सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अदृश्‍य संसारतर्फ नजर लगाउँदा

अदृश्‍य संसारतर्फ नजर लगाउँदा

अदृश्‍य संसारतर्फ नजर लगाउँदा

आकाशमा जतिसुकै घोरिएर हेर्नुहोस्‌, तपाईंले अदृश्‍य प्राणी देख्नुहुने छैन। ध्यान दिएर सुन्‍नुहोस्‌, तिनीहरूले बोलेको तपाईंले सुन्‍नुहुने छैन। तैपनि अदृश्‍य प्राणीहरू अस्तित्वमा छन्‌ भन्‍ने कुरामा तपाईं पक्का हुनुहुन्छ होला। अदृश्‍य प्राणीहरू एकदमै बुद्धिमान्‌ र शक्‍तिशाली छन्‌ अनि तिनीहरूको आ-आफ्नै नाम र व्यक्‍तित्व छ। तिनीहरूमध्ये केहीले हाम्रो भलो गर्छन्‌ भने केहीले हामीलाई हानि पुऱ्‍याउन चाहन्छन्‌। तिनीहरू सबैको हामीमा चासो छ।

साँचो परमेश्‍वर स्वयम्‌ अदृश्‍य व्यक्‍ति हुनुहुन्छ। (यूहन्‍ना ४:२४) उहाँको अद्वितीय नाम यहोवा हो र यस नामले उहाँलाई अरू थुप्रै झूटा देवहरूबाट अलग्गै छुट्ट्याउँछ। (प्रस्थान ६:३, फुटनोट) भजनहारले लेखे: “परमप्रभु महान्‌ हुनुहुन्छ, उच्च प्रशंसा गरिने योग्यको हुनुहुन्छ। सारा देवहरूभन्दा बढी उहाँकै डर राख्नुपर्छ। किनकि मानिसहरूका सारा देवहरू केवल मूर्ति मात्र हुन्‌। तर परमप्रभुले ता स्वर्ग सृष्टि गर्नुभयो। उहाँको सामने आदर र महामहिमा छन्‌। शक्‍ति र सुन्दरता उहाँको पवित्र ठाउँमा छन्‌।”—भजन ९६:४-६.

साँचो परमेश्‍वरको दर्शन

बाइबल भन्छ, “परमेश्‍वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।” (यूहन्‍ना १:१८) जन्मजात अन्धो मानिसले रङ्‌ग कस्तो हुन्छ विचारै गर्न नसकेझैं उहाँको रूप र वैभव कस्तो छ बुझिनसक्नु छ। एक जना राम्रो शिक्षकले जसरी गाह्रो विषयलाई विद्यार्थीहरूले बुझ्ने भाषामा सिकाउँछन्‌ त्यसरी नै आफ्नो वचन बाइबलमा परमेश्‍वर हामीले देख्न नसक्ने कुराहरूलाई देख्न सक्ने कुराहरूमार्फत बुझाउनुहुन्छ। पहिलेका विश्‍वासी व्यक्‍तिहरूलाई दिइएको प्रेरित दर्शनमार्फत यहोवा हामीलाई स्वर्ग कस्तो छ अनि त्यहाँ बस्नेहरूसितको हाम्रो सम्बन्ध बुझ्न मदत गर्नुहुन्छ।

उदाहरणका लागि, इजकिएललाई दिइएको एउटा दर्शनमा यहोवाको महिमालाई आगो, उज्यालोपन, नीलम र इन्द्रेनीसित तुलना गरिएको छ। अर्को दर्शनमा प्रेषित यूहन्‍नाले यहोवालाई सिंहासनमा बसिरहेको देखे र परमेश्‍वरको “मुहार यशवमणि र बहुमूल्य लालमणि जस्तै थियो” अनि उहाँको “सिंहासनको चारैतिर पन्‍नाजस्तो देखिने इन्द्रेनी थियो।” यस्तो वर्णनले यहोवाको उपस्थिति एकदमै दुर्लभ अनि सुन्दर हुनुका साथै मनमोहक र पवित्र हुन्छ भनेर संकेत गर्छ।—प्रकाश ४:२, ३; इजकिएल १:२६-२८.

भविष्यवक्‍ता दानियलले पनि दर्शनमा यहोवालाई देखे जसमा “लाखौंलाख [स्वर्गदूतहरू यहोवाको] सामु खडा” थिए। (दानियल ७:१०) त्यो दृश्‍य कत्ति अचम्मलाग्दो थियो होला! एउटा स्वर्गदूतलाई दर्शनमा मात्र देख्नु पनि आश्‍चर्यजनक हुन्छ तर हजारौं हजार त्रुटिरहित स्वर्गदूतहरू देखेको कल्पना गर्नुहोस्‌ त!

