सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १३

अरूलाई मदत गर्ने केटो

अरूलाई मदत गर्ने केटो

अरूलाई मदत गर्न पाउँदा तिमोथी रमाउँथ्यो। उसले टाढा-टाढा गएर अरूलाई मदत गऱ्यो। उसको जीवन धेरै रमाइलो थियो। अब तिमोथीको कथा सुन्ने हो त?—

तिमोथीलाई आमा र हजुरआमाले यहोवाको कुरा सिकाए

तिमोथी लिस्त्रा भन्ने सहरमा हुर्कियो। सानो छँदादेखिनै तिमोथीकी आमा र हजुरआमाले उसलाई यहोवाको कुरा सिकाए। ठूलो हुँदै जाँदा तिमोथीले अरूलाई पनि यहोवाको कुरा भन्न थाल्यो।

पावलले तिमोथीलाई ‘टाढा प्रचार गर्न म सँगै हिंड न बाबु’ भन्यो। त्यतिखेर तिमोथी जवानै थियो। तिमोथीले पनि “हुन्छ नि, म जान्छु” भन्यो। तिमोथी टाढा-टाढा गएर अरूलाई मदत गर्न चाहन्थ्यो।

तिमोथी पावलसँगै थिस्सलोनिका भन्ने सहरमा गयो। त्यो सहर म्यासिडोनियामा पर्थ्यो। त्यहाँ पुग्न तिनीहरू धेरै दिन हिंडे र डुङ्गा पनि चढे। अन्तमा तिनीहरू थिस्सलोनिका पुगे। त्यहाँ पुगेपछि तिनीहरूले धेरै मानिसहरूलाई यहोवा परमेश्वरको कुरा सिकाए। तर त्यहाँका केही मानिसहरू पावल र तिमोथीसँग रिसाए र तिनीहरूलाई कुट्न खोजे। त्यसैले पावल र तिमोथी त्यहाँबाट अन्तै गएर प्रचार गर्न थाले।

तिमोथीको जीवन रमाइलो थियो

केही महिनापछि पावलले तिमोथीलाई भन्यो, ‘तिमोथी, थिस्सलोनिकामा फेरि जाऊ र त्यहाँ हाम्रा भाइबहिनीहरूको हालखबर बुझेर आऊ!’ पहिला मानिसहरूले कुट्न खोजेको त्यो सहरमा फेरि जाने? कत्ति डर लाग्छ नि, होइन र? तर तिमोथी थिस्सलोनिकामा भएका भाइबहिनीलाई धेरै माया गर्थ्यो। त्यसैले ऊ नडराईकन गयो। थिस्सलोनिकामा भएका भाइबहिनीहरूले धेरै राम्ररी यहोवाको सेवा गर्दै थिए। त्यहाँबाट फर्केर तिमोथीले पावललाई राम्रो खबर सुनायो।

तिमोथीले धेरै वर्षसम्म पावलसँगै काम गऱ्यो। तिमोथी यहोवालाई र मानिसहरूलाई पनि धेरै माया गर्थ्यो। त्यसैले ‘मण्डलीलाई मदत गर्न तिमोथीलाई पठाउँछु’ भनेर पावलले भन्यो।

तिमी पनि मान्छेहरूलाई माया गर्छौ? अनि यहोवाको कुरा सिकाउँछौ?— तिमीले अरूलाई माया गऱ्यौ र यहोवाको कुरा सिकायौ भने तिमोथीजस्तै तिमी पनि खुसी हुनेछौ र तिम्रो जीवन पनि रमाइलो हुनेछ।