येहूले साँचो उपासनाको समर्थन गरे
येहूले साँचो उपासनाको समर्थन गरे
येहू साँचो उपासनाका समर्थक थिए। आफ्नो जिम्मेवारी पूरा गर्न तिनी बलवान्, तत्पर, दृढ, जोसिलो अनि साहसी थिए। येहूले देखाएका गुणहरू हामीले पनि अनुकरण गर्नु राम्रो हुन्छ।
इस्राएल राष्ट्र खराब अवस्थामा भएको बेला येहूले एउटा जिम्मेवारी पाएका थिए। इस्राएल राष्ट्र दुष्ट रानी ईजेबेलको प्रभावमा परेको थियो। त्यतिखेर ईजेबेलको पति आहाबको मृत्यु भइसकेको थियो र उनीहरूका छोरा योरामले राजाको रूपमा शासन गर्दै थिए। ईजेबेलले मानिसहरूलाई यहोवाको उपासनाबाट तर्काएर बालको उपासना गर्न लगाएकी थिई, परमेश्वरका अगमवक्ताहरूलाई मार्न लगाएकी थिई अनि मानिसहरूलाई “घिनलाग्दो मूर्ति-पूजा र तन्त्रमन्त्र” गर्न लगाएर बिगारेकी थिई। (२ राजा ९:२२; १ राजा १८:४, १३) यहोवाले आहाबको सारा घरानालाई नाश गर्ने निर्णय गर्नुभएको थियो, जसमा योराम र ईजेबेल पनि समावेश थिए। यो काम गर्नको लागि येहूले नेतृत्व लिनुपर्ने थियो।
अरामीहरूको विरुद्धमा रामोत-गिलादमा लडाइँ हुँदा येहू सँगी अफिसरहरूका साथमा थिए भनी बाइबल बताउँछ। येहू ठूलो ओहदाका अफिसर थिए, अझ तिनी इस्राएलका सेनापति नै पनि हुन सक्छन्। येहूलाई राजा नियुक्त गर्न र आहाबको घरानाका सबै धर्मत्यागी पुरुषलाई मार्ने हुकुम दिन एलीशाले अगमवक्ताहरूको दलको एक जनालाई तिनीकहाँ पठाए।—२ राजा ८:२८; ९:१-१०.
सँगी अफिसरहरूले एलीशाले पठाएका ती मानिस किन आएका रहेछन् भनेर सोध्दा सुरुमा त येहूले जवाफ दिन आनाकानी गरे। तर ती अफिसरहरूले निकै कर गरेपछि तिनले सत्य कुरा बताए र तिनीहरू सबै मिलेर योरामविरुद्ध षड्यन्त्र रच्न थाले। (२ राजा ९:११-१४) सायद सिपाहीहरूमध्ये धेरैजसोले राजशासन अनि ईजेबेलको प्रभावप्रति मनमनै ईख पालेका थिए वा त्यसको विरोध गरेका थिए। कुरा जेसुकै होस्, येहूले आफूले पाएको जिम्मेवारी पूरा गर्न होसियारीपूर्वक सोचविचार गरेर राम्रो उपाय निकाले।
राजा योरामलाई युद्धमा चोट लागेको थियो र निको हुन उनी यिज्रेलमा आराम गर्न गएका थिए। आफ्नो योजना सफल हुने हो भने त्यसबारे राजाले कुनै सुइँको पाउनुहुँदैन भनेर येहूलाई थाह थियो। त्यसैले तिनले यसो भने: “यिज्रेलमा यो समाचार लैजानलाई शहरबाट कोही पनि उम्कन नपाओस्।” (२ राजा ९:१४, १५) योरामप्रति वफादार फौजले पक्कै पनि प्रतिरोध गर्नेछ भनेर येहूलाई लागेको थियो। त्यसैले तिनी सम्भावित भिडन्त टार्न चाहन्थे।
बेतोड हँकाइ
गुपचुपमै आफ्नो योजना सफल पार्न रथ हाँक्दै येहूले रामोत-गिलाददेखि यिज्रेलसम्म ७२ किलोमिटर यात्रा गरे। तीव्र गतिमा यिज्रेलतर्फ लम्कँदै गर्दा त्यहाँको पहरेदारले येहूको “फौज” आइरहेको देखे। (२ राजा ९:१७) सायद येहूले आफ्नो उद्देश्य पूरा गर्न ठूलो फौज लिएर गएको हुनुपर्छ।
२ राजा ९:२०) सामान्य अवस्थामा त येहूले बौलाहाले जस्तै हाँक्थे भने परमेश्वरले दिनुभएको जिम्मेवारी पूरा गर्ने सुरमा तिनले झन् कत्ति बेगले रथ हाँके होलान्!
