सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग २४

पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌

पावल मण्डलीहरूलाई पत्र लेख्छन्‌

पावलका पत्रहरूले ख्रीष्टियान मण्डलीलाई बलियो बनाउँछ

यहोवाको उद्देश्‍यको पूर्तिमा भर्खरै स्थापना भएको ख्रीष्टियान मण्डलीको भूमिका महत्त्वपूर्ण हुने थियो। तर केही समय नबित्दै प्रथम शताब्दीका ख्रीष्टियानहरूमाथि सतावटको ओइरो लाग्यो। के तिनीहरूले मण्डली बाहिरकाहरूबाट आउने सतावट र मण्डली भित्रैकाहरूबाट चालै नपाउने गरि आउने अझै ठूलो खतराको सामना गर्नुपर्दा परमेश्‍वरप्रति सत्यनिष्ठा कायमै राख्ने थिए? ख्रीष्टियान युनानी धर्मशास्त्रमा आवश्‍यक सल्लाह र प्रोत्साहनले भरिएका २१ वटा पत्रहरू छन्‌।

यीमध्ये रोमीदेखि हिब्रूसम्मका चौध वटा पत्रहरू प्रेरित पावलले लेखे। यी पत्रहरू जसलाई लेखिएका थिए, तिनैका नाउँमा छन्‌—चाहे व्यक्‍तिलाई होस्‌ वा कुनै एउटा मण्डलीलाई। पावलका पत्रहरूमा समेटिएका केही विषय विचार गर्नुहोस्‌।

नैतिकता र आचरणसम्बन्धी अर्ती। व्यभिचार, पर-पुरुषगमन वा पर-स्त्रीगमन र अन्य गम्भीर पाप गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌।” (गलाती ५:१९-२१; १ कोरिन्थी ६:९-११) जुनसुकै राष्ट्रका भए तापनि परमेश्‍वरका उपासकहरू एकतामा रहनैपर्छ। (रोमी २:११; एफिसी ४:१-६) तिनीहरूले खाँचोमा परेका सँगी विश्‍वासीहरूलाई मदत गर्न आफूलाई खुसीसाथ सुम्पनुपर्छ। (२ कोरिन्थी ९:७) “निरन्तर प्रार्थना गरिरहो” भनी पावल भन्छन्‌। साँच्चै, परमेश्‍वरका उपासकहरूलाई प्रार्थनामा आफ्ना भित्री भावना पोखाउन प्रोत्साहन दिइएको छ। (१ थिस्सलोनिकी ५:१७; २ थिस्सलोनिकी ३:१; फिलिप्पी ४:६, ७) परमेश्‍वरले प्रार्थना सुन्‍ने हो भने विश्‍वाससाथ गरेको हुनैपर्छ।—हिब्रू ११:६.

पारिवारिक जीवन सफल बनाउन केले मदत गर्नेछ? पतिले पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। पत्नीले पतिको गहिरो आदर गर्नुपर्छ। छोराछोरीले आमाबाबुको आज्ञा पालन गर्नुपर्छ किनकि यसो गर्दा परमेश्‍वर खुसी हुनुहुन्छ। आमाबाबुले ईश्‍वरीय सिद्धान्त चलाउँदै छोराछोरीलाई मायालु तरिकामा डोऱ्‍याइ र प्रशिक्षण दिनुपर्छ।—एफिसी ५:२२–६:४; कलस्सी ३:१८-२१.

परमेश्‍वरको उद्देश्‍यमा ज्योति चम्कन्छ। मोशाको व्यवस्थाका थुप्रै पक्षले इस्राएलीहरूलाई ख्रीष्ट देखा नपरेसम्म सुरक्षा र डोऱ्‍याइ दियो। (गलाती ३:२४) तर परमेश्‍वरको उपासना गर्न ख्रीष्टियानहरूले त्यो व्यवस्था मान्‍नुपर्दैन। यहूदी पृष्ठभूमिका हिब्रू ख्रीष्टियानहरूलाई लेखेको पत्रमा पावलले व्यवस्थाको अर्थ र परमेश्‍वरको उद्देश्‍य कसरी ख्रीष्टमा पूरा हुन्छ भन्‍नेबारे अझै प्रकाश पारे। त्यस व्यवस्थाका विभिन्‍न पक्षहरूको भविष्यसूचक महत्त्व छ भनेर पावलले बताए। उदाहरणको लागि, पशु बलिले येशूको बलिदानरूपी मृत्युलाई पूर्वचित्रण गर्थ्यो। यसबाट साँचो अर्थमा पापको क्षमा पाइने थियो। (हिब्रू १०:१-४) येशूको मृत्युमार्फत परमेश्‍वरले व्यवस्थाको करार रद्द गर्नुभयो। किनभने अब यसको आवश्‍यकता थिएन।—कलस्सी २:१३-१७; हिब्रू ८:१३.

मण्डलीको उचित व्यवस्थापनबारे निर्देशन। मण्डलीमा जिम्मेवारी सँभाल्न इच्छुक पुरुषहरूको नैतिक स्तर उच्च हुनैपर्छ र तिनीहरूले आध्यात्मिक योग्यताहरू पूरा गरेको हुनैपर्छ। (१ तिमोथी ३:१-१०, १२, १३; तीतस १:५-९) यहोवा परमेश्‍वरका उपासकहरू एक-अर्कालाई प्रोत्साहन दिन अरू ख्रीष्टियानहरूसँगै नियमित रूपमा भेला हुनुपर्छ। (हिब्रू १०:२४, २५) उपासनाका लागि हुने सभाहरू उत्थानदायी र शिक्षामूलक हुनुपर्छ।—१ कोरिन्थी १४:२६, ३१.

तिमोथीलाई दोस्रो पत्र लेख्दा पावल रोम फर्किसकेका थिए; फैसलाको पर्खाइमा कैदी जीवन बिताइरहेका थिए। केही साहसी व्यक्‍तिहरू मात्र तिनलाई भेट्‌न आए। पावललाई अब तिनीसित धेरै समय छैन भनेर थाह थियो। तिनले यसो भने: “मैले उत्तम लडन्त लडेको छु, मैले दौड सिध्याएको छु, विश्‍वासलाई बचाइराखेको छु।” (२ तिमोथी ४:७) सायद त्यसको केही समयपछि पावल आफ्नो विश्‍वासको खातिर मारिए। तर यी प्रेरितका पत्रहरूले आज हाम्रो समयसम्मै परमेश्‍वरका साँचो उपासकहरूलाई डोऱ्‍याइ दिन्छ।

रोमी; १ कोरिन्थी; २ कोरिन्थी; गलाती; एफिसी; फिलिप्पी; कलस्सी; १ थिस्सलोनिकी; २ थिस्सलोनिकी; १ तमोथी; २ तिमोथी; तीतस; फिलेमोन; हिब्रूमा आधारित।