सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको नजिक हुनुहोस्‌

“उहाँ . . . जीवितहरूका परमेश्‍वर हुनुहुन्छ”

“उहाँ . . . जीवितहरूका परमेश्‍वर हुनुहुन्छ”

के मृत्यु परमेश्‍वरभन्दा शक्‍तिशाली छ? कदापि छैन! मृत्यु मात्र होइन अरू कुनै पनि “शत्रु,” “सर्वशक्‍तिमान परमेश्‍वर”-भन्दा शक्‍तिशाली छैन। (१ कोरिन्थी १५:२६; प्रस्थान ६:३) परमेश्‍वरसित मृत्युलाई नामेट पार्ने र मरेकाहरूलाई पुनर्जीवित गर्ने शक्‍ति छ। अनि उहाँ नयाँ संसारमा त्यसो गर्ने प्रतिज्ञा गर्नुहुन्छ। a यो प्रतिज्ञा कत्तिको पक्का छ? परमेश्‍वरको छोरा येशूले भन्‍नुभएका शब्दहरूले हाम्रो मनमा आशा पलाउँछ।मत्ती २२:३१, ३२ पढ्‌नुहोस्‌।

पुनर्जीवनमा विश्‍वास नगर्ने सदुकीहरूलाई येशूले यसो भन्‍नुभयो: “मरेकाहरूले पुनर्जीवन पाउने विषयमा परमेश्‍वरले तिमीहरूलाई के भन्‍नुभएको छ, के तिमीहरूले पढेका छैनौ: ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ’? उहाँ मरेकाहरूको होइन, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।” येशूले यहाँ ईसापूर्व १५१४ मा भएको घटनालाई सङ्‌केत गर्नुभयो, जब परमेश्‍वरले जलिरहेको पोथ्राअगाडि मोशासित कुरा गर्नुभएको थियो। (प्रस्थान ३:१-६) त्यतिबेला यहोवाले मोशालाई यसो भन्‍नुभएको थियो: “म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर हुँ।” येशूले पनि त्यही कुरा दोहोऱ्‍याउनुभएको हुँदा मानिसहरू अवश्‍य पुनर्जीवित हुनेछन्‌ भन्‍ने सङ्‌केत पाउँछौं। कसरी?

पहिले सन्दर्भलाई विचार गर्नुहोस्‌। यहोवाले मोशासित कुरा गर्नुभएको बेला कुलपिता अब्राहाम, इसहाक र याकूबको मृत्यु भएको धेरै समय बितिसकेको थियो। अब्राहामको मृत्यु भएको ३२९ वर्ष, इसहाकको २२४ वर्ष र याकूबको १९७ वर्ष भइसकेको थियो। तर यहोवाले म तिनीहरूको परमेश्‍वर “हुँ” भन्‍नुभयो, “थिएँ” भन्‍नुभएन। यहोवाले ती मरिसकेका कुलपिताहरू जीवितै भएजस्तो गरी कुरा गर्नुभयो। किन?

येशूले यसो भन्‍नुभयो: “उहाँ [अर्थात्‌ यहोवा] मरेकाहरूको होइन, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ।” यी शब्दहरूले भन्‍न खोजेको कुरा एकछिन सोच्नुहोस्‌। यदि पुनर्जीवित नहुने हो भने अब्राहाम, इसहाक र याकूब सधैंभरि मृत अवस्थामै हुनेथिए र फेरि कहिल्यै जीवित हुने थिएनन्‌। अनि त्यसो हो भने यहोवा मरेकाहरूको परमेश्‍वर हुनु हुनेथियो। अनि यस कुराले मृत्यु यहोवाभन्दा शक्‍तिशाली छ भनेर देखाउने थियो। मानौं, उहाँ आफ्ना विश्‍वासी सेवकहरूलाई मृत्युको चङ्‌गुलबाट बचाउन असक्षम हुनुहुन्छ।

त्यसोभए अब्राहाम, इसहाक, याकूब र परमेश्‍वरका अरू विश्‍वासी सेवक जो मरिसके तिनीहरूबारे कस्तो निष्कर्ष निकाल्न सक्छौं? येशूले यस्तो जोडदार कुरा बताउनुभयो: “उहाँको नजरमा तिनीहरू सबै जीवित छन्‌।” (लूका २०:३८) हो, मरिसकेका विश्‍वासी सेवकहरूलाई पुनर्जीवित गर्ने परमेश्‍वरको उद्देश्‍य पक्का छ। त्यसैले यहोवा तिनीहरूलाई जीवितसरह ठान्‍नुहुन्छ। (रोमी ४:१६, १७) पुनर्जीवित गर्ने समय आएपछि यहोवाले तिनीहरू सबैलाई पुनर्जीवित गर्न बिर्सनुहुनेछैन।

यहोवा मृत्युभन्दा कता हो कता शक्‍तिशाली हुनुहुन्छ

मरिसकेका प्रियजनलाई फेरि भेट्‌ने कुरा थाह पाउँदा के तपाईंको मन छुँदैन र? त्यसो हो भने नबिर्सनुहोस्‌, यहोवा मृत्युभन्दा कता हो कता शक्‍तिशाली हुनुहुन्छ। मरेकाहरूलाई पुनर्जीवित गर्नदेखि उहाँलाई कुनै कुराले पनि रोक्न सक्दैन। पुनर्जीवनको प्रतिज्ञा र त्यो पूरा गर्ने परमेश्‍वरबारे अझ धेरै कुरा सिक्नुभए कसो होला? त्यसो गऱ्‍यौं भने “जीवितहरूका परमेश्‍वर” यहोवासित अझ नजिक हुनेछौं। (w13-E 02/01)

सुझावित बाइबल पढाइ

मत्ती २२–२८मर्कूस १–८

a नयाँ संसारमा पुनर्जीवित गर्ने परमेश्‍वरको प्रतिज्ञाबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ हेर्नुहोस्‌।