स्वर्गदूतहरूबारे बाइबलमा झन्डै ४०० चोटि उल्लेख गरिएको छ र तिनीहरूमध्ये कोही-कोही सराफ र करूबजस्ता ओहदामा सेवा गर्छन्‌। बाइबलमा “स्वर्गदूत” भनी अनुवाद गरिएको ग्रीक र हिब्रू शब्द दुवैको अर्थ “सन्देशवाहक” हो। त्यसैकारण स्वर्गदूतहरू एकअर्कासित कुराकानी गर्न सक्छन्‌ र विगतमा मानिसहरूसित पनि कुराकानी गरेका थिए। पृथ्वीका मानिसहरू पछि गएर स्वर्गदूत बन्‍ने होइनन्‌। मानिसहरू सृष्टि गर्नुभन्दा धेरै अघि यहोवाले यी अदृश्‍य प्राणीहरू बनाउनुभएको थियो।—अय्यूब ३८:४-७.

दानियलले देखेको दर्शनमा एउटा महत्त्वपूर्ण घटना हेर्न ठूलो संख्यामा स्वर्गदूतहरू जम्मा भएका थिए। त्यसपछि दानियलले “मानिसका पुत्रजस्तै कोही” एक जना यहोवाको सिंहासनसामु हाजिर भएको र “विभिन्‍न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून्‌ भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार” दिइएको देखे। (दानियल ७:१३, १४) अदृश्‍य संसारको एक जना महत्त्वपूर्ण पात्र “मानिसका पुत्र” पुनर्जीवित हुनुभएका येशू ख्रीष्ट हुनुहुन्छ, जसले सारा पृथ्वीमाथि शासन गर्ने अधिकार पाउनुभएको छ। उहाँको शासनले चाँडै सारा मानव सरकारहरूलाई विस्थापन गर्नेछ र रोगबिमार, दुःखकष्ट, थिचोमिचो, गरिबी र मृत्युसमेत नामेट पार्नेछ।—दानियल २:४४.

मानिसजातिको भलो चाहने थुप्रै वफादार स्वर्गदूत येशू सिंहासनमा विराजमान भएको देखेर रमाए। तर दुःखको कुरा, सबै स्वर्गदूत भने रमाएनन्‌।

परमेश्‍वर र मानिसका शत्रुहरू

मानव इतिहासको सुरुमै एक जना स्वर्गदूतले मानिसहरूले आफ्नो उपासना गरून्‌ भन्‍ने तीव्र इच्छाले गर्दा यहोवाको विरोध गऱ्‍यो र आफूलाई सैतान बनायो, जुन शब्दको अर्थ हुन्छ, “विरोधी।” दुष्टताको मूर्तरूप सैतानले प्रेमको मूर्तरूप यहोवाको हदैसम्म विरोध गर्छ। अरू स्वर्गदूतहरूले सैतानको यो विद्रोहमा साथ दिए र बाइबलले तिनीहरूलाई दुष्ट स्वर्गदूतहरू भन्छ। सैतानजस्तै यी दुष्ट स्वर्गदूतहरू पनि मानिसजातिका क्रूर शत्रु बनेका छन्‌। पृथ्वीमा भइरहेका अधिकांश दुःखकष्ट, अन्याय, रोगबिमार, गरिबी र युद्धहरू तिनीहरूको प्रभावको नतिजा हो।

हुन त थुप्रै चर्चहरूमा पहिला जति सैतानबारे कुरा गरिंदैन तर अय्यूब भन्‍ने बाइबलको एउटा किताबमा यो विद्रोही स्वर्गदूतको स्वभाव र मनसाय खुलाएर बताइएको छ। त्यहाँ यसो भनिएको छ: “एक दिन स्वर्गीय-जनहरू परमप्रभुको सामने उपस्थित हुँदा शैतान पनि तिनीहरूसँग थियो।” त्यसपछि भएको कुराकानीमा परमेश्‍वरबाट सबै कुरा प्राप्त गरेकोले मात्र अय्यूबले उहाँको सेवा गरेको हो भनेर सैतानले हाकाहाकी आरोप लगायो। आफूले लगाएको आरोप सत्य साबित गर्ने प्रयासमा सैतानले अय्यूबको गाईवस्तु र तिनको दसै जना छोराछोरी मारेर तिनीमाथि ठूलो सङ्‌कष्ट ल्यायो। त्यसपछि त्यसले अय्यूबको शरीरभरि डरलाग्दो खटिरा निकालिदियो। यी सबै आक्रमणको बाबजुद सैतानले आफ्नो दाबी सत्य साबित गर्न सकेन।—अय्यूब १:६-१९; २:७.

