सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आत्मत्यागी मनोभाव देखाइरहनुहोस्

आत्मत्यागी मनोभाव देखाइरहनुहोस्

“यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्।”—मत्ती १६:२४.

१. आत्मत्यागी मनोभाव देखाउने सम्बन्धमा येशूले कसरी उत्कृष्ट उदाहरण बसाल्नुभयो?

पृथ्वीमा छँदा येशूले आत्मत्यागी मनोभाव देखाउने सम्बन्धमा उत्कृष्ट उदाहरण बसाल्नुभयो। परमेश्वरको इच्छा पूरा गर्न उहाँले आफ्ना चाहना तथा सुविधालाई त्याग्नुभयो। (यूह. ५:३०) यातनाको खम्बामा मृत्यु भोग्ने बेलासम्मै येशू वफादार रहनुभयो। (फिलि. २:८) यसरी उहाँले आफ्नो आत्मत्यागी मनोभावको कुनै सीमा छैन भनेर प्रमाणित गर्नुभयो।

२. हामी कसरी आत्मत्यागी मनोभाव देखाउन सक्छौं? हामीले किन आत्मत्यागी मनोभाव देखाउनुपर्छ?

येशूका अनुयायीहरू भएकोले हामीले पनि आत्मत्यागी मनोभाव देखाउनुपर्छ। आत्मत्यागी मनोभाव देखाउनुको अर्थ के हो? सरल शब्दमा भन्ने हो भने आत्मत्यागी मनोभाव देखाउनुको अर्थ अरूलाई मदत गर्न आफ्ना रुचिहरू त्याग्न इच्छुक हुनु हो। एक अर्थमा भन्नुपर्दा यो स्वार्थी मनोभावको विपरीत गुण हो। (मत्ती १६:२४ पढ्नुहोस्) निःस्वार्थ मनोभावले हामीलाई आफ्नो होइन, अरूको भावना र रुचिलाई पहिलो स्थान दिन मदत गर्छ। (फिलि. २:३, ४) निःस्वार्थ मनोभाव हाम्रो उपासनाको अभिन्न भाग हो भनेर येशूले सिकाउनुभयो। यो कसरी हाम्रो उपासनाको अभिन्न भाग हो? हामीलाई आत्मत्यागी मनोभाव देखाउन उत्प्रेरित गर्ने एउटा गुण प्रेम हो र यो गुण येशूका साँचो चेलाहरूको चिनारी  नै हो। (यूह. १३:३४, ३५) आत्मत्यागी मनोभाव देखाउने विश्वव्यापी भाइबहिनीमाझ भएकोले हामीले कत्ति धेरै आशिष्‌ पाएका छौं, विचार गर्नुहोस् त!

३. हाम्रो आत्मत्यागी मनोभावलाई बिस्तारै कमजोर बनाउने शत्रु के हो?

हाम्रो आत्मत्यागी मनोभावलाई बिस्तारै कमजोर बनाउने एउटा शत्रुको हामीले सामना गर्नुपर्छ। त्यो शत्रु हो: हामीसित भएको स्वार्थी झुकाव। आदम र हव्वाले कसरी स्वार्थी मनोभाव देखाए विचार गर्नुहोस्। हव्वाले परमेश्वरजस्तै हुने स्वार्थी मनोभाव देखाइन्‌। उनका पतिले पनि यहोवालाई भन्दा पत्नीलाई खुसी पार्न खोजेर स्वार्थी मनोभाव देखाए। (उत्प. ३:५, ६) आदम र हव्वालाई साँचो उपासनाबाट तर्काएपछि सैतानले अरू मानिसलाई पनि स्वार्थी हुने प्रलोभनमा पार्न प्रयास गरिरह्यो। येशूलाई समेत उसले यो प्रलोभनमा पार्न खोज्यो। (मत्ती ४:१-९) अहिले पनि धेरैजसो मानिसलाई तर्काउन सैतान सफल भएको छ। सैतानले ती मानिसहरूलाई थुप्रै तरिकामा स्वार्थी मनोभाव देखाउन लगाएको छ। होसियार भएनौं भने यस संसारको स्वार्थी मनोभावले हामीलाई पनि असर गर्न सक्छ।—एफि. २:२.

