सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्

कहिल्यै ‘यहोवाविरुद्ध रोष प्रकट’ नगर्नुहोस्

‘मानिसको आफ्नै मूर्खताले त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले यहोवाविरुद्ध रोष प्रकट गर्छ।’—हितो. १९:३, NRV.

१, २. मानिसजातिले भोगिरहेका समस्याको दोष यहोवालाई दिन किन मिल्दैन, उदाहरणसहित बताउनुहोस्।

मानौं, तपाईंले सुखी वैवाहिक जीवन बिताइरहनुभएको छ। तर एकदिन घर फर्कंदा कोठा लथालिङ्ग देख्नुहुन्छ। भाँडाकुँडा भुइँभरि छरिएका छन्‌। टेबुल-कुर्सी पल्टाइएका छन्‌। सरसामान फुटाइएका छन्‌। तपाईंको सुन्दर घर भताभुङ्ग भएको छ। के तपाईं “श्रीमतीले यो के गरेकी होली” भन्नुहुन्छ र? अहँ भन्नुहुन्न, बरु यसो भन्नुहुन्छ: “यो सब कसले गऱ्यो?” तपाईंलाई किन त्यस्तो लाग्छ? किनकि तपाईंकी श्रीमतीले यस्तो गरेकी हुनै सक्दैन भनेर तपाईंलाई थाह छ।

प्रदुषणका साथै हिंस्रक तथा अनैतिक मानिसहरूले गर्दा आज हाम्रो साझा घर पृथ्वी बिग्रिरहेको छ। तर यसमा यहोवा परमेश्वरको कुनै दोष छैन भनेर हामीले बाइबलबाट बुझेका छौं। यो पृथ्वी सुन्दर बगैंचा होस् भन्ने यहोवाको इच्छा थियो। (उत्प. २:८, १५) यहोवा प्रेमको परमेश्वर हुनुहुन्छ। (१ यूह. ४:८) बाइबल पढेर हामीले “यस संसारको शासक” सैतानले गर्दा नै संसारमा प्रायजसो समस्या भइरहेको हो भनेर थाह पायौं।—यूह. १४:३०; २ कोरि. ४:४.

३. हामी आफ्ना समस्याहरूप्रति कसरी गलत दृष्टिकोण राख्न पुग्न सक्छौं?

तर हाम्रा सबै समस्याको दोष सैतानलाई दिन मिल्दैन। किन? किनकि कुनै-कुनै समस्या हामी आफैले गर्दा हुन्छ। (व्यवस्था ३२:४-६ पढ्नुहोस्) समस्या आफैले गर्दा भएको हो भन्ने तथ्यलाई मानिलिए तापनि त्रुटिपूर्ण भएकोले समस्याप्रति गलत दृष्टिकोण राख्न पुग्न सक्छौं र यसो गर्नु खतरनाक हुन सक्छ। (हितो. १४:१२) समस्याको लागि आफैलाई वा सैतानलाई दोष दिनुको साटो यहोवालाई दोष दिन थाल्छौं। ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्ने हदसम्म पुग्न सक्छौं।—हितो. १९:३, NRV.

४, ५. कुनै ख्रीष्टियनले कसरी ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्न सक्छ?

 ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्नु सम्भव छ र? रिसाएर पनि केही फाइदा छैन। (यशै. ४१:११) एक जना कविले यसो भने: “तपाईं परमेश्वरविरुद्ध लड्न सक्नुहुन्न।” हुन त हामी ‘यहोवादेखि मलाई रिस उठेको छ’ भनेर कहिल्यै भन्दैनौं होला। तर हितोपदेश १९:३ (NRV) मा मानिसको आफ्नै मूर्खताले “त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले परमप्रभुको विरुद्ध रोष प्रकट गर्छ” भनिएको छ। हो, मानिसले आफ्नो हृदयमा वा मनमनै यहोवाविरुद्ध रोष प्रकट गर्न सक्छ र यो उसको काममा पनि देखा पर्न थाल्छ। फलस्वरूप ऊ यहोवाको सेवामा सेलाउन सक्छ वा सभामा जान छोड्न सक्छ।

के-कस्ता कुराले हामीलाई ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्ने हदसम्म पुऱ्याउन सक्छ? यस्तो पासोमा पर्नदेखि कसरी जोगिन सक्छौं? यी प्रश्नहरूको जवाफ थाह पाउनु आवश्यक छ। किनकि यसमा यहोवासितको हाम्रो सम्बन्ध मुछिएको छ।

के-कस्ता कुराले हामीलाई ‘यहोवाविरुद्ध रोष प्रकट’ गर्ने हदसम्म पुऱ्याउन सक्छ?

