भजनसङ्‌ग्रह १४४:१-१५

  • विजयको लागि प्रार्थना

    • ‘मरणशील मानिस के हो र?’ ()

    • “शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌” ()

    • यहोवाका मानिसहरू आनन्दित हुन्‌ (१५)

दाउदको रचना। १४४  यहोवाको प्रशंसा होस्‌, जो मेरो चट्टान हुनुहुन्छ,+जसले मेरा हातहरूलाई युद्धकला सिकाउनुहुन्छ,जसले मेरा औँलाहरूलाई लडाइँको लागि तालिम दिनुहुन्छ।+  २  उहाँ मलाई अटल प्रेम देखाउनुहुन्छ, उहाँ मेरो किल्ला हुनुहुन्छ,मेरो शरणस्थान* र मेरो उद्धारक,मेरो ढाल र मेरो परमेश्‍वर, जसमा मैले शरण लिएको छु,+जसले जातिजातिलाई मेरो अधीनमा राखिदिनुहुन्छ।+  ३  हे यहोवा, मानिस के हो र, जसको विषयमा तपाईँ सोच्नुहुन्छ?मरणशील मानिस के हो र, जसमा तपाईँ ध्यान दिनुहुन्छ?+  ४  मानिस त केवल सास हो,+त्यसका दिनहरू ढल्किएर जाने छायाजस्तै हुन्छ।+  ५  हे यहोवा, आकाशलाई झुकाएर तल ओर्लनुहोस्‌;+पहाडहरूलाई छुनुहोस्‌ र त्यसबाट धुवाँ उठोस्‌।+  ६  बिजुली चम्काएर शत्रुहरूलाई तितरबितर पारिदिनुहोस्‌;+तपाईँको काँड हानेर तिनीहरूलाई अलमलमा पारिदिनुहोस्‌।+  ७  स्वर्गबाट आफ्नो हात लम्काउनुहोस्‌;उर्लँदो बाढीबाट मेरो उद्धार गर्नुहोस्‌,विदेशीहरूको हातबाट* मलाई जोगाउनुहोस्‌,+  ८  जसका मुखले झूट बोल्छन्‌अनि जसले झूटो शपथ खान आफ्नो दाहिने हात उठाउँछन्‌।*  ९  हे परमेश्‍वर, म तपाईँको निम्ति नयाँ गीत गाउनेछु।+दस तारे बाजाको साथमा म तपाईँको निम्ति स्तुति गाउनेछु* १०  किनकि तपाईँ राजाहरूलाई विजयी तुल्याउनुहुन्छ,*+आफ्नो सेवक दाउदलाई तरबारको आक्रमणबाट जोगाउनुहुन्छ।+ ११  विदेशीहरूको हातबाट मेरो उद्धार गर्नुहोस्‌ र मलाई जोगाउनुहोस्‌,जसका मुखले झूट बोल्छन्‌अनि जसले झूटो शपथ खान आफ्नो दाहिने हात उठाउँछन्‌। १२  तब हाम्रा छोराहरू छिट्टै मौलाउने बिरुवाजस्तै हुनेछन्‌अनि हाम्रा छोरीहरू दरबारका कुनाहरू सजाउने बुट्टेदार खम्बाजस्तै हुनेछन्‌। १३  हाम्रा भण्डारहरू थरिथरिका अन्‍नले भरिभराउ हुनेछन्‌;मैदानमा भएका हाम्रा बगाल हजारौँ गुणा बढ्‌नेछन्‌, लाखौँ गुणा बढ्‌नेछन्‌। १४  हाम्रा ब्याउन लागेका गाईहरूमाथि कुनै नराम्रो कुरा आइपर्नेछैन न त तिनीहरूको गर्भ नै तुहिनेछ;हाम्रा चोकहरूमा दुःखको रोदन पटक्कै सुनिनेछैन। १५  आनन्दित हुन्‌ ती मानिसहरू, जसको अवस्था यस्तो हुन्छ!आनन्दित हुन्‌ ती मानिसहरू, जसका परमेश्‍वर यहोवा हुनुहुन्छ!+

फुटनोटहरू

वा “अग्लो किल्ला।”
वा “पन्जाबाट।”
शा., “तिनीहरूको दाहिने हात झूटको दाहिने हात हो।”
वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”
वा “उद्धार गर्नुहुन्छ।”