४. (क) के हामीले स्वार्थी झुकावलाई हटाउन सक्छौं? व्याख्या गर्नुहोस्। (ख) हामी कस्ता प्रश्नहरूबारे छलफल गर्नेछौं?

स्वार्थी मनोभावलाई फलाममा लाग्ने खियासित तुलना गर्न सकिन्छ। फलामलाई घामपानीमा त्यत्तिकै छोडिदिएमा खिया लाग्न सक्छ। खियालाई बेवास्ता गर्नु असाध्यै खतरनाक छ। खियाले फलामको सामानलाई बिस्तारै कामै नलाग्ने बनाइदिन सक्छ। हामीमा भएको त्रुटिपूर्ण अवस्था र स्वार्थी झुकावलाई हटाउन त सक्दैनौं, तैपनि यस्तो झुकावविरुद्ध निरन्तर लडिरहनै पर्छ। होसियार भएनौं भने हामीसित भएको आत्मत्यागी मनोभाव हराउन सक्छ। (१ कोरि. ९:२६, २७) हामीमा स्वार्थी मनोभाव देखा पर्न थालेको कसरी थाह पाउन सक्छौं? अनि हामी कसरी अझ धेरै आत्मत्यागी मनोभाव देखाउन सक्छौं?

स्वार्थी मनोभाव छ कि भनेर जाँच्न बाइबल प्रयोग गर्नुहोस्

५. (क) बाइबल कुन अर्थमा ऐनाजस्तै छ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्) (ख) आफूमा स्वार्थी मनोभाव छ कि भनेर जाँच्दा हामीले के गर्नुहुँदैन?

कस्तो देखिएका छौं भनेर जाँच्न ऐना प्रयोग गरेझैं हाम्रो भित्री व्यक्तित्व जाँच्न र आफ्नो कमजोरी सुधार्न परमेश्वरको वचन प्रयोग गर्न सक्छौं। (याकूब १:२२-२५ पढ्नुहोस्) तर ऐनालाई ठीक तरिकामा प्रयोग गऱ्यौं भने मात्र कस्तो देखिएका छौं भनेर थाह पाउँछौं। ऐना झुलुक्क मात्र हेऱ्यौं भने सानो तर अरूले सजिलै याद गर्ने खोट नदेख्न पनि सक्छौं। अथवा एक छेउबाट हेऱ्यौं भने ऐनामा अरू नै मान्छे देख्न सक्छौं। त्यसैगरि हामीमा स्वार्थी मनोभावजस्ता त्रुटिहरू छन्‌ कि भनेर जाँच्दा हतारमा बाइबल पढ्नुहुँदैन वा अरूको खोट देखाउन बाइबल प्रयोग गर्नुहुँदैन।

६. हामी कसरी पूर्ण व्यवस्थामा ‘लागिरहन्छौं’?

हामी दिनहुँ बाइबल पढ्छौं होला। तैपनि आफूभित्र बढ्दै गएको स्वार्थी मनोभाव सायद देख्दैनौं। यस्तो कसरी हुन्छ? यसबारे विचार गर्नुहोस्: याकूबले प्रयोग गरेको उदाहरणको मानिसले ऐनामा ‘आफ्नो अनुहार हेर्छ।’ यहाँ प्रयोग गरिएको ग्रीक शब्दले राम्ररी हेर्ने भन्ने अर्थ दिन्छ। त्यसकारण त्यस मानिसले ऐनामा आफ्नो अनुहार राम्रोसित हेरेको थियो। त्यसोभए समस्या के थियो? याकूबले बताएअनुसार त्यस मानिसले “आफू कस्तो छु भनेर त्यहाँबाट हिंड्नेबित्तिकै बिर्सिहाल्छ।” हो, ऐना हेरेपछि केही पनि नमिलाई ऊ त्यहाँबाट हिंडिहाल्छ। अर्कोतर्फ वचन पालन गर्ने मानिस ‘पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्ने मात्र होइन, त्यसमा लागिरहन्छ।’ परमेश्वरको वचनको पूर्ण व्यवस्थालाई बिर्सनुको सट्टा उसले त्यसका शिक्षाहरू निरन्तर पछ्याउँछ। येशूले पनि यस्तै कुरा भन्नुभएको थियो: “तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेलाहरू हौ।”—यूह. ८:३१.