६, ७. मोशाको समयका इस्राएलीहरू किन परमेश्वरविरुद्ध गनगनाउन थाले?

यहोवाका वफादार सेवकसमेत किन मनमनै यहोवाविरुद्ध गनगनाउन थाल्छन्‌? पाँचवटा कारण विचार गरौं। साथै केही व्यक्ति कसरी यस्तो पासोमा परे, बाइबलमा दिइएका केही उदाहरण पनि केलाऔं।—१ कोरि. १०:११, १२.

नकारात्मक कुराकानी सुन्नुभयो भने यसले तपाईंमा नराम्रो प्रभाव पार्न सक्छ (अनुच्छेद ७ हेर्नुहोस्)

हामी अरूको नकारात्मक बोलीको प्रभावमा गर्न सक्छौं। (व्यवस्था १:२६-२८ पढ्नुहोस्) इस्राएलीहरू भर्खरै मात्र मिश्रको दासत्वबाट छुटेका थिए। यहोवाले मिश्रमाथि दस विपत्ति ल्याउनुभएको थियो अनि फिरऊन र तिनका सेनालाई लाल समुद्रमा नाश गर्नुभएको थियो। (प्रस्थ. १२:२९-३२, ५१; १४:२९-३१; भज. १३६:१५) परमेश्वरका जनहरू प्रतिज्ञा गरिएको देशमा पुग्नै लागेका थिए। तर त्यस निर्णायक घडीमा तिनीहरूले परमेश्वरविरुद्ध गनगन गर्न थाले। तिनीहरूले परमेश्वरमाथि विश्वास गर्न किन सकेनन्‌? भेद लिन पठाइएका केही जासुसले ल्याएको नकारात्मक खबरले गर्दा तिनीहरू निराश भए। (गन्ती १४:१-४) परिणाम के भयो? तिनीहरू “असल देश”-मा पस्न पाएनन्‌। (व्यव. १:३४, ३५) यसबाट हामी के सिक्न सक्छौं? अरूको नकारात्मक बोलीले गर्दा हाम्रो विश्वास कमजोर हुन सक्छ र यहोवा परमेश्वरले आफ्ना जनहरूलाई डोऱ्याउने तरिकाविरुद्ध गनगनाउन सक्छौं।

८. यशैयाको समयमा परमेश्वरका जनहरूले आफ्नो अवस्थाको दोष यहोवालाई किन दिए?

कठिनाइ र विपत्तिले गर्दा हामी निराश हुन सक्छौं। (यशैया ८:२१, २२ पढ्नुहोस्) यशैयाको समयमा यहूदाका मानिसहरू कठिन अवस्थामा थिए। शत्रुहरूले तिनीहरूलाई चारैतिरबाट घेरेका थिए। खानेकुराको अभावले गर्दा मानिसहरू भोकभोकै थिए। त्योभन्दा पनि ठूलो समस्या, तिनीहरूले यहोवाको कुरा सुन्न छोडेका थिए र उहाँसितको सम्बन्ध कमजोर बनाइरहेका थिए। (आमो. ८:११) यस्तो बेला यहोवामा भरोसा गर्नुको साटो तिनीहरूले आफ्नो राजा र आफ्नो परमेश्वरलाई ‘सराप्न’ थाले। हो, तिनीहरूले यहोवालाई दोष दिए। समस्याले घेरिंदा के हामी पनि मनमनै यसो भन्छौं, ‘मलाई चाहिएको बेला यहोवा कहाँ हुनुहुन्थ्यो?’

९. इजकिएलको समयका इस्राएलीहरूले यहोवाको कामप्रति किन गलत दृष्टिकोण राखे?

हामीलाई सबै सत्यतथ्य थाह हुँदैन। सबै सत्यतथ्य थाह नभएकोले इजकिएलको समयका इस्राएलीहरूलाई यहोवाको काम “न्यायसंगत छैन” भन्ने लाग्यो। (इज. १८:२९) त्यसैकारण तिनीहरूले यहोवाको न्याय गर्ने अनि उहाँको मार्ग नै सही हो कि होइन भनेर निर्णय गर्ने अधिकार आफूसित छ भन्ठाने। कहिलेकाहीं बाइबलको  कुनै विवरण राम्रोसित नबुझ्दा वा आफूले समस्या भोग्नुको कारण नबुझ्दा के हामी मनमनै यहोवाको काम “न्यायसंगत छैन” भन्छौं?—अय्यू. ३५:२.