साहसी येहू आफ्नो फौजको साथमा रथमा चढेर आइरहेको थाह पाएपछि पहरेदारले यसो भने: “तिनले बौलाहाजस्तै हाँक्छन्।” (सोधपुछका लागि आफूकहाँ दुई जना घोडचढी पठाइँदा येहूले केही पनि जवाफ दिन मानेनन्। येहूले सीधै राजा योराम र उनका मित्र यहूदाका राजा अहज्याहलाई भेटे। ती दुवै राजा आ-आफ्नो रथमा थिए। योरामले येहूलाई यस्तो प्रश्न सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” तर तिनले यस्तो जवाफ दिए, “जब तिम्री आमा ईजेबेलले आफ्नो घिनलाग्दो मूर्ति-पूजा र तन्त्रमन्त्र गर्दछिन् भने केको मित्रभाव?” येहूको कुरा सुनेर उनको होसहवास उड्यो र उनी आफ्नो रथ फर्काएर भागे। तर येहूले उनलाई भेट्टाइहाले! तिनले आफ्नो धनु पूरा खिचेर काँड हाने। त्यस काँडले योरामको मुटुमै लाग्यो र उनी आफ्नो रथमै मरे। यो देखेर यहूदाका राजा अहज्याह पनि भाग्न थाले तर येहूले तिनको पिछा गरे र तिनलाई पनि मारे।—२ राजा ९:२२-२४, २७.
आहाबका घरानामा मारिनुपर्ने अर्का व्यक्ति रानी ईजेबेल थिइन्। येहूले उनलाई “श्रापित स्त्री” भने र तिनले उनलाई त्यसो भन्नु एकदमै उपयुक्त थियो। येहू ईजेबेल भएको ठाउँमा पुग्दा उनी दरबारको झ्यालबाट तलतिर हेरिरहेकी थिइन्। तिनले तुरुन्तै, ईजेबेललाई झ्यालबाट फ्याँक्न दरबारमा काम गर्ने नपुंसकहरूलाई आदेश दिए। त्यसपछि तिनले सारा इस्राएललाई भ्रष्ट पार्ने ती स्त्रीलाई आफ्ना घोडाहरूले कुल्ची-मिल्ची पार्न दिए। ईजेबेललाई मारिसकेपछि येहूले आहाबका घरानामा बाँकी रहेका अरू थुप्रैलाई पनि मार्न थाले।—२ राजा ९:३०-३४; १०:१-१४.
हिंसा गरेको हामीलाई मनपर्दैन तर हामीले के कुरा बुझ्नुपर्छ भने त्यतिबेला यहोवाले आफ्नो न्याय कार्यान्वयन गर्न आफ्ना सेवकहरूलाई चलाउनुहुन्थ्यो। बाइबल यसो भन्छ: “परमप्रभुको इच्छाअनुसार योराम र अहज्याहको भेटको अवसरनै योरामको पतनको कारण भयो। यही भेटको समयमा अहज्याह योरामसँग निम्शीका छोरा येहूलाई भेट गर्न गए। आहाबको घरानालाई नाश गर्न परमप्रभुले येहूलाई नै नियुक्त गर्नुभएको थियो।” (२ इति. २२:७) आहाबले नाबोतलाई मारेको कारण उनलाई सजाय दिनेछु भनेर यहोवाले पहिल्यै प्रतिज्ञा गर्नुभएको थियो। त्यसैले त्यो प्रतिज्ञाअनुरूपै येहूले योरामको लासलाई रथबाट फ्याँकिदिए। त्यतिमात्र होइन, येहूलाई “परमप्रभुका सबै सेवकहरूको रगतको निम्ति . . . साटो” लिन पनि आज्ञा दिइएको थियो।—२ राजा ९:७, २५, २६; १ राजा २१:१७-१९.