७. हामीमा स्वार्थी झुकाव छ कि भनेर जाँच्न कसरी बाइबल प्रयोग गर्न सक्छौं?

 स्वार्थी झुकावविरुद्ध लड्न सबैभन्दा पहिला होसियारीसाथ परमेश्वरको वचन पढ्नै पर्छ। यसो गर्नुभयो भने सुधार्नुपर्ने कुराहरू थाह पाउन सक्नुहुन्छ। तर यति गरेर मात्र पुग्दैन। अनुसन्धान गर्नुहोस्। बाइबल विवरण पढ्दै गर्दा तपाईं पनि त्यहीं भएको कल्पना गर्नुहोस्। आफैलाई यस्तो प्रश्न गर्नुहोस्: ‘यस्तो अवस्थामा म भए के गर्नेथिएँ? के म सही कदम चाल्नेथिएँ?’ सबैभन्दा महत्त्वपूर्ण कुरा, आफूले पढेको कुरामा मनन गरेपछि त्यसलाई लागू गर्ने प्रयास गर्नुहोस्। (मत्ती ७:२४, २५) राजा शाऊल र प्रेषित पत्रुसको उदाहरणले आत्मत्यागी मनोभाव देखाइरहन कसरी मदत गर्छ, विचार गरौं।

राजा शाऊलको चेतावनीमूलक उदाहरणबाट सिक्नुहोस्

८. शासन थाल्दा शाऊलको मनोवृत्ति कस्तो थियो? तिनले यस्तो मनोवृत्ति कसरी देखाए?

स्वार्थी मनोभावले आत्मत्यागी मनोभाव देखाउनदेखि कसरी रोक्छ, राजा शाऊलको चेतावनीमूलक उदाहरणबाट सिक्न सक्छौं। शासन थाल्दा शाऊल नम्र थिए। (१ शमू. ९:२१) परमेश्वरले नै तिनलाई राजाको अख्तियार दिनुभएको थियो। केही इस्राएलीले तिनको शासनको विरुद्धमा बोल्दासमेत तिनीहरूलाई सजाय दिन शाऊलले इन्कार गरे। (१ शमू. १०:२७, NRV) राजा शाऊलले परमेश्वरको शक्तिको डोऱ्याइ स्वीकार्दै अम्मोनीहरूविरुद्ध युद्ध गरे र इस्राएलीहरूले उनीहरूलाई जिते। त्यसपछि तिनले नम्र हुँदै जितको श्रेय यहोवालाई नै दिए।—१ शमू. ११:६, ११-१३.

९. शाऊलले कसरी स्वार्थी मनोभाव देखाउन थाले?

पछि शाऊलमा फलामलाई कमजोर बनाउने खियाजस्तै स्वार्थी मनोभाव र घमन्ड देखा पर्न थाल्यो। अमालेकीहरूलाई जित्दा तिनले यहोवाप्रति आज्ञाकारी हुनुलाई भन्दा आफ्नै इच्छालाई पहिलो स्थान दिए। परमेश्वरले आज्ञा गर्नुभएझैं अमालेकीहरूको सबै धनसम्पत्ति नाश गर्नुको सट्टा लोभी हुँदै केही कुरा बचाइराखे। अनि घमन्डी हुँदै तिनले आफ्नो स्मारकसमेत बनाए। (१ शमू. १५:३, ९, १२) भविष्यवक्ता शमूएलले यहोवा अप्रसन्न हुनुभएको कुरा बताउँदा शाऊलले आफूले पालन गरेका कुराहरूमा मात्र जोड दिंदै आफूले गल्ती नगरेको भान पार्न खोजे। आफ्नो गल्तीको दोषसमेत अरूलाई लगाए। (१ शमू. १५:१६-२१) साथै घमन्डले गर्दा तिनले परमेश्वरलाई खुसी तुल्याउनुलाई भन्दा आफ्नो इज्जत जोगाउनुलाई महत्त्वपूर्ण ठाने। (१ शमू. १५:३०) आत्मत्यागी मनोभाव देखाइरहने सम्बन्धमा शाऊलको उदाहरणलाई हामी कसरी ऐनाको रूपमा प्रयोग गर्न सक्छौं?