सैतानलाई यति धेरै समयसम्म रहिरहन दिनुमा यहोवासित ठोस कारणहरू छन्‌ तर उहाँले त्यसलाई सधैंभरि रहिरहन दिनुहुने छैन। चाँडै दियाबललाई नष्ट गरिनेछ। त्यसको लागि प्रारम्भिक कदमहरू चालिसकिएको छ र त्यसबारे प्रकाशको किताबमा बताइएको छ। यस किताबमा अदृश्‍य संसारमा घटेको अझै अर्को एउटा महत्त्वपूर्ण घटना हेर्नको लागि पर्दा उघारिएको छ जसबारे अन्त कतै बताइएको छैन। त्यहाँ यस्तो लेखिएको छ: “स्वर्गमा लडाइँ भयो: माइकल [पुनर्जीवित हुनुभएका येशू ख्रीष्ट] र उनका स्वर्गदूतहरूले त्यस अजिङ्‌गरसित [सैतानसित] अनि अजिङ्‌गर र त्यसका स्वर्गदूतहरूले उनीहरूसित युद्ध गरे। तर त्यो अजिङ्‌गरले जित्न सकेन र तिनीहरूको निम्ति स्वर्गमा कुनै ठाउँ बाँकी रहेन। त्यसैले, दियाबल अनि सैतान भनिने र सारा संसारलाई ठग्ने त्यो ठूलो अजिङ्‌गर अर्थात्‌ पुरानो सर्पलाई तल पृथ्वीमा फालियो अनि त्यो सँगसँगै त्यसका स्वर्गदूतहरू पनि फालिए।”—प्रकाश १२:७-९.

ध्यान दिनुहोस्‌, सैतानलाई “सारा संसारलाई ठग्ने” भनिएको छ। मानिसहरूलाई यहोवा र उहाँको वचनदेखि तर्काउन धार्मिक झूट फैलाएर त्यसले उनीहरूलाई ठगिरहेको छ। त्यसले फैलाएको एउटा त्यस्तो झूट मरिसकेपछि सबै जना अदृश्‍य संसारमा प्रवेश गर्छन्‌ भन्‍ने शिक्षा हो। यो शिक्षामा निकै विविधता पाइन्छ। उदाहरणका लागि, अफ्रिका र एसियामा थुप्रै व्यक्‍तिहरू मानिस मरिसकेपछि आफ्ना पुर्खाहरू बास गर्ने अदृश्‍य संसारमा प्रवेश गर्छ भन्‍ने विश्‍वास राख्छन्‌। साथै, पापमोचनस्थान र नरकको शिक्षा मृत्युपछि पनि मानिस जीवितै रहिरहन्छ भन्‍ने धारणामा आधारित छ।

मरेपछि मानिस स्वर्ग जान्छ?

सबै असल मानिस स्वर्ग जान्छन्‌ भनेर संसारभरिका थुप्रै मानिसहरूले राख्ने विश्‍वासबारे के भन्‍न सकिन्छ? यो कुरा साँचो हो, केही असल मानिसहरू स्वर्ग जान्छन्‌ तर मरिसकेका अरबौंको तुलनामा तिनीहरूको संख्या एकदमै थोरै छ। बाइबलले १,४४,००० जना ‘पृथ्वीबाट किनिनेछन्‌’ र तिनीहरूले “पुजारी”-को रूपमा सेवा गर्नुका साथै “राजाको रूपमा पृथ्वीमाथि शासन” गर्नेछन्‌ भनेर प्रकाश पार्छ। (प्रकाश ५:९, १०; १४:१, ३) मानिसको पुत्र अर्थात्‌ येशू ख्रीष्ट र तिनीहरू मिलेर स्वर्गीय सरकार अर्थात्‌ परमेश्‍वरको राज्य बन्छ। त्यही सरकारले सैतान र त्यसका दुष्ट स्वर्गदूतहरूलाई नाश गर्नेछ र पृथ्वीलाई प्रमोदवनमा परिणत गर्नेछ। भविष्यमा पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने प्रत्याशासहित मरेकाहरूमध्ये धेरैलाई फेरि जीवन दिइनेछ।—लूका २३:४३.

सारांशमा भन्‍ने हो भने अदृश्‍य संसारमा थुप्रै अदृश्‍य प्राणीहरू बास गर्छन्‌। तिनीहरूमध्ये सबैभन्दा सर्वोच्च सबै प्राणीहरूका सृष्टिकर्ता, यहोवा परमेश्‍वर हुनुहुन्छ। अनि लाखौं लाख स्वर्गदूतहरूले वफादार भई उहाँको सेवा गरिरहेका छन्‌। अरू स्वर्गदूतहरू भने सैतानको पछि लागेर यहोवाको विरोधमा खडा भए र तिनीहरू मानिसहरूलाई ठग्छन्‌। यसबाहेक, स्वर्गमा विशेष जिम्मेवारी सँभाल्न पृथ्वीबाट सीमित संख्यामा मानिसहरू “किनिएका” वा छानिएका छन्‌। यो कुरा मनमा राख्दै हामी अदृश्‍य संसारमा कसलाई सम्पर्क राख्न सक्छौं र कसरी, अब विचार गरौं। ( w10 -E 12/01)