सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के धर्म राजनीतिमा मुछिनु उचित हो?

के धर्म राजनीतिमा मुछिनु उचित हो?

 संसारमा हेर्ने हो भने आफूलाई ख्रिष्टको अनुयायी भनेर दाबी गर्ने थुप्रै मानिस सक्रियतासाथ राजनीतिमा भाग लिन्छन्‌। कोही भने कुनै खास उम्मेदवार वा राजनैतिक पार्टीलाई समर्थन गरेर आफ्नो धार्मिक र नैतिक मूल्यमान्यतालाई बढावा दिने कोसिस गर्छन्‌। अनि राजनीतिज्ञहरू पनि धर्ममा आस्था राख्नेहरूको मन जित्न अक्सर नैतिक र सामाजिक विषयहरूलाई प्रयोग गर्छन्‌। धार्मिक नेताहरू राजनैतिक ओहदाको लागि चुनावमा उठ्‌नु सामान्य हो। अनि केही देशमा ख्रिष्टियन धर्मलाई ‘राष्ट्रिय धर्म’ मानिन्छ।

 तपाईँको विचारमा येसुका अनुयायीहरूले राजनीतिमा भाग लिन मिल्छ? येसुको उदाहरणबाट तपाईँ यसको जवाफ पाउन सक्नुहुन्छ। उहाँले यसो भन्‍नुभयो: “मैले तिमीहरूका लागि नमुना बसालेको हुनाले मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यसै गर्नुपर्छ।” (युहन्‍ना १३:१५) राजनैतिक मामिलामा येसुले कस्तो नमुना बसाल्नुभयो?

के येसुले राजनीतिमा भाग लिनुभयो?

 अहँ, लिनुभएन।

 येसुले राजनैतिक शक्‍ति हासिल गर्न खोज्नुभएन। सैतानले “संसारका सबै राज्य” दिने प्रस्ताव राख्दा येसुले त्यो स्विकार्नुभएन। (मत्ति ४:८-१०) a हो, उहाँ मानव सरकारको शासक हुन खोज्नुभएन। अर्को एकपटक, मानिसहरूले येसुमा असल नेतामा हुनुपर्ने गुणहरू देखेर उहाँलाई जबरजस्ती राजा बनाउन खोजे। बाइबल यसो भन्छ: “तिनीहरू आएर आफूलाई जबरजस्ती राजा बनाउन आँटेका छन्‌ भन्‍ने थाह पाउनुभएपछि येसु एक्लै फेरि डाँडातिर लाग्नुभयो।” (युहन्‍ना ६:१५) येसु ती मानिसहरूलाई खुसी बनाउनतिर लाग्नुभएन; उहाँले राजनीतिमा भाग लिन इन्कार गर्नुभयो।

 येसुले राजनैतिक मामिलाहरूमा कसैको पक्ष लिनुभएन। जस्तै, येसुको समयका यहुदीहरू रोमी सरकारलाई कर तिर्नुपरेकोले रिसाएका थिए। किनभने तिनीहरू त्यसलाई अन्यायपूर्ण ठान्थे। तिनीहरूले येसुलाई यस मामिलामा कुनै एउटा पक्षलाई समर्थन गर्न लगाउन खोजे। तर यो राजनैतिक विवाद भएकोले उहाँले कसैको पक्ष लिनुभएन। उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।” (मर्कुस १२:१३-१७) उहाँ राजनैतिक मामिलामा तटस्थ रहनुभयो। तर सिजर अर्थात्‌ रोमी सरकारले माग गरेको कर तिर्नुपर्छ भनेर देखाउनुभयो। साथै परमेश्‍वरको आज्ञासित बाझिने नियम-कानुन पालन गर्नुपर्दैन भनेर पनि उहाँले देखाउनुभयो। जस्तै, परमेश्‍वरलाई दिनुपर्ने भक्‍ति र उपासना सरकारलाई दिनु हुँदैन।—मत्ति ४:१०; २२:३७, ३८.

 येसुले परमेश्‍वरको राज्यलाई समर्थन गर्नुभयो। (लुका ४:४३) उहाँले राजनीतिमा भाग लिनुभएन। किनभने उहाँलाई मानव सरकारले होइन बरु परमेश्‍वरको राज्यले पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्नेछ भनेर थाह थियो। (मत्ति ६:१०) परमेश्‍वरले मानव सरकारहरूमार्फत राज्य गर्नुहुनेछैन बरु त्यसको ठाउँमा आफ्नो राज्य खडा गर्नुहुनेछ भनेर येसुले बुझ्नुभएको थियो।—दानिएल २:४४.

के प्रथम शताब्दीका ख्रिष्टियनहरूले राजनीतिमा भाग लिए?

 अहँ, लिएनन्‌। येसुका अनुयायीहरूले ‘यस संसारको नहुनू’ भन्‍ने उहाँको आज्ञा पालन गरे। (युहन्‍ना १५:१९) तिनीहरूले उहाँको उदाहरण पछ्याए र संसारको राजनीतिबाट अलग्गै रहे। (युहन्‍ना १७:१६; १८:३६) राजनैतिक मामिलाहरूमा मुछिनुको सट्टा तिनीहरूले परमेश्‍वरको राज्यबारे साक्षी दिनू र सिकाउनू भन्‍ने येसुको आज्ञा पालन गरे।—मत्ति २८:१८-२०; प्रेषित १०:४२.

 प्रथम शताब्दीका ख्रिष्टियनहरूले आफ्नो जीवनमा परमेश्‍वरप्रति आज्ञाकारी हुनुलाई पहिलो स्थान दिएका थिए। तर सरकारी अख्तियारवालाहरूलाई आदर गर्नुपर्छ भनेर पनि तिनीहरूलाई थाह थियो। (प्रेषित ५:२९; १ पत्रुस २:१३, १७) तिनीहरूले सरकारी नीतिनियम पालन गर्थे र कर तिर्थे। (रोमी १३:१, ७) तिनीहरूले राजनीतिमा भाग नलिए पनि सरकारले दिने कानुनी सुरक्षा र सेवासुविधाबाट लाभ उठाउँथे।—प्रेषित २५:१०, ११; फिलिप्पी १:७.

आज पनि ख्रिष्टियनहरू तटस्थ रहन्छन्‌

 येसु र उहाँका अनुयायीहरूले राजनीतिमा भाग लिनुभएन भनेर बाइबलमा स्पष्ट पारिएको छ। त्यसैले आज संसारभरिका यहोवाका साक्षीहरू राजनैतिक मामिलामा पूर्णतया तटस्थ रहन्छन्‌। प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै तिनीहरू पनि सबै जातिका मानिसलाई ‘राज्यको सुसमाचार’ सुनाओ भन्‍ने येसुको आज्ञा पालन गर्छन्‌।—मत्ति २४:१४.

a येसुले सैतानको प्रस्ताव तिरस्कार गर्नुहुँदा उहाँले सैतानसित त्यस्तो प्रस्ताव राख्ने अख्तियार छैन भन्‍नुभएन। पछि उहाँले सैतानलाई “यस संसारको शासक” भन्‍नुभयो।—युहन्‍ना १४:३०