सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के परमेश्‍वर तपाईंलाई धन दिने प्रतिज्ञा गर्नुहुन्छ?

के परमेश्‍वर तपाईंलाई धन दिने प्रतिज्ञा गर्नुहुन्छ?

के परमेश्‍वर तपाईंलाई धन दिने प्रतिज्ञा गर्नुहुन्छ?

‘परमेश्‍वर तपाईं धनी भएको चाहनुहुन्छ: दुई-चारवटा गाडी होस्‌, फस्टाउँदो व्यापार होस्‌। उहाँमा विश्‍वास मात्र गर्नुहोस्‌ र उहाँलाई गोजीबाट सकेजति दिनुहोस्‌।’

ब्राजिलको एउटा समाचारपत्रअनुसार त्यहाँका केही धार्मिक समूहले माथि उल्लेख गरिएको जस्तै सन्देश प्रचार-प्रसार गर्छन्‌। थुप्रैले यस्तो सन्देश गम्भीरतासाथ लिन्छन्‌। संयुक्‍त राज्य अमेरिकामा ख्रीष्टियान भनेर दाबी गर्ने व्यक्‍तिहरूमाझ गरिएको सर्वेक्षणबारे टाइम पत्रिका यस्तो रिपोर्ट गर्छ: “परमेश्‍वर मानिसहरू सम्पन्‍न भएको चाहनुहुन्छ भन्‍ने कुरामा ६१ प्रतिशतलाई विश्‍वास थियो। अनि ३१ प्रतिशतचाहिं . . . परमेश्‍वरलाई पैसा दियौं भने उहाँले अझ प्रशस्त पैसा दिनुहुन्छ भन्‍ने कुरामा सहमत थिए।”

यस्तो विश्‍वासलाई प्राय: समृद्ध-धर्मविज्ञान भनिन्छ। विशेषगरि ब्राजिलजस्तो ल्याटिन-अमेरिकी मुलुकहरूमा यस्तो विश्‍वास द्रुत गतिले फस्टाउँदो छ र परमेश्‍वरले उपहारस्वरूप रुपियाँ-पैसा, सर-सम्पत्ति दिनुहुन्छ भन्‍ने चर्चहरूमा थुप्रै मानिस ओइरिन्छन्‌। तर के साँच्चै नै परमेश्‍वर उहाँको सेवा गर्नेहरूलाई धन दिने प्रतिज्ञा गर्नुहुन्छ? के परमेश्‍वरका उहिले-उहिलेका सेवकहरू धनी थिए?

यो सही हो, परमेश्‍वरले आशिष्‌ दिनुभएकाहरू भौतिक रूपमा सु-सम्पन्‍न भएको विवरण हामी प्रायः हिब्रू धर्मशास्त्रमा पाउँछौं। उदाहरणको लागि, व्यवस्था ८:१८ मा हामी यस्तो पढ्‌छौं: “परमेश्‍वरलाई सम्झ, किनकि उहाँलेनै तिमीहरूलाई धन-सम्पत्ति प्राप्त गर्ने शक्‍ति दिनुहुन्छ।” इस्राएलीहरू परमेश्‍वरप्रति आज्ञाकारी भए भने तिनीहरूलाई उहाँले सम्पन्‍न राष्ट्र बनाउनुहुनेछ भनेर यसले विश्‍वस्त गरायो।

त्यसोभए, व्यक्‍तिविशेषबारे चाहिं के भन्‍न सकिन्छ? परमेश्‍वरका विश्‍वासी सेवक अय्यूब अत्यन्तै धनी थिए। पछि शैतानले उनलाई कंगाल बनाइदियो तर यहोवाले उनको सम्पत्ति “दुइ गुणा” बढाइदिनुभयो। (अय्यूब १:३; ४२:१०) अब्राहाम पनि धनी थिए। उत्पत्ति १३:२ मा “सुन र चाँदी भएकाले अब्राम अति धनाढ्य” थिए भनेर बताइएको छ। पूर्वका चार राजाका एकत्रित सैनिकले अब्राहामका भतिज लूतलाई कब्जा गर्दा अब्राहामले “आफ्नो घरमा जन्मेर तालिम पाएका तीन सय अठाह्र दासहरूलाई साथमा लिए।” (उत्पत्ति १४:१४) हातहतियार चलाउन सक्षम “तालिम पाएका” ३१८ जनासहितको तिनको घरमा पक्कै पनि धेरै मान्छे थिए। यत्ति ठूलो परिवार धान्‍न सकेकोले तिनी असंख्य वस्तुभाउ भएका धनाढ्य व्यक्‍ति थिए भन्‍ने पुष्टि हुन्छ।

हो, विगतमा परमेश्‍वरका थुप्रै सेवक धनी थिए। केहीको नाम लिनुपर्दा—अब्राहाम, इसहाक, याकूब, दाऊद र सुलेमान। के यसको अर्थ, उहाँको सेवा गर्ने सबैलाई परमेश्‍वर धनी बनाउनुहुन्छ? अर्कोतर्फ कोही गरीब छ भन्दैमा उसलाई परमेश्‍वरले आशिष्‌ नै नदिनुभएको हो त? यी प्रश्‍नहरूबारे यसपछिको लेखमा छलफल गरिनेछ। ( w 09 9/1)