हितोपदेश १९:१-२९

  • अन्तर्दृष्टिले रिसलाई काबूमा राख्छ (११)

  • झगडालु पत्नी तपतप चुहिरहने छानाजस्तै हो (१३)

  • बुद्धिमान्‌ पत्नी यहोवाको वरदान हो (१४)

  • छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ (१८)

  • सल्लाह सुन्‍नु बुद्धिमानी हो (२०)

१९  मूर्ख र झूट बोल्ने मानिस हुनुभन्दा गरिब तर इमानदार* हुनु बेस हो।+  २  अज्ञानी हुनु राम्रो होइन+ अनि हतार गर्नेले गल्ती गर्छ।  ३  आफ्नै मूर्खताले गर्दा मानिसले गलत कदम चाल्छ अनि उल्टै यहोवासित रिसाउँछ।  ४  धनी मानिसका साथीहरू धेरै हुन्छन्‌ तर गरिबलाई उसको एक मात्र साथीले समेत छोडेर हिँड्‌छ।+  ५  झूटो साक्षीले अवश्‍य सजाय पाउनेछ+ अनि कुरैपिच्छे* झूट बोल्ने मानिस उम्कनेछैन।+  ६  ठूलाबडाको* निगाह सबैले खोज्छन्‌ अनि उपहार दिने मानिसलाई सबैले साथी बनाउन चाहन्छन्‌।  ७  गरिबलाई उसका सबै दाजुभाइले हेला गर्छन्‌,+ उसका साथीहरूले त झनै घिन गर्छन्‌!+ तिनीहरूको पछिपछि लाग्दै बिन्तीभाउ गरे पनि कसैले उसको कुरा सुन्दैन।  ८  समझ प्राप्त गर्ने मानिसले आफूलाई प्रेम गर्छ।+ समझशक्‍ति देखाउने मानिसले सफलता पाउँछ।+  ९  झूटो साक्षीले अवश्‍य सजाय पाउनेछ अनि कुरैपिच्छे झूट बोल्ने मानिस नाश हुनेछ।+ १०  मूर्खले विलासी जीवन बिताएको सुहाउँदैन; नोकरले मालिकहरूमाथि हैकम जमाएको झन्‌ पटक्कै सुहाउँदैन!+ ११  अन्तर्दृष्टि* भएको मानिसले रिसलाई काबूमा राख्छ+ अनि दोषको* वास्ता नगरेर उसले आफ्नो इज्जत बढाउँछ।+ १२  राजाको क्रोध सिंहको गर्जनजस्तै हो+ तर तिनको कृपा घाँसलाई भिजाउने शीतजस्तै हो। १३  मूर्ख छोराले आफ्नो बुबामाथि सङ्‌कट ल्याउँछ+ अनि झगडालु* पत्नीचाहिँ तपतप चुहिरहने छानाजस्तै हो।+ १४  घर र धनसम्पत्ति पुर्खाबाट पाउने कुरा हो तर बुद्धिमान्‌ पत्नीचाहिँ यहोवाको वरदान हो।+ १५  अल्छी मानिसलाई धेरै निद्रा लाग्छ अनि लोसे मानिस भोकै पर्छ।+ १६  आज्ञा पालन गर्दा ज्यान जोगिन्छ;+ लापर्बाही गर्दा ज्यान जान्छ।+ १७  गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो;+ त्यसको इनाम उहाँले दिनुहुन्छ।+ १८  छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+ तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+ १९  झट्टै रिसाउने मानिसले सजाय पाउनेछ; उसलाई एक चोटि बचायौ भने घरीघरी बचाइरहनुपर्नेछ।+ २०  सल्लाह सुन र अनुशासन स्विकार;+ तब तिमी बुद्धिमान्‌ हुनेछौ।+ २१  मानिसले मनमा थुप्रै योजना बुन्छ तर उद्देश्‍य भने सधैँ यहोवाकै पूरा हुन्छ।+ २२  दया* मानिसको असल गुण हो+ अनि फटाहा हुनुभन्दा गरिब हुनु बेस हो। २३  यहोवाको डर मान्‍नेले जीवन पाउँछ;+ जो उहाँसित डराउँछ, उसलाई मीठो निद्रा लाग्छ र उसलाई कुनै हानि हुँदैन।+ २४  अल्छीले थालमा आफ्नो हात हाल्छ तर त्यसलाई मुखसम्म लैजान पनि मन गर्दैन।+ २५  खिल्ली उडाउनेलाई हिर्काऊ,+ यो देखेर सोझो मानिस चनाखो हुनेछ+ अनि समझदार व्यक्‍तिलाई हप्काऊ, तब ऊ अझ ज्ञानी हुनेछ।+ २६  बुबालाई दुर्व्यवहार गर्ने र आमालाई घरबाट निकाल्ने छोराले लाज र बदनामी ल्याउँछ।+ २७  हे मेरो छोरा, अर्ती* सुन्‍न छोड्‌यौ भने तिमी ज्ञानको बाटोदेखि तर्किनेछौ। २८  निकम्मा साक्षीले न्यायको खिसी गर्छ+ अनि दुष्ट मानिस खराब कुरामा रमाउँछ।+ २९  खिल्ली उडाउने मानिसको भागमा सजाय पर्छ+ अनि मूर्खको पिठिउँमा लट्ठी बजारिन्छ।+

फुटनोटहरू

वा “निष्ठावान्‌।”
शा., “सासैपिच्छे।”
वा “उदार मानिसको।”
वा “आन्तरिक चेतना।”
वा “गल्तीको।”
वा “कचकचे।”
वा “अटल प्रेम।”
शा., “अनुशासन।”