अध्याय ५५
येसुको कुरा सुनेर धेरै जना स्तब्ध हुन्छन्
-
उहाँको शरीर खाने र उहाँको रगत पिउने
-
धेरै जनाले ठेस खान्छन् र उहाँको पछि लाग्न छोड्छन्
कफर्नहुमको एउटा सभाघरमा आफू स्वर्गबाट ओर्लेर आएको साँचो रोटी हुँ भनेर येसु सिकाउँदै हुनुहुन्छ। गालिल समुद्रको पूर्वपट्टि रोटी र माछा खाएर फर्केका मानिसहरूसित पनि उहाँले यस विषयमा कुरा गर्नुभएको थियो र अहिले पनि उहाँ यसै विषयमा कुरा अघि बढाउँदै हुनुहुन्छ।
येसु थप यसो भन्नुहुन्छ: “तिमीहरूका पुर्खाहरूले निर्जनभूमिमा मन्न खाए; तैपनि तिनीहरू मरे।” उहाँ आफ्नो विषयमा चाहिँ यसो भन्नुहुन्छ: “स्वर्गबाट ओर्लेर आएको म, जीवन दिने रोटी हुँ। यदि कसैले यो रोटी खान्छ भने ऊ सधैँभरि बाँच्नेछ र मैले दिन लागेको रोटी वास्तवमा मेरो शरीर हो अनि संसारले जीवन पाओस् भनेर म त्यो दिनेछु।”—युहन्ना ६:४८-५१.
इस्वी संवत् ३० को वसन्त ऋतुमा येसुले निकोदेमसलाई परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो छोरालाई उद्धारकको रूपमा दिनुभयो भन्नुभएको थियो। येसु अब उहाँले चढाउनुहुने बलिदानमा विश्वास गरेर उहाँको शरीर खानुपर्ने कुरालाई जोड दिनुहुन्छ। अनन्त जीवन पाउने तरिका यही हो।
तर मानिसहरू येसुले भन्नुभएको कुरासित सहमत हुँदैनन्। तिनीहरू सोध्छन्: “यो मानिसले कसरी हामीलाई आफ्नो शरीर खान दिन सक्छ?” (युहन्ना ६:५२) मानिसहरूले यो कुरा शाब्दिक अर्थमा होइन, प्रतीकात्मक अर्थमा बुझेको उहाँ चाहनुहुन्छ। उहाँले त्यसपछि भन्नुभएको कुराबाट यो स्पष्ट हुन्छ।
“मानिसको छोराको शरीर नखाएसम्म र उसको रगत नपिएसम्म तिमीहरूले जीवन पाउनेछैनौ। जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, उसले अनन्त जीवन पाउँछ . . . किनकि मेरो शरीर साँच्चैको खानेकुरा र मेरो रगत साँच्चैको पिउनेकुरा हो। जसले मेरो शरीर खान्छ र मेरो रगत पिउँछ, ऊ मसित एकतामा रहन्छ।”—युहन्ना ६:५३-५६.
यहुदी श्रोताहरूलाई उहाँले भन्नुभएको कुरा कत्ति घिनलाग्दो लाग्छ होला, कल्पना गर्नुहोस् त! सायद तिनीहरूलाई येसुले नरभक्षी हुन वा परमेश्वरले रगत नखानू भनेर दिनुभएको व्यवस्थाविपरीत चल्न प्रोत्साहन दिइरहनुभएको जस्तो लागेको हुनुपर्छ। (उत्पत्ति ९:४; लेवी १७:१०, ११) तर येसुले साँच्चैको शरीर खाने वा रगत पिउने विषयमा कुरा गरिरहनुभएको होइन। बरु उहाँ अनन्त जीवन पाउन चाहने सबैले उहाँले चढाउनुहुने त्रुटिरहित मानव शरीर र उहाँले बगाउनुहुने रगतमा विश्वास गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै हुनुहुन्छ। तैपनि उहाँका थुप्रै चेलाले समेत उहाँले भन्न खोज्नुभएको कुरा बुझ्दैनन्। कोही-कोही यसो भन्छन्: “यो कुरा असाध्यै घिनलाग्दो छ; कसले यो सुन्न सक्छ र?”—युहन्ना ६:६०.
कोही-कोही चेलाहरू गनगनाउँदै छन् भन्ने चाल पाएर येसु तिनीहरूलाई सोध्नुहुन्छ: “के यो कुराले तिमीहरूलाई ठेस पुऱ्यायो? त्यसो हो भने तिमीहरूले मानिसको छोरालाई पहिला ऊ जहाँ थियो, त्यतै उक्लँदै गरेको देख्यौ भने झनै के होला? . . . मैले तिमीहरूलाई पवित्र शक्तिद्वारा यो कुरा भनेको हुँ र यसले जीवन दिन्छ। तर तिमीहरूमध्ये कोही-कोही यस्ता छौ, जसले विश्वास गर्दैनौ।” येसुको यो कुरा सुनेर उहाँका चेलाहरूमध्ये धेरै जना उहाँको पछि लाग्न छोड्छन्।—युहन्ना ६:६१-६४.
त्यसैले येसु आफ्ना १२ प्रेषितलाई यस्तो प्रश्न सोध्नुहुन्छ: “तिमीहरू त जान चाहँदैनौ नि, होइन र?” पत्रुस उहाँलाई जवाफ दिन्छन्: “प्रभु, हामी कसकहाँ जाऔँ? अनन्त जीवनका वचनहरू त तपाईँसित छन्। परमेश्वरका पवित्र जन तपाईँ नै हुनुहुन्छ भनेर हामीले विश्वास गरेका र थाह पाएका छौँ।” (युहन्ना ६:६७-६९) पत्रुस र अरू प्रेषितले येसुले सिकाइरहनुभएको यो कुरा अझै पनि राम्रोसँग बुझिसकेका छैनन्। तैपनि तिनीहरू येसुप्रति वफादार छन्।
पत्रुसको कुरा सुनेर येसु खुसी हुनुभए तापनि उहाँ यसो भन्नुहुन्छ: “तिमीहरू १२ जनालाई मैले नै छानेको थिएँ, होइन र? तर तिमीहरूमध्ये एक जना निन्दक हौ।” (युहन्ना ६:७०) येसु यहुदा इस्करियोतबारे कुरा गर्दै हुनुहुन्छ। यहुदा गलत बाटोमा लाग्न थालेको कुरा येसुले सायद यसै समयदेखि याद गर्नुहुन्छ।
तर पत्रुस र अरू प्रेषितहरू उहाँको पछि लाग्न नछोडेको र उहाँले जस्तै मानिसहरूको जीवन बचाउने काममा भाग लिइरहेको देख्दा येसु पक्कै पनि सन्तुष्ट हुनुहुन्छ।