१०, ११. (क) आत्मत्यागी मनोभाव देखाइरहने सम्बन्धमा शाऊलको उदाहरणबाट के सिक्न सक्छौं? (ख) शाऊलको खराब उदाहरण पछ्याउनदेखि कसरी जोगिन सक्छौं?

१० पहिलो, शाऊलको उदाहरणले आफूमा अति नै विश्वस्त हुनुहुन्न भनेर सिकाउँछ। पहिले आत्मत्यागी मनोभाव थियो भन्दैमा सधैंभरि भइरहन्छ भन्ने छैन। (१ तिमो. ४:१०) यो कुरा मनमा राख्नुहोस्, शाऊल पहिला त असल थिए अनि परमेश्वरलाई खुसी बनाएका थिए। तर तिनले आफूमा देखा पर्न थालेको स्वार्थी झुकावलाई हटाएनन्‌। अनाज्ञाकारी भएकोले पछि यहोवाले तिनलाई त्याग्नुभयो।

११ दोस्रो, आफूले गरिरहेको असल कामहरूमा मात्र ध्यान दिएर सुधार गर्नुपर्ने क्षेत्रहरूलाई बेवास्ता गर्नुहुँदैन। यसो गर्नु भनेको आफूले लगाएको नयाँ लुगा ऐनामा हेरेर दङ्ग पर्नु तर अनुहारमा लागेको फोहोरचाहिं याद नगर्नुसरह हो। हामी शाऊलजस्तो घमन्डी वा अति विश्वस्त त नहौंला तैपनि तिनको खराब उदाहरण पछ्याउने झुकावदेखि टाढै बस्नुपर्छ। सल्लाह पाउँदा आफूले गल्ती नै नगरेको जस्तो भान पार्न खोज्ने वा आफ्नो गल्तीको दोष अरूमाथि थोपर्ने नगरौं। शाऊलजस्तो नहोऔं, बरु खुसीसाथ  सल्लाह स्वीकारौं।भजन १४१:५ पढ्नुहोस्।

१२. गम्भीर पाप गर्न पुग्यौं भने आत्मत्यागी मनोभावले हामीलाई कसरी मदत गर्न सक्छ?

१२ तर गम्भीर पाप गर्न पुग्यौं भने नि? शाऊलले आफ्नो इज्जत जोगाउन चाहे। यसले गर्दा तिनले यहोवासित फेरि राम्रो सम्बन्ध गाँस्न सकेनन्‌। अर्कोतर्फ हामीमा आत्मत्यागी मनोभाव छ भने जतिसुकै लज्जित महसुस गरे तापनि मदत स्वीकार्न उत्प्रेरित हुन्छौं। (हितो. २८:१३; याकू. ५:१४-१६) जस्तै, एक जना भाइले १२ वर्षको उमेरदेखि अश्‍लील सामग्री हेर्न थाले। तिनले दस वर्षभन्दा धेरै समयसम्म गोप्य रूपमा यस्तो काम गरिरहे। तिनी भन्छन्‌: “श्रीमती र एल्डरहरूसामु आफ्नो गल्ती स्वीकार्नु एकदमै गाह्रो थियो। तर अहिले गल्ती स्वीकारेपछि गह्रौं बोझ हटेको जस्तो महसुस गर्छु। मलाई सहायक सेवकबाट हटाइँदा केही साथीहरू असाध्यै निराश भए। मेरो कारणले गर्दा उनीहरूको शिर झुक्यो। तर अहिले यहोवा मेरो सेवा देखेर पहिलेभन्दा खुसी हुनुहुन्छ भनेर मलाई थाह छ। अनि यहोवा मलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ, त्यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो।”

पत्रुस स्वार्थी मनोभावमाथि विजयी भए

१३, १४. पत्रुसले कसरी स्वार्थी झुकाव देखाए?

