के धर्म पैसा कमाउने माध्यम हो?
आजभोलि धेरै धर्मले आफ्ना अनुयायीहरूलाई ईश्वरलाई चिन्न मदत गर्दैनन्। बरु यो पैसा कमाउने भाँडो भइरहेको छ। तिनीहरू आफूले दिने सेवाहरू र सरसामानको विज्ञापन गर्छन् र ती बेच्छन्। थुप्रै धर्मगुरुले धेरै तलब लिन्छन् र सुविधासम्पन्न जीवन बिताउँछन्। यसका केही उदाहरण हेरौँ:
एउटा रिपोर्टअनुसार क्याथोलिक चर्चका एक पादरीले चर्चको कोष प्रयोग गरेर थुप्रै चोटि यात्रा गरे। तिनले १३ वर्षको अवधिमा झन्डै १५० चोटि हवाईजहाज र झन्डै २०० चोटि विलासी गाडीहरू भाडामा लिए। तिनले चर्चले नै दिएको आफ्नो आवास मर्मतसम्भार गर्न ४० लाखभन्दा धेरै अमेरिकी डलर (करिब ५३ करोड नेपाली रुपैयाँ) खर्च गरे।
अफ्रिकी मुलुकका एक प्रचारकले नियमित रूपमा धार्मिक कार्यक्रमहरू आयोजना गर्छन् र त्यस्ता कार्यक्रमहरूमा हजारौँ भक्तालु आउँछन्। तिनको चर्चमा अनेक किसिमका सरसामान बेचिन्छ, जस्तै: “चमत्कारी तेल” अनि तिनको फोटो भएको तौलिया र टि-सर्टहरू। त्यहाँ आउने धेरैजसो भक्तालु गरिब छन् तर तिनी भने निकै धनी छन्।
चीनको चार वटा प्रख्यात बौद्ध विहारमध्ये दुई वटा सार्वजनिक कम्पनीको रूपमा दर्ता भएका छन्। त्यहाँको प्रख्यात साओलिन मन्दिर थुप्रै व्यापार-व्यवसायमा संलग्न छ। यसका प्रमुख धर्मगुरु “सिईओ भिक्षु” भनेर पनि चिनिन्छन्।
अमेरिकामा ठूलठूला कम्पनीहरूले धार्मिक सल्लाहकारहरू राख्न थालेका छन्। एउटा रिपोर्टअनुसार त्यस्ता सल्लाहकारहरूले कम्पनीको लागि नयाँ धार्मिक चलनहरू सुरु गर्छन्। साथै त्यहाँ काम गर्नेहरूलाई धार्मिक मामिलाहरूमा सल्लाह-सुझाव पनि दिन्छन्।
के तपाईँलाई धर्म व्यापार-व्यवसायमा संलग्न हुनु सही हो जस्तो लाग्छ? मानिसहरूले धर्मलाई पैसा कमाउने भाँडो बनाइरहेको देख्दा ईश्वरलाई कस्तो लाग्छ होला?
धर्मलाई व्यापार बनाएको देख्दा ईश्वरलाई कस्तो लाग्छ?
धर्मलाई व्यापार बनाउनु ईश्वरको लागि स्वीकार्य छैन। बाइबलकालीन समयमा उहाँको उपासना गरेको दाबी गर्ने पुजारीहरूले मानिसहरूलाई “दाम लिएर” सिकाएको देख्दा ईश्वर धेरै दुःखी हुनुभयो। (मिका ३:११) लोभी व्यापारीहरूले उहाँको उपासना गर्ने भवनलाई “डाँकुहरूको ओडार” बनाएको देख्दा उहाँ धेरै क्रोधित हुनुभयो।—यर्मिया ७:११.
परमेश्वरका छोरा येसु पनि धर्मबाट आर्थिक लाभ उठाउन खोज्ने मानिसहरू देखेर रिसाउनुभयो। उहाँको समयमा धर्मगुरुहरूले यरुसलेमको मन्दिरमा लोभी व्यापारीहरूलाई व्यापार गर्न अनुमति दिएका थिए र तिनीहरू ती व्यापारीहरूबाट पैसा उठाउँथे। अनि ती व्यापारीहरूले मन्दिरमा उपासना गर्न आएका सोझासाझा मानिसहरूलाई ठग्थे। येसुले साहसी भई त्यस्ता लोभी व्यापारीहरूलाई मन्दिर परिसरबाट लघार्दै यसो भन्नुभयो: “मेरो बुबाको घरलाई व्यापारको थलो बनाउन छोड!”—युहन्ना २:१४-१६.
येसुले पृथ्वीमा हुनुहुँदा सधैँ बुबाको सोचाइ झल्काउनुभयो। (युहन्ना ८:२८, २९) उहाँले मानिसहरूलाई सिकाउनुभयो, भोकाहरूलाई खुवाउनुभयो, बिरामीहरूलाई निको पार्नुभयो र मरिसकेकाहरूलाई फेरि ब्युँताउनुभयो। तर यी सब गरेबापत उहाँले कहिल्यै पैसा लिनुभएन। उहाँले सेवाको कामलाई पैसा कमाउने भाँडो बनाउनुभएन; उहाँको आफ्नै घरसमेत थिएन।—लुका ९:५८.