१०. के गऱ्यौं भने आदमको खराब उदाहरण पछ्याइरहेका हुन्छौं?

१० हामी आफ्नो पाप वा गल्तीको दोष अरूमाथि थोपर्छौं। मानव इतिहासको सुरुमा आदमले आफूले गरेको पापको दोष यहोवालाई लगायो। (उत्प. ३:१२) आफूले जानाजानी परमेश्वरको नियम उल्लङ्घन गरेको हुँ र त्यसको सजाय भोग्नुपर्छ भनेर थाह हुँदाहुँदै पनि आदमले दोष परमेश्वरमाथि थोपऱ्यो। यहोवाले दिनुभएको पत्नीले गर्दा नै त्यस्तो गल्ती भएको हो भन्यो। त्यसबेलादेखि मानिसहरूले आफ्नो गल्तीको दोष परमेश्वरमाथि थोपरेर आदमको खराब उदाहरण पछ्याउँदै आएका छन्‌। आफैलाई सोध्नुहोस्, ‘आफ्नो गल्ती सम्झेर निराश अथवा हताश हुँदा यहोवाको स्तर नै कडा छ भनेर सोच्न थाल्छु कि?’

११. योनाबाट हामी के सिक्न सक्छौं?

११ हामी आफैबारे मात्र सोच्छौं। यहोवाले निनवेका मानिसहरूलाई अनुग्रह देखाउँदा भविष्यवक्ता योना रिसाए। (योना ४:१-३) किन? विनाशबारे आफूले गरेको घोषणा पूरा नभएमा मानिसहरूले के सोच्लान्‌ भन्ने पीरले गर्दा तिनी रिसाएका हुन सक्छन्‌। तिनलाई निनवेका मानिसहरूको होइन, आफ्नै इज्जतको मात्र चिन्ता थियो। के हामी पनि आफैबारे मात्र सोचेर यहोवाले अहिलेसम्म अन्त नल्याउनुभएकोमा ‘उहाँविरुद्ध रोष प्रकट’ गर्छौं? हामीले यहोवाको दिन नजिकै छ भनेर प्रचार गरेको दशकौं भइसक्यो होला। तर अहिलेसम्म यहोवाको दिन नआएकोमा मानिसहरूले हाम्रो आलोचना गर्दा के हामी यहोवासित रिसाउँछौं?—२ पत्रु. ३:३, ४, ९.

‘यहोवाविरुद्ध रोष प्रकट’ गर्नदेखि हामी कसरी जोगिन सक्छौं?

१२, १३. यहोवाले गर्नुभएको कामबारे हाम्रो मनमा शङ्काउपशङ्का आउन थालेमा के गर्नुपर्छ?

१२ यहोवाले गर्नुभएको कामबारे हाम्रो मनमा शङ्काउपशङ्का आउन थालेमा के गर्न सक्छौं? त्यस्तो कुरा मनमा आउन दिनु बुद्धिमानी होइन। हितोपदेश १९:३ मा यस्तो लेखिएको छ: “मानिसले आफ्नै भूलले आफ्नो जीवन नष्ट पार्छ,  तर त्यसको दोष परमप्रभुलाई लगाउँछ।” (पढ्न सजिलो संस्करण) त्यसैले आउनुहोस्, यहोवाविरुद्ध रोष प्रकट गर्नदेखि हामीलाई जोगाउने पाँचवटा कुरा विचार गरौं।

१३ यहोवासितको सम्बन्धलाई बलियो बनाइरहनुहोस्। यहोवासित घनिष्ठ छौं भने उहाँसित रिसाउने छैनौं। (हितोपदेश ३:५, ६ पढ्नुहोस्) हामीले यहोवामा भरोसा राख्नुपर्छ। आफैलाई बुद्धिमान्‌ सम्झनदेखि वा आफैबारे मात्र सोच्नदेखि जोगिनुपर्छ। (हितो. ३:७; उप. ७:१६) यसो गऱ्यौं भने अप्रिय घटना भोग्नुपर्दा यहोवालाई दोष दिने छैनौं।

१४, १५. अरूको नकारात्मक बोलीको प्रभावमा नपर्न हामीलाई केले मदत गर्छ?