१३ येशूले तालिम दिंदा प्रेषित पत्रुसले आत्मत्यागी मनोभाव देखाए। (लूका ५:३-११) तैपनि तिनले स्वार्थी झुकावविरुद्ध सङ्घर्ष गर्नुपऱ्यो। जस्तै, प्रेषित याकूब र यूहन्नाले परमेश्वरको राज्यमा येशूसित उच्च ओहदामा बस्न चाहेको कुरा बताउँदा पत्रुस रिसाए। पत्रुसले विशेष भूमिका खेल्नेछन्‌ भनेर येशूले पहिल्यै बताउनुभएको थियो। त्यसकारण तीमध्ये एउटा स्थान आफूले पाउनुपर्छ भन्ने सोचाइ पत्रुसले राखेको हुनुपर्छ। (मत्ती १६:१८, १९) कुरा जेसुकै भए पनि येशूले याकूब, यूहन्ना, पत्रुस र बाँकी प्रेषितहरूलाई अरूमाथि “हैकम” चलाउने स्वार्थी मनोभाव त्याग्न चेतावनी दिनुभयो।—मर्कू. १०:३५-४५.

१४ येशूले पत्रुसको सोचाइ सच्याउने प्रयास गरेपछि समेत तिनमा स्वार्थी झुकाव रहिरह्यो। प्रेषितहरूले केही समयको लागि आफूलाई त्याग्नेछन्‌ भनी येशूले बताउँदा पत्रुसले आफैलाई उच्च पार्दै आफू मात्र वफादार रहने कुरा बताए। (मत्ती २६:३१-३३) तिनी यति धेरै विश्वस्त हुनुहुँदैनथ्यो किनकि त्यसै रात तिनी आत्मत्यागी मनोभाव देखाउनदेखि  चुके। आफूलाई जोगाउने प्रयासमा पत्रुसले तीन पटकसम्म येशूलाई तिरस्कार गरे।—मत्ती २६:६९-७५.

१५. पत्रुसको उदाहरणबाट हामी किन प्रोत्साहन पाउन सक्छौं?

१५ पत्रुसले यस्ता कमजोरीहरू देखाए तापनि तिनको उदाहरणबाट हामी प्रोत्साहन पाउन सक्छौं। आफ्नो प्रयास र परमेश्वरको पवित्र शक्तिको मदतले गर्दा पत्रुस स्वार्थी मनोभावमाथि विजयी हुन सके। पछि तिनले आत्मसंयम र आत्मत्यागी प्रेम देखाए। (गला. ५:२२, २३) तिनले पहिला कहिल्यै नभोगेका परीक्षाहरू सहे। प्रेषित पावलले मानिसहरूकै अगाडि हप्काउँदा समेत पत्रुसले नम्र मनोभाव देखाए। (गला. २:११-१४) पावलले मानिसहरूको अगाडि आफ्नो बेइज्जत गरेको महसुस गर्दै पत्रुस रिसाएर बसेनन्‌। पत्रुसले पावललाई प्रेम गरिरहे। (२ पत्रु. ३:१५) पत्रुसको उदाहरणले हामीलाई आत्मत्यागी मनोभाव देखाउने सन्दर्भमा उन्नति गर्न मदत गर्छ।

सच्याइँदा पत्रुसले कस्तो प्रतिक्रिया देखाए? के हामी पनि त्यसै गर्नेछौं? (अनुच्छेद १५ हेर्नुहोस्)

१६. गाह्रो अवस्थामा समेत हामी कसरी आत्मत्यागी मनोभाव देखाउन सक्छौं?

१६ गाह्रो अवस्थामा तपाईं के गर्नुहुन्छ, विचार गर्नुहोस्। प्रचार गरेकोले पत्रुस र प्रेषितहरूलाई झ्यालखानामा हालियो र कोर्रा लगाइयो। तैपनि तिनीहरू ‘येशूको नाममा अपमान सहन योग्य ठहरिएकोमा रमाए।’ (प्रेषि. ५:४१) सतावट आइपर्दा तपाईं पनि त्यसलाई पत्रुसको अनुकरण गर्ने र आत्मत्यागी मनोभाव देखाएर येशूको पदचिन्ह पछ्याउने मौकाको रूपमा लिन सक्नुहुन्छ। (१ पत्रुस २:२०, २१ पढ्नुहोस्) यस्तो मनोवृत्तिले एल्डरहरूबाट अनुशासन पाउँदा समेत तपाईंलाई मदत गर्न सक्छ। रिसाउनुको सट्टा पत्रुसको उदाहरण अनुकरण गर्नुहोस्।—उप. ७:९.

