सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले तपाईंको लागि जे गर्नुभएको छ, त्यसमा चिन्तन गर्नुहोस्‌

यहोवाले तपाईंको लागि जे गर्नुभएको छ, त्यसमा चिन्तन गर्नुहोस्‌

यहोवाले तपाईंको लागि जे गर्नुभएको छ, त्यसमा चिन्तन गर्नुहोस्‌

येशू पुनर्जीवित हुनुभएको अलिक समयपछि उहाँका दुई जना चेला यरूशलेमबाट इम्माउसतर्फ हिंड्‌दै थिए। लूकाले लेखेको सुसमाचारको विवरण यसो भन्छ: “तिनीहरू आपसमा कुराकानी गरिरहेको बेला येशू स्वयम्‌ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँगै हिंड्‌न थाल्नुभयो। तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्‌।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो: “ ‘तिमीहरू बाटोमा हिंड्‌दै आपसमा के बहस गर्दैछौ?’ अनि अनुहार अँध्यारो बनाएर तिनीहरू ठिङ्‌ग उभिए।” तिनीहरूको अनुहार किन अँध्यारो थियो? येशूले इस्राएललाई त्यतिबेला अन्यजातिहरूको दमनबाट मुक्‍त गर्नुहुनेछ भनी चेलाहरूले ठानेका थिए तर तिनीहरूले त्यस्तो मुक्‍ति भने पाएका थिएनन्‌। बरु उल्टै येशू स्वयम्‌ मारिनुभएको थियो। यसैले तिनीहरू निराश थिए।—लूका २४:१५-२१; प्रेषि. १:६.

अनि येशूले चेलाहरूलाई बुझाउन थाल्नुभयो। “मोशा र सारा भविष्यवक्‍ताको लेखोटदेखि सुरु गरेर सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो।” हो, येशूको प्रचारकार्यको दौडान विश्‍वास बलियो बनाउने थुप्रै उल्लेखनीय घटना भएका थिए। येशूको कुरा सुनिरहँदा चेलाहरूको निराशा आनन्दमा परिणत भयो। त्यही साँझ तिनीहरूले भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा के हाम्रो मनमा छटपटी भइरहेको थिएन र?” (लूका २४:२७, ३२) येशूका चेलाहरूको प्रतिक्रियाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

आशा साकार नहुँदा हामीमा कस्तो असर पर्छ?

इम्माउसतर्फ गइरहेका दुई जना चेला आफूले आशा गरेको कुरा पूरा नहुँदा निराश भएका थिए। तिनीहरूले हितोपदेश १३:१२ मा लेखिएझैं महसुस गरे: “आशा साकार नहुँदा मन मर्छ।” यहोवाका सेवकमध्ये कोही-कोहीले विश्‍वासी भई उहाँको सेवा गरेको दशकौं भइसक्यो। त्यसकारण तिनीहरूले “महासङ्‌कष्ट” त उहिल्यै आइसक्नुपर्ने थियो भन्ठानेका थिए। (मत्ती २४:२१; प्रका. ७:१४) त्यसैले त्यस्तो आशा साकार नहुँदा तिनीहरू निराश हुनुको कारण बुझ्न सक्छौं।

तर याद गर्नुहोस्‌, ती दुई जना चेलालाई येशूले पूरा भइसकेका भविष्यवाणीहरू, जसमध्ये कतिपय त तिनीहरूकै जीवनकालमा पूरा भएका थिए, त्यसमा ध्यान केन्द्रित गर्न मदत गर्नुभएपछि तिनीहरू फेरि आनन्दित हुन सके। हामी पनि यसो गरेर भित्री आनन्द पाउन र निराशाको सामना गर्न सक्छौं। माइकल नाम गरेका एक अनुभवी ख्रीष्टियन एल्डरले भने, “यहोवाले अहिलेसम्म के गर्नुभएको छैन, त्यसमा ध्यान केन्द्रित नगर्नुहोस्‌। बरु यहोवाले के गर्नुभएको छ, त्यसमा चिन्तन गर्नुहोस्‌।” कस्तो राम्रो सल्लाह!