१४ अरूको नकारात्मक बोलीको प्रभावमा नपर्नुहोस्। मोशाको समयका इस्राएलीहरूसित यहोवाले सफलतासाथ प्रतिज्ञा गरिएको देशमा पुऱ्याउनुहुनेछ भनेर विश्वास गर्ने हर कारण थियो। (भज. ७८:४३-५३) तर १० जना अवफादार जासुसहरूको नकारात्मक कुरा सुनेपछि तिनीहरूले यहोवाको “बाहुलीको सम्झना गरेनन्‌” अर्थात्‌ यहोवाले तिनीहरूका लागि गर्नुभएको काम बिर्से। (भज. ७८:४२) यहोवाले हाम्रो लागि गर्नुभएका असल कामहरूमा मनन गऱ्यौं भने हामी उहाँको नजिक हुनेछौं। परिणामस्वरूप मानिसहरूको नकारात्मक बोलीको प्रभावमा परेर यहोवालाई त्याग्ने हदसम्म पुग्ने छैनौं। मानिसहरूले हामीलाई यहोवाबाट अलग पार्न जेसुकै भने पनि तिनीहरूको प्रभावमा पर्ने छैनौं।—भज. ७७:११, १२.

१५ तर सँगी उपासकहरूप्रति नकारात्मक दृष्टिकोण राख्यौं भने के हुन सक्छ? यहोवासितको हाम्रो सम्बन्ध बिग्रन सक्छ। (१ यूह. ४:२०) उदाहरणको लागि, हारून प्रधान पुजारी नियुक्त हुँदा इस्राएलीहरूले गनगन गर्न थाले। तर यहोवाले यसलाई उहाँविरुद्ध गरेको गनगन सरह मान्नुभयो। (गन्ती १७:१०) त्यसैगरि पृथ्वीमा यहोवाको काममा नेतृत्व लिइरहेका भाइहरूविरुद्ध गनगन गर्न थाल्यौं भने यहोवाविरुद्ध गनगन गरिरहेका हुन्छौं।—हिब्रू १३:७, १७.

१६, १७. समस्यामा पर्दा किन यहोवालाई दोष दिनुहुँदैन?

१६ हाम्रो समस्याको दोषी यहोवा हुनुहुन्न भन्ने कुरा नबिर्सनुहोस्। यशैयाको समयका इस्राएलीहरूले यहोवाको सेवा गर्न छोडे। तैपनि उहाँ तिनीहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। (यशै. १:१६-१९) जस्तोसुकै समस्या आइपरे पनि यहोवा हाम्रो ख्याल राख्नुहुन्छ र हामीलाई मदत गर्न चाहनुहुन्छ भन्ने कुरा थाह पाउँदा सान्त्वना पाउँछौं। (१ पत्रु. ५:७) यहोवाले हामीलाई उहाँप्रति वफादार भइरहन चाहिने बल दिने प्रतिज्ञासमेत गर्नुभएको छ।—१ कोरि. १०:१३.

१७ यहोवाप्रति वफादार भए पनि अय्यूबले अन्याय भोग्नुपऱ्यो। अन्याय भोग्दा यहोवा त्यसको दोषी हुनुहुन्न भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन। यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ तर धार्मिकता अर्थात्‌ असल काम मन पराउनुहुन्छ। (भज. ३३:५) अय्यूबका मित्र एलीहूले जस्तै यो कुरा मानिलेऔं: “परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमानले कहिल्यै छल गर्नुहुन्न।” (अय्यू. ३४:१०) यहोवा हामीलाई “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुन्छ। उहाँ हाम्रो समस्याको दोषी कहिल्यै हुनुहुन्न।—याकू. १:१३, १७.

१८, १९. हामीले किन यहोवामाथि कहिल्यै शङ्का गर्नुहुँदैन? उदाहरण दिनुहोस्।

१८ यहोवामाथि कहिल्यै शङ्का नगर्नुहोस्। यहोवा त्रुटिरहित हुनुहुन्छ र उहाँका विचार हाम्रो विचारभन्दा श्रेष्ठ छन्‌। (यशै. ५५:८, ९) हामी साँच्चै नम्र छौं भने हाम्रो बुझ्ने क्षमता सीमित छ भनेर मानिलिन्छौं। (रोमी ९:२०) प्रायजसो अवस्थामा हामीलाई सबै सत्यतथ्य थाह हुँदैन। तपाईंले पक्कै पनि यस भनाइको सत्यता अनुभव गर्नुभएको छ: “मुद्दा-मामिलामा अगि आएर प्रश्न नगरुञ्जेल पहिले बोल्नेनै ठीक देखा पर्छ।”—हितो. १८:१७.