हिब्रू १०:३०) तर मण्डलीलाई कुप्रभावबाट जोगाउन एल्डरहरूले येहूले जस्तै साहसिक कदम चाल्नुपर्ने हुन सक्छ। (१ कोरि. ५:९-१३) त्यसैगरि मण्डलीका सम्पूर्ण सदस्यहरू बहिष्कृत व्यक्तिहरूसित सङ्गत नगर्न कटिबद्ध हुनै पर्छ।—२ यूह. ९-११.
आज परमेश्वरका कोही पनि सेवक साँचो उपासनाका विरोधीहरूविरुद्ध शारीरिक बल प्रयोग गर्दैनन्। परमेश्वर भन्नुहुन्छ: “बदला लिने काम मेरो हो।” (येहूले यहोवाका शत्रुहरूलाई सहेनन्
आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्ने सन्दर्भमा येहूको मनोवृत्ति कस्तो थियो भन्ने कुरा तिनले पछि यहोनादाबलाई भनेका शब्दहरूबाट हामी थाह पाउन सक्छौं। तिनले उनलाई यसो भने: “मसँग आऊ र तिमीले परमप्रभुको निम्ति मेरो जोश देख्नेछौ।” यहोनादाबले येहूको निम्तो स्वीकारे र तिनको रथमा चढेर सामरियातिर लागे। त्यहाँ पुगेपछि ‘बालका सेवकहरूलाई नाश गर्नलाई येहूले तिनीहरूलाई बुद्धिले जिते।’—२ राजा १०:१५-१७, १९.
येहूले बालको निम्ति “ठूलो बलिदान” चढाउँदैछु भनेर सबैलाई घोषणा गरे। (२ राजा १०:१८, १९) “यो शब्द चलाएर येहूले चलाखी गरिरहेका थिए” भनी एक शास्त्रविद् बताउँछन्। यहाँ प्रयोग गरिएको “ ‘बलिदान’ भन्ने शब्दले अक्सर धर्मत्यागीहरूको ‘हत्यालाई’ बुझाउँछ” भनी ती शास्त्रविद् बताउँछन्। कोही पनि बाल उपासकहरू यो उत्सव मनाउन नछुटून् भनेर येहूले तिनीहरू सबैलाई बालको मन्दिरमा भेला गरे र तिनीहरू सबैलाई बेग्लै किसिमको लुगा पहिराइदिए। “होमबलि” चढाइसकेपछि येहूले आफ्ना ८० जना अङ्गरक्षकहरूलाई ती सबै बाल उपासकहरूलाई मार्ने आदेश दिए। त्यसपछि तिनले बालको मन्दिरलाई तहसनहस पारे र त्यो ठाउँ उपासनाको लागि अयोग्य हुने गरी चर्पी बनाइदिए।—२ राजा १०:२०-२७.
हो, येहूले धेरैको रगत बगाए। तैपनि धर्मशास्त्रले तिनलाई साहसी व्यक्तिको रूपमा चिनाउँछ जसले इस्राएलीहरूलाई ईजेबेल र तिनको परिवारको दमनबाट छुटकारा दिए। इस्राएलको कोही अगुवा यस काममा सफल हुने हो भने तिनी साहसी, दृढ र जोसिलो हुनै पर्थ्यो। एउटा बाइबल शब्दकोश यसो भन्छ: “यो एकदमै गाह्रो काम थियो तर यसलाई निर्दयी तरिकाले पूर्ण रूपमा सम्पन्न गरियो। यति कठोर कदम नचालेको भए इस्राएलबाट बालको उपासना जरैदेखि उखेल्न असम्भव हुनेथियो।”
अहिलेका ख्रीष्टियनहरूले आफूले सामना गर्नुपर्ने कुनै-कुनै परिस्थितिमा येहूको जस्तै गुणहरू देखाउनुपर्छ भन्ने कुरामा कुनै शङ्का छैन। जस्तै, यहोवाले निषेध गर्नुभएको गतिविधिमा सहभागी हुन तपाईंलाई प्रलोभन आयो भने तपाईं के गर्नुहुन्छ? यस्तो कुराको प्रतिरोध गर्न हामी तत्पर, साहसी अनि जोसिलो हुनै पर्छ। यहोवाको उपासना गर्ने कुरामा हामी उहाँका कुनै पनि शत्रुहरूलाई सहन सक्दैनौं।
यहोवाको नियमअनुसार चलिरहौं
यस बाइबल विवरणको अन्तमा जे भयो त्यसबाट हामी एउटा चेतावनी पाउन सक्छौं। येहूले “बेतेल र दानका सुनका बाछाहरूको पूजालाई कायम राखे।” (२ राजा १०:२९) शुद्ध उपासनाको लागि त्यति धेरै जोस देखाएको व्यक्तिले मूर्तिपूजालाई किन रहिरहन दिएका होलान्?
