मत्तिका अनुसार १७:१-२७
१७ छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+
२ तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+
३ अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए।
४ तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।”
५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+
६ यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए।
७ तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्नुभयो: “नडराओ, उठ।”
८ तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्।
९ अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्नू।”+
१० तर चेलाहरूले उहाँलाई प्रश्न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन् त?”+
११ उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन् र सबै कुरा पुनर्स्थापना गर्नेछन्।+
१२ तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्। तैपनि तिनीहरूले उनलाई चिन्न सकेनन् र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+
१३ तब चेलाहरूले उहाँले बप्तिस्मा गराउने युहन्नाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर बुझे।
१४ जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्न थाल्यो:
१५ “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस् किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्छ।+
१६ मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्।”
१७ तब येसुले भन्नुभयो: “ए अविश्वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”
१८ अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+
१९ त्यसपछि चेलाहरू सुटुक्क येसुकहाँ आएर सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?”
२० उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूसित विश्वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+
२१ *—
२२ गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+
२३ र तिनीहरूले उसलाई मार्नेछन् अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए।
२४ उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्न?”+
२५ तिनले भने: “तिर्नुहुन्छ।” तर जब तिनी घरभित्र पसे, तब तिनले केही भन्नुअघि येसुले तिनलाई सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि पराईबाट?”
२६ तिनले भने, “पराईबाट।” तब येसुले तिनलाई भन्नुभयो: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ।
२७ तर हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्।+ त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का* भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”
फुटनोटहरू
^ वा “सेतो।”
^ वा “दुष्ट स्वर्गदूतलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
^ वा “कमजोर।”
^ अतिरिक्त लेख क३ हेर्नुहोस्।
^ शा., “दुई ड्राक्माको सिक्का।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ शा., “स्टेटर सिक्का,” जुन टेट्राड्राक्माबराबर हुन्छ भन्ने मान्यता थियो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।