१९ उदाहरणको लागि, हाम्रो मिल्ने साथीले  हामीले बुझ्नै नसक्ने कुनै काम गर्ला वा त्यो काम साधारणतया गरिनेभन्दा बेग्लै तरिकामा गर्ला। के हामी तुरुन्तै उसले गरेको काम गलत छ भन्ने निष्कर्षमा पुग्नेछौं? अवश्य पनि पुग्ने छैनौं। बरु साथीले गरेको कामबारे हामीलाई सबै सत्यतथ्य थाह छैन भनेर मानिलिन्छौं। त्रुटिपूर्ण साथीलाई त हामी यत्ति धेरै भरोसा गर्छौं भने हाम्रा स्वर्गका बुबालाई झन्‌ धेरै भरोसा गर्नुपर्छ! उहाँका चाल तथा विचार हाम्रोभन्दा कता हो कता श्रेष्ठ छन्‌।

२०, २१. हाम्रो समस्याको दोष यहोवालाई कहिल्यै दिनुहुँदैन, किन?

२० समस्याको वास्तविक कारण बुझ्नुहोस्। कुनै-कुनै समस्या आफ्नै कारणले गर्दा आइपर्छ भनेर स्वीकार्नु आवश्यक छ। (गला. ६:७) समस्याको दोष यहोवालाई दिनुहुँदैन। किन? यो उदाहरण विचार गर्नुहोस्: कुनै व्यक्तिले घुमाउरो बाटोमा तीव्र गतिमा गाडी हाँक्यो भने के हुन्छ? दुर्घटना हुन्छ। तर के त्यस चालकले गाडीको उत्पादकलाई दोष दिन मिल्छ? पटक्कै मिल्दैन। त्यसैगरि हामीले पनि आफ्नो गल्तीको दोष यहोवालाई दिन मिल्दैन। उहाँले हामीलाई आफ्नो निर्णय आफैले गर्ने छुट दिनुभएको छ। साथै बुद्धिमानी निर्णय गर्ने तरिका पनि सिकाउनुभएको छ।

२१ हो, हामीले भोग्नुपर्ने सबै समस्या हाम्रो आफ्नै गल्तीले गर्दा आइपरेको होइन। कुनै-कुनै समस्या “समय र अवसरले” गर्दा पनि आइपर्छ। (उप. ९:११) यो कुरा पनि कहिल्यै नबिर्सनुहोस्, संसारमा भइरहेको दुष्टताको प्रमुख दोषी सैतान हो। (१ यूह. ५:१९; प्रका. १२:९) हाम्रो शत्रु सैतान हो; यहोवा होइन।—१ पत्रु. ५:८.

यहोवासितको सम्बन्धलाई जोगाउनुहोस्

यहोवामाथि भरोसा राखेकोले यहोशू र कालेबले आशिष्‌ पाए (अनुच्छेद २२ हेर्नुहोस्)

२२, २३. समस्याले गर्दा निराश हुँदा हामीले के कुरा सम्झनुपर्छ?

२२ कठिनाइको सामना गर्नुपर्दा यहोशू र कालेबको उदाहरण सम्झनुहोस्। बाँकी दस जना जासुसले जस्तो नभई यी दुई वफादार जासुसले मानिसहरूलाई सकारात्मक कुरा सुनाए। (गन्ती १४:६-९) उनीहरूले यहोवामा विश्वास गरे। तैपनि अन्य इस्राएलीहरूसँगै उनीहरू ४० वर्षसम्म उजाडस्थानमा भौंतारिनुपऱ्यो। के यहोशू र कालेबले अन्याय भयो भन्दै यहोवाविरुद्ध गनगन गरे वा तीतो महसुस गरे? अहँ, गरेनन्‌। बरु यहोवामा भर परे। के उनीहरूले आशिष्‌ पाए? हो, पाए। इस्राएलीहरूमध्ये प्रायजसो उजाडस्थानमै नाश भए, तर यी वफादार पुरुषहरू भने प्रतिज्ञा गरिएको देशमा जान पाए। (गन्ती १४:३०) त्यसैगरि यहोवाको इच्छा गर्न “थाकेनौं भने” हामीले पनि उहाँको आशिष्‌ पाउनेछौं।—गला. ६:९; हिब्रू ६:१०.

२३ समस्या, अरूको गल्ती वा आफ्नै गल्तीले गर्दा निराश हुनुभएको छ भने तपाईंले के गर्नुपर्छ? यहोवाका मनमोहक गुणहरूमा ध्यान दिनुहोस्। यहोवाले दिनुभएको आशाबारे कल्पना गर्नुहोस्। आफैलाई सोध्नुहोस्: “यहोवाको साथ नहुँदो हो त म कस्तो अवस्थामा हुन्थें होला?” यहोवासित घनिष्ठ भइरहनुहोस्! हृदयमा समेत यहोवाविरुद्ध रोष प्रकट नगर्नुहोस्!