न्यायकर्ता १०:१-१८

  • न्यायकर्ता तोला र याइर (१-५)

  • इस्राएलीहरू विद्रोह गर्छन्‌ र पश्‍चात्ताप गर्छन्‌ (६-१६)

  • अम्मोनीहरू इस्राएलीहरूलाई धम्क्याउँछन्‌ (१७, १८)

१०  अबिमेलेकपछि इस्राएलीहरूको उद्धार गर्न न्यायकर्ताको रूपमा तोला खडा भए। तिनी इस्साकारको कुलको दोदोका नाति, पुआका छोरा थिए।+ तिनी एप्रैमको पहाडी इलाकाको सामिरमा बस्थे। २  तिनी २३ वर्षसम्म इस्राएलीहरूको न्यायकर्ता भए। त्यसपछि तिनी मरे र तिनलाई सामिरमा गाडियो। ३  तोलापछि गिलादी याइर न्यायकर्ता बने। तिनी २२ वर्षसम्म इस्राएलीहरूको न्यायकर्ता भए। ४  तिनका ३० जना छोरा थिए र घुमफिर गर्नको लागि तिनीहरूसित ३० वटा गधा थिए। गिलादको इलाकामा तिनीहरूका ३० वटा सहर थिए, जसलाई अहिलेसम्म हव्वोथ-याइर+ भनिन्छ। ५  त्यसपछि याइर मरे र तिनलाई कमोनमा गाडियो। ६  इस्राएलीहरूले फेरि यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे।+ तिनीहरूले बाआल देवताहरू,+ अस्तोरेथ देवीका मूर्तिहरू अनि अराम,* सिदोन र मोआबका देवताहरूका+ साथै अम्मोनी+ र पलिस्तियालीहरूका+ देवताहरूलाई पुज्न थाले। तिनीहरूले यहोवा परमेश्‍वरलाई त्यागे र उहाँको उपासना गर्न छोडे। ७  तब यहोवा परमेश्‍वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँले तिनीहरूलाई पलिस्तियाली र अम्मोनीहरूको हातमा सुम्पिदिनुभयो।*+ ८  त्यसैले त्यस वर्षदेखि पलिस्तियाली र अम्मोनीहरूले यर्दनको पूर्वपट्टि गिलादमा बसोबास गर्ने सबै इस्राएलीलाई १८ वर्षसम्म एकदमै थिचोमिचो र अत्याचार गरे। त्यो पहिले एमोरीहरूको इलाका थियो। ९  अनि अम्मोनीहरू यर्दन नदी तरेर यहुदा, बिन्यामिन र एप्रैमको कुलका मानिसहरूसित पनि युद्ध गर्न आउँथे। त्यसैले इस्राएलीहरू साह्रै सङ्‌कटमा परे। १०  त्यसपछि इस्राएलीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई यसो भन्दै पुकारे:+ “हामीले तपाईँविरुद्ध पाप गरेका छौँ किनभने हामीले तपाईँलाई त्याग्यौँ र बाआल देवताहरूलाई पुज्यौँ।”+ ११  तर यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो: “के मैले तिमीहरूलाई मिश्रबाट* छुटाएर ल्याइनँ र?+ अनि एमोरी,+ अम्मोनी, पलिस्तियाली,+ १२  सिदोनी, अमालेकी र मिद्यानीहरूले तिमीहरूलाई थिचोमिचो गर्दा के मैले बचाइनँ र? त्यतिबेला तिमीहरूले मलाई पुकाऱ्‍यौ र मैले तिमीहरूलाई तिनीहरूको हातबाट छुटाएँ। १३  तैपनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ।+ त्यसैले अब म फेरि तिमीहरूलाई बचाउनेछैनँ।+ १४  तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्‌कटबाट बचाऊन्‌।”+ १५  तर इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई भने: “हामीले पाप गरेका छौँ। हामीलाई जे गर्न तपाईँलाई ठीक लाग्छ, त्यही गर्नुहोस्‌। तर बिन्ती छ, आज हामीलाई बचाउनुहोस्‌।” १६  त्यसपछि तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्‍वरको उपासना गर्न थाले।+ त्यसपछि उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।+ १७  केही समयपछि अम्मोनीहरू+ युद्धको लागि भेला भए र तिनीहरूले गिलादमा छाउनी हाले। त्यसैले इस्राएलीहरू पनि एक ठाउँमा भेला भए र तिनीहरूले मिस्पामा छाउनी हाले। १८  गिलादका मानिसहरू र नाइकेहरूले आपसमा यसो भन्‍न थाले: “अम्मोनीहरूसित लडाइँ गर्न कसले हाम्रो नेतृत्व लिन्छ?+ जसले नेतृत्व लिन्छ, ऊ नै गिलादका सारा मानिसहरूको नाइके बनोस्‌।”

फुटनोटहरू

वा “सिरिया।”
शा., “बेचिदिनुभयो।”
वा “इजिप्टबाट।”