१७, १८. (क) आफ्ना लक्ष्यहरूबारे हामीले आफैलाई कस्ता प्रश्नहरू गर्न सक्छौं? (ख) आफूमा स्वार्थी मनोभाव बढ्दै गएको देखेमा हामी के गर्न सक्छौं?

१७ पत्रुसको उदाहरणले यहोवाको सेवासित सम्बन्धित लक्ष्यहरू राख्न पनि मदत गर्छ। आत्मत्यागी मनोभाव देखाउँदै तपाईं ती लक्ष्यहरूतर्फ अघि बढ्न सक्नुहुन्छ। तर अरूको अगाडि ठूलो देखिन मात्र यस्तो लक्ष्य नराख्नुहोस्। आफैलाई सोध्नुहोस्: ‘म किन अझ उन्नति गर्न वा यहोवाको सेवामा अझ धेरै गर्न चाहन्छु? अरूबाट प्रशंसा पाउने अथवा याकूब र यूहन्नाले जस्तै अझ ठूलो ओहदा पाउने चाहनाले गर्दा पो हो कि?’

१८ तपाईंले आफूमा स्वार्थी मनोभाव बढ्दै गएको देख्नुभयो भने आफ्नो सोचाइ र भावना सच्याउन यहोवासित मदत माग्नुहोस्। अनि आफ्नो होइन, यहोवाको महिमा गर्न परिश्रम गर्नुहोस्। (भज. ८६:११) आफूतर्फ ध्यान नखिच्ने खालका लक्ष्यहरू पनि राख्न सक्नुहुन्छ। उदाहरणको लागि, पवित्र शक्तिको फलको कुनचाहिं पक्ष देखाउन तपाईंलाई गाह्रो भइरहेको छ, त्यससम्बन्धमा उन्नति गर्ने प्रयास गर्न सक्नुहुन्छ। अथवा सभामा आफूले पाएको भागको लागि राम्रो तयारी गर्नुहुन्छ तर राज्यभवन सफा गर्न मन लाग्दैन भने रोमी १२:१६ मा पाइने सल्लाह लागू गर्ने प्रयास गर्न सक्नुहुन्छ।—पढ्नुहोस्।

१९. ऐनारूपी परमेश्वरको वचनमा देखेको कुराले गर्दा निराश नहुन हामी के गर्न सक्छौं?

१९ ऐनारूपी परमेश्वरको वचनमा आफूलाई राम्ररी नियाल्दा आफूमा खोट वा स्वार्थी झुकाव देख्यौं भने हामी निराश हुन सक्छौं। तपाईंलाई पनि त्यस्तै भयो भने याकूबको उदाहरणको वचन पालन गर्ने मानिसलाई सम्झनुहोस्। उक्त मानिसले आफूमा देखिएको समस्यालाई कति छिटो सुल्झायो वा सबै दाग हटाउन ऊ सफल भयो कि भएन, त्यसबारे याकूबले जोड दिएनन्‌। बरु उक्त मानिस ‘पूर्ण व्यवस्थामा लागिरह्यो’ भनेर याकूबले लेखे। (याकू. १:२५) उसले ऐनामा देखेको कुरा सम्झिरह्यो र आफूलाई सुधार्न प्रयास गरिरह्यो। त्यसैले आफूबारे सकारात्मक मनोवृत्ति राख्नुहोस् र हामी सबै त्रुटिपूर्ण छौं भनेर नबिर्सनुहोस्। (उपदेशक ७:२० पढ्नुहोस्) हाम्रा थुप्रै भाइबहिनीलाई जस्तै यहोवा तपाईंलाई पनि मदत गर्न इच्छुक हुनुहुन्छ। बाइबल शिक्षाअनुसार चल्नुभयो र आत्मत्यागी मनोभाव देखाइरहनुभयो भने परमेश्वरको अनुमोदन र आशिष्‌ पाउनुहुनेछ।