यहोवाले के गर्नुभएको छ

यहोवाले गरिसक्नुभएका केही उल्लेखनीय कुरालाई विचार गर्नुहोस्‌। येशूले भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्छ, मैले गरेको काम उसले पनि गर्नेछ; र तीभन्दा पनि ठूला कामहरू गर्नेछ।” (यूह. १४:१२) आज ख्रीष्टियनहरूले गरिरहेका ठूलठूला कामहरू यसअघि तिनीहरूले कहिल्यै गरेका थिएनन्‌। सत्तरी लाखभन्दा धेरै व्यक्‍तिले महासङ्‌कष्ट पार गर्ने आशा गरिरहेका छन्‌। कल्पना गर्नुहोस्‌ त, पृथ्वीभरि यति धेरै देशमा यहोवाका यत्ति थुप्रो विश्‍वासी सेवकहरू पहिला कहिल्यै सक्रिय भएका थिएनन्‌! “तीभन्दा पनि ठूला कामहरू” गर्नेछन्‌ भन्‍ने येशूका भविष्यसूचक वचनलाई यहोवाले वास्तविकतामा बदल्नुभएको छ।

यहोवाले हाम्रो लागि अरू के-के गर्नुभएको छ? उहाँले असल हृदय भएका मानिसलाई प्रतीकात्मक अर्थमा दुष्ट संसारबाट निस्केर यस संसारको प्रभावबाट सुरक्षित वातावरणमा प्रवेश गर्न सम्भव तुल्याउनुभएको छ। (२ कोरि. १२:१-४) हामीले प्राप्त गर्न सक्ने त्यस सुरक्षित वातावरणका केही पक्षमा मनन गर्न समय लगाउनुहोस्‌। उदाहरणको लागि, राज्यभवन वा आफ्नो निजी पुस्तकालयमा भएका किताबहरू हेर्नुहोस्‌। वाच टावर प्रकाशन अनुक्रमणिका (अङ्‌ग्रेजी) पल्टाउनुहोस्‌ वा वाचटावर लाइब्रेरी सरर्र हेर्नुहोस्‌। बाइबल नाटक सुन्‍नुहोस्‌। हालैको अधिवेशनमा सुनेको र देखेको कुरा आफ्नो मनमा ताजा बनाउनुहोस्‌। हाम्रा ख्रीष्टियन भाइबहिनीसितको उत्थानदायी सङ्‌गतिबारे पनि सोच्नुहोस्‌। यहोवासितको सम्बन्धलाई बलियो बनाउने भोजन उहाँले प्रचुर मात्रामा दिनुका साथै मायालु भाइचाराको पनि प्रबन्ध गर्नुभएको छ। कत्ति ठूलो आशिष्‌!

भजनहार दाऊदले भने: “हे परमप्रभु मेरा परमेश्‍वर, तपाईंले गर्नुभएको अचम्मका कामहरू र हामीतर्फको तपाईंको विचार धेरैनै छन्‌।” (भज. ४०:५) यहोवाले हाम्रो लागि गरिसक्नुभएका अद्‌भुत कुराहरूमा चिन्तन गरेर अनि हामीतर्फको उहाँको मायालु विचारबारे सोचेर, स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई तनमनको सेवा चढाउन विश्‍वासी भई लागिरहन थप बल पाउनेछौं।—मत्ती २४:१३.

[पृष्ठ ३१-मा भएको चित्र]

चेलाहरूका लागि यहोवाले गरिसक्नुभएका कुरामा चिन्तन गर्न येशूले तिनीहरूलाई मदत गर्नुभयो

[पृष्ठ ३२-मा भएको चित्र]

हालैको अधिवेशनमा सुनेको र देखेको कुरा आफ्नो मनमा ताजा बनाउनुहोस्‌