सुरु-सुरुका ख्रिष्टियनहरूले धर्मलाई व्यापार बनाएनन्
येसुले आफ्ना अनुयायीहरूलाई सेवाको कामबाट आर्थिक लाभ उठाउन नखोज्नू भन्नुभयो। उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।” (मत्ति १०:८) पछि ख्रिष्टियन भनेर चिनिएका ती सुरु-सुरुका अनुयायीहरूले येसुको यो आज्ञा पालन गरे। केही उदाहरण विचार गरौँ।
एकचोटि सिमोन नाम गरेका व्यक्तिले येसुका चेला पत्रुसलाई तिनीसित भएको जस्तै अख्तियार दिन भने। त्यस्तो अख्तियार पाउन सिमोनले पैसा समेत दिन खोजे। तर पत्रुसले सिमोनको त्यो प्रस्ताव ठाडै इन्कार गरे र उनलाई यसो भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस् किनकि तिमीले परमेश्वरले सित्तैँमा दिनुहुने वरदान पैसा तिरेर किन्न सकिन्छ भन्ठान्यौ।”—प्रेषित ८:१८-२०.
येसुका अर्का एक चेला पावलले मानिसहरूलाई सुसमाचार सुनाउन धेरै यात्रा गरे। तिनले धेरै वर्षसम्म सङ्गी उपासकहरूको लागि कडा मेहनत गरे तापनि तिनीहरूबाट कहिल्यै आर्थिक लाभ खोजेनन्। तिनी र तिनीसँगै सेवा गर्ने ख्रिष्टियनहरू “अरू थुप्रै मानिसजस्तो . . . परमेश्वरको वचनका व्यापारी” थिएनन्। (२ कोरिन्थी २:१७) बरु पावलले यस्तो लेखे: “तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौँ भनेर दिनरात काम गर्दै हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गऱ्यौँ।”—१ थिस्सलोनिकी २:९.
पक्कै पनि ती सुरु-सुरुका ख्रिष्टियनहरूलाई ठाउँ-ठाउँमा गएर सुसमाचार सुनाउन र दानपुण्यका कामहरू गर्न पैसा चाहिन्थ्यो। तर तिनीहरूले आफ्नो सेवाको कामको लागि मानिसहरूबाट कहिल्यै पैसा लिएनन्। मानिसहरूले निम्न सिद्धान्तको आधारमा स्वेच्छाले अनुदान दिए:
२ कोरिन्थी ८:१२: “किनकि यदि दिने तत्परता छ भने त्यो नै ग्रहणयोग्य हुन्छ, मानिसले आफूसित जे छ, त्यही दिएको आशा गरिन्छ, नभएको कुरा होइन।”
अर्थ: कुनै मानिसले कति अनुदान दिन्छन् भन्ने कुरा महत्त्वपूर्ण छैन बरु तिनले कुन मनसायले दिन्छन्, त्यो अझ महत्त्वपूर्ण छ।
२ कोरिन्थी ९:७: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्वर प्रेम गर्नुहुन्छ।”
अर्थ: ईश्वर कसैलाई पनि अनुदान दिन कर गर्नुहुन्न बरु कुनै व्यक्तिले स्वेच्छाले दिँदा उहाँ खुसी हुनुहुन्छ।
अब चाँडै लोभमा फसेका धर्महरूलाई के हुनेछ?
ईश्वरको लागि सबै धर्म र सबै उपासनाशैली स्वीकार्य छैन भनेर बाइबलमा स्पष्ट बताइएको छ। (मत्ति ७:२१-२३) बाइबलमा गरिएको एउटा रोचक भविष्यवाणीमा सबै झूटो धर्मलाई वेश्यासित तुलना गरिएको छ किनकि तिनीहरूले पैसा वा अन्य स्वार्थी कामहरूको लागि राजनीतिसित हात मिलाएका छन् र यसरी तिनीहरूले मानिसहरूबाट नाजायज फाइदा उठाइरहेका छन्। (प्रकाश १७:१-३; १८:३) उक्त भविष्यवाणीमा ईश्वरले चाँडै झूटो धर्मलाई सजाय दिनुहुनेछ भनेर पनि बताइएको छ।—प्रकाश १७:१५-१७; १८:७.
ईश्वर मानिसहरू झूटो धर्मको ठगीमा परेको वा त्यसको बहकाउमा परेर उहाँबाट टाढिएको चाहनुहुन्न। (मत्ति २४:११, १२) त्यसैले उहाँ नम्र हृदय भएका मानिसहरूलाई उहाँको लागि कस्तो उपासना स्वीकार्य छ, त्यसबारे सिक्न र झूटो धर्मबाट अलग रहन आग्रह गर्नुहुन्छ।—२ कोरिन्थी ६:१६, १७.