बोझलाई हामीले पन्छ्याउनै पर्छ। हामीमध्ये कोही-कोहीले अचाक्ली गर्न खोजिरहेका हुन सक्छौं। त्यसैले तपाईं अक्सर थकित भएको र तनावमा परेको महसुस गर्नुहुन्छ भने आफ्नो परिस्थिति केलाएर हेर्नु बेस हो: तपाईं आफ्नो कामको लागि कति बल खर्च गर्दै हुनुहुन्छ, आनन्दको लागि भनेर कत्तिको घुमफिर गर्नुहुन्छ र खेलकुद वा अन्य बसिबियाँलोमा कति समय बिताउनुहुन्छ? व्यावहारिकता र विनम्रताले हामी सबैलाई आफ्नो सीमा बुझ्न र अनावश्‍यक कुरालाई सकेसम्म नाइँ भन्‍न उत्प्रेरित गर्नुपर्छ।

१७. कोही-कोही किन निराश हुन सक्छन्‌ तर यससम्बन्धमा यहोवाले कस्तो आश्‍वासन दिनुभएको छ?

१७ यस युगको अन्त हामीले आशा गरेकै समयमा नआएकोले गर्दा पनि हामीमध्ये कोही-कोही केही हदसम्म निराश हुन सक्छौं। (हितो. १३:१२) तर यस्तो महसुस गर्नेहरूले हबकूक २:३ मा पाइने यी शब्दहरूद्वारा प्रोत्साहन पाउन सक्छन्‌: “त्यो दर्शन ठहराएको समयमा पूरा हुनेछ, त्यो पूरा हुने बेला चाँडै आउँदैछ, त्यसले धोका दिंदैन। त्यो पूरा हुन ढीलो भए तापनि त्यसको बाटो हेर्दै बस्‌, किनभने त्यो निश्‍चय पूरा हुनेछ, त्यसले ढीलो गर्नेछैन।” तोकेकै समयमा यस युगको अन्त हुनेछ भनेर यहोवाले हामीलाई आश्‍वासन दिनुभएको छ!

१८. (क) कस्ता प्रतिज्ञाहरूले तपाईंलाई बल दिन्छ? (ख) अर्को लेख हाम्रो लागि कसरी लाभदायी हुनेछ?

१८ निश्‍चय पनि, यहोवाका सम्पूर्ण वफादार सेवकहरू त्यस दिनको प्रतीक्षामा छन्‌ जब थकान र निराशा हुनेछैन अनि जीवित रहनेहरू सबैले “मस्त जवानीको” आनन्द उठाउनेछन्‌। (अय्यू. ३३:२५) यहोवाको उपासनासित सम्बन्धित स्फूर्तिदायी गतिविधिमा भाग लिंदा हामी अहिल्यै पनि पवित्र शक्‍तिले गर्दा भित्रैदेखि बलियो बनाइन सक्छौं। (२ कोरि. ४:१६; एफि. ३:१६) थकानले तपाईंलाई अनन्त आशिष्‌हरू पाउनदेखि नरोकोस्‌। प्रलोभन, थकान वा निराशाले गर्दा आएको सम्पूर्ण परीक्षा तुरुन्तै नहटे पनि परमेश्‍वरको नयाँ संसारमा अवश्‍य हट्‌नेछ। पवित्र शक्‍तिले ख्रीष्टियनहरूलाई सतावट सहन, साथीहरूबाट आउने हानिकारक दबाबको प्रतिरोध गर्न र अन्य दुःखकष्ट सहन कसरी बल दिन्छ, यसपछिको लेखमा हामी छलफल गर्नेछौं।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• बाइबल पढाइले हामीलाई कसरी बल दिन्छ?

• प्रार्थना र मननले हामीलाई कसरी बल दिन्छ?

• निराश बनाउन सक्ने कारणहरूलाई तपाईं कसरी हटाउन सक्नुहुन्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २४-मा भएको चित्र]

ख्रीष्टियन सभाहरूले हामीलाई बल दिन सक्छ