इस्राएल राज्य यहूदाभन्दा भिन्न हुनको लागि धार्मिक रूपमा पनि फरक हुनुपर्छ भन्ने येहूलाई लागेको हुनुपर्छ। त्यसकारण इस्राएलका अघि-अघिका राजाहरूले जस्तै तिनले पनि यहूदाको बाछा उपासनालाई यथावतै रहन दिए। तर त्यसो गर्दा आफूलाई राजा नियुक्त गर्ने यहोवा परमेश्वरप्रतिको तिनको विश्वासमा कमी देखिने थियो।
यहोवाले येहूको प्रशंसा गर्नुभयो किनभने तिनले ‘उहाँको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।’ तर ‘येहूले आफ्नो पूरा मनले होसियारीसँग परमप्रभु इस्राएलका परमेश्वरको व्यवस्था पालन गरेनन्।’ (२ राजा १०:३०, ३१) येहूले पहिले गरेका जति पनि काम छन् त्यसलाई विचार गर्दा तपाईंलाई यो कुरा अचम्मलाग्दो अनि दुःखद लाग्न सक्छ। तैपनि यसबाट हामी पाठ सिक्न सक्छौं। हामीले यहोवासितको सम्बन्धलाई कहिल्यै हल्कासित लिन मिल्दैन। बाइबल अध्ययन गरेर, पढेको कुरामा मनन गरेर अनि स्वर्गमा बस्नुहुने हाम्रा बुबालाई मनैदेखि प्रार्थना गरेर हामीले सधैं वफादारिता कायम राख्नु आवश्यक छ। अतः हामी सबैले पूरा मनले यहोवाको नियमअनुसार चल्न सक्दो प्रयास गरिरहौं।—१ कोरि. १०:१२.
[पृष्ठ ४-मा भएको चित्र]
संसारको इतिहासमा येहू
बाइबलमा उल्लेख गरिएका यी व्यक्तिको अस्तित्वबारे आलोचकहरूले अक्सर प्रश्न खडा गर्ने गरेका छन्। के त्यसोभए बाइबलबाहेक अन्त कतै येहूबारे बताइएको छ त?
पुरातन अश्शूरीहरूको अभिलेखमध्ये कम्तीमा पनि तीन वटामा इस्राएलका यी राजाको नाम तोकेरै लेखिएको छ। त्यसमध्ये एउटामा येहू अथवा सायद तिनका दूतले अश्शूरी राजा शल-मनेसेर तेस्रोलाई प्रणाम गरिरहेको अनि सौगात चढाइरहेको देखाइएको छ। सँगैको शिलालेखमा यस्तो लेखिएको छ: “ओम्रीका ( हु-उम-री) छोरा येहूको ( य-उ-अ) सौगात; मैले तिनीबाट चाँदी, सुन, सुनको साप्लु कचौरा, फेद चुच्चो परेको सुनको फूलदानी, सुनको अग्लो गिलासहरू, सुनको बाल्टिनहरू, टिनको बाकस, एउटा राजदण्ड, (अनि) काठको पुरुटु [यो शब्दको अर्थ अज्ञात छ] पाएँ।” येहू ‘ओम्रीकै छोरा’ त थिएनन् तैपनि ओम्रीको लोकप्रियताले गर्दा अनि तिनले इस्राएलको राजधानी सामरिया बनाएको कारण इस्राएली राजाहरूलाई बुझाउन यो अभिव्यक्ति प्रयोग गरिएको हुनुपर्छ।
येहूले अश्शूरका राजालाई साँच्चै सौगात चढाएका थिए कि थिएनन्, त्यो त पक्का छैन। तर जे होस्, तिनले एउटा अभिलेखमा, शल-मनेसेरको मूर्तिमा र अश्शूरी राजवंशावलीमा गरी जम्मा तीन पटक येहूबारे उल्लेख गरेका छन्। यस्तो इतिहासले गर्दा बाइबलका यी पात्रको वास्तविकताप्रति शङ्का गर्ने कुनै ठाउँ छैन।