गन्ती ३०:१-१६

  • पुरुषहरूको भाकल (१, २)

  • स्त्रीहरू र छोरीहरूको भाकल (३-१६)

३०  त्यसपछि मोसाले इस्राएलका कुलहरूका नाइकेहरूलाई यसो भने:+ “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ: २  यदि कुनै मानिसले यहोवा परमेश्‍वरसित कुनै भाकल गऱ्‍यो+ अथवा शपथ खाएर+ कुनै कुरा त्याग गर्ने भाकल गऱ्‍यो भने उसले आफ्नो वचन पूरा गरोस्‌।+ उसले जसरी भए पनि आफ्नो भाकल पूरा गर्नै पर्छ।+ ३  “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान केटीले यहोवा परमेश्‍वरसित कुनै भाकल गरी अथवा शपथ खाएर कुनै कुरा त्याग गर्ने भाकल गरी ४  अनि उसको बुबाले उसले गरेको भाकलबारे थाह पायो र उसलाई कुनै रोकटोक गरेन भने उसले आफ्नो भाकल पूरा गर्नुपर्छ। उसले जे-जस्तो भाकल गरेको हो, त्यो सब जसरी भए पनि पूरा गर्नै पर्छ। ५  तर उसले गरेको भाकलबारे थाह पाएपछि बुबाले रोकटोक गऱ्‍यो भने उसले त्यो भाकल पूरा गर्नुपर्दैन। उसको बुबाले रोक लगाएकोले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ।+ ६  “यदि उसले परमेश्‍वरसित भाकल गरिसकेपछि वा सोचविचारै नगरी कुनै कुरा त्याग गर्ने वाचा गरिसकेपछि विवाह गरी ७  अनि उसको पतिले उसले गरेको भाकलबारे थाह पायो र थाह पाएको दिन कुनै रोकटोक गरेन भने उसले जे-जस्तो भाकल गरेको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्छ। ८  तर उसले गरेको भाकल वा सोचविचारै नगरी गरेको वाचा पतिलाई स्वीकार्य छैन भने जुन दिन पतिले त्यस भाकलबारे थाह पाउँछ, त्यसै दिन पतिले त्यो रद्द गर्न सक्छ।+ पतिले त्यो भाकल रद्द गरिदिएको हुनाले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ। ९  “तर यदि कुनै विधवा वा सम्बन्धविच्छेद भएकी स्त्रीले भाकल गरी भने उसले आफूले गरेको सबै भाकल जसरी भए पनि पूरा गर्नै पर्छ। १०  “पतिसित बसिरहेकी स्त्रीले यहोवा परमेश्‍वरसित कुनै भाकल गरी अथवा शपथ खाएर कुनै कुरा त्याग गर्ने भाकल गरी ११  अनि उसको पतिले उसले गरेको भाकलबारे थाह पायो र कुनै रोकटोक गरेन भने उसले आफ्नो भाकल पूरा गर्नुपर्छ। उसले जे-जस्तो भाकल गरेको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्छ। १२  तर उसले गरेको भाकलबारे थाह पाएको दिन पतिले उसको भाकल रद्द गऱ्‍यो भने उसले त्यो भाकल पूरा गर्नुपर्दैन।+ पतिले उसको भाकल रद्द गरेकोले यहोवा परमेश्‍वरले उसलाई क्षमा दिनुहुनेछ। १३  कुनै स्त्रीले परमेश्‍वरसित गरेको भाकललाई अथवा शपथ खाएर कुनै कुरा त्याग गर्छु भनेर गरेको भाकललाई कायम राख्ने वा रद्द गर्ने अधिकार उसको पतिसित हुनेछ। १४  तर यदि पतिले आफ्नी पत्नीको भाकलबारे थाह पाइसकेपछि पनि लामो समयसम्म केही रोकटोक गरेन भने पतिले त्यस भाकललाई कायमै राखिरहेको हुन्छ। उसले परमेश्‍वरसित गरेको भाकलबारे वा कुनै कुरा त्याग गर्छु भनेर गरेको भाकलबारे जुन दिन उसको पतिले थाह पाउँछ, त्यस दिन उसको पतिले केही रोकटोक नगरेको हुनाले ती सबै भाकल कायमै रहनेछ। १५  तर भाकलबारे थाह पाएको केही दिनपछि उसको पतिले उसको भाकल रद्द गरेमा त्यस स्त्रीको गल्तीको सजाय उसको पतिले भोग्नेछ।+ १६  “पतिपत्नीको विषयमा अनि बुबा र बुबाको घरमा बसिरहेकी उसकी जवान छोरीको विषयमा यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञा यही हो।”

फुटनोटहरू