के तपाईंलाई थाह थियो?
बाइबल लेखिएको समयमा कुनै मानिसले जानाजानी आफ्नो लुगा च्यात्नुको अर्थ के थियो?
थुप्रै मानिसले आफ्नो लुगा च्यातेको विवरण बाइबलमा पाइन्छ। अहिले बाइबल पढ्ने थुप्रैलाई यो कुरा अनौठो लाग्न सक्छ। तर यहूदीहरूका लागि यो कुनै अनौठो कुरा थिएन। उनीहरू गहिरो भावना पोखाउन आफ्नो लुगा च्यात्ने गर्थे। हरेस खाँदा, दुःख लाग्दा, अरूले हेला गर्दा, रिस उठ्दा वा शोकमा पर्दा त्यसो गर्थे।
केही उदाहरण विचार गरौं। रूबेनले यूसुफलाई जोगाउने योजना बनाएका थिए। तर यूसुफ दासको रूपमा बेचिंदा तिनको योजना विफल भयो। त्यसकारण तिनले “आफ्नो लुगा च्याते।” उनीहरूका बुबा याकूबले यूसुफलाई जङ्गली जनावरले माऱ्यो भन्ठानेर “आफ्नो लुगा च्याते।” (उत्प. ३७:१८-३५) अय्यूबले पनि आफ्ना छोराछोरीहरू मरे भन्ने खबर सुन्दा “आफ्नो लुगा च्याते।” (अय्यू. १:१८-२०) “च्यातिएको लुगामा” आएका एउटा मानिसले प्रधान पुजारी एलीलाई इस्राएलीहरूले लडाइँ हारेको, तिनका दुई छोरा मारिएको र परमेश्वरको सन्दूक पनि खोसिएको समाचार दिए। (१ शमू. ४:१२-१७) व्यवस्थाको पुस्तकमा लेखिएको कुरा सुनेपछि योशियाहले आफ्ना मानिसहरूको गल्ती थाह पाए र “आफ्नो लुगा च्याते।”—२ राजा २२:८-१३.
येशूको पुर्पक्षको बेला उहाँले परमेश्वरको निन्दा गर्नुभयो भनेर प्रधान पुजारी कैयाफाले “आफ्नो लुगा च्याते।” (मत्ती २६:५९-६६) रब्बीहरूले बनाएको चलनअनुसार परमेश्वरको नामको निन्दा गरिएको सुन्ने जोसुकैले पनि आफ्नो लुगा च्यात्नुपर्थ्यो। तर यरूशलेमको विनाशपछि रब्बीहरूले यस्तो धारणा राखे: “अबदेखि कसैले परमेश्वरको नामको निन्दा भएको सुन्यो भने उसले आफ्नो लुगा च्यात्नु पर्दैन, नत्रता लगाउनको लागि ऊसित झुत्रेझाम्रे लुगाबाहेक केही बाँकी रहँदैन।”
कुनै व्यक्तिले आफ्नो लुगा च्यात्छ तर उसको मनचाहिं सफा छैन भने यहोवाको लागि त्यसको कुनै अर्थ हुने थिएन। त्यसैले यहोवाले आफ्ना मानिसहरूलाई ‘आफ्नो लुगा होइन, तर आफ्नो हृदय फटाएर आफूतिर फर्कन’ सल्लाह दिनुभयो।—योए. २:१३.