सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जब वृद्धहरू फेरि जवान हुनेछन्‌

जब वृद्धहरू फेरि जवान हुनेछन्‌

परमेश्‍वरको नजिक हुनुहोस्‌

जब वृद्धहरू फेरि जवान हुनेछन्‌

हामीमध्ये कसलाई पो चाउरी परेको छाला, कमजोर आँखा, कम सुन्‍ने कान र लगलग काँप्ने खुट्टा मन पर्छ र? तपाईंलाई यस्तो लाग्न सक्छ, ‘एक दिन बूढो भएर दुःख भोग्नु नै छ भने भगवान्‌ले किन हामीलाई जवानीको आनन्द उठाउन सक्नेगरि बनाउनुपर्थ्यो?’ तर कुरा के हो भने हामीले दुःख भोग्नु परोस्‌ भन्‍ने परमेश्‍वरको इच्छा थिएन। बरु हामीलाई बुढ्यौलीबाट मुक्‍त गर्न उहाँले मायालु प्रबन्ध गर्नुभएको छ! अय्यूब ३३:२४, २५ मा कुलपिता अय्यूबलाई बताइएका शब्दहरूमा ध्यान दिनुहोस्‌।

यहोवाको प्रिय पात्र अनि एक वफादार पुरुष अय्यूबको परिस्थितिलाई विचार गर्नुहोस्‌। अय्यूबले स्वार्थको कारण मात्र परमेश्‍वरको सेवा गरिरहेको छ भनेर सैतानले तिनको सत्यनिष्ठामाथि प्रश्‍न खडा गऱ्‍यो। सैतानको यस्तो दाबी अय्यूबलाई थाहै थिएन। अय्यूबमाथि विश्‍वास भएकोले र हानिलाई सच्याउन सक्ने आफ्नो शक्‍ति बुझेकोले यहोवाले सैतानलाई अय्यूबको परीक्षा गर्न दिनुभयो। त्यसपछि सैतानले “अय्यूबको टाउकोदेखि पैतालासम्म खटिरा उब्जाइदियो।” (अय्यूब २:७) अय्यूबको जीउ कीरैकीराले भरियो, तिनको छाला चिरैचिरा पऱ्‍यो र कालो भएको छाला पत्रैपत्र भएर झऱ्‍यो। (अय्यूब ७:५; ३०:१७, ३०) तिनको पीडा के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यति हुँदासम्म पनि अय्यूब वफादार रहिरहे। तिनले यसो भने: “नमरुञ्जेल म निर्दोष [“सत्यनिष्ठ,” NW] छु भन्‍ने मेरो दाबीलाई म छोड्‌नेछैनँ।”—अय्यूब २७:५.

तर अय्यूबले गम्भीर गल्ती गरे। जब तिनलाई आफू मर्नै लागेको जस्तो लाग्यो, तिनले आफैलाई सही ठहऱ्‍याउने कुरामा अचाक्ली ध्यान दिए। तिनले “आफूलाई परमेश्‍वरभन्दा पनि धेरै धर्मी तुल्याए।” (अय्यूब ३२:२) परमेश्‍वरका प्रवक्‍ता एलीहूले अय्यूबलाई सच्याए। साथै एलीहूले परमेश्‍वरबाट पाएको सकारात्मक सन्देश पनि अय्यूबलाई सुनाए: “ ‘त्यसलाई छोडिदेऊ, त्यसलाई खाडलमा [मृत्युपछि सबै जना जाने ठाउँ, चिहान] जान नदेऊ, त्यसलाई छुटाउने दाम मसित छ।’ तब त्यो मानिस आफ्नो युवावस्थामा भन्दा पनि झन्‌ बलियो हुनेछ, त्यो आफ्नो मस्त जवानीको बेलामा जस्तै हुनेछ।” (अय्यूब ३३:२४, २५) यी शब्दहरूले पक्कै पनि अय्यूबको मन आशाले भरिदिएको हुनुपर्छ। तिनले आफ्नो मृत्युसम्मै दुःख भोगिरहनुपर्ने थिएन। अय्यूबले पश्‍चात्ताप गरेका भए तिनको खातिर छुटाउने दाम स्वीकार्न परमेश्‍वर खुसी हुनुहुने थियो र तिनका पीरव्यथाहरू हटाउनुहुने थियो।  a

आफूलाई सच्याइँदा अय्यूबले नम्रतासाथ त्यसलाई स्वीकारे अनि पश्‍चात्ताप गरे। (अय्यूब ४२:६) अय्यूबको गल्तीलाई ढाक्न र तिनलाई पुनर्स्थापित गरेर इनाम दिन यहोवाले तिनको खातिर त्यो छुटाउने दाम स्वीकार्नुभएको हुनुपर्छ। यहोवाले “अय्यूबको जीवनको आखिरी समयमा शुरुको समयभन्दा बढी आशिष्‌ दिनुभयो।” (अय्यूब ४२:१२-१७) अय्यूबको घिनलाग्दो रोग निको हुँदा र तिनी “युवावस्थामा भन्दा पनि झन्‌ बलियो” हुँदा तिनले कत्ति सन्चो महसुस गरे होला, कल्पना गर्नुहोस्‌ त!

अय्यूबको खातिर परमेश्‍वरले स्वीकार्नुभएको छुटाउने दामको महत्त्व सीमित थियो किनकि तिनी त्रुटिपूर्ण नै रहे र पछि मरे। तर हाम्रो लागि उपलब्ध गराइएको छुटाउने दाम अर्थात्‌ फिरौतीको मोल अझै उत्तम छ। यहोवाले हामीलाई प्रेम गरेकोले आफ्नो छोरा येशू हाम्रो निम्ति फिरौतीस्वरूप दिनुभयो। (मत्ती २०:२८; यूहन्‍ना ३:१६) त्यो फिरौतीमाथि विश्‍वास गर्नेजति सबैले सुन्दर बगैंचारूपी पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशा राख्न सक्छन्‌। आउँदै गरेको त्यस नयाँ संसारमा परमेश्‍वरले वफादार मानिसहरूलाई बुढ्यौलीबाट मुक्‍त गर्नुहुनेछ। वृद्धहरूले “युवावस्थामा भन्दा पनि झन्‌ बलियो” भएको अनुभव गर्न पाउने समयमा तपाईं कसरी बाँच्न सक्नुहुन्छ, यसबारे अझ धेरै सिक्नुभए कसो होला? ( w11 -E 04/01)

[फुटनोट]

a यहाँ प्रयोग गरिएको “छुटाउने दाम” भन्‍ने अभिव्यक्‍तिले “ढाक्नु” भन्‍ने अर्थ दिन्छ। अय्यूबको सन्दर्भमा छुटाउने दाम भनेको पशु-बलि हुन सक्थ्यो जसलाई परमेश्‍वरले तिनको गल्ती ढाक्न वा गल्तीको प्रायश्‍चित गराउन स्वीकार्नुहुने थियो।—अय्यूब १:५.